साहित्य
जन्मँदा
सहरको अग्लो, एक्लो घण्टाघर म
दशकौँ सबैलाई समय दिएँ
शासक हुन् कि शासित
बटुवा हुन् कि ढँटुवा
सबैको दृष्टि खिचिरहेँ
सहजताको प्रतीक म
टिकटिक निरन्तर चलिरहेँ
घण्टाघण्टामा पटकपटक बजिरहेँ
टाढाटाढासम्म गुन्जिरहेँ
सबैलाई ब्युँझाइरहेँ, झक्झकाइरहेँ ।
अचेल त म होचो भइसकेछु
मलाई हेर्ने आवश्यकता नै पनि गुमाइसकेछु
कोलाहलमा मेरो आवाज सुन्नै छाडिएछ
चारैतिर घेरिएर, छेलिएर
ओझेलमा म उभिइरहेको छु
धेरै भयो, न त मेरो सुई चल्छ
न त घण्ट नै बज्छ
तैपनि, शताब्दी पुरानो
इतिहासको साक्षी म
ढलिसकेको भने छैन
सबैलाई समय दिने म
आज
मलाई समय दिने कोही कुरिरहेको छु ।
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१ ०७:४७
प्रतिक्रिया दिनुहोस्