site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सन्तान 
Sarbottam CementSarbottam Cement

“कठै बिचरी राधिका !”

“हरे शिव, कस्तो कर्म बिचरीको !”

“उन्नाईस वर्षमै वैधव्य, हे भगवान् !”

Prabhu Bank
Agni Group
NIC Asia

“च्व च्व च्व ! बिचरी !”

मेरा कानमा यस्ता अनेकौँ सहानुभूति दर्साउने शब्दहरू ठोक्किइरहे । म तिनै शब्दहरूका लागि भए पनि रुने कोसिस गरिरहेँ तर बैरी आँखाहरू रसाउनसम्म मानेनन् । केही सीप नलागेर मैले आफ्नो मैलो न मैलो ओढ्नेभित्र अनुहार लुकाएर रोएजस्तै गरेँ । 

Global Ime bank

लोग्नेको रूपमा न सही, एउटा मान्छेको मृत्युमा त दुख्नुपर्ने हो यो मन । तर, दामोदर मान्छे पो कहाँ थियो र दुखोस् मेरो मन !

लगभग चार वर्षअघि भर्खर १५ वर्ष पुगेकी मलाई मेरा बाबु–आमाले दामोदरको जिम्मा लगाइदिए, मन्दिरमा टीको–टालो गरेर । उनीहरूलाई लाग्यो होला– मेरो वर्तमान र भविष्य उनीहरूले सुरक्षित गरिदिएका थिए एयरपोर्टमा काम गर्ने २८ वर्षे दामोदरको जिम्मा लगाएर । तर, वास्तवमा उनीहरूले मेरो बाँच्ने हक खोसेका थिए ।

मानिसमा हुनुपर्ने कुनै गुण उसमा थिएन । सृष्टिमा भएका हरेक अवगुण र खराबीहरू थिए उसमा । उसले जाँड खान्थ्यो । होइन, जाँडले उसलाई खान्थ्यो । गाँजा, चरेस र अरू कुनै अम्मल थियो भने त्यो पनि छोड्थेन ऊ । होस हराएपछि सृष्टिका हरेक स्वास्नीमान्छेलाई भोग्ने चाहना राख्थ्यो । तर, त्यो सम्भव थिएन । त्यसैले ममाथि आफ्नो मनलाग्दी गरेर चित्त बुझाउँथ्यो दिन वा रात, जुनसुकै बेला– कैयौँपटक । विरोध गरे जबर्जस्ती गथ्र्यो, मरणाशन्न हुने गरी पिट्थ्यो । फोहर गाली गथ्र्यो । जगल्ट्याउँथ्यो । उसको मारले थला परेको बेला त झनै मनमानी गथ्र्यो मेरो शरीरसँग । रगताम्य भएको पर्वाह पनि गर्थेन । यस्तो बेला कैयौँपटक मैले उसको मृत्युको कामना गरेकी थिएँ र आज मेरो त्यो कामना पूरा भएको थियो ।

अत्यधिक रक्सी पिएका कारण रगत छादेर मरेको थियो ऊ । के म साँच्चै उसको मृत्यु नै चाहन्थेँ त ? म भन्न सक्दिनँ । तर, योचाहिँ पक्का हो– म मुक्ति चाहन्थें उसको त्यो पाशविकताबाट । 

आफूले कमाएजति पैसा उडाएर नपुगेर मैले कमाएको पैसा पनि जबर्जस्ती खोसेर लैजान्थ्यो । काममै पुगेर घोक्र्याउँदै, मुन्ट्याउँदै घर ल्याएर जबर्जस्ती गथ्र्यो । न पेटभरि खाए÷नखाएको पर्वाह गथ्र्यो, न आङ ढाके÷नढाकेको । आफ्नो पेट भरिनु र भोक मर्नु नै सबैभन्दा ठूलो उपलब्धि थियो, उसका लागि ।

उसको गाउँमा यसबारे खबर पुगेको थिएन । त्यसैले त्यहाँका मानिसहरू मेरो ईष्र्या गर्थे । अनि मेरा बाबु–आमा दङ्दास पर्थे, आफूले पौरखी ज्वाइँ भेट्टाएकोमा । 

कहीँ गएर दुखेसो बिसाउने मेरो कुनै ठाउँ थिएन । एउटै भएको माइती पनि मेरो दुःख सुनेर मलाई मद्दत गर्ने स्थितिमा कहाँ थियो र ! त्यसमाथि बिहे गरेर दिएकी छोरीको घर सप्रे भाग्य, बिग्रे दुर्भाग्य भन्ने उक्ति त छँदै थियो, मन बुझाउन । त्यसैले उनीहरू पनि मन, चित्त बुझाएर पाखा लागे । 

मै थिएँ, जो न कसैलाई आफ्नो व्यथा देखाउन सक्थें, न कसैलाई आफ्नो कथा सुनाउन । न उसलाई छोडेर कहीँ भाग्न सक्थेँ, न उसलाई मनमानी गर्नबाट रोक्न । यस्तो अवस्थामा बाँचिरहेकी थिएँ म । उसको मृत्युमा मेरा आँखा रसाउन मानेनन् त के यो मेरो अपराध हो ? 

जिम्मेवारीको बोझ मेरो काँधमा राखिदिँदै मलाई गाउँबाट पाखा लगाए ।

मेरा बाबु–आमाको आफ्नै दुःख थियो । जवान विधवा छोरीको जिम्मेवारी उठाउनुपर्ला भनेर त्रस्त थिए उनीहरू । त्यही भएर म फर्केर काठमाडौँ आएँ । यही सहर एउटा यस्तो समन्याय गर्ने स्थल थियो, जो दामोदर र राधिकामा कुनै फरक र भेदभाव गर्थेन । सबैलाई समेटेर चुपचाप आफ्नो छातीमा आश्रय दिन्थ्यो । 

मैले काम गर्ने गार्मेन्टकी दिदीले मलाई आफ्नै घरको पछाडिको टहरोमा बस्न दिइन् । बदलामा म साँझ–बिहान, फुर्सदमा उनको घरको काम सघाइदिन्थेँ ।

उनी नै पहिलो व्यक्ति थिइन्, जसले मलाई मेरो गर्भ तुहाउने सल्लाह दिइन् ।

“यति सानो उमेरमा, यस्तो अवस्थामा बच्चा पाएर के गछ्र्यौ ? म लगेर अवोर्सन गराइदिन्छु । पहिले आफ्नो बारेमा सोच ! बच्चाको बारेमा सोच्न त सिंगो जीवन बाँकी छ,” उनले भनिन् ।

तर, मेरा लागि आफ्नो बारेमा सोच्नका लागि न हिजो केही थियो, न आज केही छ, न भोलि केही हुनेछ । अब मसँग बाँचिरहने कारण जे पनि थियो, गर्भमा भएको दामोदरको त्यही अंश थियो । त्यसबाहेक मसँग अरू केही थिएन ।

त्यसपछि मेरो गर्भका बारेमा ज–जसलाई थाहा भयो, ती सबले मलाई गर्भपतन गर्ने सल्लाह दिए । तर, मैले कसैको कुरा सुनिनँ ।

काममा लागेको दिनदेखि पेट काटीकाटी गर्भको सन्तानका नाममा एक–एक पैसा जोड्न थालेँ । पुराना फाटेका लुगा टालटुल गरी लगाएर, आधा पेट खाएर पनि सन्तुष्ट थिएँ म । 

आफ्नो कोखबाट जन्मने सन्तानलाई म न ‘राधिका’ बनाउन चाहन्थेँ, न ‘दामोदर’ । म उसलाई एउटा मान्छे बनाउन चाहन्थेँ । पढे–लेखेको, सभ्य, अरूको भावना बुझ्ने, अरूको सम्मान गर्ने । तर कहिलेकाहीँ डर लाग्थ्यो– कहीँ दामोदरको रगतले दामोदरकै विकृति पछ्याउने त होइन ? तर, फेरि मलाई आफ्नो दूध, रगत, आस्था, तपस्या र बलिदानमाथि विश्वास लागेर आउँथ्यो । 

अनेक कष्ट सहेर मैले महिना पुगेपछि छोरो जन्माएँ । आमा भएको गौरव र सुखले आफ्नो सारा कष्ट बिर्सिएँ । 

छोरो जति ठूलो हुँदै गयो, मेरो भोकै सुत्ने क्रम बढ्दै गयो । दिनरात हाड घोटेर जति म कमाउँथँे, त्यसबाट एकै जनाको गुजारा हुनु ठूलो कुरा थियो, त्यसमाथि छोराको स्कुल, किताब, कापी, फिस र लुगाफाटो । 

मैले छोराको नाम श्रवण राखेकी थिएँ र उसमा गुण पनि उस्तै चाहन्थेँ । हरेक आमाहरूको झैँ मेरा पनि अनगिन्ती सपना र आकांक्षाहरू जोडिएका थिए ऊसँग । 

दिनहरू बितिरहे । 

मेरो छोरो श्रवण समझदार हुँदै गयो । मेरो अथक परिश्रम र कठिनाइहरूसँग दुई–चार हुँदै हुर्केको ऊ सानैदेखि चिल्लो पात देखियो । दुब्लो–पातलो शरीरको ऊ हरबखत पढाइमा घोटिइरहन्थ्यो । कम बोल्थ्यो तर प्रायः यो भन्न बिर्सिन्थेन, “आमा मलाई जन्म दिएकोमा तपाईंले पछुताउनुपर्ने छैन । म तपाईंको लायकको छोरा भएर देखाउनेछु । म तपाईंको श्रवणकुमार बन्नेछु एकदिन ।”

मेरो छाती गर्वले चौडिन्थ्यो । 

मेरो छोराले बोर्डमा फस्ट डिभिजन ल्याएर एसएलसी पास ग¥यो । म अनपढका लागि त्यसको महत्त्व थाहा नभए पनि वरपरकाले दिएको बधाई र छोराको हर्षले धपक्क बलेको अनुहारले मलाई पनि खुसी तुल्यायो । 

छोराको अथक मेहनत र कोसिसले उसले अगाडि पढ्न स्कलरसिप पायो । यसलाई मैले ठूलो उपलब्धि मानेँ किनकि मैले महँगो स्कुल फि तिर्नु परेन । 

छोराले भावपूर्ण स्वरमा भन्यो, “अब यो बचेको पैसाले आफूलाई एकजोर न्यानो लुगा हालिहाल्नूस् । मैले देखेदेखि तपाईंले कहिल्यै नयाँ, न्यानो लुगा लगाउनुभएको छैन ।”

मेरो शरीरमात्र होइन, मन र आत्मा पनि न्यानो भयो । 

“मलाई किन चाहियो नयाँ लुगा ? म कहाँ जान्छु र ? तँ पो स्कुल–कलेज जान्छस् । तँलाई पो न्यानो लुगा चाहिन्छ,” मैले उसलाई अँगाल्दै गद्गद् स्वरमा भनेँ । 

“मलाई एकपटक पढाइ सकेर कमाउन दिनूस् आमा, म तपाईंलाई रानी–महारानी बनाएर राख्छु ।”

उसले मेरा रुखा, खस्रा, पटपटी फुटेका हातलाई आफ्नो हातमा लिँदै भन्यो । म त्यतिले नै धन्य भएँ ।

बितेका वर्षहरूमा कतिले मसँग बिहे गर्ने उत्सुकता देखाए । मेरो छोराको बाबु भएर देखाउने प्रतिबद्धता जनाए तर मैले कसैको कुरा सुनिनँ । 

एक त दामोदरले क्षतविक्षत पारेको शरीर र आत्मा अरू कसैको विश्वास गर्नै मान्थेन । त्योभन्दा पनि मुख्य– श्रवणको चिन्ताले मलाई अरू कसैको हात थाम्न दिन्थेन । आफ्नो आवश्यकता सधैँ तुच्छ लाग्थ्यो मलाई, मेरो सन्तानको सहुलियतको तुलनामा ।

रातदिनको मेहनत र विलक्षण प्रतिभाका कारण मेरो छोरो स्कलरसिप पाएर अमेरिका जान पाउने भयो पढ्न । तर, त्यसका लागि केही पैसाको जुगाड गर्नुपथ्र्यो, जुन मसँग थिएन । 

मेरो पढन्ते, जेहन्दार छोराले मेरो असमर्थता देखेर मन मा¥यो ।

यस्तोमा मलाई काम र बास दिने दिदी फेरि भगवान् भएर अगाडि आइन् । 

मेरो साहुनी दिदीले मेरो गाह्रो–साँघुरोमा सधैँ गुन लगाएकी थिइन् दामोदर गएदेखि । यसपटक त झन् ऋणी नै बनाइन् उनले मलाई, श्रवणलाई अमेरिका जाने चाँजोपाँजो मिलाइदिएर, पुग–नपुग खर्च हालिदिएर । नत्र म गरिबको के लाग्थ्यो ? 

भनिन्, “कस्ताकस्ता मै हुँ भन्नेहरूले त पाउँदैनन् यस्तो मौका, तिम्रो छोराको पुर्पुरो बलियो रै’छ । पैसाको के कुरा, सकेको तिमी तिर्दै गर, तिमीले नसकेको तिम्रो छोराले तिर्छ ।”

पैसाको पिरलो सकिएपछि बल्ल श्रवणसँग छुट्टिने चिन्ताले छट्पटायो मन । कसरी बाँच्थेँ म ऊबिना ? म ऊसँग टाढिने दुःखले मर्माहत भएँ ।

गर्भमा बसेको थाहा पाएदेखि श्रवण मेरो बाँच्नुको आधार बनेको थियो । नत्र त किन पो बाँच्थे र म यो थङ्थिलो भएको शरीर र मन लिएर ? आजसम्म एउटा सानो कोठामा, एउटै ओच्छ्यानमा उसलाई च्यापेर सुत्दा पेट भोकै भए पनि मन सधैं अघाएको हुन्थ्यो मेरो । तर अब ? 

श्रवणले अनेकौँ तरिकाले सम्झाएपछि मैले छातीमा ढुङ्गा राखेर उसलाई बिदा दिएँ । बिचरा ऊ पनि रुँदै, सुँक्सुँकाउँदै अमेरिकातिर लाग्यो । 

मलाई लाग्यो– मेरो बाँच्ने आधार पनि उसैको पछि लाग्यो । 

अमेरिका पुगेर पनि ऊ फोन गरिरहन्थ्यो । मेरो बारेमा चिन्तित भइरहन्थ्यो । मलाई अलि राम्रो डेरा खोजेर सर्नू भन्थ्यो । काम कम गर्नू भन्थ्यो । आफ्नो ख्याल गर्न आग्रह गरिरहन्थ्यो । तर, म न आफ्नो ख्याल राख्न सक्थेँ, न काम कम गर्न । उसको अमेरिका जाँदाको ऋण जो तिर्नु थियो ।

बिस्तारै दिन बित्दै जाँदा उसका फोन पातलिँदै गए । 

चार वर्ष बितेपछि उसले त्यहीँ आफूसँगै पढ्ने नेपाली केटीसँग कोर्टमा बिहे गरेको कुरा सुनायो । मेरो विश्वास र सपनाको घर बिस्तारै चर्कियो कहीँ । म निकैबेर केही बोल्न सकिनँ । उसैले अलि अपराधबोध गरेझैँ गरी भन्यो, “आमा यहाँ डाक्टरी पढ्न सजिलो छैन । एक्लै त झन् सम्भवै छैन । पढ्न पाउने खर्चले धान्दैन । दुई जना भएपछि एक जनाले पढ्यो, एक जनाले काम गरेर खर्च धान्यो । त्यसैले मैले मञ्जुसँग बिहे गरेँ । अहिले म पढ्दैछु, ऊ काम गर्छे । मेरो पढाइ सकिएपछि म काम गर्छु, उसले पढाइ पूरा गर्छे । अन्यथा सोचेर मन नदुःखाउनुहोला ।” 

मन त कति दुखेको थियो कति तर त्यो दुखेको मनको पीडा मैले उसलाई देखाउन, बुझाउन कोसिस गरिनँ । 

०००

अर्को चार वर्ष बित्यो ।

श्रवणका सीमित फोन कल अब झनै कम भएका थिए । अब म अलि चिन्तित थिएँ, आफ्नो भविष्यलाई लिएर । के हुन्छ मेरो ? दिनदिनै उमेरले नेटो काट्दै थियो । कुनै निश्चित आम्दानी थिएन । कमाएको जति ऋण तिर्दै र दुःख–सुख हातमुख जोड्दै ठिक्क थियो । तलमाथि केही भइहाले कसले हेथ्र्यो मलाई ? रगत सिञ्चेर हुर्काएको छोराले दसैँ, तिहार, मातातीर्थे औँसी, तीजमा त मलाई सम्झिन छोडेको थियो भने उसले मेरो रेखदेखमा औँला हल्लाउला भनेर मलाई आस लाग्न छोडेको थियो अब । 

छोरो गएदेखिको मेरो उपलब्धि एउटै थियो– फुर्सद निकालेर मैले घर नजिकैको सन्ध्याकालीन स्कुल जान सुरु गरेथें, जहाँ हरेक उमेरका मान्छे पढ्न आउँथे । विगत ८–९ वर्षमा मैले नेपाली राम्रैसँग र अंग्रेजी कनिकुथी पढ्न–लेख्न जानेथेँ । श्रवणको वियोगले मलाई शिक्षित त होइन, साक्षर बनाइदिएको थियो । 

एकदिन बिनाकुनै पूर्व सूचना मेरो छोरो मेरासामु उभिन आयो । 

उसलाई हृष्टपुष्ट देखेर मैले आफ्ना सारा दुश्चिन्ता र गुनासो बिर्सिएँ । तर, उसले भित्र पस्नेबित्तिकै निधार खुम्च्याउँदै भन्यो, “तपाईंले अझै छोड्नु भएनछ यो मुसाको दुलोजस्तो निसास्सिने कोठा ।” 

तिनमा अचानकै पीडा मिसियो । 

यही निसास्सिने कोठाको आश्रयमा हुर्केर अमेरिका पुग्न सफल भएको उसले यो पनि बिर्सिन भ्याइसकेको थियो कि उसको अस्तित्वलाई दुनियाँसामु ल्याउनका लागि सुरक्षाकवच साबित भएको थियो यही मुसाको दुलो मेरा लागि । 

मैले बुझेँ– उचाइमा पुगेर भ¥याङ बिर्सिन सिकिसकेको थियो उसले । झनै मर्माहत भएँ म । तर पनि मनको तीतो बोलीमा नमिसाउन कोसिस गर्दै मैले उसको हालखबर सोधेँ । उसले मुख खुम्च्याउँदै मलाई ढोग्यो अनि कहाँ बसौँ, कहाँ बसौँ भन्ने भावले कोठाभरि आँखा डुलायो र अन्त्यमा हिचकिचाउँदै गएर खाटमा बस्यो । म उसको अनुहारको भावमा प्रस्ट झल्केको असुविधालाई नदेख्ने प्रयत्न गरिरहेँ ।

जब मैले चिया बनाउन तर्खर गरेँ, उसले ‘दुःख नगर्ने’ आग्रहका साथ भन्यो, “बरु छिट्टै तयार हुनूस् । तपाईंको पासपोर्ट बनाउने व्यवस्था मिलाएको छु । सकेसम्म सबै कुरा समयमै मिले तपाईंलाई साथै लिएर फर्कन्छु ।”

पछि मैले थाहा पाएँ– ऊ त लगभग एक हप्तादेखि आएर ससुरालीको महलमा बसेको रहेछ । 

मेरो डलर कमाउने, डाक्टर छोराले साथै ल्याएको कागजपत्रको आधारमा सजिलैसँग भिसा छाप्यो मेरो पासपोर्टमा र एकदिन मलाई साथ लिएर अमेरिका उड्यो । 

मलाई चिन्ने–जान्ने सबैले हिँड्नुअघि प्रत्यक्षमा मलाई बधाई दिए अनि भित्रभित्रै डढेर खरानी भए । आमासरहकी घरबेटी दिदीले आँखा भिजाउँदै भनिन्, “राधिका, तिम्रा दुःखका दिन सकिए अब । हाम्रो सल्लाह मानेर गर्भपात गरेकी भए यो दिन कसरी देख्थ्यौ ? काट्नुजति गोता काटिसक्यौ मोरी, अब तिम्रा सुखका दिन आए । सम्झँदै गरे, सुख पाएपछि हामीलाई नबिर्से ।”

मेरो मन र आँखा दुवै रसाए त्यो मुसाको दुलोजस्तो कोठा छोड्दा । किनकिन मन बेस्सरी भक्कानियो । 

अमेरिका पुगेर थाहा पाएँ, बुहारी भरे–भोलि भएकी रहिछ । छोरोलाई आमा होइन, सुसारे चाहिएको रहेछ । 

जन्मेर हुर्केको कोठामा एकदिन नबसेर, आमाको हातको एक छाक नखाई ससुरालीको महलमा बसेर, मेजमानी खाएर आएको छोराको व्यवहारले नै सबै रामकहानी भनिसके पनि भविष्यको चिन्ताले घेरिएकी म छोराको पछि लागेर सात समुद्रपारि त आएँ तर छोरा–बुहारीको चिसो व्यवहारले भोलिपल्टैदेखि पछुताउन थालेँ । 

बुहारीले छोरो पाई । त्यसै छोइनसक्नु बुहारी, झन् महँगी भई । 

छोराको ससुरालीले पठाएका बच्चाका लुगाफाटा र अरू सामानहरूको रास लगाएको देखेर त्यसै खुम्चिएकी मलाई लक्ष्य गर्दै बुहारीले भनी, “एउटा भोटो पनि ल्याउनुभएन तपाईंले ? हजुरआमा त तपाईं पनि हो नि ! कति नै पथ्र्यो र एकजोर लुगालाई ? मनमा नभएपछि के लाग्छ ?”

“बाबुले केही भनेन...” सधैँ चुप लागेर सबै सहने मैले आहत भएर भन्न खोजेँ, “नत्र त...।”

“भो बहाना नबनाउनूस्,” उसले उपेक्षापूर्वक भनी ।

मलाई भन्न मन लाग्यो, “मनमा नभए रगत पसिनाले जोडेको नाक– कानको सुन मासेर, खरखाँचोका लागि साँचेको सबै पैसा खर्चेर, म तिम्रा निम्ति तिलहरी र टप किन ल्याउँथेँ ?”

तर भन्न सकिनँ । 

तीन महिनामैँ बुहारी काममा जान थाली । म पकाउने, ख्वाउने, धुने, सुकाउने र सरसफाइमा यति व्यस्त भएँ, जति पहिले कहिल्यै भएकी थिइनँ । 

दिन त सास फेर्ने समय कुर्दाकुर्दै बित्थ्यो, साँझमा पनि छोरा–बुहारी फुर्सद भए घुम्न निस्कन्थे । म नाति खेलाउँदै खाना बनाउँथँे । 

नेपालदेखि ल्याएको लुगाले यहाँको चिसो धान्न नसकेर मुटु लगलग काँप्थ्यो । त्यसैले एकदिन मैले छोरा–बुहारी सँगै हुँदा एउटा न्यानो स्विटर किनेर ल्याइदिन आग्रह गरेँ । छोराले बुहारीको अनुहार हे¥यो । 

केही दिन यसै बिते ।

एकदिन बुहारीले एउटा होइन, दुई–तीनवटा न्याना लुगा मेरासामु राखिन्, जुन नयाँ थिएनन् ।

मेरो लगभग सारा जीवन जडाउरी लगाएरै बिते पनि त्यसबेला बुहारीको जडाउरीले आहत भयो मन । 

मैले नमाग्दै उसले ती लुगा मलाई दिएकी भए म चुपचाप लगाई पनि दिन्थेँ । तर, छोरासँग आग्रह गरिसकेपछि आएको त्यो जडाउरी मैले स्वीकार्न सकिनँ । 

छोरा–बुहारीले घोचपेच गरिरहे तर मैले बुहारीको पुरानो लुगा लगाइनँ । 

दुई वर्ष बितिसक्दा पनि मैले त्यो घर, घरछेउको ठूलो पार्क, कुनाको न्युज एजेन्सी, सँगैको कन्भिनिएन्ट स्टोरबाहेक अमेरिकाको अरू केही देखेकी थिइनँ । 

सम्धी–सम्धिनी आए । दुई महिनामा लगभग सिंगै अमेरिका घुमेर गए तर म छोरा–बुहारीको भात–भान्सा र खटनपटनमै व्यस्त रहेँ । अँ, यति उपलब्धिचाहिँ भयो, हाम्रै छरछिमेकमा भएका केही अरू ‘राधिका’ हरूसँग मेरो चिनजान र घनिष्ठता भयो, जसमध्ये हाम्रै घरछेउकी निर्मला दिदीको हालतले साह्रै अमिलिन्थ्यो मेरो मन । 

उनी पढेलेखेकी राम्रो खानदानी मान्छे थिइन् । लोग्ने बाँचुन्जेल उनलाई रानी बनाएर राखेका थिए । नोकर–चाकरले भरिभराउ सम्पन्न थियो उनको घर । लोग्ने बितेपछि सबै तितरबितर भयो । 

सोझी निर्मला दिदीको छोराले सबै बेचबिखन गरेर बैंकमा भएको पैसा पनि ‘अब तपाईं फर्केर आउने होइन क्यारे, यो पैसा यहाँ के काम ? म डलर साटेर तपाईंको अकाउन्ट खोलेर राखिदिन्छु’ भनेर गुट्मुट्यायो । 

अहिले उनी रात–दिन रोएर समय कटाउँदै थिइन् । कहिल्यै दुःख नगरेकी, कुनै काम गर्ने ढंग थिएन उनको । जानी–नजानी रातदिन खटिँदा पनि छोरा–बुहारी वचन लाउन छोड्दैनथे ।

सधैँ भन्थिन्, “तिमी जसरी खट्न सके, कामकाजमा यति सिपालु भएकी भए म त फर्केर नेपाल जान्थेँ । दसधारा दूध चुसाएर हुर्काएको छोराको वचन सुनेर यो विदेश बस्नुभन्दा त आफ्नै देशमा आटो–पीठो खाएर बस्न बेस ।” 

तर, भन्न जति नै गर्न सजिलो कहाँ थियो र ? हातमा सुको दाम थिएन, मद्दत गर्ने कोही आफन्त थिएनन् ।

हुन त सबै छोरा–बुहारी, ज्वाइँ–छोरीहरू हाम्रैजस्ता थिएनन् । साँचो श्रवणकुमारजस्ता छोराछोरी जन्माउने भाग्यशाली, गौरवशाली आमाहरू पनि थिए छिमेकमा तर उपेक्षित आमाहरूको सङ्ख्या नै धेरै थियो । 

म नाति हेर्थें, घर हेर्थें र दिउँसो एकैछिन फुर्सत हुँदा मुला, गोलभेंडा र मसलाको अचार बनाउँथेँ, जसलाई निर्मला दिदी वरपरका नेपाली, भारती, बंगलादेशीको घरघरमा गएर बेच्थिन् । 

मैले काम गर्दा उनी आफ्नी नातिनीसँगै मेरो नाति पनि हेर्थिन् । उनी बाहिर जाँदा म उनकी नातिनी हेरिदिन्थें । हामी चुपचाप यो काम गथ्र्यौं । निर्मला दिदी नै लिस्ट बनाएर सबै चिज किनेर ल्याउँथिन् । म टाकटुक मिलाएर बनाउँथे । हातमा आएको पैसा हामी बराबर बाँड्थ्यौँ । नाति–नातिनीलाई इच्छा लागेको सानोतिनो कुरा किनिदिन्थ्यौँ । आफ्ना स–साना रहर पूरा गथ्र्यौं । 

‘नेप्लिज् पिकल’ भनेर प्रख्यात हुन थालेको मेरो अचारको चर्चा मेरी बुहारीको कानमा के प¥यो, ऊ आफैँ अर्डर लिएर आउन थाली र मैले बनाएको अचार, फुरन्दाना र निम्कीको व्यापारमा लागी । मेरो मन खिन्न भयो ।

पैसा हातमा पर्न थालेदेखि म प्रत्येक हप्ता लटरी टिकट किन्थेँ । निर्मला दिदी भन्थिन्, “हामीजस्ता अभागीलाई के पथ्र्यो चिठ्ठा ! बेकारमा हातमा भएको दुई–चार डलर पनि किन खेर फाल्छ्यौ मोरी ?”

म भन्थेँ, “दिदी कुनै त कारण होला, जो भाग्यले हामीलाई यहाँ ल्याएर पछारेको छ ? के थाहा, तपाईंको र मेरो उद्धार यसमै पो छ कि ?”

उनी अविश्वासपूर्वक मलाई हेर्थिन् ।

००० 

४ वर्षको अन्त्यतिर एकदिन जब निर्मला दिदी र म नाति–नातिनी डुलाउँदै पार्कमा पुग्यौँ, म दिदीलाई नाति जिम्मा लाएर सधैँझैँ लटरी टिकट चेक गर्न गएँ । 

कामचलाउ अंग्रेजी त म बुझ्थेँ, बोल्थेँ पनि तर त्यसबेला त्यो न्युज एजेन्सीको मान्छेले चारफेर भन्दा पनि मैले बुझिनँ या पत्याउन सकिनँ । 

म दौडेर निर्मला दिदी भा’ ठाउँमा गएँ अनि नीलीकाली हुँदै भनेँ, “ए दिदी ! त्याँ हिँड्नूस् त झट्ट । त्यो गोराले त अचम्मको कुरा पो गर्छ त !”

दिदी र म फेरि न्युज एजेन्सीमा गयौँ ।

साँच्चै यो फुटेको तक्दिरले चमत्कार गरेछ । मलाई चिठ्ठा परेछ ।

दिदी वाल्ल परेर कहिले मलाई अनि कहिले त्यो चिट्ठा पसलेलाई हेरिरहिन् । पहिले त मलाई पत्यारै लागेन । जब लाग्यो, मेरो आँखामा आँसु उम्लियो । पेटका आन्द्रा बटारिए । मैले बाहिर निस्केर बान्ता गरेँ । 

अन्त्यमा दिदी र म कसैलाई केही नभन्ने अठोटका साथ उनैको चिनजानको एकजना वकिलको मद्दतले निकैबेर लगाएर फाराम–साराम भरेर न्युज एजेन्टले भनेका सबै औपचारिकता पूरा गरेर घरतर्फ लाग्यौँ । बाटोमा लामो हिसाब–किताब गरेर दिदीले भनिन्, “ट्याक्स कटाएर पनि करोडौँ बराबरको नेपाली पैसा पाउँछ्यौ मोरी, के गछ्र्यौ त्यतिका पैसा ?”

म केही बोलिनँ । 

खबर सानो थिएन । त्यसैले हामी चुप लागे पनि कुरा एक कान, दुई कान मैदान भयो । 

मेरा छोरा–बुहारीले मलाई यहाँ आएदेखि पहिलोपटक आफ्नो छेउमा राखेर विनम्र स्वरमा चिट्ठाको बारेमा सोधे र टिकट हेर्ने इच्छा व्यक्त गरे । मैले फोटोकपी देखाएँ । छोरा–बुहारीले मुखामुख गरे । 

छोराले ओरिजनलको बारेमा सोध्यो । मैले ‘सुरक्षित छ’ भनेँ । 

छोरा–बुहारीले नम्बर मिलाएर हेरे । दुवैको अनुहार धपक्क बल्यो । छोराले मेरो चिसोले कठ्याङ्ग्रिएर नीलो भएको, दर्खरिएको हात थामेर भन्यो, “के भएको यो तपाईंको हात ? हेर त मञ्जु, कति साह्रो ?” 

बुहारीले पनि मेरो हात सुम्सुम्याउँदै भनी, “लौ हेर त ! घरमा यतिका क्रिम र लोसनहरू छन्, यसो लगाउने गरे हुन्छ नि ! म आज भरे आउँदा राम्रो खाले ह्यान्ड क्रिम लिएर आउँछु ।”

“अलि ख्याल राख न है आमाको !” छोराले मेरो हात सुम्सुम्याइरह्यो ।

मैले म यहाँ आउँदाको सुरुको एउटा दिन याद नगरी रहन सकिनँ । 

एकदिन हात पटपटी फुटेर चह¥याएर छुट्टी भयो र बाथरुममा भएको एउटा बट्टाबाट केही नहेरी क्रिम झिकेर लगाएँ । अलि सञ्चो महसुस भयो । त्यसैले दिनभरिमा दुई–तीनफेर लगाएँ । 

साँझ बुहारी आएर बाथरुममा के छिरी, सिंगै घर उचाली । 

“यति महँगो अनुहारमा लगाउने क्रिम खाएर पो सके जस्तो छ तिम्री आमाले । एक पैसाको उत्पत्ति छैन, चार पैसाको खती । अनपढ, गँवार त छन्–छन्, एक थोपाको सोमत पनि छैन । अर्काको घरमा, अर्काको सामान चलाउँदा सोध्नुसम्म त पर्छ नि ।”

बुहारीले नेपालीमा अंग्रेजी मिसाएर भनेका एक–एक शब्द बुझेर पनि म त्यति मर्माहत भइनँ, जति छोराको वचन सुनेर भएँ । उसले भन्यो, “क्या आमा, तपाईं पनि । पढ्न आएन ठीकै छ, कमसेकम सोध्नु त पर्छ उसको सामान चलाउनुअघि । थाहा छ कति पर्छ त्यो क्रिमको ? तपाईंले नेपालमा एक वर्ष काम गरेर कमाएको पैसाभन्दा धेरै पर्छ । बुझ्नु–सुझ्नु छैन, त्यसै ।”

००० 

त्यसपछि छोरा–बुहारीले योभन्दा राम्रो ठाउँमा घर किन्ने, छोरोलाई राम्रो स्कुलमा राख्ने, होलीडेमा जाने आदि सारा सपना देखेर भ्याए आफ्ना लागि ।

मेरा लागि नयाँ न्यानो लुगा आयो । ह्यान्ड क्रिम आयो । बुहारी म यहाँ आएदेखि भान्सामा छिरेकी थिइन, ऊ भान्सामा पस्न सुरु गरी । 

जब पैसा पाउने निधो भयो, छोराले भन्यो, “मेरो अकाउन्टमा राखे भइहाल्छ । तपाईंको त अकाउन्ट पनि छैन । त्यसमाथि त्यतिका पैसा । फेरि मेरो अकाउन्ट पनि तपाईंकै त हो ।”

“जब तिम्रो घर मेरो भएन, तब तिम्रो अकाउन्ट मेरो कसरी हुन्छ बाबु ? तिमी चिन्ता नगर ! म सबै सम्हाल्छु, सम्हालिरा’छु,” मैले बिस्तारै भनेँ । 

एकैछिन छोराको अनुहार रातो भयो तर पनि उसले भनेरै छोड्यो, “आमा तपाईं सोझी हुनुहुन्छ । लेखपढ गर्न जान्नुहुन्न । कसैले जालझेल गरेर सबै पैसा लिइदिए के गर्नुहुन्छ ?”

“सोझो छु बाबु, त्यसैले परमात्माको निगाहमा छु । जे मेरो निधारमा छ, त्यो मसँग कसैले खोस्न सक्दैन । जे मेरो निधारमा छैन, त्यसलाई जत्तिकै कपट गरे पनि म आफूसँग राख्न सक्दिनँ । त्यसैले तिमी चिन्ता नगर,” मैले बिस्तारै भनेँ ।

त्यही साँझ उसले एउटा फर्म ल्याएर मेरो अगाडि राख्यो र भन्यो, “पासपोर्टमा लेखेझैँ ऊ यो–यो ठाउँमा नाम लेख्नूस् !”

पासपोर्ट बनाउँदा मैले नै अघि सरेर भनेकी थिएँ, “म आफ्नो नाम लेख्न सक्छु । सही गर्न सक्छु ।”

“के हो यो ?” मैले सोधेँ । 

“के हुनु नि अरू, तपाईंको बैंक अकाउन्ट खोल्ने निवेदन । आफ्नै अकाउन्टमा पैसा राख्छु भन्या होइन ? पासपोर्ट पनि झिक्नूस्, टिकट पनि झिक्नूस्,” उसले भन्यो ।

मैले त्यो फर्म हेरेँ । त्यो अकाउन्ट खोल्ने निवेदन नभएर अथरिटी लेटर थियो, जसमा लटरीको पैसा आफ्नो एक मात्र सन्तानलाई बुझ्न र उसको अकाउन्टमा राख्न म सहर्ष, बिना कुनै दवाब मञ्जुर छु भन्ने व्यहोरा लेखिएको थियो । 

“अंग्रेजीमा लेखिएको छ तपाईं कहाँ बुझ्नुहुन्छ र यति ध्यान दिएर हेरिरहनु भएको ? नाम लेख्नूस् छिट्टो !” छोराले हतारिँदै मलाई पेन थमाउन खोज्यो । मैले आँखा उठाएर उसको अनुहारमा हेरेँ । आफ्नो अगाडि साक्षात् दामोदरलाई देखेँ मैले । मेरो हात उठ्यो र उसको गालामा बज्रियो । 

“आमा !” ऊ विस्मित भावले चिच्यायो ।

“दामोदरको रगतमा आफ्नो दूध मिसाएर मैले सोचेँ त्यो रगतको विकृति पखालियो । कत्रो ठूलो भ्रम मेरो ? झुप्रोबाट उठाएर यहाँसम्मको बाटोमा तँलाई उभ्याउन हजार, लाखपटक मारेँ मैले आफूलाई तर त्यो सब व्यर्थ भएछ । यो जुन थप्पड मैले अहिले तेरो गालामा हानेँ, त्यो वास्तवमा मेरा लागि हो । किनकि मैले नै तँलाई सन्तान मान्ने गल्ती गरेँ । भविष्यको पुँजी, सहारा मानेर रगतले सिञ्चेर हुर्काउने गल्ती गरेँ । आज मलाई बितेका ती हरेक रातप्रति अफशोच छ, जब तँलाई न्यानोमा सुताएर म तैँले भिजाएको ठाउँमा सुतेँ । मलाई ती साँझ–बिहानप्रति अफशोच छ, जब तेरो पेट भर्न आफू भोकै बसेँ । त्यो जाडोयामप्रति अफशोच छ, जब तँलाई न्यानो राख्न मैले हिउँझैँ कठाङ्ग्रिएर रात बिताएँ । ती गर्मीका रातहरूप्रति अफशोच छ, जुन तँलाई हम्केर शीतलता दिँदै आफू पसिनामा भिजिरहेँ । श्रवण, मलाई यति बेला सबैभन्दा ठूलो अफशोच तँलाई जन्माएकोमा छ,” मैले सास फेरेर आँसु पुछ्दै फेरि भनेँ, “तेरो पेट भर्नका निम्ति म आफ्नो शरीरसम्म बेच्न तयार थिएँ कुनै दिन । तर, तँ पैसाका निम्ति मलाई अनि आफ्नो इमानलाई बेच्न तयार भइस्, आफ्नो बाउले झैं ।”

“आमा !”

“मलाई बाँकी सारा जीवन तेरो भात–भान्सा गरेर बिताउन कुनै गुनासो थिएन, बुहारीको वचन सहन गारो थिएन, यदि तँ मेरो सन्तान बन्न सकेको भए,” मैले अफशोचपूर्ण स्वरमा भनेँ ।

“हामीले तपाईंलाई यहाँ नल्याएको भए कसरी पथ्र्यो लाटरी तपाईंलाई ? त्यसैले हाम्रो पनि हक छ यो लटरीको पैसामा,” बुहारीले भनी । 

“हक ?” मैले व्यंग्यपूर्वक भनेँ, “त्यसो त तिम्रो पोइ मेरो पेटमा भएको थाहा पाएका सबैले मलाई गर्भ तुहाउन सल्लाहमात्र होइन, दबाब नै दिएका थिए । उनीहरूको कुरा मानेर उन्नाईस वर्षकी मैले गर्भ तुहाइदिएकी भए कहाँ हुन्थ्यौ तिमी हक जताउन ?”

बुहारी रातो मुख लगाउँदै के भनौँ के भनौँ भनेर शब्द खोजिरही ।

“तर मलाई तिमीसँग कुनै गुनासो छैन । किनभने मलाई थाहा छ मेरो गर्भ चिरेर, मेरो भागको गास खाएर, मेरो रगत पसिनामा डुबेर हुर्केको मेरो छोराले मलाई आमाको सम्मान दिएको भए तिम्रो हिम्मत हुन्थेन मेरो अनादर गर्ने,” मैले भनेँ, “तर पनि यति अवश्य भन्न चाहन्छु– छोरा तिमीले पनि जन्माएकी छ्यौ, हुन सक्छ मैले भोगेको तिमीले भोग्नु नपर्ला । तर, यो नबिर्स तिम्रो सन्तानको रगतमा मेरो सन्तानको रगत मिसिएको छ । तिमी ‘राधिका’ नभए पनि तिम्रो सन्तान ‘श्रवण’ हुन सक्ने सम्भावना छँदै छैन भन्ने नसोच ।” उसको अनुहारको रङ फेरियो । उसले घुटुक्क थुक निल्दै श्रवणलाई हेरी ।

“तिमी लाख सम्पन्न परिवारकी छोरी सही तर मेरो छोराकी स्वास्नी हौ । यो सत्य तिमीहरूलाई याद नभए पनि नियतिले बिर्सिने छैन । आज मेरा छोरा–बुहारीले मलाई जे दिए, त्यो तिम्रा छोरा–बुहारीबाट तिमीले कहिल्यै पाउनु नपरोस् । तिमीलाई दिनका लागि योभन्दा ठूलो आशीर्वाद मसँग अरू केही छैन ।”

म उठेँ । आफ्नो अगाडिको फर्म धुजाधुजा पारेर छेउको डस्टबिनमा हालेँ अनि बिस्तारै भनँे, “यो फर्ममा लेखिएको जति अंग्रेजी कनिकुथी पढ्न र बुझ्न सक्छु म । आजसम्मका तिम्रा ती अंग्रेजी गाली, अपशब्दहरू पनि नबुझेको होइन मैले, तर यो तिमीहरूलाई बुझाएर केही फाइदा थिएन ।”

उनीहरूको अनुहार विवर्ण भयो । 

“तिमीहरूको सबै दुव्र्यवहार सहेर पनि म सबैजसो पैसा तिमीहरूलाई दिन तयार थिएँ तर तिमीहरूको सबै गुट्मुट्याउने जालझेल जानेपछि म तिमीहरूलाई फुटेको पैसा दिन सक्दिनँ । मैले वकिल राखेकी छु, यो सबै पैसा बुझेर नेपाल पठाउनका लागि । त्यहीँ गएर म मजस्तै अरू थुप्रै राधिकाहरूको मद्दत गर्ने एउटा संस्था खोलेर बस्छु । किनभने यो पैसाको आवश्यकता ती राधिकाहरूलाई छ, जसको दामोदरजस्तो लोग्ने र तिमीहरूजस्ता सन्तान हुन्छन् । मलाई थाहा छ– यो घटनापछि तिमीहरू सदाका लागि मेरो नाम लिन चाहनेछैनौ । तर केही छैन, म सोच्नेछु कि मैले आफ्नो गर्भ त्यसै बेला तुहाएँ । कुनै सन्तान जन्माइनँ । मलाई दागबत्ती, किरिया र पिण्डको कुनै लोभ वा इच्छा पनि छैन र तिमीहरूजस्ता जीवितलाई कुनै मान दिन नसक्ने सन्तानहरूबाट यसको आस पनि छैन ।”

म कोठाबाट बाहिर निस्किएँ । 

अनि एकदिन हामी भाग्य र सन्ततिद्वारा ठगिएका ६ जना निर्मला र राधिकाहरू अरू कैयौँ राधिका र निर्मलाहरूलाई उनीहरूका सन्तानबाट उद्धार गर्ने दृढ अठोटका साथ आफ्नो देश, आफ्नो माटोमा फर्कियौँ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २०, २०७४  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय