site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोना कहर र राज्य प्रणालीको सामर्थ्य

यस शताब्दीकै विश्वव्यापी महमारीको रुपमा कोरोनभाइरस (कोभिड – १९) फैलिइरहेको छ । चीनको वुहानबाट सुरु भएको कोरोनाबाट विश्वका २०० जति मुलुक आक्रान्त भएका छन् । सक्रमण र मृत्युको संख्या निरन्तर उकालो लागि रहेको छ । यो महामारी न संसारको पहिलो हो न त अन्तिम नै । मानव सभ्यताको इतिहासमा दर्जनौँ महामारीले मानव जातिलाई विनाशको संघारमा पुर्‍याएका थिए ।

सारा विश्वमा कोरोनाले विध्वंश मच्चाई रहँदा सुरक्षा तयारी गर्नुुपर्नेमा ‘पशुपति नाथले रक्षा गरेको’ जस्ता धेरै समय बिते । अब पश्चाताप गरेरमात्रै यस विपदबाट त्राण पाउन सकिने अवस्था छैन । सरकार र नागरिक स्तरबाट पर्याप्त सचेतना र संवेदनशीलता अपनाउनुपर्ने बेला भएको छ । यो नागरिक र सरकारबीच विश्वासका साथ सहकार्य गर्ने समय हो । नागरिकले सरकारी आदेशको पालना गरेर सुरक्षात्मक उपाय पूर्णरूपमा अपनाउने र सरकार रोगको परीक्षण, औषधोपचार र गाँसवासको व्यवस्थापनमा केन्द्रित हुनुपर्ने देखिन्छ । राज्य हरेक नागरिक हो । राजनीतिक नेतृत्व र कर्मचारी शासनका प्रतिनिधिमात्रै हुन । त्यसेैले नागरिकबाट पनि दिनचर्यामा परिवर्तन र सामाजिक भेटघाट स्थगित अपेक्षित छ । नागरिक र सरकारको संयुक्त प्रयासबाट यस विपदको सामना गरेर सुरक्षित रहनु आवश्यक छ ।

नेपालको संविधानले परिकल्पना गरेको राज्य व्यवस्थाको परीक्षण र औचित्य पुष्टिको घडीपनि हो यो । तीन तहको राज्य संरचनामा प्रदेश र स्थानीय तहको औचित्य, सान्दर्भिकता र जनमुखी चरित्रको मापक हुुनसक्छ यो विपद । नागरिकले राज्यबाट अभिभावकीय दायित्वको अपेक्ष गरेका छन् । स्वास्थ्य परीक्षण, औषधोपचार, खाद्यान्नलगायतका क्षेत्रमा तीनै तह केन्द्रित हुनुपर्छ । सरकारले विकास खर्च कटौती गरेर भए पनि कल्याणकारी काममा खर्च गर्नुपर्ने अवस्था छ । सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम पनि कल्याणकारी काममा परिचालन गर्नुपर्छ । सरकारले व्यापक कागजी तयारी गरे पनि व्यावहारिक कार्यान्वयन र सान्दर्भिकताको पाटो कमजोर देखिएको छ । राज्यप्रति नागरिकको भरोसा र विश्वास कायम राख्न कल्याणकारी रणनीति अगाडि सार्नुपर्छ । अब परीक्षण र उपचार सँगै यसले राष्ट्रिय अर्थतन्त्रमा सिर्जना गरेको संकट एवं निम्नमध्यम वर्गीय परिवारको जीविकोपार्जनमा भएको व्यवधानको संम्बोधन गर्ने रणनीति अवलम्बन गर्नुपर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले सुरुका दिनहरुमा नै विदेशबाट आउनेहरुको तथ्यांक र क्वारेन्टिन व्यवस्थित गर्न सकेन । क्वारेन्टिनमा बस्न उत्प्रेरित गर्न नसक्दा त्यहाँबाट धेरै मानिस भागेका पनि छन् । त्यसैले विदेशबाट आएका व्यक्तिहरुको ठेगाना र तीन पुस्ते पत्ता लगाएर बसिरहनुभन्दा अब प्रत्येक वडाबाट सबै नागरिकको स्वास्थ्य परीक्षण गर्न टोली परिचालन गर्नुपर्छ । बिरामीको मृत्यु भइसक्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआउनु विडम्बना हो । कम्तीमा प्रदेश तहमा रगत नमुना परीक्षण गरी संक्रमित र शंकास्पद व्यक्तिको उपचार गर्नुपर्छ । ‘आइसोलेसन’ र क्वारेन्टिनमा बसेका कोरोना आशंकित मानिसको मृत्युको खबरले त्रास बढाएको छ । यद्यपि, तिनको रिपोर्ट नेभेटिभ आएको छ । त्यसैले गाउँ र टोल तहसम्म स्वयंसेवक परिचालन गरी सुरक्षित हुने उपाय र मनोवैज्ञानिक परामर्शको प्रबन्ध गर्नुपर्छ । 

यसको लागि सरकारी कर्मचारीसमेत परिचालन गर्न सकिन्छ । यतिखेर गैरसरकारी संघसंस्थाले अपेक्षित भूमिका खेल्न सकेका छैनन् । नागरिक सशक्तीकरण, स्यानेटाइजर र मास्कको प्रयोग तथा सामाजिक दूरी कायम गर्ने बारे चेतना विस्तार र परामर्शमा गैरसरकारी संस्थाहरुको भूमिका अपेक्षित छ । जानकारी र चेतनाको अभावमा स्वास्थ्य संस्थासम्म जान हेल्चेक्रयाइँ गर्ने व्यक्तिलाई उनीहरुको सहयोग खाँचो छ । त्यसैले गैरसरकारी संस्थाहरुले जनताको वस्तविक साथी भएको परिचय दिने समय आएको छ ।

Global Ime bank

आयातमा आधारित उपभोक्ता संस्कृतिका कारण खाद्यान्नलगायतका सामग्रीको नियमित र सहज आपूर्ति एवं वितरणको प्रबन्ध अर्को प्राथमिकता हुनुपर्छ । श्रमिक र ज्यालादारी मजदुर, विद्यार्थी वर्गको हित र कल्याणका लागि सहायता प्याकेजहरु घोषणा गर्नुपर्छ । एक सातादेखिको बन्दले त्यस्ता वर्गलाई काम र माम विहीन बनाएको छ । मुलुक लकडाउन गरेर र नागरिकमाथि प्रहरीको लाठी वर्षाएर केही हदसम्म कोरोना नियन्त्रण त होला तर भोको पेट भरिँदैन । यसबाट अर्को संकट उत्पन्न हुनेछ । 

कम्तीमा एक महिनाका लागि खाद्य सामग्री वडा कार्यालयहरुमार्पmत वितरण गर्नुपर्छ । किनेर खान सक्षमहरुका लागि आपूर्ति व्यवस्था सहज र कालाबजारी नियन्त्रण गर्न वडा तहसम्म संयन्त्रहरु परिचालन गर्नुपर्छ । सामाजिक उत्तरदायित्व त कता हो कता न्यूनतम व्यावसायिक आचरणसमेत कायम गर्न नसकेका व्यवसायीले संकटमाथि संकट थपेका छन् । संकटका बेला कृत्रिम अभाव गरेर अवैध नाफा आर्जन गर्न पल्केका व्यापारी व्यवसायीलाई सरकारले निर्मम भएर पाठ सिकाउन आवश्यक छ ।

उपचारमा खटिएका चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउन नसकेको सरकारसँग परीक्षण गर्ने किटसमेत थिएन । अहिले चीनबाट ल्याइएको सामग्रीहरुबाट केही सहज भएको हुनुपर्छ । स्वास्थ्यकर्मीहरुकै ज्यान खतरामा पर्नसक्ने र अन्यलाई पनि संक्रमण हुनसक्नेतर्फ सरकारको दृष्टि पुग्न सकेन ।

मिडियाहरुबाट सार्वजनिक टेकु अस्पताल र डाक्टरको अवस्था, स्वास्थ्य मन्त्रालयकै पदाधिकारीहरुको अभिव्यक्तिले हाम्रो तयारीको चित्र उदांगिन्छ । उपचाररत बिरामीहरुबाट उपचारप्रति गुनासो सुनिएका छन । सरकारले चिकित्सकहरुको मनोबल उच्च बनाई बिरामीको सेवामा समर्पित हुने वातावरण तयार गर्नुपर्छ । सामान्य अवस्थामा ‘ब्रम्हलुट’ गर्ने भनेर बदनाम निजी क्षेत्रका अस्पतालहरु संकट पर्दा सामान्य रुघाखोकी र ज्वरोका बिरामीसमेत जाँच्न नमानेर नागरिकमाथि ज्यादती गर्दैछन् । विडम्बना, तिनका सामु सरकार निरीह देखिएको छ ।

लकडाउनका समयमा प्रहरीबाट नागरिकमाथि भएको दमन अर्को कोरोनाको रुपमा प्रकट भइरहेको छ । कार्यालय हिँडेका कर्मचारीदेखि गाँसको जोहो गर्न हिडेका सर्वसाधारणमाथिको बर्बरतापूर्ण दमनले मानवीय मूूल्य नै ‘लकडाउन’मा परेको छ । एकातिर राज्यले श्रमिक र मजदुर वर्गको खाने बस्ने व्यवस्था गर्न नसक्नु अर्कोतिर आफ्नै प्रयासमा जोहो गर्न हिँडेकामाथि प्रहरीद्वारा कुुटपीट हुनु पाषाण युगको प्रतिविम्ब हो ।

लकडाउन भनेको न त मानव अधिकारको संकुचन हो न त प्रहरी शासन नै । यो त रोग संक्रमणको जोखिम न्यूनीकरणको आपतकालीन सुरक्षात्मक उपायस्वरुप सामान्य दिनचर्यामा सम्झौतामात्रै हो । यस्तो अवस्थामा लोक कल्याणकारी राज्यले नागरिकका न्यूूनतम सुविधा घरमै पुर्‍याउनुपर्छ । फिल्डमा खटिने प्रहरीमा यसको गलत बुझाइले ज्यादती बढेको हुनसक्छ ।

मातहतका जवानहरु बाटै कुटपीटका घटना भइरहँदा पनि उच्च प्रहरी अधिकारीहरुबाटै अनभिज्ञता प्रकट हुनु विचित्र छ । यसले के राज्य प्रहरी जवानहरुको बहुलठ्ठीपन, अनुशासनहीन र उदण्ड चरित्रको बन्धक भएको हो त भन्ने प्रश्न खडा भएको छ । लकडाउनको अवज्ञा गर्नेलाई कानुनअनुसार कारबाहीको बाटो हुँदाहुँदै मरणासन्न हुने गरी कुटपीट गर्नुले के कानुनी शासनका संयन्त्रहरु आत्मसमर्पण गरेका हुन् त भन्ने प्रश्न उब्जेको छ ।  

नागरिकलाई सरकारी निर्णय अवज्ञा गरेर रोगको जोखिम लिने रहर पक्कै लाग्दैन । यो त राज्य संयन्त्रप्रतिको अविश्वासको लक्षण हो । दैनिक आवश्यकताका वस्तु र सेवाहरु राज्यले सहज र सुलभरुपमा उपलब्ध हुने सुनिश्चित गरेमा नागरिक स्वयं सरकारप्रति नतमस्तक भएर लकडाउनको पालना गर्छन् । अनि सरकार कोरोना नियन्त्रणमा मात्र होइन चिरकाल पर्यन्त नागरिकको मन र मस्तिष्कमा बस्न सफल हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC