site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 प्याब्सन आन्दोलनको तरङ्ग  

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले  आफू आबद्ध विद्यालयहरुमा सञ्चालित अनलाइन कक्षाहरु साउन १ गतेदेखि बन्द गरेपछि देशभरका संस्थागत विद्यालयका विद्यार्थी र अभिभावक निराश भएका छन् । उनीहरुमा चिन्ता र तनाव झन् बढेको छ । अझ आफ्नो विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई साउन १ गतेदेखि नै बेतलबी घर बिदा दिएको घोषणाले वर्तमान समस्यालाई झन् जटिल मोडतिर धकेलिदिएको छ ।  यस निर्णयका कारण शिक्षक कर्मचारीहरु आक्रोशित भएर आन्दोलनमा उत्रिएका छन् । प्याब्सन, एन प्याब्सनको यस निर्णयले देशभरको शिक्षा क्षेत्रमा एउटा तरङ्ग फैलिएको छ । समस्या सुल्झिने बेलामा झन् बल्झिएको छ । 

शिक्षामा निजी क्षेत्रको योगदान  

एउटा तथ्याङ्कअनुसार देशमा निजी लगानीका करिब आठ हजार शिक्षण संस्था छन् । निजी शैक्षिक संस्था सञ्चालकहरुले विद्यालयको भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनलगायतमा ६ खर्ब रुपैयाँ लगानी गरेका छन् । निजी विद्यालयहरुको वार्षिक कारोबार (विद्यार्थीबाट उठेको शुल्क ) करिब दुई खर्ब रुपैयाँ पुगेको बताइन्छ । करिब दुई लाख पचास हजार जनालाई रोजगारी  दिएको संस्थागत विद्यालयमा कुल विद्यार्थी संख्याको २३ प्रतिशत जति अर्थात् करिब २० लाख विद्यार्थी अध्ययनरत छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शैक्षिक क्षेत्रको योगदान ७ . २३ प्रतिशत छ । जीडीपीमा शिक्षाको योगदान बढ्दो क्रममा छ । २०७४ र ७५ मा ६.८३ प्रतिशत रहेको शिक्षाको योगदान गत वर्ष ७.२३ प्रतिशतमा पुगेको हो । यो आधारमा पनि निजी शैक्षिक क्षेत्रमा आर्थिक गतिविधि बढ्दो छ । भौतिक अवस्था, व्यवस्थापकीय पक्ष र शैक्षिक गुणस्तरलगायत सबै दृष्टिकोणले सरकारले सञ्चालन गरेका सामुदायिक विद्यालयभन्दा निजी क्षेत्रले सञ्चालन गरेका संस्थागत विद्यालय अपेक्षाकृत स्तरीय रहेको मानिन्छ । पछिल्लो १० वर्षको एसएलसी वा एसईई परीक्षाको नतिजाको उत्तीर्ण प्रतिशत हेर्ने हो भने सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत ३० प्रतिशतको हाराहारीमात्र छ भने निजी विद्यालयको उत्तीर्ण प्रतिशत लगभग ९० प्रतिशतको हाराहारीमा देखिन्छ । निजी स्कुलका विद्यार्थीले राष्ट्रिय बोर्ड परीक्षा होस् वा अन्य कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता होस् सबैमा सदैव आफूलाई अब्बल साबित गर्दै आएका छन् । निजी विद्यालयकोे विगत र वर्तमानको मूल्यांकन गर्ने हो भने शिक्षाको सवालमा राज्यको साख र प्रतिष्ठा नै निजी स्कुलले बचाएको देखिन्छ । 

यतिखेर कोरोना महामारीका कारण आफ्नो करिब ६ खर्ब लगानीसहितका आठ हजार निजी विद्यालयहरु संकटमा परेको उल्लेख गर्दै विभिन्न सहुलियत र छुट दिनुपर्ने माग प्याब्सनले सरकारसँग राखेको थियो  । झन्डै दुई लाख पचास हजारभन्दा बढी शिक्षक कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको अवस्थामा मासिक शुल्क उठाउन नपाउँदा उनीहरुको रोजगारी गुम्ने खतरा भएकोले पनि विद्यार्थी भर्ना गर्न र नाम अद्यावधिक गर्न पाउनुपर्ने माग सरकारसँग पटकपटक गरेको हो । तर, सरकारले यस विषयमा चासो र संवेदनशीलता नदेखाएकै कारण अनलाइन कक्षालगायतका सबै गतिविधि बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको प्याब्सनको भनाइ छ । सञ्चालकहरु आन्दोलनमा, शिक्षक कर्मचारीहरु सडकमा अनि विद्यार्थी र अभिभावकहरु मानसिक चिन्ता र तनावमा रहेको यो घडीमा निजी शैक्षिक क्षेत्र डामाडोल हुने अवस्थामा पुगेको छ । यसबाट नेपालको समग्र शैक्षिक स्थितिकै भविष्यमा असर पर्नेछ । तर पनि सरकार निजी शैक्षिक संस्थासँग आबद्ध लगानीकर्ता, शिक्षक कर्मचारी, अभिभावक र विद्यार्थीहरुको भविष्यप्रति उदासीन देखिएको छ । यो नै चिन्ताको विषय हो ।

Global Ime bank

निजी शैक्षिक संस्थाका झिना माग
यतिखेर निजी सञ्चालकहरुले सरकारसँग राखेका मागहरु त्यति ठूला र पूरा गर्न नसकिने खालका छैनन् । सरल र सजिला देखिन्छन् ती मागहरु । उनीहरुले गत शैक्षिक सत्रको बाँकी बक्यौता उठाउन पाउनुपर्ने माग राखेका छन् । आफ्ना गत वर्षका विद्यार्थीहरुको नाम अद्यावधिक गर्न पाउनुपर्ने माग राखेका छन् । गत वर्षको चैत महिनादेखि शुल्क उठाउन नपाएका कारण विद्यालय  आर्थिक संकटमा परेपछि पारिश्रमिक दिन नसकिएको, बैंक ब्याज, घरभाडा तिर्न नसकिएकाले सहुलियत कर्जा माग गरेका हुन् । उनीहरुले पछि तिर्ने गरी केही समयका लागि सहुलियत कर्जाको माग गरेका हुन् ।  सरकारसँग सित्तैमा आर्थिक सहयोग माग गरेका हैनन् । विद्युत्, पानी महसुलमा छुट मागेका छन् । यी मागहरु पूरा गर्न सरकारले नमान्नुपर्ने, अनकनाउनुपर्ने कुनै कारण देखिँदैन । सरकारले ती मागहरु सजिलै पूरा गर्न सक्छ । यी कुराहरु बजेटमै उल्लेख गरिएको भए समस्या उहिले नै समाधान भइसक्थ्यो । तर, सरकारलाई सुझाव दिने एउटा समूहले निजी शैक्षिक संस्थाप्रति नियतवश नकारात्मक दृष्टिकोण र दुराशय राखेर समस्यालाई थप जटिल बनाइदिएको छ ।

निजी शैक्षिक संस्थाले बर्सेनि अर्बौं रुपियाँ कर सरकारलाई बुझाएकै पनि छन् । मुलुकमा आइपर्ने प्रत्येक संकट र प्राकृतिक विपत्तिका बेला संस्थागत विद्यालयहरूले सरकारको सहयोगी हात बनेर विपत्तिविरुद्धको अग्रमोर्चामा आफूलाई उभ्याएकै थिए ।  तर, भने यतिखेर आफू संकटको अवस्थामा रहेका कारण सरकारसँग सहयोगको याचना गरेका हुन् । धेरैजसो  विद्यालयहरू भाडामा सञ्चालन भएका र बैंकिङ् ऋणमा चलिरहेका छन् । अहिलेको अवस्थामा बैंकमा ब्याज तिर्नसक्ने अवस्था नभएकाले बैकिङ ब्याजमा छुट र सस्तो रूपमा कर्जा उपलब्ध गराउन, विद्युत् पानीमा सहुलियत दिन पटकपटक सरकारलाई अनुरोध गरेका थिए । यस्तो अवस्थामा आएको यस वर्षको बजेटमा निजी शैक्षिक संस्थालाई केही सम्बोधन गरिनुपथ्र्याे । सरकारले आफ्नो अभिभावकत्व प्रदर्शन गर्नसक्नुपथ्र्यो ।  तर, सरकारले त्यो विवेक देखाउन सकेन । संवेदनशील बन्न सकेन । सरकारले निजी विद्यालयहरूलाई सधैँ भैmँ यो संकटको घडीमा पनि पूर्ण उपेक्षा गरेको छ । निजी विद्यालयका सञ्चालक, शिक्षकलगायत सम्बद्ध व्यक्तिहरू देशका नागरिक होइनन्जस्तो व्यवहार सरकारले गरेको छ । अभिभावकीय दायित्वबाट सरकार  चुकेको छ । 

यस्तो विषम र बाध्यात्मक परिस्थितिका कारण घोषणा भएको प्याब्सनको अहिलेको आन्दोलनलाई अन्यथा भन्न मिल्दैन । यसको शीघ्र समाधान अत्यन्त अपरिहार्य छ ।

निजी शैक्षिक संस्थाहरु नाफामूलक नै हुन्

निजी शैक्षिक संस्थाहरु सेवामूलक हैनन्, नाफामूलक नै हुन् । नाफा कमाउनकै लागि उनीहरुले यो व्यवसाय गरेका हुन् । उनीहरुले भन्न नखोजे पनि निजी शैक्षिक संस्था नाफामूलक नै हुन् । कुरा लुकाउनु हुँदैन । तर, उनीहरुको यो कार्यले सरकारलाई नै सहयोग पुगेको छ ।  आफैँ लगानी गरेर राष्ट्रको शैक्षिक साख र प्रतिष्ठा जोगाइदिने अनि लाखौंको रोजगारी सिर्जना गरेर राष्ट्रमा व्याप्त बेरोजगारी समस्या हल गरिदिएर उनीहरुले सरकारी दायित्वलाई केही हदसम्म पूरा गरिदिएका छन् । सरकारले यो कुरा बिर्सनुहुँदैन । कम्पनी ऐनले पनि उनीहरूलाई नाफामूलक हुने कानुनी छुट दिएकै छ । आफ्नो गुणस्तरअनुसारको सेवाको, वस्तुको मूल्य तोक्ने कानुनी अधिकार स्वतः उनीहरुसँग छ । 

संविधानमा १२ कक्षासम्म निःशुल्क भनिए पनि मुलुकमा निजी शिक्षाको अस्तित्व स्वीकार गरेर शुल्क लिने छुट उनीहरुलाई  संविधानले नै दिएको हो ।  यसको अर्थ निजी शिक्षालयमा अध्यापन गराएपछि उनीहरूले तोकेअनुसार शुल्क बुझाउन तयार हुनैपर्छ भन्ने हो । यद्यपि नियमन भने जरुरी छ ।  

गुणस्तरीय शिक्षा प्राप्त गर्न  खोज्ने तर शुल्क दिने विषयमा सरकारी विद्यालय झै आनाकानी गर्नु तर्कयुक्त र युक्तिसंगत होइन ।  सरकारले निःशुल्क शिक्षाका लागि सामुदायिक विद्यालय सञ्चालन गरिरहेकै छ । यसको सिधा र स्पष्ट अर्थ गुणस्तरीय शिक्षाका लागि शुल्क तिर्ने चाहना भएकाहरुले निजी विद्यालयमा पढाऊ तर सो नभएकाहरु सामुदायिक विद्यालयमा जाऊ भन्ने नै हो । अब यो विषय स्पष्टरुपमा बाहिर आउनुपर्छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्ने र संस्थागत विद्यालयको नियमन गर्ने कुरा त अपरिहार्य नै हुन् । केही बुज्रुकहरुले फरक फरक ढंगका विद्यालयहरुलाई सोलोडोलो एउटै रुपमा व्याख्या गर्ने अनि गलत मनसायले नीति बनाउने कारण पनि समस्या ज्युँका त्युँ रहिरहेका छन् । सोहीअनुसार आम मानिसले निजी स्कुल पनि सामुदायिक स्कुल सरह सरकारी नै हुन् भन्ने भ्रमपूर्ण सोचका कारण नै सारा समस्या सिर्जना भएका हुन् । तसर्थ दीर्घकालीन समाधानका लागि अब संस्थागत (निजी) विद्यालय र सामुदायिक (सरकारी) विद्यालयलाई फरकफरक ढंगले परिभाषित गरी सोहीअनुसार ऐन कानुनको व्यवस्था गरिनु जरुरी देखिन्छ ।   

तात्कालीन समस्या समाधानको उपाय 

निजी शिक्षा क्षेत्र आन्दोलित छ । हजारौं विद्यालयका लाखौं शिक्षक, कर्मचारीहरू अत्यन्तै गम्भीर स्थितिमा छन् । समस्याहरू तमाम र जटिल छन् । यतिखेरका सारा समस्या  कोरोना महामारीबाट सिर्जित हुन् । कोरोना महामारीको यो दुःखद अवस्थामा सबै पक्षले केही न केही त्याग गर्ने मानसिकता बनाउनु जरुरी छ ।  तसर्थ समस्या समाधानका लागि निम्न बुँदाहरुमा छलफल गर्दै निर्णयमा पुग्नु उपयुक्त देखिन्छ । छलफल चलाऔँ 

१. सरकारले असार १ गतेदेखि अनलाइन र भर्चुअल क्लास सुरु गर्न निर्देशिका जारी गरेको सन्दर्भमा सोही अवधिबाट नै  शैक्षिकसत्र सुरुआतको आधार मान्ने । 

२. हाल देशका विभिन्न विद्यालयहरुमा कायम रहेका क्वारेन्टिन अन्यत्र स्थानान्तरण गरी विद्यालयहरूलाई पूर्णतः निर्मलीकरण गर्ने । 

३ साउन महिनाभरि सबै विद्यालयमा (संस्थागत र निजी) विद्यार्थीको नाम अभिलेखीकरण र भर्ना अभियान सञ्चालन गर्ने ।

४. भदौ १ गतेदेखि आलोपालोका आधारमा सुरक्षाका साथ विद्यार्थीहरु नियमित विद्यालय आउनेजाने वातावरण सबैतिर सिर्जना गर्ने । 

५ संस्थागत विद्यालयको हकमा व्यवस्थापन शुल्कबाहेक अभिभावकले जम्मा १० महिनाको मात्र शुल्क दिने । अनलाइन क्लासबापतको कुनै शुल्क विद्यालयले नलिने ।

६ .शिक्षक कर्मचारीले ११ महिनाको पारिश्रमिकमा चित्त बुझाउने । 

७. प्रत्येक विद्यालयको गेटमा ज्वरो नाप्ने यन्त्र र चेकिङ व्यवस्था गर्ने, प्रत्येक विद्यार्थी र शिक्षकलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गर्न लगाउने । दिनहुँ विद्यालयलाई सेनिटाइज गर्ने  ।

छलफल गराैँ । हालको जटिल समस्या समाधान गरौँ  ।–रुपन्देही 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC