site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीन महाशक्ति बन्न सक्ला त ?

महामारीको माझमा पनि  विशेषतः अमेरिका विरोधी र चीन समर्थक देश तथा समूह निकट भविष्य मै विश्वमा चिनियाँ सर्वोच्चता र प्रभुत्व कायम होस् भन्ने कामना गर्दैछन् । तर, कोरोना महामारीकै कारण अमेरिकाले आफनो एकल प्रभुत्व गुमाउँदै गए पनि चीनको एकल वर्चस्व  विश्वमा  तत्कालै  कायम हुन निकै कठिन हुनेछ । अहिलेको विश्वमा  चीन विश्वको नम्बर एक व्यापारी शक्ति त हो तर पनि सैन्य, आणविक, ऊर्जाको क्षेत्रमा चिनियाँ सर्वोच्चता कायम छैन । के उसो भए व्यापार साम्राज्यले मात्र चीनलाई पहिलो महाशक्ति बनाउन सक्ला ? के होलान् चीनको महाशक्ति बन्ने सपनामा चुनौतीहरू ?

चुनौती नं १–सोभियत संघको सन् १९९१ मा पतनपछि अमेरिका विश्वमा एकल महाशक्तिका रूपमा उदायो । यो उपमा उसले विश्वमा विस्तार गरेको सैन्य शक्ति, विकास गरेको आणविक शक्ति र विकासशील तथा विकासोन्मुख देशमा निर्बाह गरेको भूमिकाले प्राप्त गरेको हो । त्यसमा उसको कूटनीतिक र सांस्कृतिक प्रभाव पनि जोडिएको छ ।

अमेरिका अहिले दुनियाँकोे नम्बर एक सैन्य र आणविक शक्ति भएको देश हो भने दोस्रो शक्तिशाली राष्ट्रको दर्जा पाएको चीन नम्बर एक व्यापारी शक्ति हो । अहिलेको विश्वमा चीनले करिब ४.४३ ट्रिलियन डलरको व्यापार हिस्सा ओगटेको छ भने अमेरिकाले ३.८९ ट्रिलियन डलरको व्यापार गर्छ । वल्र्ड इकोनमिक फोरमका अनुसार अहिलेसम्म अमेरिकाले वार्षिक करिब ६२० अर्ब अमेरिकी डलर र चीनले २५० अर्ब डलर सैन्य शक्तिका लागि खर्चिएका छन् । यसरी हेर्दा महाशक्तिको दौडमा रहेको चीनले लक्ष्यमा पुग्न सैन्य क्षेत्रमा व्यापक लागानी गर्नुपर्ने देखिन्छ ।  तर, विश्वका धेरै देशमा भौतिक पूर्वाधार निर्माणदेखि व्यापार सञ्जाल विस्तारमा लागेको चीन विश्व शक्ति बन्ने होडमा अनुत्पादक सैन्य क्षेत्रमा तीव्र लगानी बढाउन तयार होला ? यो मुख्य प्रश्नसँगै चुनौती पनि हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनले विश्वमा व्यापार र निर्माणका महापरियोजना गरेको लगानी ाट ठूलो परिमाणमा विदेशी मुद्रा संचित गर्न सफल भएको थियो । अब  अर्को प्रश्न उठ्छ — महामारीपछिको विश्वमा पनि चीनले पूर्ववत् आफनो व्यापार सञ्जालको विस्तार र अन्तरदेशीय निर्माणको कामलाई अघि बढाउन सक्ला ? आर्थिक विश्लेषकहरु भन्छन् — यो सम्भव छैन । अहिले नै पनि चीनभित्र सञ्चालन भएका अधिकांश उद्योग कलकारखानाले  मागमा ठूलो गिरावाट आएका कारण क्षमताको ५० प्रतिशत पनि उत्पादन गरेका छैनन् भने करिब ६ प्रतिशत वार्षिक वृद्धिदर घट्ने प्रक्षेपण गरिएको छ । अर्कातर्फ बाँंकी विश्वका अरु देशले जस्तै ठूलो संख्यामा देशभित्र र बाहिर रहेका चिनियाँले पनि रोजगार गुमाएका छन् भने कतिपयको व्यवसाय धराशायी भएको छ ।

अमेरिकाको वासिङटन डीसीस्थित जर्ज टाउन युनिभर्सिटीका प्राध्यापक द्वय माइकल ग्रिन र इभान मेडियरसले १५ अप्रिलको फरेन अफेयर्सको अनलाइन संस्करणमा लेखेका छन् — “चीनले करिब ४० प्रतिशत सामान निर्यात गर्ने १२ भन्दा बढी देश अहिले महामारीबाट सबैभन्दा बढी ग्रसित छन् । अमेरिका र युरोप पनि यसैभित्र पर्छन् । अब आउने आर्थिक मन्दीमा चीनसँगै अमेरिका पनि नराम्रोगरी प्रभावित हुनेछ ।” यसबाट के देखिन्छ भने व्यापारी दृष्टिकोणबाट चीनले महामारीको सबैभन्दा बढी नोक्सान बेहोर्नु पर्नेछ । विश्वमा आउने आर्थिक मन्दीले चीनले उत्पादन गरेका सस्ता उपभोग्य सामग्रीको मागमा पनि विकासोन्मुख देशहरू इथियोपियादेखि नेपालसम्ममै  ठूलो गिरावाट आउनेछ । फलस्वरूप, चीनले विदेशी मुद्रा आर्जन र अन्तर्राष्ट्रिय व्यापारमा ठूलो नोक्सान बेहोर्नुपर्नेछ । हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जोसेफ सर नेइले चीन अमेरिका दुवै व्यापारका दृष्टिबाट महामारीका कारण बढी प्रभावित हुने आकलन गर्दै भनेका छन् — “चीनको व्यापारमा पूर्वानुमान गरिएभन्दा निर्यातमा धेरै कमी आउने निश्चित छ । अनि चीनले अमेरिकाको तहमा पुग्न अझै पनि सैन्य शक्तिमा ठूलो लगानी गर्नुपर्नेछ जुन व्यावसायिक दृष्टिबाट हेर्दा प्रत्युदपादक हो ।” १६ अप्रिलमा फरेन पोलिसीको अनलाइन संस्करणमा प्रकाशित उनको यो व्याख्या अमेरिका पक्षीयजस्तो देखिएपनि उनले उल्लेख गरेको अमेरिका र चीनको फरक भूराजनीतिक अवस्था र चीनको इन्धन आयातमा अन्य देशसँग निर्भर हुनुपर्ने वाध्यतालाई भने अस्वीकार गर्न मिल्दैन । तसर्थ उनको व्याख्याको सारतत्त्व चीनले बृहत्रुपमा व्यापार घाटा सहेर के अनुत्पादक सैन्य क्षेत्रमा खर्च गर्न सम्भव छ भन्ने विषयमा केन्द्रित छ । वास्तवमा व्यापारबाट नाफा कमाइराखेको चीनले महाशक्ति बन्ने होडमा सैन्य, इन्धन र आणविकमा हतियारमा लगानी गरेर जोखिम उठाउन तयार नहुने अनुमान नै विश्वसनीय लाग्छ । व्यापारको विस्तारले मात्र चीन महाशक्ति तत्काललाई बनिहाल्न यिनै कारणबाट सम्भव देखिँदैन । 

Global Ime bank

चीन समर्थक विश्लेषकहरुले पनि महामारीका कारण चीनले व्यापार घाटा बेहोर्नुपर्ने चाहिँ स्वीकार गरेका छन् । सामान्य  मान्छेको क्रय शक्ति घट्दा चीनले आफनो उत्पादनलाई विश्वव्यापी रुपमा फैलाउन नसक्ने त निश्चितै छ । त्यस अवस्थामा वैदेशिक मुद्रा आर्जन नराम्ररी प्रभावित हुनेछ । । विश्वमा आफनो प्रभाव विस्तार गर्न ल्याइएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)जस्ता महापरियोजनाको निरन्तरतामा पनि पर्ने हुनाले आंकलन गरिसकिएको छ । 

चुनौती नं. २–अमेरिका र चीनपछिको विश्व शक्ति युरोप नै हो । महामारीमा  गरेको सहयोग र देखाएको उपस्थितिलाई लिएर युरोप चीनतर्फ ढल्कने अड्कल र अनुमान पनि भएका छन् । तर, महामारीमा देखाएको उपस्थितिकै आधारमा कुनै बेला संसारमा राज गरेको युरोप चीनको छत्रछायामा बस्न तयार होला ? 

चीन युरोपको सम्बन्ध वास्तवमा व्यापारमा केन्द्रित छ । व्यापार सम्बन्ध जहिले पनि “म्युचुअल बेनिफिट”मा टिकेको हुन्छ । तसर्थ न चीनले युरोपलाई दबाब र प्रभावमा पार्न सक्ने देखिन्छ न युरोप चीनको पोल्टामा गइहाल्नु पर्ने बाध्यतामा नै छ ।   राजनीतिक, सामाजिक आर्थिकदेखि सांस्कृतिक समानता भएको अमेरिकाले विश्वमा आफ्नो प्रभुत्व गुमाउँदै गयो भने युरोपले बरु आफ्नै शक्ति विस्तारको अभ्यास गर्नसक्ने देखिन्छ । फरक राजनीतिक, सामाजिक नीति नियम भएको चीनको सर्वोच्चता स्वीकार्न युरोप सहजै तयार हुनेछैन । यसकारण अमेरिका कमजोर हुँदा बरु युरोपले एकपटक आफनो वर्चस्व देखाउने प्रयत्न गर्नेछ । आफनो ठूलो व्यापार साझेदार युरोपलाई आफ्नो पक्षमा पार्न  नसके पनि अमेरिकी प्रभावबाट टाढा राख्न सकेमात्रै पनि चीन पनि सन्तुष्ट हुनेछ । यही तथ्य मनन गर्दै ८ मे, २०२० को चिनियाँ सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्समा ली क्विडकिडले लेखेकी छिन् “ चीन युरोपको सहकार्य र प्रतिस्पर्धाको सम्बन्धमा महामारीका कारण परिवर्तन आउनेछैन । अनि यी दुई शक्तिबीच सम्बन्ध विच्छेद पनि हुनसक्तैन जुन व्यापार सम्बन्ध हो ।”  यस्तो अवस्थामा युरोपको भिन्न शक्ति बन्ने अभ्यासलाई रोक्नभन्दा पनि चीनले नरम समर्थन नै गर्ने विश्लेषकहरुको बुझाइ देखिन्छ । युरोपियन युनियनमा देखिने खटपट पुरानो होइन  तर ‘युरोप फस्र्ट’को अभियानमा उत्रँदा यी देशहरु फेरी एकपटक तिक्तता र असमझदारी तोड्दै एक हुनेमा शंका छैन ।  

अर्काे एउटा तथ्य छ फरक विचारधारा बोकेको चीनको अभिभावकत्वलाई युरोपेली नेतृत्वले स्वीकार्न सक्ने सम्भावना पनि अति कम छ । कम्युनिस्ट अधिनायकवादी चीनको पक्षमा लाग्दा जनस्तरमा आफनो लोकप्रियता र प्रभाव घट्नेमा युरोपियन नेतृत्व सजग छ । चीनको पक्षधरता र सर्वोच्चता बहुमत युरोपियन नागरिकले रुचाउँदैनन् । तसर्थ जनमत गुम्ने डरले पनि युरोपियन नेताहरु चीनसँग तत्काललाई व्यापारबाहेक अरू सम्बन्ध बढाउन चाहँदैनन् ।

चुनौती नं ३– चीनकै हाराहारीमा जनसंख्या रहेको भारत विश्वको उदियमान अर्थतन्त्र भएको राष्ट्र हो । आन्तरिकरुपमा जेजस्ता समस्या भए पनि भारतले आणविकदेखि सैन्य शक्तिको तीव्र विकास गर्दै गएको छ । तर, यी दुई छिमेकीबीच धेरै मामिलामा मतभिन्नता र असमानता छ । विश्व महाशक्ति बन्न चीनले छिमेकीहरुबाट भरपर्दो र पर्याप्त समर्थन नबटुली सम्भव छैन । किनभने चीन भारतको स्तर र अवस्था अमेरिका मेक्सिकोको जस्तो होइन । भारतलाई बेवस्ता गरेर चीन एक्लै दगुर्न सक्तैन । उत्तर कोरियासँग सँधै नजिक देखिएको चीनलाई एसियाको उदाउँदो अर्थतन्त्र दक्षिण कोरीयाको समर्थन पाउन झनै कठिन छ । यस्तो अवस्थामा एसियाका विशाल देश भारत, दक्षिण कोरीया र जापानले अरु चीनविरोधी देशलाई आफ्नो प्रभावमा पारेर बेग्लै शक्ति अभ्यास गर्ने प्रशस्त संभावना रहन्छ । यिनमा ब्राजिलदेखि केही अफ्रिकाली देशहरु पनि जोडिन सक्छन् । चिनियाँ प्रगतिको ढाँचा विश्वका धेरै देशका लागि कौतुहलको विषय भए पनि शासन पद्धतिको विषयमा अधिकांशको असहमति देखिन्छ ।

चुनौती नं ४–विश्वमा अमेरिकी प्रभाव घट्नेबित्तिकै तेल उत्पादक अरेबियन तथा मुस्लिम देशहरु चीनको समर्थनमा भन्दा पनि आफनै शक्ति निर्माणमा लाग्ने छन् । यी देशहरु विगत लामो समयदेखि अमेरिकाको ‘फुटाऊ र राज गर’ को सिकार भएका छन । विश्वमा आफनो फरक अस्तित्व देखाउन प्रयत्नरत  यी राष्ट्रलाई अमेरिका युरोपले रोकिराखेका छन् । अमेरिका कमजोर भएर युरोपले फरक शक्ति अभ्यास गर्दा यस्ता देश चीनको छायामा बस्नभन्दा आफ्नै शक्ति निर्माणमा जुट्ने छन् । अर्थतन्त्रमा तीव्र प्रगति गर्दै रहेका अरेबियन देशहरु एकल महाशक्तिभन्दा पनि बहुधु्रवीय विश्व होस् भन्ने पक्षमा देखिएका छन् । यसको मुल कारण विश्वमा खाडी तथा मुस्लिम देशहरुको सिधा र अर्थपूर्ण उपस्थिति हुनसकोस् भन्ने चाहना नै हो ।

चुनौती नं ५– अमेरिका  सैन्य, आर्थिक र आणविक शक्तिले मात्र विश्वलाई अगुवाइ गर्ने स्तरमा पुगेको  होइन । अमेरिका र युरोपियन युनियनले स्वार्थ जे जस्तो भए पनि कमजोर र गरिब राष्ट्रलाई ठूलो सहयोग दिएर आफनो वर्चस्व कायम गर्न सकेका हुन् । उता नाफाघाटाको हिसाबमा केन्द्रित चीनले आर्थिक नाफा नहेरी त्यस्ता देशलाई अमेरिका वा इयुको तहमा अनुदान दिने सम्भावना देखिँदैन । इयु र अमेरिकाले गरिब देशमा दिएका सहायता र अनुदानको स्थान ओगटेर विकल्प बन्न चीन तयार होला ? अवश्य छैन । किनभने चिनले त्यस्ता देशमा पनि सहयोगभन्दा व्यापार सञ्जाल र सम्बन्ध नै बढी बिस्तार गरेको छ । चीनले आफ्नो व्यापारी छविलाई सहयोगदाताको रुपमा परिणत गर्न तत्काल सम्भव छ ? यो अर्को प्रश्न हो । विश्वको अभिभावकत्व लिन्छु भन्ने देशले फराकिलो छाती बनाएर  कमजोर र गरिब देशको समस्या समाधानमा पनि उत्तिकै जिम्मेवार बन्न नसकेमा अहिलेको विश्वलाई नेतृत्व गर्ने हैसियत बनाउन सक्दैन । व्यापारी संस्कारबाट उदाएको चीनलाई यो अभ्यासमा आउन धेरै कठिन छ । तसर्थ यस्तो परिस्थितिमा कमजोर र गरिब देश पनि चीनको पोल्टामा परिहाल्ने देखिँदैन । 

निष्कर्षः

महामारीका कारण विश्व महाशक्ति अमेरिकाले आफ्नो प्रभाव गुमाउँदै गए पनि चीन विश्व नेतृ्त्व गर्ने स्थानमा पुगिहाल्ने संभवना देखिँदैन । महामारीका कारण अरु देशले जस्तै व्यापार घाटा बेहोर्न बाध्य चीनले महाशक्ति बन्ने होडमा सैन्य, आणविक हतियारजस्ता अनुत्पादक क्षेत्रमा लगानी गरेर सायद जोखिम उठाउन तयार पनि नहोला । यस्तो अवस्थामा बहुधु्रवीय विश्वकै अभ्यास हुने संभावना बढदो छ । 

बहुध्रुवमा विश्व विभाजन हुँदा नेपालजस्ता विकासोन्मुख देशलाई घाटा भने हुनेछैन । शक्ति सम्पन्न देशले यस्तो अवस्थामा कमजोर देशलाई पनि आफनो प्रभावमा पार्न दबाब होइन सहयोग र सुमधुर सम्बन्धकै माध्यम अपनाउने छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC