site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तापक्षको रणनीति– सभामुखलाई साथ लिएर विपक्षलाई पेल्ने !

काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन शुक्रबारबाट सुरू भयो । तर, बजेट अधिवेशन सौहार्दपूर्ण ढंगबाट अघि बढ्न सकेन । सदन मुठभेडउन्मुख देखियो । 

शुक्रबार प्रतिनिधिसभाका दुई बैठक बसे । दुवै बैठकमा हो–हल्ला र नाराबाजी भए । सदन अशान्त बन्यो र कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भयो । सभामुख देवराज घिमिरेले तीन दिनका लागि सदन स्थगित गर्दै जेठ १ गते साँझ ६ बजेका लागि बैठक बोलाए । 

हिउँदे अधिवेशनको अन्त्यतिरबाटै सदन सौहार्दपूर्ण वातावरणबाट अघि बढ्न सकेको छैन । गएको वर्ष फागुन २१ गते सत्ताच्यूत भएपछि संसद्को पहिलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको छ ।

सत्ताच्यूत भएसँगै कांग्रेसले सहकारी बचत अपचलन र ठगी प्रकरणमा निरन्तर आवाज उठाउँदै आएको छ । 

कांग्रेसले यस प्रकरणमा गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने मुख्य दोषी भएको भन्दै सत्यतथ्य उजागर गर्न माग गरिरहेको छ ।  विशेष गरेर संसदीय छानबिन समिति बनाएर यो विषयलाई टुंगोमा पुर्‍याउन कांग्रेसले माग गरिरहेको छ । 

के भयो सदनमा ?

कांग्रेसले पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी लगायतबाट रकम लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गर्दा जीबी राईसँगै रवि लामिछाने पनि दोषी भएको आरोप लगाउँदै आएको छ । 

मिडियामा आएका प्रमाणहरूले पनि गृहमन्त्री लामिछाने दोषी देखिन्छन् । यसमा छानबिन गरिनुपर्ने र लाखौं बचतकर्ताको रकम फिर्ता गरिनुपर्ने माग कांग्रेसले राखेको छ ।  कांग्रेस संसदीय दलको शुक्रबार बिहानै बैठक बसेको थियो । बैठकले आफ्नो कुरा पनि राख्ने र रास्वपा संसदीय दलको हैसियतमा रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको थियो । 

sadan-congress-1715349340.JPG
 

अर्थात् संसदको बजेट अधिवेशन सुरुवातको दिन सबैले बोल्ने र सरकारले सहकारी प्रकरणमा समिति नबनाए सदन बैठक अघि बढ्न नदिने निर्णय गरेको थियो । 

सोही बमोजिम दलहरूले तयारी गरेका थिए । कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार कांग्रेसको तर्फबाट सुरुवातमा समय लिएर सांसद रामहरी खतिवडा बोल्ने, दलीय हैसियतमा रवि लामिछानेले बोलेको सुन्ने र त्यसपछि महामन्त्री गगनकुमार थापाले आफ्नो कुरा राख्ने तयारी भएको थियो । कार्यव्यस्था बैठक हुँदै सोही विषय अघि बढाएर दलहरू संसद् बैठकमा छिरेका थिए । 

२ बजेका लागि बोलाइएको बैठक झन्डै ४ बज्न लाग्दा सुरु भएको थियो । सुरुवातमा सभामुख देवराज घिमिरेले बजेट अधिवेशन सुरु भएको पत्र राष्ट्रपति कार्यलयबाट आएको पत्र बाचन गरेर सुनाएका थिए । 

सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र बाचन गर्ने भनेपछि कांग्रेसले उठेर विरोध गरेको थियो र बोल्न समय मागेको थियो । कांग्रेसले सभामुख घिमिरेलाई पत्र बाचन गर्न अवरोध गरेपछि उनले महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिएका थिए ।

यसमा सभामुखले राजनीति गरेको आरोप सत्तापक्षको छ । गृहमन्त्री बोलिसकेपछि कांग्रेसको धारणा राख्न तयार भएका थापालाई सुरुमै त्यो पनि तीन मिनेट समय दिएर बोल्न लगाएपछि कांग्रेसले सभामुखबाट आफूहरुलाई अपमान गर्ने काम भएको बताएको छ ।

sadan1-1715349340.JPG
 

कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलभन्दा बाहिर गएर सभामुखले सत्तापक्षको कुरा सुनेर सदनभित्रै राजनीति गरेको आरोप कांग्रेसको छ । 
 
थापालाई बोल्न दिएपछि कांग्रेसले आपत्ति जनायो । अनि सभामुख घिमिरेले भने, “बैठक त्यताबाट चलाउने कि यताबाट ?”

विरोध जारी राख्दै कांग्रेसका महामन्त्री थापा बोल्न थाले । थापाले पनि सभामुखलाई भने– निगाह गरेर दिएको समय कांग्रेसलाई चाहिँदैन ।”

उनले सदनबाट कुरा नसुनिए सदनमा पनि आफूहरुको उपस्थिति रहने चेतावनी दिएका थिए ।

devraj-ghimire-1715349339.JPG
 

थापाले कांग्रेसलाई सरकारले हेपेको भन्दै समिति नबनेसम्म सदन नचल्ने जानकारी दिए ।  उनले सरकारी संयन्त्रको गलत दुरुपयोग गरेर गृहमन्त्रीले आफूलाई ‘क्लिन चिट’ दिन खोजेकोमा आपत्ति जनाए । 

साथै अभियोजन छैन भनेर झुट बोल्ने काम पनि प्रधानमन्त्रीबाट भएको उनले जिकिर गरे । 

उनले कहिले प्रहरी कहिले प्रधानमन्त्री मात्र होइन हुँदा हुँदा महान्यायाधिवक्ता कार्यालयलाई समेत प्रभावमा पारेको भन्दै थपे, “महान्यायाधीवक्ता झुक्दा झ्क्दा लम्पसार पर्नुभयो ? किन डराएको किन आत्तिएको ? गल्ती नगरको भए ?”

pm-1715349339.JPG
 

थापा बोलिसकेपछि सभामुख घिमिरेले बैठक अघि बढाउन खोजेका थिए । तर, कांग्रेसले वेल नै घेराउ गर्दै नाराबाजी गरेको थियो । २५ मिनेट जति चलेको बैठक १५ मिनेट स्थगन भयो ।  स्थगितपछिको बैठक सुरू हुनेबित्तिकै सभामुखले फेरि बैठक अघि बढाउन खोजेपछि कांग्रेसले नाराबाजीसहित वेल घेर्यो । 

सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय उपलव्ध गराए ।  तर, कांग्रेसले निरन्तर अवरोध भएपछि बैठक १ गते साँझ ६ बजे सम्मका लागि स्थगन भएको छ । 

कहाँ भाडियो विषय ? 

बिहान गृहमन्त्री लाछिानेलाई बोल्न दिने सहमति कहाँ भाडियो भन्ने हामीले प्रश्न कांग्रेस सांसद प्रतिमा गौतमलाई राख्यौं । उनले सभामुखले पेलेर जाने नीति लिएपछि बैठकमा नाराबाजी र वेल घेर्ने काम भएको जानकारी दिइन् । 

“रामहरी खतिवडा आकस्मिक समय लिएर बोल्ने त्यसपछि दलीय हिसाबमा रवि लामिछाने बोल्ने र त्यसमा चित्त नबुझे हाम्रो तर्फबाट गगन थापाले बोल्ने सहमति नै भएको थियो,” उनले भनिन्, “तर, सत्ताले त्यो चाहेन । सदन चलेन ।”

sadan2-1715349340.JPG
 

नेकपा(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले तीन घण्टाभित्र राजनीतिक बेइमानी गरेको बताउँछन् । संसदीय दलमा दलीय हैसियतमा रवि लामिछानेलाई बोल्न दिने निर्णय गरेको कांग्रेसले पुनः संसद् अवरोध गरेर बोल्ने एक गर्ने अर्कै भन्ने सन्देश दिएको उनी बताउँछन् । 

“उहाँले गृहमन्त्री मात्र होइन प्रधानमन्त्री र हाम्रा दलका अध्यक्षलाई समेत बोल्न नदिएर अपमान गर्नुभयो,” बर्तौला भन्छन् ।  तर कांग्रेस महामन्त्री थापाले सभामुख, प्रधानमन्त्री र सत्तारुढ दल एमालेका अध्यक्षले सदनमा पनि राजनीति  गरेको आरोप लगाए ।

गृहमन्त्री बोलिसकेपछि कोही पनि बोल्न पाउँदैन भनेर भनिएपछि आफूहरु सदन अवरोध गर्न बाध्य भएको बताए ।

गगन–रविको घोचपेच 

सदनबाट बाहिरीने क्रममा रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेबिच घेचपेचनै भयो । सञ्चारकर्मीहरूसँगको संवादमा उनीहरूबीच घेचपेच भएको हो । 

गृहमन्त्री लामिछानले कांग्रेस महामन्त्री गगन थापालाई चुनौती दिँदै आफूले ऋण लिएको प्रमाणित भएमा राजनीति छोडिदिने स्पष्ट पार्दै प्रमाणित नभए गगन थापाले राजनीति छाड्ने कि नछाड्ने भन्ने प्रश्न गरेका छन् ।

उनले प्रतिनिधिसभाको बैठक चल्न नसकेपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

rabii-1715349340.JPG
 

“आज गगनजीले मैले ऋण लिएको प्रमाण छ भन्नुभयो, यदि मैले ऋण लिएको प्रमाणित भए राजनीति छाड्छु प्रमाणित नभए गगनजीले राजनीति छाड्ने हो कि होइन ?”

उनले मिडियाबाजी र घेराबन्दी भएको बताए । लामिछानेले मिथ्या सूचना प्रकाशित गरेर आफूविरुद्ध घेराबन्दी भएको बताए । उनले निवेदन दिएर ऋण लिएको प्रमाणित भए राजनीति नै छाडिदिने बताए ।

त्यसलगत्तै गृहमन्त्री लामिछानेमाथि लगाएको आरोप पुष्टि नभए आफू राजनीति छाड्न तयार भएको कांग्रेस महामन्त्री गगन थापाले बताए । गृहमन्त्री लामिछानेले आफूले निवेदन दिएर ऋण लिएको तथ्य पुष्टि नभए राजनीति छाड्न तयार हो कि होइन भनी सोधेको प्रश्नको जवाफ दिँदै थापाले भने, “पुष्टि भयो भने तपाईंले छोडे पनि हुन्छ । गृहमन्त्रीले ऋण लिएको पुष्टि भएन भने उहाँले राजनीति छोडे हुन्छ । कहिले महान्यायाधीवक्ता, कहिले प्रहरी प्रमुखलाई बोल्न लगाउनै पर्दैन । संसदीय छानबिन समितिको नेतृत्व जसले गरे पनि हुन्छ । त्यहीँबाट पुष्टि गरे भइहाल्छ ।”

oli-1715349339.JPG
 

उनले अहिले आफूहरुले माग गरेको समितिले सहकारीका सम्बन्धमा आएको समस्या समाधानको बाटो देखाउने बताए ।

“त्यो समितिले गर्ने के हो त ? त्यसको आधारमा एउटा निष्कर्ष निस्कन्छ । सहकारीमा आम मानिसको रकम रहेको छ । फिर्ता कसरी गर्ने ? जसले ठगी गरेको छ । उसको सम्पत्ति बेचेर पनि फिर्ता गर्ने हो । हाम्रो दाबी छ गृहमन्त्रीको यसमा संलग्नता छ,” थापाले भने, “यसमा बाहिर बोल्नै पर्दैन । संसदीय समितिमा प्रमाणित गरे भइहाल्छ ।”

उनले आफ्नाबारेमा पनि आरोप लागेको उल्लेख गर्दै छानबिन गर्न समिति बनाइदिए हुने बताए ।
 
“केपी ओलीले माया गर्नुभएको छ, प्रधानमन्त्रीले माया गर्नुभएको छ, प्रहरी प्रमुख बोल्नुभएको छ, महान्यायाधीवक्ता लगाउनुभएको छ,” थापाले भने, “त्यति हुँदा पनि हामीले  संसदीय समिति बनाउँ भन्दा भागेको भाग्यै किन ?  सरकारको तर्फबाट महान्यायाधीवक्ताले तहकिकात भएको ठाउँमा गएर बोल्न पाउँछ ? अहिलेको महान्यायाधीवक्तालाई मुद्दा हालिदियो भने लाग्छ भनेर पूर्व महान्यायाधीवक्ताले भन्नुभएको छ । यस्तो काम सरकारले गर्न मिल्छ ?”

gagan-1715345548.JPG
 

उनले आफूहरुले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेर बोल्न रोक लगाइएको बताए ।

“हामी पनि संसदको खेलमा कमजोर छैनौँ । संसद् नै बनाएको हो,” उनले भने, “सभामुखले इशारा गर्ने, अनि बोल्न खोज्ने ? यहाँ मिलेमतो भएको कुरा हामीलाई थाहा छैन ? जतिबेर बोले पनि हुन्छ हामी सुन्छौँ ।  गृहमन्त्री बोलेपछि कांग्रेस बोल्न पाउँदैन भन्ने ? प्रधानमन्त्री र एमाले अध्यक्ष नै वासिङ मेसिन बोकेर बस्नुभएको छ त ।”

उनले अहिले सहकारीको विषय निरुपण भएन भने डुबेको पैसा पीडितले कहिले पनि नपाउने बताए ।

“निजी कम्पनीमा गएको पैसा फिर्ता भएन भने कसैले पाउँदैन,” थापाले भने, “एमाले बैठकको कुरा सुनेँ । २०८४ सालसम्म हामीलाई सरकारतिर फर्किन छैन । हामीले गर्न पर्दैन । तपाईंहरु नै दल फुटाउन लाग्नुभएको छ । राजीनामा दिनुपर्दैन, सरकार चलाउनुस् ।”

rabi1-1715349339.JPG
 

थापाले गृहमन्त्रीले अहिलेसम्म प्रमाण लुकाएको आफूहरुले सूचना पाएको बताउँदै भने, “प्रमाण लुकाउनुपर्ने लुकाइसक्नुभयो । रुपन्देहीमा अनुसन्धान गरिरहेका प्रहरी माथिको दबाब थेग्न नसकेपछि अहिले गंगालाल अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ । गृहमन्त्रीले तथ्य प्रमाण तोडमोड गर्ने जति गर्नुभयो ।”

उनले आफूहरुको माग अब संसद्भित्र मात्रै नरहने बताउँदै भने, “संसद्बाट अब सडकमा आउँछ । पुष्टि भएन भने मैले राजनीति छोडिदिन्छु ।  चुनौती मैले स्वीकार गरिसकेँ । नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेलाको अनुसन्धान रिपोर्ट किन लुकाउनुभएको ? त्यतिमात्रै बताइदिए हुन्छ । बुटवल वा पोखरामा भइरहेको अनुसन्धान किन रोकिएको ? त्यतिमात्रै बताइदिए हुन्छ ।”


 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १९:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro