site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
तथ्यांकै फरक आउने कस्तो बक्स–अफिस ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्रकर्मीहरूले नेपालमा बक्स–अफिस भरपर्दो नरहेको बताएका छन् । अधकट्टी टिकट भरपर्दो नभएका कारण लागु गरिएको बक्स–अफिस पनि विश्वास गर्न सकिने खालको नभएको निर्माता तथा निर्देशकहरू बताउँछन् । लागु भएको बक्स–अफिसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा उनीहरूको जोड छ ।

चलचित्र ‘प्रेम गीत–३’ निर्माण सम्पन्न गरेर बसेका निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो चलचित्र रिलिज गर्न विभिन्न सर्त अगाडि सारेका छन् । तीमध्ये उनको एउटा सर्त हो– देशभरका हलमा बक्स–अफिस लागु हुनुपर्छ । र त्यो पारदर्शी हुनुपर्छ । 

“जसले जे दाबी गरे पनि भयो । तर निर्माता साथीहरू नै आधाउधी हलबाट मात्रै बक्स–अफिस रिपोर्ट आउँछ भन्नुहुन्छ । यो लकडाउन अगाडिको कुरा हो,” सन्तोष भन्छन्, “जबसम्म देशभरका सबै हलबाट एकसाथ डिजिटल तथ्यांक आउँदैन र वितरकहरूबाटै तथ्यांक लिनुपर्छ भने यसलाई बक्सअफिस लागु भयो भनेर कसरी भन्नु ?”

Prabhu Bank
Agni Group
NIC Asia

लकडाउन सुरु हुनुभन्दा अगाडि आफ्नो चलचित्र रिलिज गरेका निर्माताहरूले पनि चलचित्र वितरकहरूबाटै कलेक्सनको रिपोर्ट लिएको भन्दै सन्तोष प्रश्न गर्छन् ? “सम्बन्धित पक्षले जे दाबी गरे पनि वितरकबाटै हामीले डाटा लिनुपर्छ भने कसरी बक्स–अफिस कसरी लागु भयो भन्नु ।” 

चलचित्र निर्माता संघले अपेक्षित बक्स–अफिस नभएको बताएको छ । अहिलेको अत्याधुनिक समयमा चुस्त बक्स–अफिसको खाँचो रहेको तर विकास बोर्डले लागु गरेको सिस्टम त्यस्तो नभएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । 

Global Ime bank

“०६२ सालदेखि लडेर ल्याएको बक्स–अफिस हामीले भनेजस्तो भएन । त्यसैले हामीले लकसिस्टम भएको बक्स–अफिस लागु गर्न विकास बोर्डलाई भनेका छौं । उहाँहरूले पहिला सबै हलमा लागु हुन दिनुस् अनि बक्स अफिस अपडेट गर्छौं भन्नुभएको छ,” निर्माता संघका अध्यक्ष अधिकारी भन्छन्, “तीन महिना वा ६ महिना कति लाग्छ समय लिनुस् तर भनेको समयमा लागु गर्नुस् भनेका छौं ।” 

समयमै टिकट बिक्रीको रिपोर्ट नआउने गरेको र आएको रिपोर्ट पनि भिन्न–भिन्न हुने गरेको निर्माताहरूको गुनासो रहेको उनी बताउँछन् । निर्माता संघमा आएको रिपोर्ट र हलमा रहेको रिपोर्ट फरक–फरक हुने गरेको निर्माताहरूले बताउँदै आएका छन् ।

यसले बक्स–अफिस पारदर्शी छ भन्नेमा शंका गर्नुपर्ने ठाउँ रहेकाले बक्स–अफिस अपडेट गर्नुको विकल्प नरेहको उनी बताउँछन् । 

“निर्माता, वितरक, प्रदर्शक, विकास बोर्ड र राजस्व विभागबाट बनेको बक्स–अफिस चुस्त दुरुस्त हुनैपर्छ । अन्यथा यसको अर्थ छैन । तर उहाँहरूले अपडेट गर्छौंं भनेकाले हामी पर्ख र हेरको नीतिमा छौं,” अध्यक्ष अधिकारी भन्छन्, “स्वदेश विदेशबाट लगानी गर्ने निर्माताहरूले पनि आफू रहेकै ठाउँबाट मेरो सिनेमाले कति कमायो भनेर हेर्न सक्नुपर्छ । हलका मालिकहरू पनि सबै काउन्टरमा बसेर हिसाब लिन सक्ने अवस्था हुँदैन । त्यसैले उहाँहरूले पनि मेरो हलमा कति टिकट बिक्री भयो भनेर हेर्न सक्ने अवस्था आउनुपर्छ । निर्माता संघमा रहेको समितिले पारदर्शीका लागि बोर्डलाई दिएको सुझाव माइन्युट गरेर राखेका छौं ।

हामीले दिएको सुझाव कार्यान्वन भएको अवस्थामा पक्कै पारदर्शी हुनेछ । तर अहिले त्यो अवस्था छैन ।”  

० ० ०

निर्देशक दीपेन्द्र के. खनाल बक्स अफिस कहाँ कस्तो अवस्थामा छ भन्ने आफूले अनुभूत गर्न नपाएको बताउँछन् । बक्स– अफिसबाट हेर्न पाउने भनेको चलचित्रको टिकट बिक्रीको रिपोर्ट नै हो । “तर रिपोर्टमै समस्या छ । रिपोर्टमै समस्या रहेपछि त्यसको के अर्थ,” दीपेन्द्र प्रतिप्रश्न गर्छन् । 

चलचित्र ‘चङ्गा चेट’ को बक्स–अफिस रिपोर्ट वितरकको कलेक्सन रिपोर्ट फरक रहेको उनी बताउँछन् । “बक्स–अफिसले नै निर्मातालाई ग्रस कलेक्सन कति भयो भनेर सोधिरहेको हुन्छ,” दीपेन्द्र भन्छन्, “चङ्गा चेटको ग्रस कलेक्सन बक्स–अफिसमा भन्दा वितरककोमा धेरै थियो । यसलाई हामीले बक्स–अफिस मान्नुपर्ने ?” 

कोरोनाका कारण हलमा चलिरहेका बेला बन्द भएको चलचित्र ‘आमा’ खनालको नै थियो । फरक–फरक रिपोर्ट आउने गरेकै कारण आफूले आमाको कलेक्सन रिपोर्ट बक्स अफिसबाट नहेरेर वितरबाट लिएको उनी बताउँछन् । 

० ० ०

चलचित्र वितरक करण श्रेष्ठ बक्स अफिस जडान भए पनि त्यसको उद्देश्यअनुसार नतिजा आउन नसकेको बताउँछन् । बक्स–अफिस जडान भए पनि त्यसले अपेक्षित काम गर्न नसकेको उनको भनाइ छ । 

“बक्स–अफिस जडान भएको छ । त्यसको प्रयोग पनि सुरु भएको छ । तर प्रभावकारी छैन,” वितरक श्रेष्ठ भन्छन्, “जडान भएको सिस्टमले राम्रोसँग काम गरेको छैन । कहिले सिस्टमले काम गर्दैन । कति हलमा दक्ष जनशक्ति छैन । कहिले कुन हलमा वाइफाईले काम गर्दैन । कतिमा इमेल चल्दैन । हरेक दिन कतै न कतैबाट रिपोर्ट आउँदैन । अनि कति टिकट बिक्री भयो भनेर काउन्टरबाट जानकारी लिनुपर्छ ।”

सफ्टवेर बिग्रिएको, हार्डवेयरले काम नगरेको, वाइफाई नभएको तथा बत्ती नभएका बेला रिपोर्ट नआउने गर्दा वितरक र बक्स अफिस रिपोर्ट कहिलेकाहीं नमिल्ने गरेको उनको भनाइ छ । “कहिले के, कहिले के बिग्रिएको भन्दै रिपोर्ट आउँदैन । विकास बोर्डले सिस्टम लागु गरेर मात्रै हुँदैन, त्यसको कार्यान्वयन पनि कडाइका साथ गर्नुुपर्यो,” उनी भन्छन् । 

० ० ०

निर्देशक विशाल भण्डारी पनि नेपाली चलचित्र उद्योगमा बक्स–अफिस रहेको स्वीकार्न तयार छैनन् । जबसम्म चलचित्रको ‘शो’ सुरु भएको आधा घण्टाभित्र मोबाइलमा बक्स अफिस रिपोर्टको इमेल आउँदैन तबसम्म बक्स–अफिस लागु भएको मान्न नसकिने उनी बताउँछन् । 

“नेपालमा बक्स–अफिस छँदै छैन । लागु भएको छ भन्दैमा हुँदैन । देशभरका आधाभन्दा बढी सिंगल स्क्रिनमा बक्स–अफिसले पूर्ण रूपमा काम गरेको छैन,” निर्देशक भण्डारी भन्छन्, “हाइभिजन हलमा आज पनि अधकट्टीवाला टिकट बिक्री भइरहेको छ । टिकट बिक्री डिजिटल छैन । दुई दिनपछि जोडजाड गरेर रिपोर्ट पाइन्छ भने त्यो कसरी बक्स–अफिस हुन्छ र त्यस्तो बक्स–अफिसमा सही डाटा आउँछ ?”

ठूलो संख्यामा रहेका सिंगल स्क्रिन बक्स–अफिसभन्दा बाहिर रहेको र कतिपय चलचित्र सिंगल थिएटरमा ब्लक बस्टर हुने तर त्यसको रिपोर्ट बक्स–अफिसमा नआउँदा त्यसको वास्तविक तथ्यांकै नआउने गरेको उनी बताउँछन् । 

चलचित्र पत्रकारितामा रिसर्चको ठूलो अभाव रहेको भन्दै उनी चिनजानका भरमा ग्रस कलेक्सनको समाचार आउने र त्यसमै विश्वास गर्ने प्रवृत्ति रहेको बताउँछन् ।

“न यहाँ बोर्डले बक्स–अफिसको डाटा पत्रकारलाई दिन्छ, न वितरक तथा निर्माताले नै कलेक्सनको यकिन तथ्यांक पाउँछन्,” विशाल भन्छन्, “मेरो चलचित्र रिलिज हुँदा म आफैंले गरेको अनुभव हो यो । मैले राम्रो चलचित्र बनाएँ म भन्दिनँ, समीक्षा राम्रो आएन तर पनि लगानी उठाएको चलचित्र हो । तर यो कुरा मान्न नै कोही तयार छैन ।” 

तथ्य–तथ्यांकका आधारित वस्तुनिष्ट पत्रकारिताको टड्कारो आवश्यकता रहेको उनी बताउँछन् ।  

बक्स–अफिस पूर्ण रूपमा कार्यान्वयनमा नआउनुले वितरक, प्रदर्शकलाई फाइदा भइरहेको भन्दै उनी यसको फाइदा केही निर्माताले पनि उठाइरहेको बताउँछन् । “जसका चलचित्रले राम्रो व्यापार गर्छन् उहाँहरूलाई त घाटा नै भयो तर घाटामा जाने एकथरी निर्माताले पनि यसको फाइदा नै उठाइरहेका छन्,” उनी भन्छन्, “घाटामा गएर पनि चिनेजानेका पत्रकारलाई करोडको बिजनेस भएको भन्दै समाचार लेखाएर नबुझेका निर्मातालाई लगानी गर्न त्यही समाचार देखाएर फसाउने पनि छन्, त्यस्ताले यसको फाइदा उठाइरहेका छन् ।” 

विकास बोर्डको नयाँ नेतृत्वले बक्स–अफिसको प्रभावकारी कार्यान्वयन गराउने इच्छा देखाए सक्ने र त्यो अपेक्षा आफूले पनि गरेको विशाल बताउँछन् । 

० ० ०

चलचित्र विकास बोर्ड पनि बक्स–अफिसमा पारदर्शीको खाँचो रहेको स्वीकार गर्छ । बक्स–अफिस पारदर्शी नभएको भन्ने निर्माताहरूको सधैं गुनासो आइरहेका बेला बोर्ड अध्यक्ष दयाराम दाहाल बक्स–अफिस पारदर्शी हुनुपर्ने खाँचो रहेको स्वीकार गर्छन् । निर्माता संघलाई मात्रै नभएर सबै पक्षलाई पारदर्शीको खाँचो रहेको भन्दै उनी अब बोर्ड पनि कडाइका साथ पारदर्शीता कायम गराउन लाग्ने बताउँछन् । 

उनका अनुसार बोर्डले बक्स–अफिस पारदर्शी बनाउन अनुगमन कमिटी गठन गर्ने तयारी गरिरहेको छ । यसअघि बोर्ड सदस्य नरेन्द्र महर्जनको नेतृत्वमा रहेको नौ सदस्यीय अनुगमन कमिटी भङ्ग गरेर नयाँ गठन गरिने अध्यक्ष दाहाल बताउँछन् । “अहिले त हल बन्दै छन् । अवस्था सहज हुनेबित्तिकै नयाँ अनुगमन कमिटी बनाएर अनुगमन थाल्नेछौं,” उनी भन्छन् । 

बक्स–अफिस चलचित्र निर्माता संघलाई मात्रै नभएर चलचित्र संघ, वितरक, चलचित्र विकास बोर्ड र राजस्व विभागलाई पनि आवश्यक भएकाले कडाइका साथ पारदर्शी बनाउनुको विकल्प नभएको उनी बताउँछन् । 

देशभरका हलमा बक्स–अफिस लागु भएको भन्दै केही हलमा टेक्निसियन तथा भौतिक सामग्री अभाव रहेको बोर्डको भनाइ छ । साथै त्यस्ता हललाई सहयोग गर्ने बोर्डले जनाएको छ । “रिमोर्ट एरियाका केही हलमा भौतिक सामग्री तथा टेक्निसियन र वाइफाईको समस्या छ । टेक्निसियन अभाव रहेका हलमा बोर्डले तालिम दिनेछ । भौतिक सामग्री नभएका हलमा पनि हामी सहयोेग गर्दै छौं । वाइफाई कमजोर भएका हलमा डबल वाइफाईको व्यवस्था गर्नेछौं । तर जसरी हुन्छ पारदर्शी बनाएरै छाड्नेछौं,” अध्यक्ष दाहाल भन्छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १०, २०७७  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement