site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सहिदको छोरो

माघे ठण्डीमा सानुकान्छो रातभरि चिसिएको ड्रमको पानीमा ठूलाठूला भाँडा मस्काएर पखालिरहेको हुन्थ्यो । सानो भए पनि सडकछेउको त्यो होटेलमा प्रशस्त ग्राहक आउँथे । साहु सोझो थियो । साहुनी मलिन र सभ्य थिई । सानोतिनो काम तलमाथि हुँदा साहुनी सानुलाई गाली गर्दिनथी ।

सानुकान्छो करिब १० वर्षको थियो होला । अन्तरिम संविधान घोषणा भएको साल जन्मेको हो ऊ । उसका बा आन्दोलनमा मरेका थिए । सानुकान्छोलाई उसकी आमाको पढाउने रहर हुँदाहुँदै पनि सकिनन् । सानुका बा सहिद भएको दुई वर्षपछि उसकी आमा पोइल हिँडिन् । उसको सारा संसार अन्धकारमा पोखियो ।

सानुकान्छो बिहानै झिसमिसेमा उठ्थ्यो । बेलुकाका बाँकी भाँडा माझ्थ्यो । त्यसपछि पानी थाप्थ्यो । गिलास पखाल्थ्यो । लज कहिल्यै खाली हुँदैनथ्यो । ओछ्यान मिलाउने र कुचो लगाउने काम पनि सानुकान्छाकै थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यी काम उसले बिहान सात बजेभन्दा अगाडि गरिसक्नुपर्थ्यो । सात बजेपछाडि भात खानेहरूको ओइरो हुन्थ्यो । सानुकान्छोलाई भाँडाहरू टेबुलबाट धारासम्म पुर्‍याउँदैमा फुर्सद हुँदैनथ्यो ।

दिउँसो बाह्र बजेतिर सानुकान्छोलाई कामको अलि होलोखुकुलो हुन्थ्यो । साइडमा राखिएको टेलिभिजनमा रिमोटद्वारा च्यानलहरू फेरीफेरी हेर्थ्यो । हिन्दी गीत बजेका च्यानलमा रिमोट अड्याउँथ्यो । थाममा अडेस लागेर हेर्थ्यो ।

सोचाइको गहिरो सागरमा डुब्थ्यो । उसलाई फिल्मको हिरोले जस्तै गरी राम्री हिरोनीलाई अँगालेर हिँड्न मन लाग्थ्यो । चिटिक्क परेको गाडीमा हिरोनीलाई घुमाउन मन लाग्थ्यो । उसैसँग बिहे गरेर पोइल गएकी आमालाई बुहारी देखाउन मन लाग्थ्यो ।

मन लाग्नु एउटा कुरा थियो, तर यथार्थ कहाँ त्यस्तो थियो र ! यथार्थमा जँघार थियो । भेल थियो । आँधी थियो । अक्करे भीर थियो । अनि, अकल्पनीय तुफान थियो ।

होटेलमा कति मानिस आउँथे, सानुलाई मतलब थिएन । अनवरत र अविछिन्न भाँडामा हातहरू चलिरहन्थे । त्यही सडक हुँदै उसकै उमेरका विद्यार्थीहरू हातमा पोस्तक च्यापी स्कुलतिर हिँडेको सानुकान्छो आफ्नो आँखाको सीमासम्म हेरिरहन्थ्यो । उसलाई पनि उनीहरूसँग चल्दै र जिस्किँदै स्कुल जान मन लाग्थ्यो । विद्यार्थी आँखाबाट ओझेल पर्थे । बेलुका फेरि उसको सडकमा उसकै आँखाअगाडि देखा पर्थे ।

आफूसमान उमेरका विद्यार्थीहरू स्कुल जाँदा सानुकान्छो मर्माहत हुन्थ्यो । अन्तर्आत्मालाई ग्लानि बोधले कक्र्याउँथ्यो । कति विद्यार्थी चिनेका पनि थिए । चिनेका साथीहरू यही बाटो भएर आउँदा लाजले सानु भाँडा मस्काउन छाडेर टीभीको रिमोट चलाउन जान्थ्यो । साथीहरूलाई भान परोस्, सानु भाँडा माझ्न बसेको थिएन । होटेल मालिक भएर बसेको थियो ।

विद्यार्थी सडकमा बग्रेल्ती छरिँदा कहिले उसलाई आहारिस लाग्थ्यो । एक दिन त आफ्नै गाउँको साथीले सानु भाँडा मस्काइरहेको बेलामा पछाडिबाट आँखा छोपिदियो । सानुले आफ्ना हात धोएर आँखा छोप्ने हात हटाउँदा त सँगै कखरा पढेको उत्ते अर्थात् उत्तम पो रहेछ । लाजले पानीपानी भयो सानु । उत्तेले भन्यो, ‘सानु, भाँडा राम्रोसँग माझ् नि ! माझिनस् भने साहुको गाली खालास् है !’

चुतुरेलाई उत्तेको मासु नै खाऊँजस्तो लागेको थियो । चिथोरूँचिथोरूँ लागेको थियो । तर, केही भनेन । अमिलो भएको मन सम्हाल्दै हातहरूलाई काममा तल्लीन गरायो । उत्ते पुलपारि ओझेल पर्‍यो । सानुले मनमनै भन्यो, ‘पख्, उत्ते टपरेको छोरा ! मलाई खिज्याउँछस् ? बाउले टपरी सोहोर्दै कमाएको पैसाले मातेको ।’

दिन भयो, रात भयो । दिनहरू बितिरहे । उसैगरी रातहरू पनि बिते । जति दिनरात बदलिए पनि सानुकान्छाका दिनहरू उस्तै थिए, सधँै जुठा भाँडासँग एकाकार भइरहने ।

पाँच÷सातवटा गाडीका स्टाफ बस्नेखाने होटेल थियो त्यो । ड्राइभर, खलासीले चुरोट तानेर बुङ्बुङ्ती धुवाँ छोड्दा सानुलाई चुरोट तान्न मन लाग्थ्यो । सोच्थ्यो– आहा, कति मजा हुँदो हो जाडोमा तातो धुवाँले फोक्सो फुलाउँदा !

एक दिन सानुले ड्राइभरले चुरोट आधा नसकी भैँमा फालेको देख्यो । धुवाँ आइरहेको थियो । धुवाँले उसलाई मोहित पार्‍यो । सानुले अरूको आँखा छलेर ठुटो टिप्यो । ठुटो चुरोटको धुवाँ तान्न थाल्यो । तान्दै आफ्नै मनसित कुरा गर्न थाल्यो– आहा, क्या मजा ! त्यसैले पो सबै तान्दा रहेछन् !’

एकदुई दिनपछि ऊ चुरोटको धुवाँमा बानी पर्‍यो । निकोटिनले दिमागलाई मजैले समात्न थाल्यो । अब ऊ एकदमै अम्मली भयो । सानुले चुरोट तान्छ भनेर गुरुजीहरूले पनि थाहा पाए । ड्राइभर र खलासीले बसबाट झर्नेबित्तिक्कै सल्काएका चुरोटका ठुटा दिन थाले । कहिले सानुका त हातभरि ठुटा भए । चुरोट तानेर निभाउँथ्यो अनि जतनसाथ चेपमा राख्थ्यो । तलतल लागेको बेला फेरि ठुटाको सहारा लिन्थ्यो ।

सानुले चुरोट तानेको साहुकी सानी छोरीले देखी । उसले भनी, ‘तिमी त चरोट खान थालेछौ, म बालाई भन्दिऊँ ?’ उसले भन्यो, ‘नभन नभन । यत्ति तानेपछि म कहिल्यै तान्दिनँ ।’

सानुले चुरोट तान्न पनि छाडेन । साहुकी छोरीले बालाई भन्दा पनि भनिन । सानु त्यहाँ बसेको दुई वर्ष बित्यो । सानु त्यो सानो बजारको रैथानेजस्तै भइसकेको थियो । सबैले सानुलाई राम्ररी चिन्न थाले । सानुले दुईचारजना केटाको नेतृत्व गरी सडकमा गुच्छामण्डली बनाउन थाल्यो । लुकीलुकी तास पनि खेल्न थाल्यो ।

एक बिहान कुनामा बसेर केही मानिस रक्सीको चुस्की लिइरहेका थिए । मण्डलीमध्येको एउटाले सानुलाई अर्डर गर्‍यो, ‘ए भाइ, एक बोतल ल्याऊ त !’ सानुले भन्यो, ‘हस् हजुर ।’ मण्डलीको सूचना साहुलाई पुर्‍यायो । एक बोतल ल्याएर टक्र्यायो ।

राजनैतिक जालझेल र कुटिल चालदेखि अनविज्ञ रहेको सानुका बालाई आन्दोलनको वेदीमा होमाएर खरानी बनाउने तिनै मण्डली थिए । मण्डलीमध्येको एउटा दाह्रीवाल, जिल्लामा गनिएको नेता थियो । त्यो मानिस उठ्यो । जर्खरिएर सानुलाई सोध्यो, ‘ए भाइ, तिम्रो घर कहाँ हो ?’

सानुको सरल जवाफ थियो, ‘हजुर, मेरो घर ओखलढुंगा हो ।’

‘तिमी कसको छोरा हौ ?,’ दाह्रीवालको प्रश्न ।

‘मलाई मेरो बुबाको नाम थाहा छैन हजुर । खै, कैलेको आन्दोलनमा कुनचाँहि पार्टीको कार्यकर्ता हुनुहुन्थ्यो रे । आन्दोलनमा बा मारिएको खबर आएपछि मेरी आमा मलाई छोडेर अन्तै जानुभो हजुर । मलाई त बा मरेको जस्तै लाग्दैन । मलाई कस्तो बा भेट्न मन लागेको छ ।’

सानु उनीहरूकै कार्यकर्ता माइलो खत्रीको छोरा हो भनेर मण्डलीलाई पक्का भयो । ‘तिमी हाम्रो साथीको छोरा रहेछौ, अनि किन यहाँ यसरी बसेको ?,’ एउटाले सोध्यो ।

सानु साँच्चै सानु थियो । उसले भनिहाल्यो, ‘मेरो बा तपाईंहरूको साथी भनेपछि मेरो बुबा मरेबाँचेको तपाईंहरूलाई पक्कै थाहा छ । मेरा बा कहाँ हुनुहुन्छ ? मलाई भन्नुस् न हजुर ।’

दाह्रीवालले भन्यो, ‘तिम्रो बा हाम्रो आन्दोलनमा मरे । तिम्रा बा यो देशका सहिद हुन् । महान् मान्छे हुन् । सरकारसँग उनको सालिक बनाउन हामीले पैसा मागेका छौँ । अब गाउँमै सालिक बन्छ । तिम्रा बालाई सबैले फूल चढाएर ढोग्छन् । तिमी सहिदका छोरा हुन्छौ ।’

सानु रिसले रन्थनियो । उसलाई ती मण्डलीलाई नै टोक्न मन लाग्यो । उसले भन्यो, ‘हजुर, कति चिल्ला कुरा गर्नुहुन्छ, मेरो बा सहिद हुनु भो रे ! अर्कालाई मर्न तम्साउँदै उसको सालिक बनाउँदै गर्न लाज लाग्दैन ? मेरो बा मार्ने तपाईंहरू नै हो ।’

एउटाले भन्यो, ‘हामीले होइन भाइ, पुलिसले मारेको हो ।’

सानुले दह्रो झापड हान्यो, ‘मेरा बालाई मर्न उक्साउने को हो ? तपाईंहरू नै हैन ! अर्काको बालाई मारेर तपाईंहरूचाहिँ यसरी रक्सीमा डुबेर बाँच्ने ! तपाईंहरू किन मर्नु भएन ? तपाईंहरू मरेको भए हुने नि ! मैले तपाईंहरूको मुख त देख्न पर्दैनथ्यो ।’

त्यहाँ ठूलै हल्ला हुन थाल्यो । साहुले सानुलाई बोलाएर काममा लगायो । मण्डली उठेर कता अलप भयो, सानुले पत्तो पाएन । 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्