site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 महाकालीपारि रोकिएका नेपालीका पक्षमा

केही दिनअघि सामाजिक सञ्जालमा एक जनाको अर्धनग्न तस्बिर भाइरल भयो । बर्दीधारी प्रहरीले हातै समातेर बीच सडकबाट कतै लैजाँदै गरेको त्यो तस्बिर भारतमा मजदुरी गर्ने नेपाली नागरिक इन्द्रराज खत्रीको रहेछ । उनी नेपाल–भारत सीमा नाका धार्चुलाबाट नेपाल प्रवेशमा रोक लगाइएपछि महाकाली नदीमा हामफालेर आफ्नो देश प्रवेश गर्ने क्रममा नांगिएका रहेछन् । सोही अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । खत्रीको तस्बिरसँगै नेपाल सरकारको चरित्र पनि नांगिएको छ । 

यतिबेला संसार शताब्दीकै भयावह मानव संकटसँग जुधिरहेको छ । कोरोनाभाइरसको माहामारीका कारण विश्व आक्रान्त छ । यस कठिन घडीमा सरकारका पनि सीमा छन् । तर, जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफ्ना नागरिकको जिम्मा लिने दायित्व राज्यको हो । कुनै पनि बहानामा सरकारले आफ्नो जिम्मेवारीबाट पन्छन मिल्दैन । असामान्य अवस्थामा नै नागरिकले आफ्नो घर र अभिभावकको खोजी गर्ने हो । पृथ्वीको जुनसुकै कुनामा रहेका नेपाली नागरिकका लागि नेपाल घर हो र सरकार अभिभावक हो । आफ्नो घरभित्र छिर्न पाउनु नैसर्गिक अधिकार हो । विभिन्न कष्ट हुँदाहुँदै पनि आफ्नो देश प्रवेशका लागि सीमामा आइसकेका नागरिकलाई प्रवेशमा रोक लगाउनु विश्वव्यापी मानवअधिकारको मूल्य मान्यतामात्र हैन सामान्य मानवीय धर्मको समेत विपरीत हो । 

विकसित देशहरुले मात्र हैन नेपाल सरकारले नै पनि विदेशमा रहेका नागरिकलाई विमान चार्टर गरेर फिर्ता ल्याएको दृष्टान्त ताजै छ । कोरोनाको उदगम थलो चीनको वुहानमा रहेका करिव १ सय ७५ नेपाली विद्यार्थीलाई करोडौं खर्चेर सरकारले नेपाल ल्याई चौध दिन पर्याप्त सुविधासहित क्वारेन्टाइनमा राखेको थियो । जो अति नै सराहनीय हो । तर, आज त्यही सरकार आफ्ना नागरिकलाई देशभित्र पस्ने नाका बन्द गरेर महाकालीमा हामफाल्न बाध्य पारिरहेको छ । देश उही, नागरिक उही, सरकार उही र कारण उही तर व्यवहारमा यत्रो विभेद किन ? ‘संसारका मजदुर एक हौ’ भन्ने नारालाई मूल मन्त्र ठान्ने वर्गीय मुक्तिको नारा अलाप्ने पार्टी सरकारमा पुगेको छ । त्यही पार्टीको सरकारको नजरमा जीवनको मूल्य पनि वर्गीय हुने हो ? हैन भने चीनमा मेडिकल पढ्ने र भारतमा मजदुरी गर्ने नागरिकबीच यति ठूलो विभेद किन ?

Prabhu Bank
Agni Group
NIC Asia

सबैलाई थाहा छ त्यतिबेला चीनमा रहेका ती नागरिकभन्दा हाल महाकाली नाकामा अलपत्र मजदुर नेपालीहरु बढी समस्या र जोखिममा छन् । चीनबाट उद्धार गरिएका नेपालीहरु त्यहाँ वातानुकूलित अपार्टमेन्टमा अत्याधुनिक सुविधासहित बसिरहेका थिए । चीन सरकारले सबै जिम्मेवारी लिएको थियो । बिरामी परेमा नेपालभन्दा पनि उच्चस्तरको स्वास्थ्य सुविधा त्यहीँ उपलब्ध हुनेवाला थियो । अधिकांश मेडिकल पढ्दै गरेका वा उच्च शिक्षा अध्ययनरत त्यहाँका नेपालीहरु शिक्षा र चेतनाका दृष्टिले पनि अहिले अलपत्र परेका मजदुरभन्दा अगाडि थिए । र, पनि सरकारले समयमा नै उद्धार गर्यो । त्यसका लागि सरकार धन्यवादको पात्र बनेको थियो । 

के सरकार हुने खाने र पहुँचवालाहरुका लागि मात्र हो ? धार्चुलामा अलपत्र मजदुरहरुले विमान चार्टर खोजेका त छैनन् । पैदलै देशको सिमा नाकामा आइसकेका छन् । उनीहरुको माग नेपाल छिर्न पाऊँ भन्नेमात्र छ । हामी नेपाल सरकारले तोकेको मापदण्डअनुसार जहाँ भन्यो, जति दिन भन्यो त्यति बस्न तयार छौँ भनिरहेका छन् ।

Global Ime bank

उनीहरु सबै कोरोना संक्रमण पुष्टि भइसकेका व्यक्ति पनि हैनन् । यद्यपि, रोगी नै भए पनि सरकारले आफ्नो नागरिकको जिम्मा लिनुपर्छ । मर्नकै लागि भए पनि नागरिकले आफ्नो माटो पाउनुपर्छ । 

प्रश्न सरकारलाई मात्र हैन अन्य दल, नागरिक समाज र सञ्चार माध्यमलाई पनि हो । त्यही प्रदेशबाट चुनिएर पटकपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा हाल प्रमुख प्रतिपक्ष दलका नेता छन् । के धार्चुलामा अलपत्र परेका नेपाली नागरिकका पक्षमा बोल्न उनीहरुले चारतारे झन्डा बोकेकै हुनुपर्ने हो ? सोही प्रदेशका नेता भीम रावलको उग्र राष्ट्रवाद आफ्ना नागरिक महाकालीमा हाम फालिरहँदा कताँ हरायो ? हिजो चीनमा रहेका केही सय विद्यार्थीका पक्षमा लगातार प्रथम पृष्ठमा समाचार बनाउने र प्रधानमन्त्रीलाई खुलापत्र लेख्नेहरुले भिडमा आफन्त नभएकाले नदेखेको हो ? चोक चोकमा मानवअधिकारको पसल थाप्नेहरुलाई यो समस्याले किन बिझाउँदैन ? गैरसरकारी संस्थाहरुलाई ती नागरिकका पक्षमा बोल्न परियोजना नै चाहिने हो ?

अधिकार सम्पन्न भनिएको प्रदेश सरकार आफ्ना एक हजार नागरिकलाई देश ल्याएर दुई साता पाल्न सक्ने हैसियतमा पनि छैन ? राजधानीमा वैकल्पिक पार्टीको नारा घन्काउनेहरुलाई सुकिला मुकिलाको समस्याले मात्र छुने हो ? हैन भने ‘तैँ चुप मै चुप’ किन ? कि घाम पनि अस्ताउनमात्रै पुग्छ सूदूरपश्चिम भने झंै ती नागरिकले उद्धारको पर्खाइमा पशुसरह जीवन हिरहनुपर्ने हो ? 

कोरोनासँग बँच्ने अहिलेसम्मको उपलब्ध उपाय सामाजिक दूरी कायम राख्ने र ‘लक डाउन’ नै हो । तर, त्यसो भन्दैमा सरकारले आफ्नो विवेकलाई ‘लक डाउन’ गरी जनतासँग दूरी बढाउने सुविधा पाउँदैन । देशको अर्थतन्त्र रेमिट्यान्सले धानिएको भाषण गर्नेहरुले त्यो रेमीट्यान्स पठाउनेहरुको उद्धारमा पनि ध्यान दिनुपर्छ । याद रहोस्, रेमिट्यान्स भित्र्याउने मुलुकमा भारत दोस्रो नम्बरमा पर्छ । जसमा ती धार्चुलामा अलपत्र मजदुरहरुले कमाएको एक एक रुपियाँ पनि जोडिएको छ । 

लोकतन्त्रमा राज्यले सेवा, सुविधा, पहुँच र सामथ्र्यको आधारमा सबैभन्दा पिँधमा परेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना योजनाहरु बनाउनुपर्छ । धार्चुलामा अलपत्र रहेका नागरिकहरु नेपालको सबैभन्दा पुच्छरमा रहेका नेपालीका प्रतिनिधि पात्र हुन् । नेपालको मध्य र सुदुरपश्चिमका पहाडी जिल्लाका नागरिकको औसत आय, आयु, शिक्षा, स्वास्थ्य सबै कमजोर छ । हो ती तिनै नागरिक हुन् जो अहिले महाकालीमा हाम फालिरहेछन् । जोखिमका आधारमा नेपाल सरकारले पहिलो नम्बरमा भारतमा कार्यरत मजदुर, दोस्रोमा खाडीमा कार्यरत र त्यसपछि मात्र अन्य मुलुकलाई ध्यान दिने हो । किनभने भारतमा कार्यरत मजदुर विनाकुनै सम्झौता सस्तो श्रममा जोखिमपूर्ण काम गरिरहेका छन्, उनीहरुको जिम्मेवारी कुनै रोजगारदाता कम्पनी वा मालिकले कानुनतः लिएको हुँदैन । खाडी मुलुकमा जानेहरुसँग कम्तीमा श्रम सम्झौता वा अन्य कानुनी आधार हुन्छन् । यद्यपि, ती कति कार्यान्वयनमा आउँछन् त्यो अर्कोे पाटो हो । ती बाहेकका मुलुकमा रहनेहरुको अवस्था सापेक्षितरुपमा कम जोखिममा छ । 

राष्ट्रपतिको सम्बोधनमा संसारभरका नेपालीप्रति चासो हुनु स्वभाविक छ । तर, महाकाली बिर्सिएर अमेरिकामात्र सम्झिँदा सबैलाई पहुँचवालाकै पीर भन्ने परेको छ ।

समय अझै घर्केको छैन । उचित ध्यान पुगोस् । पहुँचका आधारमा नागरिकमाथि विभेदपूर्ण व्यवहार नहोस् । धार्चुलामा रोकिएका नागरिकलाई अहिले कोरोनाभन्दा यो कम्युनिस्ट सरकार बिझाएको छ । त्यहाँको अवस्थाले हाम्रो व्यवस्थालाई गिज्याएको छ । समान हैसियतका नागरिकमध्ये राज्यले ‘कोहीलाई विमानमा सरर र कोहीलाई महाकालीको बगर’ बनाउनु लज्जास्पद हो । संवैधानिक अधिकारको हनन र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC