site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘रुसी सेनामा भर्ती भएका ३९ नेपालीको मृत्यु, २७२ सम्पर्कविहीन’ 

काठमाडौं । रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन् । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारलाई साथमा लिएर अभियानकी संयोजक कृतु भण्डारीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । अभियानले प्रधानमन्त्री प्रचण्डलाई रुसी सेनामा भर्ती भएका नेपालीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफ्ना १३ बुँदे मागपत्र बुझाएको छ ।

अभियानकी संयोजक भण्डारीका अनुसार हालसम्म रुसी सेनामा भर्ती भएका ६९१ जना नेपालीको विवरण संकलन गरिएको छ ।  अभियानले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, “जसमध्ये ३९ जना मृतक, ४० जना मृत्यु भयो भनिएको तर पुष्टि हुन बाँकी, पाँचजना युक्रेनको कब्जामा रहेका, ११७ जना घाइते, २७२ जना सम्पर्कविहीन, १५ जना करार सम्झौता रद्द गरेका, ११ जना रुसी राहदानीका लागि आवेदन दिएका र ३१ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका र बाँकी व्यक्तिहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ ।” 

नेपाल सरकारले भने हालसम्म अवैध रूपमा रुसी सेनामा भर्ती भएकामध्ये १९ जनाको मृत्यु भएको जनाउँदै आएको छ । योबाहेक मृत्यु भएको आशंकामा थप १५ जनाको डीएनए परिक्षण कार्य भइरहेको सरकारले बताउँदै आएको छ । सरकारले प्रस्तुत गर्ने तथ्यांक र अभियानले सार्वजनिक गरेको तथ्याङ्कमा धेरै भिन्नता देखिएको छ । “रुसी सेनामा कार्यरत रही फर्किएका नेपाली युवाहरूले १४ हजार ७०० नेपाली रहेको दाबी गरिरहँदा त्यहाँको अवस्था निकै भयावह रहेको अनुमान गर्न सकिन्छ । प्राप्त अपुष्ट सूचनाका आधारमा यो संख्या यतिमा सीमित छैन भन्ने देखाउँछ,” अभियानले ध्यानाकर्षण पत्रमा भनेको छ । 

Dabur Nepal
NIC Asia

रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गर्नुपर्नेलगायतका माग राखी आमरण अनसन बसेका पीडितपरिवारले १७औं दिन गत आइतबार अनसन तोडेका थिए । त्यसपछि उनीहरूले आज (मंगलबार) प्रधानमन्त्रीलाई भेटेका हुन् । उनीहरूले रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षाको पहलका लागि प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका छन् ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी थुप्रै नेपाली रुसी सेनामा भर्ती भएको दाबी अभिायानकी संयोजक भण्डारीको छ । “हामीसँग ह्वाट्सएप ग्रुपमा जोडिएका ४२१ जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति श्रव्यदृष्य सामग्रीहरु पठाउने गर्नुहुन्छ । ती सामग्रीहरू देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ,” ध्यानाकर्षण पत्रमा भनिएको छ ।

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री 

रुसबाट नेपाली दाजुभाइहरुले दिनहुँ सम्पर्क गरी आफ्नो जीवनरक्षा गरिदिन अनुरोध गरिरहेको अभियानकी संयोजक भण्डारीले बताइन् । ध्यानाकर्षण पत्रमा लेखिएको छ, “रुसी सेनामा भर्ना हुन पुगेका नेपालीहरूलाई सुरक्षा कवचको रुपमा प्रयोग गर्ने, सेना छोड्न चाहने नेपालीलाई पक्रिएर पुनः युद्धभूमिमा फर्काउने, घाइतेको राम्रो उपचार नहुने, आदेश मान्न अटेर गरेको अभियोगमा नेपालीमाथि कुटपिटलगायतका दुर्व्यवहार गरिनेजस्ता घटनाले परिवारजनलाई थप चिन्तित बनाएको छ ।” 

रुस र युक्रेनको युद्धमा कुनै साइनो सम्बन्ध नभएका नेपाली युवाको ज्यान गुम्ने परिस्थिति र मृतकको शवसम्म पाउन नसक्ने अवस्थाका कारण परिवारका सदस्यहरू विक्षिप्त रहेको बताइएको छ । महिनौदेखि सम्पर्क नभएका परिवारका सदस्यको अवस्था अज्ञात हुँदा परिवारजन प्रताडित बनेको उनले बताइन् । 

जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्ति, मृतक भनिएका तर पुष्टि नभएकाको अवस्था सार्वजनिक, बेपत्ताको खोजी, युक्रेनले युद्धबन्दी बनाएका नागरिकको उद्धार, घाइतेहरूको उचित उपचार, रुसी सेनामा रहेका नेपाली नागरिकको जीवनरक्षा र स्वदेश फिर्ताका लागि सार्थक कूटनीतिक प्रयास गरिदिन पीडितपरिवारले प्रधानमन्त्रसँग अनुरोध गरेका छन् । 

महिनामा चार लाखभन्दा बढी कमाइ हुने बिचौलियाहरूले देखाउने प्रलोभन, सेनामा भर्ना हुन तोकिएको उमेरको सीमा २५ वर्षबाट बढाएर ४५ वर्ष पुर्‍याएको स्थिति, दलाललाई प्रतिव्यक्ति ६ देखि १८ लाख रुपैंयासम्म कमिसनको व्यवस्था र रुसले सेनामा सर्वसाधारण मानिसलाई आकर्षित गर्न विभिन्न प्रचारमूलक सामग्रीसमेत उत्पादन गरी प्रचार गर्दा आकर्षित भएर नेपाली युवा रुसी सेनामा भर्ना भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

“हाम्रा मागहरू तत्काल सम्बोधन गरी नागरिकको जीउधनको सुरक्षा गरी राज्य नागरिकको अन्तिम अभिभावक हो भन्ने कुराको पुनः पुष्टि गरिदिनुहुनेछ भन्ने अपेक्षसहित सम्पूर्ण परिवारजनको तर्फबाट हामी यहाँ उपस्थित भएका छौ,” ध्यानाकर्षण पत्रमा भनिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro