site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेरो कथा– प्रवासको व्यथा

विभाजित मनमा समस्या हुन्छ, अविभाजित मनमा कुनै समस्या हुँदैन– स्वामी आनन्द अरुणको ‘जीवन दर्शन’ पढेदेखि यो उद्धरण मनमा झुन्डिरहेको छ, हमेसा ।  र त, मैले मन विभाजित हुनबाट कैयौँपटक जोगाएको छु ।

जिन्दगीको मानक सफलता–असफलता हो । यसैमा जीवन धकेलिरहेको छु, निर्निमेष । समय सधैँ एक जनाको मात्र अधीनमा रहँदैन । आफूले चाहेको कुरा पूरा भए समयले साथ दियो, नभए समयले गलहत्यायो भनेर कोरा आरोप लगाउनु न्यायसंगत पनि हुँदैन ।

तथापि मेरो मन विभाजनबाट विभक्त रहन सकेन ! एक भाग मैले लिएँ, अर्को भाग घर–परिवारलाई दिएँ । जुन भाग कोमल हुन्छ, प्रायः त्यही भागले दुखाइको ठेक्का लिँदो रहेछ । र, दुखाइको हिस्सा पूर्णतः मेरो भागमा पर्‍यो ।

Prabhu Bank
Agni Group
NIC Asia

० ० ०

सोचेजस्तो, खोजेजस्तो र रोजेजस्तो विदेश हुँदैन । र त, सुरुवाती दिनहरू निकै कष्टकर बने । मनमा गाँठो परे । फुकाउन धेरै समय लाग्यो पनि । धेरैले भन्थे मनको बह भरिन दिनुहुँदैन पोखिरहनुपर्छ । तर, मलाई कहिल्यै विश्वास लागेन !

Global Ime bank

जब धरामा अँध्यारो चढ्न थाल्थ्यो, तब म सम्झनाका फिलामेन्ट बाल्थें आँखाअगाडि उज्यालो बनाउँदै । फिलामेन्ट तताउने तारहरू थिए– घर, परिवार र देशको सम्झना ।

जसरी रात अनिँदै सुत्छ, त्यसैगरी परदेशीहरू पनि अनिँदै रहन्छन् । अझ भन्छु, घर परिवारको याद आँखामा नआउला भनेर परदेशीहरू आँखा झिम्मसमेत पार्दैनन् । कदाचित् ढकनी बन्द भए पनि भोलिपल्ट सम्झनाहरू आँखावरिपरि झुत्ती खेल्न थाल्छन्– फिल्डमा सैनिकहरूले बुट बजारेझैं !
जब परिवार र देशको मायाले मन भरिन थाल्थ्यो, खाँदै गरेको खाना बेस्वादे लाग्थ्यो । अथवा भनुँ मेरो जिब्रोले स्वादको आँकलन गर्दैनथ्यो, बिर्सन्थ्यो नै । स्वदेशी गुन्द्रुक ढिँडोका अघिल्तिर विदेशका परिकारहरू फिक्का लाग्थ्यो मलाई ।

काठमाडौंको तापक्रम २४ डिग्री भनिरहँदा म काठमाडौंको छानामाथि बतासिइरहेको थिएँ । झन्डै पाँच घण्टा उडेपछि तापक्रम ४४ डिग्री भनिरहँदा मेरा पाइला जमिनतर्फ सोझिइरहेका थिए । काठमाडौंको २६ डिग्री तापक्रमलाई मैले ४४ डिग्रीमा कतिबेला साटेँ, मलाई कुनै अन्दाज छैन ।

यो सटहीमा मैले कति भावनात्मक घाटा बेहोरेँ भन्ने कुराको कुनै लेखाजोखा छैन । जब हवाई जहाजबाट बाहिरिएँ अनि मेरो मनको क्याल्कुलेटरमा यी कुराहरूको हिसाबकिताब हुन थाल्यो । मनभित्रको क्याल्कुलेटरले भावनात्मक घाटा यति धेरै निकाल्यो कि, जस्को लागत राख्न निश्चित रूपमा असम्भव थियो ।

० ० ०

हरियाली हेर्दै झन्डै बाईस वसन्त व्यतीत गरेको मेरो आँखामा अबुधाबी झर्नेबित्तिकै खैरो पर्दा लाग्यो । जता हेरे पनि बलौटे रङहरू मात्र ठोकिइरहे  मेरा आँखामा । कहिल्यै नसुनेका, नबोलिएका भाषाहरू कानमा चट्याङ्गजसरी बज्रन थाले । भाषा होइन, हाउभाउमा काम गर्नुपर्ने बाध्यता आइलाग्यो । मैले भाषा नबुझे पनि इसारा बुझेँ र  मलाई बोलाउने अध्यागमनको कर्मचारीको नजिक गएँ । उसले क्रमशः हात, आँखा स्क्यान गर्‍यो । गैरीखेत बन्धकी राख्दा साहूले औँठा छाप लगाएजसरी । मन चसक्क भयो । 

‘हेलो !’

अपरिचित आवाज वायुवेगमा कानमा ठोक्कियो । अध्यागमनबाट बाहिरिँदै थिएँ, कसैले मेरो नाम उच्चारण गर्‍यो । मेरो तस्बिर देखाउँदै ऊ हात हल्लाउँदै थियो । नजिक गएँ । कम्पनीको ड्राइभर रहेछ । दक्षिणी भारत, केरलाको । उसले मेरो नाम सोध्यो । सम्भवतः मेरो नाम र फोटो हेरेर उसले झन्डै एक चौथाइ चिनिसकेको थियो होला । 

‘लिनुहोस्,’ उसको हातमा एउटा कागज थियो । कागज अरू केही थिएन, ओरिजिनल भिसा थियो ।

करिब २० मिनेटको यात्रापछि उसले गाडी किनारा लगायो । र, मेरो पासपोर्ट माग्यो । सोचेँ– केही बेरपछि फिर्ता देला । अहँ दिएन ।

‘कम्पनीमा सब्मिट गर्नुपर्छ, म दिन्नँ,’ माग्न खोज्दा उसले आफ्नै भाषामा हप्काएझैँ गर्‍यो । मानौँ, म उसको घरमा बाँधा बस्न गएको छु ।

घरबाट बिदा भएर हिँडेको पीडा निको नहुँदै अर्को पीडा महसुस गरेँ । आँखाले त खैरो देखेकै थिए, अब मनले पनि सङ्लो देख्न छाड्यो । मन आत्तिइरहेको थियो । झल्याँस्स बुबाले भनेको याद आयो– बाबु, आत्तिनुहुँदैन, हतास मानिसलाई बतासले समेत उडाउने भय हुन्छ !

झन्डै ४० मिनेटको यात्रापछि एउटा क्याम्पमा पु¥याइयो । र, कोठा नं. १०८ मा बस्न लगाइयो । केही सामानहरू र घरबाट ल्याएको दुब्लो झोला कोठामा राखेर म बाथरूम पसेँ । सावरबाट होइन, आँखाबाट पानी बर्सियो । ठाउँ तातो, मन तातो । मन झनै हल्का भएर घरतिर पो दौडन थाल्यो ।

साँझ खाना खान मन लागेन । ओच्छ्यानमा पल्टिरहेँ । निद्रा घरमै छोडेर आएजस्तो भान भयो । उड्ने बेलामा त्रिभुवन विमानस्थलमै बिर्सिएजस्तो पनि । मनमा आगो दन्किरहेको छ । र, आँसुले म छातीको भुंग्रो निभाउन खोज्छु । 

“ल यो लगाउनू,” अर्को दिन अफिस पुग्दा–नपुग्दै कार्यालय पोसाक थमाइदिए । अहँ मन रमाएन । दसैँका बेला बाले एकजोर नयाँ लुगा ल्याइदिँदा कति फुरुंग हुन्थेँ म ! पुलकित हुन्थ्यो मन । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ लुगाफाटोले तान्न सकेन मलाई । अबुधाबी सहरको समुद्रमा के छाल आउँछ र मनको तलाउमा त्योभन्दा भीमकाय उछालहरू पैदा हुन थाले– घरपरिवार, नरनाता, फूलजस्ती श्रीमती, जूनजस्ती छोरी, ती सबै सम्झनाका तरंग थिए । 

स्कुलमा ड्युटी सुरु भयो । चारैतिर अग्ला–अग्ला नाङ्गा पहाडहरूको फेंदमा । किनकिन मलाई त्यो निर्जन बस्तीजस्तो लाग्थ्यो । गर्मीले यति धेरै प्रेम गथ्र्यो कि रगत निख्रिएला कि जसरी पसिना बग्थ्यो । गर्मीको एकोहोरो झिनाझप्टी र सम्झनाको अविश्रान्त ठुँगाइले मन विदीर्ण बन्न पुगेको थियो । सोच्थेँ– ज्यान दुखेको पो औषधि हुन्छ, मन दुखेको इलाज के त ?

एक–दुई हुँदै छ दिन बित्यो । अहँ चालचुल छैन । गर्मी बिदामा विद्यार्थीहरू बिदा बसेका रहेछन् । त्यसपछि विद्यार्थीहरू आउन थाले । अझ भनौँ नियास्रो दूर हुँदै गयो । ती छ दिनहरू छ वर्षभन्दा निकै लामा भएका थिए । अहिले सम्झन्छु । 

उपहारमा पसिना निरन्तर झरिरहेछ पूरै शरीरबाट । पसिना सँगसँगै घरको यादले पनि ठुँगिरहेछ शरीरमा । चोट लाग्दा बरु सहन सकिन्छ तर मनमा लागेको चोट सहन निकै अप्ठ्यारो हुँदो रहेछ । एकदिन स्कुलको गेटैमा उभिइरहेको थिएँ । गहुँगोरो वर्ण । उस्तै आँखा । लवाइखवाइ । हेर्दा लाग्थ्यो– नेपाली हो ।

मनमनै विचार गरेँ– नमस्कार गर्छु । नेपाली भए फर्काउँछ । नभए के नै पो बिग्रन्छ र ? हात जोड्न नपाई उसले दुई हात जोड्यो । मेरो अनुहारमा अकल्पनीय खुसी छायो । ओठबाट शब्द खस्नुअघि आँखाबाट आँसु खस्न हतारिए ।

‘म क्यारिफोर जान लागेको भाइ, तपाईंलाई केही चाहिन्छ भने भन्नुस् म ल्याइदिन्छु’ । उनको यो आवाज सुन्दा मलाई सिंगो देश भेटेजस्तो भयो । प्रत्युत्तरमा मैले भनेँ, ‘क्यै चाहिँदैन दाइ ।’

० ० ०

आँखाको परिधिवरपर नाङ्गा पहाडहरू मात्र देखिन्छन्  । कहाँ होला क्यारीफोर ? मनले सोचिरहेँ र पर्खिरहेँ । कतिबेला आउलान् ती दाइ ? –मन अत्ताल्लिइरह्यो । ती दाइलाई भेटेपछि घरको याद झन् घना भएर आयो । यादहरू मैनबत्तीजस्तै हुँदा रहेछन् । सम्झनाको तातोमा परेपछि आँखाबाट चुहिइरहने !

झन्डै १ घन्टा मेरा आँखाले दायाँबायाँ  हेरिरहे । उनी आउने बाटोमा । लुगा नलगाएका नाङ्गा पहाडहरूका छानाहरूमा घामले लुकामारी खेल्न थालिसकेको थियो । हेर्दाहेर्दै क्षितिज पहेँलो, रातो कालो धब्बामा परिणत पो भयो । 

एक घन्टापछि उनी आइपुगे । उस्तै हँसमुख लिएर । आउँदा मलाई दुई कोसा केरा ल्याइदिएका रहेछन् । तर, केराभन्दा उनको अनुहारको मोह थियो, नेपालीत्वको माया थियो । सँगै बसेर केरा खानभन्दा मनका पीडा ओकल्न पो समय खर्चेंछु मैले !

उनी बिदा भएर गएपछि मेरो मुटु घर छोडेर आउँदाजस्तै गरी चुडिएझैं  भयो । एक्लोपन फेरि हृदयमा गढेर बस्यो । हुन त म घरबाट आएदेखि नै सधैं एक्लै थिएँ ! मनले अनेक बहाना बनाउँछ, चित्त बुझाउने उपाय रच्छ । तर, सम्झनाहरू सेती गहिरिँदै जान्छन् । मनभित्रै सुसाइरहन्छन् । 

० ० ०
वियोगको भारी बोकेर खाडीमा पसेको पनि १२ दिन भैसकेछ । मलाई भने १२ वर्षभन्दा कम लागेकै छैन । मनमा घरको सम्झनाले नायग्रा फल्सको पानी सबै मेरो मुटुमा वज्रिरहेझैं लाग्छ । कहिले सम्झनाको आँधिहुरी आइदिन्छ । म भगवान्सँग प्रार्थना गरिरहन्छु– मनमा जेजे आए पनि आओस् तर मन नभत्कियोस् । मन भत्किएन भने आँट र साहस पलाउन सक्छ । आफूले आफैँलाई सम्हाल्न सक्छु । 

सोच्दै थिएँ– तीन जना मानिस म भएको ठाउँमा आए । साथमा क्यारिफोर गएर फर्कने दाइ पनि थिए ।

‘‘भाइ हामी तपाईंलाई लिन आएका हौं । नरबहादुरले तपाईंका बारेमा सबै कुरा सक्नुभो,’’ तीमध्ये एकजनाले यसो भने । त्यति धेरै बेर कुरा गरेको दाइको नाम र ठेगाना सोध्नै बिर्सेंछु । मसँग कुरा गर्ने नुवाकोटका नरबहादुर तामाङ रहेछन् । बल्ल पो थाहा भयो । 

उनीहरू सँगै बसेर खाना खाऔँ भनेर निम्तो लिएर आएका रहेछन् । खबर सुनेपछि मेरो आँखाबाट माछापुच्छ्रे पग्लिन थाल्यो । ड्युटीमा थिएँ । जिम्मेवारी चटक्क छोडेर जान मिल्दैनथ्यो । तर, रामनारायण चौधरी दाइले चिन्ता नलिन अनुरोध गर्दै भने, ‘‘मलाई अरबी आउँछ, केही परे म भन्छु ।’’
म खोरबाट उम्केको बाख्रोजस्तो भएँ । 

मेरा पाइला उनीहरूले बाटो देखाएतिर मोडिन थाले । जम्मा सात जना नेपालीहरू बस्दा रहेछन् एउटा कोठामा । ४ जना मलाई लिन आएका थिए भने बाँकी खानेकुरा तयार पार्न बसेछन् । 

तीन कोठाको घर । एउटा कोठामा पाकिस्तानीहरूले अड्डा जमाएका रहेछन् । अर्कोमा बङ्लादेशीहरू र तेस्रो नेपालीको कोठा थियो । एउटै घरमा तीन देशका तीनथरि मान्छेहरू बसे पनि भान्छाकोठा भने साझा थियो । 

मलाई लिन आउनेहरू कन्स्ट्रक्सन कम्पनीमा कार्यरत रहेछन् । ४५–५० डिग्रीको एकतमासको गर्मीमा इट्टा बोकेर घर बनाउने जिम्मा थियो उनीहरूको । हात पटपटी फुटेका, कलेंटी परेका ओठ । विदेशको जीवन कहाँ सजिलो हुन्थ्यो र ! जस्तै आपतमा पनि मुस्कुराउन नबिर्सने नेपालीको बानी देखेर कहिलेकहीँ त कहालिन्थ्यो मेरो मन !

खाना खाने बेला त भयो तर मुखमा गाँस हाल्नभन्दा उनीहरूका कुरा सुन्न हतार हुन्थ्यो मलाई । वास्तवमा दाजुभाइहरू भेट्दा र माया पाउँदा नै म अघाइसकेको थिएँ ।

अन्तिममा उनीहरूले मलाई म कार्यरत स्थानसम्म पुर्‍याउन आए र अमिलो अनुहार बनाएर फर्किए । 

परदेशमा पसिना बगाउन म मात्रै आएको छैन । झन्डै आधा करोड जनसंख्या विदेशमै छ । यो जनशक्ति सबै स्वदेशमा भइदिएको भए मुलुक स्वर्गै बन्थ्यो होला । आधा रातसम्म मन कुँडिइरह्यो । सोच्दाासोच्दै थाहै नपाई निदाएँछु । भोलिपल्ट ब्युँझदा उस्तै टीठलाग्दो दिन थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०७४  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC