site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कोरोनाको डरले गाउँ फर्केको जनशक्तिलाई खेतीमा लगाउन सक्ने हो भने नेपालको ग्रामीण अर्थतन्त्रको दिगो उत्थान हुनसक्छ । अहिले नेपालकै ठूला सहर र वैदेशिक रोजगारीमा गएकाहरू समेतको ठूलो संख्या गाउँ फर्केको छ । बन्दाबन्दी केही खुकुलो हुनेबित्तिकै अर्को ठूलो संख्या घर फर्कने निश्चित छ । खाडीका कतिपय मुलुकले त कामदारलाई स्वदेश फर्कन म्याद दिन थालेका छन् । खाडी मुलुकहरू वैदेशिक रोजगारीमा जाने नेपालीको पनि प्रमुख गन्तव्य हो । मध्यपहाड र लेकाली भेगका गाउँमा अधिकांश पाखो बारी बाँझै छन् । तीन बाली हुने खेतमा सकेम मुस्किलले एक बाली लगाउने गरिएको छ । अन्न वा अरू बाली धेरै भएर खेतबारी बाँझो राखिएको भने हैन । खेतीका लागि चाहिने श्रमशक्ति नभएकाले खेतबारी बाँझो रहेको हो । कृषि योग्य जमिन बाँझो रहेन भने नेपालीलाई पर्याप्त खाद्यान्न देशभित्रै उब्जिन्छ । यसै पनि कोरोनाभाइरसको कहरबाट अर्थतन्त्रलाई जोगाउने हो भने खेतीमा विशेष जोड दिनुभन्दा उत्तम विकल्प नेपालसँग छैन । त्यसका लागि अहिले सबैभन्दा सही समय हो । देशभित्र ठूलो संख्यामा रोजगारी दिने उद्योग धन्दा छैनन् । व्यापक औद्योगीकरणका लागि  देशमा पुँजी र बजार छैन । अन्तर्राष्ट्रिय बजारको भर नहुने रहेछ भन्ने कोरोनाभाइरसको प्रकोपले पनि पुष्टि गरेको छ । 

अहिले गाउँमा फर्कने लगभग सबै नै युवा हुन् । यो निस्क्रिय रहन र राख्न नहुने जनशक्ति हो । तर, गाउँमा खेतीबाहेक यति ठूलो श्रमशक्तिका लागि खासै अरू काम छैन । यता गाउँमा फर्केकाहरू सहर कहिले जान सक्ने हुन् भन्ने निश्चित छैन । त्यतिमात्र हैन सहरमा तिनले गर्दै आएका कतिपय काम फेरि सुरु हुने हो वा होइन र अनौपचारिक क्षेत्रका कामदारले काम पाउने हुन् कि हैनन् भन्ने पनि अनिश्चितै छ । कोरोनाभाइरसको संकटपछि अहिलेको विकासको ढाँचाका साथै काम गर्ने शैली र संस्कृतिमा पनि ठूलो परिवर्तन हुने प्रक्षेपण गर्न थालिएको छ । फलस्वरूप, प्रत्यक्ष श्रम आवश्यक पर्नेबाहेक अरू कतिपय काम घरैबाट गरिने वा मेसिनले गर्ने हुनसक्छ । यसैले सरकारले बेलैमा बुद्धिमानी देखाउने हो भने अहिले गाउँमा फर्केका युवालाई त्यहीँ खेतीमा संलग्न गराउन आकर्षक कार्यक्रम तत्काल लागू गर्नु आवश्यक छ । यस्तै संकट नभएको भए यस पुस्ताको खेती र माटोसँगको नातै टुट्ने थियो । अहिले माटोको मोह बााकी छँदै सम्बन्ध पुनः कायम गर्न सके त्यो स्थिर हुनेछ । 

नेपालले अहिले अपनाएको अर्थतन्त्रले परनिर्भरतामात्र बढाएकोे छ । कोरोनाभाइरसको छोटो प्रकोपले अर्थतन्त्रका आधारहरू वैदेशिक रोजगारी, पर्यटन, वैदेशिक मुद्रा कमाउने निर्यातजस्ता सबै क्षेत्र लगभग ध्वस्त भएका छन् । वैदेशिक मुद्रा आर्जन हुने बाटो बन्द हुँदै गएपछि उपभोग, आयात र भन्सार राजस्व पनि घट्दै जानेछ । त्यस अवस्थामा खेतीसम्म जोगाउन सके जनतालाई भोकमरीबाट जोगाउन कसैलाई गुहार्नु पर्नेछैन । यसैले सरकारले तत्कालै खेतीमा प्रोत्साहन गर्ने आकर्षक कार्यक्रम घोषणा गरोस् । गाउँ फर्केको युवा जनशक्तिले सहरको अनौपचारिक क्षेत्रमा श्रम गर्दा हुने आम्दानी गाउँमा आफ्नै खेतीबाट पाउन थाल्यो भने नहिचकिचाईकन काममा लाग्न सक्छ । उत्पादनले बजारमा सही मूल्य पाएन भने सरकारले किन्ने सुनिश्चित गर्ने र बाली तथा पशुको बिमा राज्यले गरिदिने हो भने सम्भवतः युवा जनशक्तिलाई खेतीतर्फ आकर्षित गर्न सकिनेछ । सरकारले यसै आर्थिक वर्षका लागि विनियोजन गरेको तर कार्यान्वयन हुन नसक्ने विकास आयोजनाको रकम रकमान्तर गरेरै पनि उपलब्ध गराउन सके गाउँको अर्थतन्त्रमा तत्कालमात्र हैन दिगो सकारात्मक प्रभाव पर्नेछ । सरकारले तत्काल ध्यान देखोस् !    
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !