किताबहरू
दुःख त मैले
किताबहरू नछोएरै पो पाएको रहेछु
जब म पुस्तक जन्मथेँ हुँला त
म बेइमान किमार्थ बन्दिनथेँ
झुटहरू मेरा मित्र बन्दैनथे
र, म सायदै कसैको दास हुन्थेँ
आहा, कति सत्य ती अक्षरहरू !
ओहो, ती प्रेमपूर्ण पदहरू !
वाह, ती शान्ति वचनहरू !
विनापुस्तक
मान्छेहरूका सभामा
म मूक बन्नुपर्ने,
म मौन बस्नुपर्ने
र, मुढ हुनुपर्ने
मैले किन ग्रन्थहरू चपाइनँ छु
मैले किन किताबहरू खाइनँ छु
मैले किन कृतिहरू निलिनँ छु
म किताब बाँचेका भए
आज सारा हिंसाहरू मेरा मुठीमा हुन्थे
म अहिंसा, मानवता र सिर्जनशीलता बाँचिरहेको हुन्थेँ
विश्वसभ्यता मेरा आँखाबाट जन्मेको हुन्थ्यो
र, मनमस्तिष्क अनि हृदयले अर्कै धरा निर्माण भइसकेको हुन्थ्यो ।
०००
तिम्रो पापविरुद्ध
म तिम्रो अत्याचारविरुद्ध बोल्न सक्दिनँ
न सक्छु सामाजिक सञ्जालहरूमा पोखिनँ
घाँटीको ऐँठनले
मभित्रको आगो रोक्छ
मेरो हात
तिमीलाई हान्नका लागि उज्याउन पनि सक्दैन
तिम्रो पापाचारविरुद्ध चिच्याउन मलाई केले रोकेको छ,
म तिम्रो हुकुमसँग किन डराइरहेछु ?
म तिमीसँग आँखामा आँखा जुधाउन
किन भएँ काँतर,
तिम्रा अपराधलाई केलाएर छरिनँ, किन भएँ म पामर ?
कति भए तिम्रो पापको घडा भरिन सक्छ,
कति अपराध थपिए कंसको समतुल्य हुन सक्छौ तिमी ?
मूर्खदेखि दैव डराउँछ
तिम्रो मूढता बुद्धिजीवीले पनि गन्न छाडिसके
तिमी अन्यायको घर
न्याय मरेको छ राम शाहकै थलामा
तिम्रो राज्यमा सुकरातहरू हेमलक पिउन बाध्य
गान्धीहरू हिंसा सहन विवश
इतिहासविद्हरूको दिमागमा लुई चौधौँ हराउँछ
म तिम्रो अविवेक गनेर बसिरहेको छु
तिम्रो धुरीबाट निस्कने प्रत्येक पाप
पर्खिरहेछु
बस्,
छातीलाई खलाँती बनाएर राप भोगिरहेछु, ताप थामिरहेछु
म तिम्रो मूढता हेरिरहेछु
म मेरो हात बाँधिरहेछु ।
०००
हाँडी
कति महान् आत्मालाई।दुःखी आत्मालाई
भुटेर मिठो मकै खुवाइयो
मेरो दुर्भाग्य,
यो कालोमोसो
दुष्टात्मा, भ्रष्टात्मा र पापात्मालाई
अझै दल्न पाएको छैन ।