site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डिस्ट्यान्स लर्निङको कुरा मात्रै भयो काम भएन !

 यतिबेला नेपाल मात्रै होइन संसार नै कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ । वास्तवमा, विगतका इतिहास केलाएर हेर्ने हो भने अरू महामारीको तुलनामा यो खासै ज्यान मार्ने किसिमको महामारी होइन भन्न सकिन्छ । यसको तुलनामा अरू जिवाणुहरूको संक्रमण यस्तो थियो, जसले संसारै सखाप पार्न सक्ने थियो । प्लेग, हैजालगायतका अनेक जिवाणुको असरले एक चौथाई संसार सखाप पारेका घटना इतिहासमा छन् । तर, यो महामारी वा कोरोना भाइरसको मृत्युदर कम भए पनि आजको सूचना तथा सञ्चार प्रविधिको बढ्दो व्यापकताले गर्दा संसारलाई नै आक्रान्त बनाइ दिएको हो ।

आज मानिसमा आफ्नो स्वास्थ्य प्रति सचेतना छ । मानिसलाई बाँच्नु पर्नेछ । त्यसैले संसारका सारा कल–कारखाना, काम–धन्दा सबै बन्द भएका छन् । विश्वका धेरै मुलुक यतिबेला बन्दाबन्दी अर्थात् लकडाउनमा छन् । नेपाल सरकार पनि यतातिरबाट सक्रिय भई आमजनता जोगाउन यस किसिमको कार्यलाई प्राथमिकता दिन लागिपरेको छ ।

यस्तो परिस्थितमा दुई तीनवटा कुरातर्फ औँल्याउनु जरुरी देखिन्छ । खासगरी सूचना तथा सञ्चार प्रविधिको विकास सँगसँगै संसारलाई सजिलै जोड्ने यातायात क्षेत्रको सुविधाले पनि यो भाइरसले संसारलाई आक्रान्त तुल्याएको हो भन्दा हुन्छ । किनभने प्लेगजस्तो महामारी एसियाई मुलुकमा सुरु हुँदा दुई वर्षपछि मात्रै बल्लबल्ल अमेरिका पुगेको थियो । तर, आज कोरोना भाइरस एसियामा सुरु हुुनासाथ अमेरिकामा पनि देखियो । युरोपमा पनि पुग्यो । सञ्चार क्षेत्रको विकासले विभिन्न मुलुकहरूमा खबर मात्रै पुगेन, यातायातको सहज सुविधाले रोग संक्रमित मानिस पनि देश–विदेश पुगे । मानिसलाई जान पनि एकदुई दिनभन्दा बढीको समय लागेन । जबकि पहिले पानीजहाजबाटै जाँदा पनि एक ठाउँबाट अर्को ठाउँ पुग्न महिनौं लाग्थ्यो । यसरी यो कोरोनाभाइरसको समस्या विश्वव्यापी बन्यो । सबैतिर फैलिन धेरै समय नै लागेन !

Prabhu Bank
Agni Group
NIC Asia

आज यो महामारी यसरी एकाएक विश्वव्यापी किन भयो भने, हिजोको समाज कम हिँड्थ्यो । बाहिर जाने आवश्यकता कम थियो । आजका आवश्यकताहरू बढी छन् । एउटा देश अर्को देशसँग यस्तरी जोडिएको छ, त्यसको कुरा जति गरे पनि कम हुन्छ । एउटा वस्तुको उत्पादनमा प्रयोग हुने एउटा सामान एउटा देशमा बनिरहेको हुन्छ भने अर्को सामान कुनै अर्को देशमा बनिरहेको हुन्छ । अर्को यन्त्र अन्त कतै बनिरहेको हुन्छ । र सबै देशबाट आएका ती सामान जोडेर एउटा सग्लो सामान विश्वबजारमा बिक्रीका लागि पुर्‍याइन्छ । यसरी हरेक देश एक अर्को मुलुकसँग आबद्ध भएका छन् । त्यसैको पनि असर हो, अहिले संसार नै तालाबन्दीको अवस्थामा पुगिसकेको छ । आज यो समस्या सबैभन्दा ठूलो भएको छ । 

यद्यपि, हेर्ने हो भने, सूचना प्रविधिको विकास र प्रयोगले धेरै कुरालाई सरल बनाएको छ । हामीले सूचना पाइरहेको छौं । सन्देश दिने–लिने गरिरहेका छौँ । यही सूचना प्रविधिले हामीलाई कसरी बाँच्नु पर्छ भनेर सिकाइरहेको छ भने विश्वमा कति मानिस मरे र कसरी मरे भन्ने पनि जानकारी दिइरहेको छ । यसले सूचना प्राप्तिलाई जति सहज र सरल बनाएको छ, त्यतिकै यसको नकारात्मक प्रयोग पनि हुँदैआएको छ । चाहिनेभन्दा धेरै बढाएर कुरा फैलाउने मात्रै होइन, मानिसमा त्रास फैलाउने काम पनि सूचना प्रविधिका विभिन्न साधनहरूले गर्दै आएका छन् । यसले पनि समाजमा असहज परिस्थिति सिर्जना गरिदिएको छ । त्यसैले पनि हामी हरेक सामाजिक व्यक्तिहरूले सूचना प्रविधिको सकारात्मक पक्षलाई मात्र बढिभन्दा बढि लिनुपर्ने आवश्यक देखिएको छ । 

Global Ime bank

यतिबेला संसार नै अड्किएको बेला छ । विश्व ठप्प छ । यो अवस्थालाई सुचारु तुल्याउनका लागि वा यसबाट निकास दिनका लागि हाम्रो मुलुकले विशेष ध्यान दिनुपर्ने भएको छ । यो बन्दाबन्दीको अवस्थापछि काममा जानेहरूलाई काममा सहजरूपमा फर्काउने वातावरण तयार गरिनु सबैभन्दा प्रमुख आवश्यकता भएको छ भने शैक्षिक क्षेत्रमा समर्पित लाखौं बालबालिका, किशोर, युवा विद्यार्थीलाई सहज पठनपाठनको वातावरण पनि तयार गर्नुछ । यी दुवै काममा सूचना तथा सञ्चार प्रविधिले ठूलो भूमिका निर्वाह गर्नसक्छ । 

नेपालमा सूचना प्रविधिको काम अझै बढी गरिनुपर्ने हो । तर हाम्रो दुर्भाग्य के हो भने नेपाल कहिल्यै पनि प्लानिङ अनुसार चलेन ! हामीले समयसमयमा ठूलाठूला मारहरू खेपेका छौं, तर त्यसबाट कहिल्यै पनि केही सिकेनौं । सिक्ने प्रयास पनि गरेनौँ । हाम्रो मुलुकमा जहिल्यै आफ्नो व्यक्तिगत स्वार्थ कसरी पूरा गर्ने सोच मात्रै माथिल्लो वर्गमा हावी रह्यो । आफ्नो गोजी र भुँडी कसरी भर्ने ? योभन्दा माथि उठेर सबै नेपाली जनताको स्वार्थका बारेमा हाम्रा नेता, राजनीतिक दल, सरकार, सरकारी कर्मचारी कसैले पनि कहिल्यै सोचेनन् । सोच्नतिर ध्यान पनि दिएनन् ।  

यो पाँच वर्ष भित्रमा मात्रै हामीले तीन वटा ठूला अप्ठेरा अवस्थाको सामना गर्नुपर्‍यो । यस्तो असहज अवस्था पार गर्दासम्म हामीले धेरैकुरा सिक्नु पर्ने थियो । हामीले २०७२ सालको प्रारम्भमा नै शक्तिशाली भुइँचालो खेप्यौं । त्यसपछि गएर नाकाबन्दी खेप्यौँ । र अहिले आएर कोरोनाभाइरसको प्रकोप खेप्दैछौँ । तर त्यसबाट हामीले केही पनि सिक्न सकेनौं । न त यतातिरबाट कहिल्यै सरकारले नै हेर्‍यो !

सरकारले जहिले पनि विभिन्न माध्यमको प्रयोग गर्दै कर उठाउँछ । पेट्रोल र ग्यासमा कर तिरेको तिरेकै छन्, जनताले । टेलिफोन सेवा वापत रकम तिर्दा पनि सरकारले अमुक कामका लागि भनेर उपभोक्तासँग कर उठाउँदै आएको छ । सरकारले टेलिफोन र इन्टरनेटको प्रयोग बापत २ र ४ रुपैयाँ कर उठाउँदै आएको छ । सो रकम ग्रामीण दूरसञ्चार विकासको नाममा उठाइएको हो । तर सरकारले त्यो रकमलाई अन्यत्र प्रयोग गर्दैआइरहेको छ । र, ग्रामीण क्षेत्रको शिक्षा र स्वास्थ्य सेवालगायत अन्य विविध विकासमा लगानी गरिनुपर्ने उक्त रकम फरक क्षेत्रमा खर्च हुनुले उद्देश्यभन्दा प्रतिकुल काम भइरहेको देखाउँछ । यसरी सरकारले अमुक काम गर्ने भन्दै उठाएको कर बापतको रकम तोकिएको काममा खर्च नगर्नु आम नागरिकप्रतिको धोका हैन र !

नेपाल आयल निगमले पनि कर उठाइरहेको छ । तर, सरकारले आउँदो छ–आठ महिनाका लागि पेट्रोलियम पदार्थ र ग्यासको भण्डारण गरेर राख्ने ठाउँ बनाउन सकेको छैन । बनाउने प्रयास पनि गरेको देखिन्न । योभन्दा विडम्बनापूर्ण अरु के हुनसक्छ ! कामै नहुँदा पनि आखिर जनताले कर तिरेकै छन् । तर मुलुकका लागि आवश्यक मानिएको काममा सरकारको ध्यान कहिल्यै पनि जान सकेन । सरकारको ध्यान जहिले पनि कताबाट दह्रो कमिसन आउँछ भन्नेतिर मात्रै गएको छ । जताबाट कमिसन आउँछ त्यो काम गर्ने, अरुतिर हेर्दा पनि नहेर्ने ! त्यसलाई फलोअप पनि नगर्ने ! सरकारले एकपटक निर्णय गरेपछि त्यतातिर फर्केर कहिल्यै पनि हेर्ने गरेको छैन । हामी तिनकै अकर्मण्यताले निम्त्याएको पीडा बारम्बार भोगिरहेका छौँ ।

भुइँचालोको त्रासदीपछि हामीले एउटा पाठ के सिक्यौँ भने, सूचना तथा सञ्चार प्रविधिको विकासलाई गाउँगाउँ पुर्‍याउनु पर्छ । र त्यसबाट लिनुपर्ने शैक्षिक तथा स्वास्थ्य सुविधा हामीले लिनुपर्छ । हामीले सूचना प्रविधिको विकास गर्दै गाउँगाउँका विद्यालयहरूलाई उत्कृष्ट शिक्षा दिने थलो बनाउनु पर्छ भन्ने पनि सोच्यौंँ । इन्टरनेटको माध्यमबाट शैक्षिक क्षेत्रलाई अझै उत्कृष्ट बनाउने काम गर्नुपर्छ । त्यस्तै गाउँगाउँमा टेलीमेडिसिनको विकास गर्दै त्यसबाट दूरदराजका गाउँहरूमा पनि सहज उपचार गर्ने वातावरण सिर्जना गर्नसक्नु पर्छ भन्ने पनि कुरा उठायौँ । तर कुरो मात्रै उठ्यो, केही पनि गरेको देखिएन ! 

लामो समयदेखि अप्टिकल फाइबर गाउँगाउँ, टोलटोलमा पुर्‍याउने कुरा हामीले  सुन्दै आएका हौँ । नगरपालिका, गाउँपालिका र टोलटोलका स्कुललाई पनि त्यसले जोड्ने र त्यही अनुसारको शिक्षाको विकास गर्ने भन्ने कुरा पनि नउठेको होइन । नसुनेको होइन । त्यसका लागि अरबौंँको रकम छुट्याइएको चर्चा पनि चलेकै हो । यसरी अरबौँको परियोजनासहित सरकारले उठाएका यी विषयले आम जनता दङ्ग परेका पनि हुन् । 

तर, त्यो कुरा कुरामा मात्रै सीमित भएको छ । काम जति कमिसनमा मात्रै अडकिएको देखिन्छ । यदि हामी कहाँ कमिसनको नराम्रो खेल नखेलिँदो हो त भ्रष्टाचारतिर ध्यान नदिएर विकासको काम र परियोजनातिर ध्यान दिँदै कामलाई गति दिएको हुँदो हो, त आज गाउँगाउँमा अप्टिकल फाइबर पुगेको हुन्थ्यो । इन्टरनेटसँगै सूचना प्रविधिको विकासले गाउँ उज्यालिएको हुन्थ्यो । अनि यो बन्दाबन्दीको अवस्थामा पनि गाउँगाउँका विद्यार्थी घरघरै बसेर शिक्षा प्राप्त गरिरहेका हुन्थे । हामीले बन्द भए पनि हरेक ठाउँका विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेका हुन्थ्यौँं । सिकाइ रहेका हुन्थ्यौँ ।

हो, नेपालमा केही अप्ठेरो छ । त्यो के भने सबै मानिसको स्तर एउटै छैन । कोही हुनेखाने छन् । तिनले अनेक रंगका सुविधा लिएका छन् । २४ सै घण्टा इन्टरनेटको एक्सेसमा बस्छन्, ती । यदि नेट नभए डाटाबाट काम चलाउन सक्छन् । त्यसैबाट काम गर्न सक्छन् । तर, कसैसँग साथमा सानो मोबाइल पनि छैन । स्मार्ट मोबाइल त परको कुरा हो । अप्टिकल फाइबरको विकाससँगै नितान्त दुर्गम ग्रामीण भेगमा दुइचारवटा कम्प्युटर राखेर त्यहाँको शैक्षिक क्षेत्रमा कम्प्युटरको प्रभावबारे जानकारी दिन सकेको भए, त्यसबाट विद्यार्थीलाई पढाउन सकेको भए, आजको यो बन्दाबन्दीको स्थितिमा पनि विद्यार्थीहरूका लागि शैक्षिक सामग्रीको उपलब्धता सहज र सरल हुनेथियो । 

कम्प्युटर शिक्षामा विभिन्न निजी क्षेत्रले काम नगरेका हैनन् । तिनले विभिन्न काम पनि गरिआएका छन् । ती संस्थाले कम्प्युटरबाट पढाउन सक्ने शैक्षिक सामग्री पनि तयार गरेर विभिन्न विद्यालयहरूलाई उपलब्ध गराउँदै पनि आएका छन् । अन्य पनि केही यस्ता संस्था छन् जसले कम्प्युटरबाट कसरी शिक्षा दिने भनेर पाठ्यक्रम तयार गरेका छन् । शिक्षा विभागकोे पाठ्यक्र विकास केन्द्रले पनि कम्प्युटर शिक्षाका लागि पाठ्यक्रम तयार गरेको छ । तर, त्यसको प्रयोग भने हुन सकिरहेको छैन ।

खासमा कुरो के हो भने, शिक्षा विकास हेर्ने सरोकारवाला निकायले डिस्ट्यान्स लर्निङ (दूर शिक्षा) का लागि तयार गरेको पाठ्य सामग्रीलाई विद्यार्थीसम्म पुर्‍याउने संसाधन छैन । त्यो पेपरमा तयार त गरियो, त्यसलाई गाउँगाउँसम्म, विद्यालयसम्म, कसरी पुर्‍याउने भन्ने विषयमा कहिल्यै पनि सोचिएन । न त त्यसको सहज उपलब्धताका लागि संसाधनको विकास र विस्तार नै गरिएको पाइयो । यो परिस्थितिमा दूर शिक्षाको विकास हुने सम्भव देखिँदैन ।

सरकारले अप्टिकल फाइबर जोड्ने कुरा उठाएको आजदेखि होइन । ठेक्का पनि लगाएको छ । तर पनि काम अल्झिरहेको छ । किनभने यसमा कमिसनको खेलले काम गरिरहेको छ । अर्को कुरो, समयमै काम पूरा गरौँ भन्ने चाहनाको अभावले गर्दा पनि यस्तो भएको हो । लगनशीलताको कमी पनि यसमा देखिन्छ । हैन भने आजसम्म नेपालका कुनाकाप्चामा अप्टिकल फाइबर पुगिसकेको हुन्थ्यो । सबैतिर इन्टरनेटको सहज पहुँच हुन्थ्यो । त्यहीरूपमा सूचना तथा सञ्चार प्रविधिको माध्यमबाट शिक्षा प्रदान पनि भइरहेको हुन्थ्यो । त्यसो भएको भए आजको बन्दाबन्दीमा पनि विद्यार्थीहरूले घरमा यत्तिकै बस्नु पर्ने थिएन । पढाइ अगाडि बढिरहेको हुन्थ्यो ।

यहाँ एउटा प्रसङ्ग जोडौं, जुन महत्त्वपूर्ण छ । हामी कहाँ शिक्षामा अर्को अप्ठेरो  पनि छ । त्यो हो शिक्षक र प्राध्यापकमा कम्प्युटर ज्ञानको कमी ! दूर शिक्षा वा कम्प्युटरका माध्यमबाट प्रदान गरिने शिक्षाका लागि शिक्षक र प्राध्यापकहरू पनि ट्रेन्ड (तालिम प्राप्त) हुनुपर्ने थियो । त्यो भएको छैन । अधिकाँशलाई कम्प्युटरको प्रयोग गर्न आउँदैन । कतिपयको कम्प्युटर प्रयोगमा रुची पनि छैन । तसर्थ, जबसम्म पुरानो पुस्तालाई सूचना प्रविधिको प्रयोगमा बाध्य गरिँदैन तबसम्म यस किसिमको काम हुनसक्दैन । नेपालको पुरानो बैंकहरूमा जतिखेर ‘अब बैंकको काम कम्प्युटरबाट मात्रै हुन्छ’ भनिए, त्यसपछि कि त पुराना कर्मचारीहरूले स्वैक्षिक अवकास लिए । कि त आफूलाई सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा अपडेट गर्दै लगे र आफ्नो कामलाई निरन्तरता दिए । अहिले ती पुराना बैंक पनि सूचना प्रविधिका क्षेत्रमा अब्बल भएका छन् ।

हो, त्यही काम अब स्कुलहरू र विश्वविद्यालयमा पनि लागु गर्नु आवश्यक भएको छ । र नडराइकन लागु गर्नुपर्छ । त्यसपछि मात्रै शिक्षकहरूले पनि विद्यार्थीहरूलाई मोबाइल वा कम्प्युटरबाट कसरी शिक्षा दिने, कसरी विद्यार्थीको सम्पर्कमा रहने, कसरी विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिने भन्ने, काम गर्न सक्छन् । त्यसो भए शिक्षक र विद्यार्थीको दूरी अलिकति पनि रहने छैन, पठनपाठनका हकमा । यसको अर्थ हो, त्यसका लागि शिक्षक पनि तयार हुनुपर्छ र राज्यले पनि तिनका लागि आवश्यक सुविधा उपलब्ध गराइदिनु पर्छ । त्यसपछि मात्र सूचना सञ्चार प्रविधिको प्रयोग गर्दै जुनसुकै समयमा पनि विद्यार्थीलाई शिक्षा प्रदान गर्न सकिन्छ ।

एउटा अर्को दुर्भाग्यको चर्चा गरौँ, सरकार र शैक्षिक क्षेत्र मात्रै होइन, हाम्रो मानसिकता पनि यसमा जोडिन्छ । अधिकांश नेपाली अभिभावक निजी स्कुलतिर दौडिरहेका छन् । सरकारी स्कुलमा जाँदैनन् । सरकारी विद्यालयको पठनपाठन  फितलो छ भन्दै निजी स्कुलमा आफ्ना बच्चा लिएर जान बढी रुचाउँछन्, अभिभावक । यति हुँदा पनि सरकारी स्कुलको स्तरवृद्धिका लागि सरकार र सरकारी निकाय क्रियाशील छैन । न त सरकारी स्कुलको स्तर वृद्धिका लागि अभिभावकहरू नै लागिपरेका छन् !

एउटा तितो अनुभव पोख्छु म : गाउँका केही सरकारी विद्यालयहरूमा कम्प्युटर शिक्षाका लागि भनेर हामीले कम्प्युटर प्रदान गरेका थियौँं । तर, त्यस विद्यालयका लागि न त कम्प्युटर शिक्षकको व्यवस्था नै शिक्षा कार्यालयले गर्‍यो । न त इन्टरनेटको व्यवस्था नै । कम्प्युटर शिक्षाका लागि आवश्यक पाठ्य सामग्रीहरूको व्यवस्थातर्फ तिनको दृष्टिकोण नै पुगेको पाइएन । स्कुलको सञ्चालक समितिसँग यो कुरा उठाउँदा समितिले त्यसमा ध्यान दिनुभन्दा हामीले विभिन्न संस्थाको माध्यमबाट उपलब्ध गराइदिएको कम्प्युटरलगायतका सामग्री दराजमा राखेर ताला लगाईदिए ! यो स्थितिमा हामीले कम्प्युटर शिक्षा वा दूर शिक्षाको परिकल्पना कसरी गर्न सक्छौँ ? यस्ता तितो अनुभव हामीले भोग्नु परिरहेको छ आज पनि । यो अवस्थामा कम्प्युटरबाट, मोबाइलबाट, वा अन्य माध्यमबाट शिक्षा दिने कुरा सोच्न सकिएला र ?

प्रविधिमा लगानी गर्नुपर्छ, त्यसका लागि अरु पनि खर्च चाहिन्छ है भनेर सरकारले नसोचिदिने, आज यही काम मात्र हुँदैआएको छ । मैले बितेको सात आठ वर्षदेखि आफ्ना कुरा विभिन्न मञ्चमा राख्दै आएको छु कि कम्प्युटर शिक्षकको दरबन्दी हरेक विद्यालयमा कायम गरिनुपर्छ । शिक्षक प्राध्यापक नियुक्ति गर्दा कम्प्युटर र सूचना प्रविधिको निश्चित ज्ञान अनिवार्य हुनुपर्छ, त्यसका लागि विशेष तालिम लिएको हुनुपर्छ भनेर तोकिएको हुनुपर्छ । र, शिक्षक प्राध्यापकहरूको सेवा प्रवेशको परीक्षा लिँदा पनि पाठ्यक्रममा कम्प्युटर सम्बन्धी परीक्षा अनिवार्य लिइनु पर्छ । तर यतातिर सरोकारवालाले सोचेको कहिले पनि देखिएन ! 

अर्को कुरो, अहिले विद्यालयहरू सबै, गाउँपालिका र नगरपालिकाहरूले हेर्ने भनिएको छ । तर ती निकायका अधिकारीहरूमा शैक्षिक क्षेत्रको विकासका लागि आवश्यक सोच र वृहत्त दृष्टिकोण बनिसकेको छ जस्तो लाग्दैन । पहिले शिक्षा कार्यालयले सिंगो जिल्लालाई हेर्दथ्यो भने अहिले मेयर र गाउँपालिका अध्यक्षको हातमा त्यो काम गएको छ । यसरी जाँदा कसैले आफ्नो किसिमले काम गरेका होलान् कसैले अर्को किसिमले । सबैले नराम्रो काम गरेका छन् भन्न खोजिएको होइन यहाँ । धेरैले राम्रो काम पनि गरिरहेका होलान् । तर त्यति हुँदाहुँदै पनि काममा एकरुपता हुनसक्दैन । यसले विद्यालय शिक्षालाई बलियो बनाउँदैन । र,  स्कुलमा पनि दलगत सोच हाबी हुने स्थिति पैदा हुनसक्छ । कार्यकर्ता स्कुलको सञ्चालक समितिमा भर्ना गर्ने प्रवृत्तिले गर्दा विद्यालयको पढाइ प्रभावित हुनसक्छ । यसले पक्कै पनि विद्यार्थीलाई राम्रो गर्दैन ।

यतिबेला स्थानीय सरकारले विद्यालयका समस्याहरू बुझेर काम गर्नुपर्छ भने अभिभावकहरूले पनि आफ्ना केटाकेटीको शिक्षादीक्षाका बारेमा गहनरूपमा बुझ्नु पर्ने हुन्छ । यदि त्यसो नहुने हो भने भोलिका दिनमा विद्यार्थीको पढाइ झनै अलमलमा पर्ने निश्चित छ ।

अब आजको समयलाई हेरौं, यतिबेला विद्यार्थी लकडाउनमा छन् । तिनको पढाइलाई विद्यालयले ध्यान दिइरहेको छैन । अभिभावकले ध्यान दिएका छैनन् । र यो बन्दाबन्दीका कारण र कोरोना संक्रमणको डरका कारण विद्यार्थीहरूको पढाइ दुईतीन महिना अझै नहुने हो भने विद्यार्थींले आफूले पढेको बिर्सिन सक्नेछन् । यसलाई राम्रो कदापि मान्न सकिँदैन । 

यतिबेला सूचना प्रविधिको प्रयोग गर्दै केही सहरी क्षेत्रमा विद्यार्थीहरूको पढाइलाई निरन्तर अगाडि बढाइरहेको पनि देखिएको छ । आज मेरो नाति– जो जुनियर क्लासमा पढ्छ– लाई पनि स्कुलले इन्टरनेटका माध्यमबाट अपडेट गर्दै आएका छन् । तर, यो स्थिति त्यस किसिमको शुल्क तिर्ने विद्यार्थीहरूलाई मात्रै प्राप्त भइरहेको छ । अरुले त्यो प्राप्त गर्न सकेका छैनन् । जबकि यो किसिमको शिक्षा यतिबेला हरेक विद्यार्थीले पाउनु पर्ने हो । के स्कुल के कलेज । के सरकारी र के निजी, सबै विद्यालयका विद्यार्थीले यो सुविधा पाउनु पर्ने हो । त्यसैले निजी विद्यालय मात्र नभएर सरकारी स्कुलमा पनि त्यो वातावरण बनाए हरेक विद्यार्थीले इन्टरनेटको प्रयोग गरेर कक्षागत सामग्री खोज्नेछन् । शिक्षकले तिनलाई मद्दत गर्ने छन् । तर त्यसका लागि वातावरण सरकारले नै बनाउनु पर्छ ।

अहिलेको समयमा पहिलेपहिले रेडियोबाट प्रशारण हुँदै आएको दूर शिक्षाको प्रयोग पनि गर्न सकिन्छ । रेडियो र टेलिभिजनबाट विद्यार्थीहरूलाई पढाउने काम पनि सुरु गरे त्यसले पनि केही हदसम्म विद्यार्थीहरूमा पढने वातावरण कायम राख्न सकिन्छ । तर स्पष्ट देखिन्छ, सरकारको नियत सफा छैन ! 

कोरोनाभाइरस (कोभिड १९) को यो प्रकोपका बेला हामीलाई ठूलो पाठ सिकाएको छ । सरकारले पनि कोरोनाभाइरसबाट बाच्ने र बचाउँने कामसँगै विद्यार्थीहरूलाई घरघरमा बसेर पढ्ने सुविधा दिलाउने काममा पनि लाग्नु पर्ने भएको छ । आशा गरौँ, नेपाल सरकारले त्यो वतावरण बनाउने नै छ । 

(कम्प्युटर एसोसिएसन नेपाल (क्यान)का संस्थापक सभापति/जेष्ठ प्राध्यापक संघका अध्यक्ष डा. शर्मासँग गरिएको कुराकानीमा आधारित ।)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC