काठमाडौं । संविधान संशोधनका लागि जनता समाजवादीले लगेको प्रस्ताव संसद् सचिवालयले दर्ता गर्न मानेन । जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुरले संविधान संशोधनको प्रस्ताव लिएर संचिवालय पुगेका थिए ।
०७४ वैशाख ११ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा माओवादीसमेत सम्मिलित सरकारले दर्ता गराएको संशोधन प्रस्ताव नै अहिले ठाकुरले दर्ताका लागि सचिवालय पुगेका थिए । तर संसद् सचिवालयले सभामुखसँग छलफल गरेर आइतबार मात्रै दर्ता गर्ने वा नगर्ने निर्णय गरिने जानकारी गराएको एक नेताले बताए ।
“०७४ वेशाख ११ मा सरकारले ल्याएको संशोधन प्रस्ताव नै हामीले संशोधन प्रस्ताव दर्ता गराउन लागेका थियौँ,” एक नेताले भने । ०७४ सालमा सरकारले प्रदेश सीमांकनको निम्ति आयोग बनाउनेलगायतका विषय समेटिएको संविधान संशोधनको विधेयक दर्ता गराएको थियो ।
संविधान संशोधन प्रस्तावमा भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सीमांकनलगायतका विषय समावेश गरिएको छ ।