चीनको वुहान सहरबाट सुरु भएको कोरोनाभाइरसले विश्व महामारीको रुप लिएसँगै यसबाट विभिन्न क्षेत्रमा पर्ने प्रभावको चर्चा पनि व्यापक भएको छ । महामारी कहिले अन्त्य हुन्छ भन्ने अनिश्चित छ । यसैले यसको असरको मात्रा पनि ठ्याक्कै आकलन गर्नसक्ने अवस्था छैन । तर, पनि यसले कृषिलगायतका धेरै क्षेत्रमा ठूलो उथलपुथल ल्याउँछ भन्ने अनुमान गर्न महामारीको अन्त्य पर्खनु पर्दैैन । नेपालको परम्परागत कृषि र दुग्ध उत्पादनमा कोरोनाको नकारात्मक प्रभाव पर्न नदिने बरु उत्पादन वृद्धि गर्ने अवसरमा परिणत गर्ने हो भने के के गर्नु पर्ला भन्ने चर्चा यस लेखमा पारिएको छ ।
सबैभन्दा पहिले कोरोना नलागेका बेला कृषिका लागि प्रयोग हुँदैआएको पानी र जमिनमा कस्तो दबाब थियो, खाद्यान्न उत्पादन बढाउनुपर्ने कारणहरु के के थिए र दुग्ध उत्पादन बढाउन पूरा गर्नुपर्ने पूर्वपर्तहरु के के थिए भन्ने चर्चा गराैँ ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार नेपाल, भुटान, सुडान आदि अल्पविकसित समूहमा पर्ने मुलुकमा जनसङ्ख्या वृद्धिदर विकसित समूहमा पर्ने मुलुकहरूका तुलनामा झन्डै तीन गुना बढी छ । यसैले, अल्पविकसित समूहका देशहरुमा रहेको हालको लगभग १ अर्बको जनसंख्या सन् २०५० सम्म डेढ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । त्यस अवधिमा नेपालको हालको जनसङ्ख्या करिब दोब्बर बढ्ने देखिन्छ । जनसङ्ख्या वृद्धिको सोझो असर खाद्यान्नको मागमा पर्छ । विभिन्न अध्ययनअनुसार, २०५० को खाद्यान्न माग पूरा गर्न हालको उत्पादन दोब्बर बनाउनु पर्नेहुन्छ ।
सहरीकरण जनसंख्या वृद्धिकै समानान्तरमा रहेकोे अर्को मामिला हो । सामान्यतया सहरी क्षेत्रको आम्दानी ग्रामीण क्षेत्रको तुलनामा बढी हुने हुँदा सहरीकरण सँगसँगै सहरमा बस्ने मानिसहरूको जीवनस्तरमा सुधार आउँछ । फलस्वरूप, चामल र गहुँबाट बनेका परिकारभन्दा माछामासु र दूधबाट बनेका परिकार खाने प्रचलन बढ्नेछ । यसको उत्पादनको लागि निकै बढी पानी आवश्यक पर्छ । त्यस्तै खनिज इन्धनको सट्टा जैविक इन्धनको बढ्दो प्रयोगले खेतीको लागि उपलब्ध जमिन र पानीमा अझ बढी दबाब सिर्जना गर्नेछ ।
कृषि क्षेत्रमा प्रयोग हँुदैआएको स्रोत गैरकृषि क्षेत्रमा खर्च हुँदै जाँदा विश्वमा भोकमरी चर्कँदो समस्याका रूपमा देखापरेको छ । राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको पछिल्लो तथ्यांकअनुसार खाद्यान्न अभावकै कारण हाल हरेक रात ९६ करोड ३० लाख मानिस पेटभर खाना नखाएरै सुत्ने गर्छन् । खाद्यान्न अभाव भोगिरहेका मानिसमध्ये आधाभन्दा बढी बालबालिका हुन्छन् । भोक र कुपोषणकै कारण प्रतिपाँच मिनेटमा एकजना बालकको मृत्यु हुन्छ । नेपालमा पनि देशको दुर्गम भेगमा बस्ने हालसम्म पनि राजनीतिक, आर्थिक तथा सामाजिकरुपमा पछाडि परेका विपन्न समुदायका बस्तीहरुमा भोकमरीको समस्या फैलिँदै गएको देखिन्छ ।
नेपालकोे कुल गार्हस्थ्य उत्पादनमा एक तिहाइ योगदान कृषि क्षेत्रले गर्छ जुन उद्योगबाट प्राप्त हुनेभन्दा दुई गुणा बढी छ । जम्मा भूभागको २० प्रतिशत अंश ओगटेको कृषि व्यवसायमा करिब दुई तिहाइ जनसंख्या आश्रित छन् । विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत तथा एसियाको कुल क्षेत्रफलको ०.३ प्रतिशत भाग मात्र ओगटेको सानो भूपरिवेष्ठित मुलुक भए पनि समुद्र सतहबाट ६० मिटरदेखि ८ हजार ८४८ मिटरसम्मका विशाल उचाइ भएको भूभाग रहेकाले नेपाल विविध मौसमको धनी देश मानिन्छ । ज्यादै गर्मीदेखि ज्यादै चीसोसम्मका हावापानी पाइनाले यहाँ विविध अन्न बाली तथा दुग्ध व्यवसायजस्ता थरीथरीका कृषि व्यवसायको आकर्षक सम्भावना देखिन्छ ।
दुग्ध व्यवसाय भन्नाले दूध उत्पादनका लागि गरिने गाईभैँसी पालनदेखि त्यसका लागि गरिने अन्न खेतीलाई बुझाउँछ । नेपालमा व्यवस्थित दुग्ध व्यवसाय सन् १९५२ देखि रसुवामा याक चिज फ्याक्ट्रीको स्थापनासँगै भएको देखिन्छ । गत एक दशकदेखि भने दुग्ध ब्यवसायले राम्रै फड्को मारेको छ । दुग्ध व्यवसाय हाल आएर कृषिको अभिन्न अंगको रुपमा स्थापित भइसकेको छ । नेपाल सरकार दुग्ध व्यवसायको विकास र विस्तारको लागि दृढ देखिन्छ । तर पनि यस क्षेत्रले अपेक्षित उपलब्धि भने प्राप्त गर्न सकेको छैन ।
प्राकृतिक स्रोतहरुको असमान वितरण र कमसल व्यवस्थापन दुग्ध व्यवसाय राम्रोसँग फस्टाउन नसक्नुको प्रमुख कारणको रुपमा देखिएको छ । उदाहरणका लागि नेपालको कुल क्षेत्रफलको १५ प्रतिशत भूभाग हिमाली प्रदेशमा पर्छ । त्यसले कुल गौचरनको ८० प्रतिशत हिस्स ओगटेको छ । तर, यस क्षेत्रमा नेपालमा रहेका कुल चौपायामध्ये १० प्रतिशतमात्र छन् । यसले गर्दा यहाँ चैपायाको लागि उपलब्ध आहाराको परिमाण आवश्यकभन्दा धेरै छ । पहाडी प्रदेशमा ५० प्रतिशत चौपाया भए पनि यहाँ गौचरन क्षेत्र १८ प्रतिशतमात्र छ । फलस्वरुप यस प्रदेशमा चौपायाहरुको लागि आवश्यक आहाराको परिमाण ५५ प्रतिशत अपुग छ । तराईमा भने गौचरनको क्षेत्रफल कम भए पनि आधाभन्दा बढी कृषि क्षेत्र रहेको कारण चैपायाको लागि आवश्यक आहारामा त्यति समस्या देखिँदैन ।
नेपालमा चौपायाहरुको लागि आवश्यक कुल आहाराको परिमाणमा झन्डै एक तिहाइ कम देखिन्छ । यसले गर्दा विश्वका अन्य देशहरुको तुलनामा नेपालमा प्रतिगाई दुग्ध उत्पादन अत्यन्तै न्यून छ । नेपालको तुलनामा अमेरिकामा वार्षिक प्रतिगाई दुग्ध उत्पादन झन्डै २० गुणा बढी छ भने समान प्राकृतिक परिवेश रहेको ब्राजिलमा समेत झन्डै ३ गुणा धेरै छ । यसको अर्थ उपलब्ध जमिन र पानीको उचित सदुपयोगबाट नेपालमा दुग्ध उत्पादनमा उल्लेखनीय वृद्धि गर्न सकिने सम्भावना छ भन्ने हुन्छ ।
नेपालमा कृषियोग्य जमिन विस्तारको सम्भावना लगभग शून्य छ । किनभने उत्पादन योग्य जमिन पहिले नै कृषिमा प्रयोग भइसकेको छ । प्रयोग हुन बाँकी जमिनबाट आकर्षक प्रतिफलको सम्भावना निकै कम देखिन्छ । त्यसैले नेपालजस्ता अल्पविकसित समूहका मुलुकहरूमा उपलब्ध जमिनबाट उत्पादनमा वृद्धि गरेर अन्न बालीको उत्पादन बढाउन सकिन्छ । यस्ता मुलुकहरूमा पशुहरुको लागि चाहिने अधिकतम आहार मकै, जौ अथवा गहुँको छ्वाली, धानको भुस, पराल आदिबाट प्राप्त हुन्छ । त्यसैले यस्ता मुलुकहरुमा अन्न बाली विकास दुग्ध व्यवसायको पहिलो सर्त मानिन्छ ।
संकटले नै जीवन शैली तथा काम गर्ने तरिकाको बारेमा पुनर्बिचार गर्ने अवसर जुटाउँछ । कोरोना महामारी हामीलाई कृषि प्रणालीको बारेमा पुनर्विचार गर्ने तथा आवश्यक सुधार गर्दै कृषिको नयाँ युगमा प्रवेश गराउने मौका हुनसक्छ । यसको लागि पूरा गर्नुपर्नेे सर्तहरु यस प्रकार रहेका छन्ः
१. जलस्रोतको धनी मुलुक भए पनि सिंचाइ योग्य जमिनको एक तिहाइ भागमा मात्र वर्षैभर सिंचाइ हुन्छ । त्यसैले सिंचाइ विस्तारमा जोड दिनु अनिवार्य छ ।
२. विदेशिएका लाखौँ युवा कोरोनाले गर्दा गाउँ फर्कने अनुमान गर्न सकिन्छ । तिनलाई आकर्षित गर्ने खालको कृषि नीति ल्याउन आवश्यक देखिन्छ ।
३. मल, बीउ तथा कीटनाशक विषादीको प्रभावकारी उपलब्धताका लागि केन्द्र सरकारले स्थानीय तहहरु तथा आयात गर्ने मुलुकसँग तत्कालै आवश्यक समन्वय गर्नु जरुरी छ ।
४. उत्पादन पूर्व नै कृषि उत्पादनको न्यूनतम मूल्य तोकिदिनकोे साथै किसानको स्वास्थ्य बिमा तथा कृषि बिमाको उचित व्यवस्था मिलाउनुपर्छ ।
५. किसानलाई आवश्यकताअनुसार अनुदान तथा क्रृण सहजरुपमा दिने व्यवस्था मिलाउनुका साथै गरिब किसानहरुको लागि निःशुल्क मल, बीउ तथा कीट नाशक विषादी उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्छ ।
६. कृषिको आधुनिकीकरण एवं व्यावसायीकरणमा जोड दिँदै कृषिमा प्रविधिको प्रयोगमार्फत किसान र बजार दुवैलाई न्याय गर्दै कृषिको नयाँ युगमा प्रवेश गर्ने आधार निर्माण गर्नेतर्फ पहल गर्नुपर्छ ।
७. कृषि र दुग्ध उत्पादनको लागि विभिन्न स्तरमा समुचित भण्डारण सुविधा तथा उपभोक्ताको सरल पहुँचमूलक वितरण प्रणालीको तीव्र विकास गर्न अग्रसर हुनपर्ने देखिन्छ ।
८. कृषिजन्य पदार्थ, फलफूल, दूध, मासु, माछा, आदि लामो समयसम्म संचित गर्न नसकिने किसिमका उत्पादनहरुका लागि प्रशाोधन कारखानाहरु स्थापना गर्नेतर्फ पहल गर्नुपर्छ ।
(दुवै जना जलस्रोत तथा सिंचाइ विज्ञ )