site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
घेराबन्दीमा भारत

‘द इन्डियन एक्सप्रेस’ समाचारको शीर्षकमा भनिएको छ – ‘‘भारत घरतर्फ हिँड्दै छ’’ । दसौं लाख आप्रवासी मजदुरहरू आआफ्ना जे भएका पोकापुन्तुरा बोकेर भारतका निर्जन राजमार्गहरूमा हजारौं किलोमिटर टाढाको घर फर्कनका लागि ताँती लागेको तस्बिरले अखबारका पाना र टेलिभिजनका पर्दा भरिएका छन् ।

यस्तो दृश्य भारतमा मुलुकको विभाजन र पाकिस्तानको निर्माणपछि करोडौं मानिसहरूलाई नयाँ मुलुकतर्फ जान सीमा पार गदाए सबैभन्दा पछिल्लोपटक सात दशक पहिले देखिएको थियो । यसपटक यो अलिकति बेग्लै प्रकारको मानव निर्मित दुखान्त थियो । 

मार्च २४ को साँझमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको संक्रमण रोक्नका लागि मात्र चार घन्टाको म्याद दिएर आधारतदेखि २१ दिने बन्दाबन्दी लागू हुने सूचना जारी गरे । परन्तु, भारतको विशाल अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा त्यसबाट पर्ने असरका सम्बन्धमा योजना गर्न भने उनी विफल भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकका सम्पन्न व्यवसायिकहरूका लागि बन्दाबन्दी (लक डाउन)को अर्थ घरबाटै अनलाइन काम गर्नु भएको छ अथवा बढीमा अनिवार्य बिदाजस्तो । गरिबहरूको कथा भने बेग्लै छ । कारखानाहरू, कार्यालयहरू, पसलहरू बन्द छन् भने निर्माण स्थलहरू ठप्प छन् र रेस्टुराँ, ब्युटी पार्लर तथा हजामका पसलहरू बन्द छन् । बन्द रहेकाहरूले पारिश्रमिक दिन पनि छाडेका छन् । कतिपय रोजगारदाता र ठेकेदारहरू समस्याबाट पन्छेका छन् । भन्छन् – उनीहरूलाई नै घाटा लागेको बेला कामै नगरेका कामदारलाई ज्याला दिन सक्तैनन् ।

खान र सहरका साँगुरा गल्लीका डेराको भाडा तिर्न पैसा कमाउन नसकेका कारण भारतको कामदारहरूको ठूलो समूह पोकापुन्तुरा बाँधेर प्रायः निकै टाढाका राज्यमा रहेको आफ्नो गाउँतिर फर्केको छ । रेल र बस नचलेकाले उनीहरू पैदलै हिँडेका छन् । 

Global Ime bank

यो सजिलो त थिएन । बाटामा कतै खानेकुरा र तीर्खा मेट्ने पानी थिएन, थकाइ मार्ने ठाउँ थिएन । लखतरान थकाइ र सुन्निएका गोडा लिएर उनीहरू घर, परिवार र बाँच्ने आधार खोज्दै पुगेका थिए । 

कुनै राज्यले थन्किएका बसहरू यी पैदल यात्रुलाई यातायात सेवा उपलब्ध गराउन खोजे बस अड्डाहरूमा देखिएको भिडले बन्दाबन्दीको उपहास गरेको थियो । केन्द्र सरकारले तत्कालै राज्यहरूको सीमा बन्द गरेर स्थानीय निकायहरूलाई आप्रवासी कामदार जहाँ छन् त्यहीँ बस्ने र खाने व्यवस्था मिलाउन निर्देशन दियो ।

विडम्बना, महामारी रोक्न गरिएको प्रयत्नले उल्टै मानवीय संकट पैदा गर्‍यो । मोदीले रेडियोबाट सम्बोधन गर्दै बन्दाबन्दीका लागि क्षमा याचना गरे – ‘‘यस्ले तपाईँहरूको जीवनमा विशेषगरी गरिबहरूका लागि कठिनाइ बढाएको छ’’ । साथै, उनले त्यसलाई सहन पनि आग्रह गरे । परन्तु, उनको सरकार कति कामदार बाहिरिएलान् भन्ने अनुमान गर्न विफल भएकाले जस्लाई बचाउन खोजिएको हो तिनैको जीवन संकटमा पारिदियो । 

ठीक विपरीत, मोदी सरकारले विदेशमा रहेका भारतीय र आप्रवासी कामदारलाई घर फर्काउन भने निकै सकारातमक र शीघ्रतापूर्वक तत्परता देखायो । बन्दाबन्दीभन्दा पहिले नै हजारौं जना उद्धार उडानहरूबाट फर्के । देशको विशाल अनौपचारिक अर्थतन्त्रका मेरुदण्ड रहेका आन्तरिक आप्रवासी कामदाहरूको उपेक्षा अत्यन्त चिन्ताको विषय हो । ‘‘संकटका बेलामा घर फर्कन चाहनु स्वाभाविक हो । विदेशमा अड्किएका भारतीय विद्यार्थी, पर्यटक, तीर्थयात्रु घर फर्कन चाहन्छन् भने ठूला सहरका कामदारहरू पनि चाहन्छन् । एकथरीलाई ल्याउन प्लेन पठाउने र अर्काथरीलाई पैदलै घर जान छाडिदिने गर्न सकिँदैन’’ अनलाइन समाचार ‘द प्रिन्ट’का सम्पादकले ट्विट गरेका थिए । 

आप्रवासी कामदारहरूको संकटले भारतलाई कोभिड – १९ महामारीको सामना गर्न पर्ने कठिनाइको स्मरण गराउँछ । देशको १ अर्ब ३० करोड जनसंख्यालाई क्वारेन्टिनमा राख्ने काम अत्यन्त कठिन कदम हो र समानरूपमा लागू गर्न सजिलो हुँदैन । एउटै कोठामा दसौं जना बस्ने बहुसंख्यक भारतीयका लागि ‘सामाजिक दूरी’ कायम राख्नु असम्भव हुन्छ ।

बन्दाबन्दी समस्यामूलक सिद्ध भयो भने आश्चर्य मान्नु परोइन । सडकमा जानका कस्लाई र किन दिने हो भन्ने अन्योलले पनि कठिनाइ थप्नेछ । आवश्यक सामान बेच्ने पसले र कतिपय ठाउँमा त औषधि पसलेसमेत उद्दण्ड प्रहरीको लाठीको बर्बर प्रहाारबाट जोगिन सकेका छैनन् । 

सबैलाई बन्दाबन्दी समानरूपमा लागू नगरिएको भए पनि किसानहरूले हिउँदे बाली भित्र्याउन सकेका छैनन् र बन्दाबन्दीका कारण वितरण गर्न नसकिएपछि दूध र ताजा उत्पादनहरू खेर गएको समाचार आएका छन् । कतिपय अत्यावश्यक वस्तुहरू पाइएका छैनन् भने अखबारको वितरण रोकिएको र मन्दी अवश्यंभावी देखिएको छ ।   

एउटै सन्तोषको विषय के छ भने भारतका अत्यधिक प्रदूषित सहरहरूको आवा चमत्कारपूर्णरूपमा स्वच्छ भएको छ । सामान्यतया ५०० नाघ्ने दिल्लीको वायु प्रदूषणको स्तर (विश्व स्वास्थ्य संगठनले स्वच्छ वायुको स्तर अधिकतम २५ तोकेको छ) ३० भन्दा कम रहेको छ भने आकाश नीलो र घाम लागेको छ । गत साताको वर्षापछि त वायु प्रदूषणको स्तर ७ मा झरेको थियो ।

भारतका राज्य सरकारहरूको व्यवहार पनि अत्यन्त फरकफरक प्रकारको रहेको छ । भारतमा कोरोनाभाइरस पहिलोपट चीनबाट फर्केको चिकित्साशास्त्रको विद्यार्थीमा दक्षिणी राज्य केरलामा भेटिएको होे । केरला सरकारले त्यस संकटको जसरी सामना गर्यो त्यसको निकै सराहना भएको थियो ।

दशकौं लगाएर गरिएको स्वास्थ्य सेवाको संरचनाको विकासले केरला कोपिड –१९ को सहजै सामना सर्न समर्थ भयो । यसले धेरै पहिले नै खोजबिन र परीक्षण गर्न थाल्यो र क्वारेन्टिनका प्रभावकारी उपाय अपनायो, तिनलाई कल्याणकारी सहायतासँगै लागू गर्यो । राज्यमै खाने व्यवस्था मिलाएर आप्रवासी कामदारहरूको सामूहिक बहिर्गमन रोक्यो । ठूलो संख्यामा यात्रुहरू आउने (भारतको सबैभन्दा धेरै वैदेशिक कामदार केरलाकै छन् र मूलतः खाडीमा गएका छन्) भए पनि यस राज्यले कोरोनाको अनियन्त्रित संक्रमण रोकेको छ । 

केरलामा संक्रमितहरूको संख्या धेरै देखिएको छ तर त्यसको कारण यहाँ अरू राज्यमा भन्दा धेरैको परीक्षण हुनु हो । केरलामा प्रतिदस लाखमा २ सय २० जनाको परीक्षण गरिएको छ भने उत्तरी राज्य बिहारमा प्रतिदस लाखमा एक जनाको परीक्षण गरिएको छ । संक्रमितको संख्या प्रायः परीक्षणका कमजोरी कारण कम हुनसक्छ ।

हुनत, भारतीयहरूले ऐक्यबद्धता प्रकट गरेका छन् तर केही उचित प्रश्नहरू पनि उठेका छन् । भारतले केन्द्रमा बलियो सरकार संसद्मा सत्तारुढ दलको स्पष्ट बहुमत र देशको सबैभन्दा लोकप्रिय राजनीतिक नेताको नेतृत्व हुँदा पनि भारतले कोभिड–१९को सम्बोधन गर्दा यस्तो भयंकर गल्ती कसरी गरेको होला ? आसन्न महामारीको सामना गर्न आवश्यक तयारी गर्न विपक्षी नेताहरूले सार्वजनिकरूपमा सावधान गराउँदा गराउँदै पनि किन कुनै तयारी गरिएन ? किन अहिले भारत महामारीको संक्रमणसँग जुध्न नसक्नेमात्र हैन आर्थिक संकट, भोकमरी, गरिबीको वृद्धि र सामाजिक विद्रोहको जोखिममा परेको छ ? 

यसको उत्तरका लागि प्रतीक्षा गर्नुपर्नेछ । अहिलेको सबैभन्दा प्रमुख चुनौती भने एक अर्ब तीस करोड जनसंख्या भएको यस मुलुकलाई विनाशको भविष्यवाणी गर्नेहरूले भनेजस्तो दसौं लाख पीडित हुने अवस्थाबाट कसरी जोगाउने भन्ने हो । 

(भारतका पूर्व विदेश राज्यमन्त्री)
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)

Copyright: Project Syndicate, 2020.


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC