लुम्बिनी : कौडीमा मिल्किएको मणि

दीपकराज सापकोटा

 लुम्बिनी : कौडीमा मिल्किएको मणि

जहिले पनि रोमाञ्चक र सिकाइले भरपूर हुन्छन् यात्राहरु । रोमाञ्च र सिकाइको मात्रा भने घटबढ भइरहन्छ । आइफेल टावर, कोलोसियम, ताजमहल, स्ट्याचु अफ लिबर्टी, माचुपिचुजस्ता केही स्थानका पुग्ने सौभाग्य पाएको छु । ती स्थान भएका देशमा पुग्दा सकेसम्म त्यहाँ पुग्ने समय निकाल्छन् मानिसहरूले । नेपालको लुम्बिनी पनि यस्तै नाम हो । नेपालको नाम नसुनेकाले पनि बुद्धको जन्मस्थलको नाम सुनेको हुन्छ । 

एसियाका ज्योति भनिने तर विश्वलाई नै प्रदीप्त गर्ने सिद्धार्थ गौतम जन्मे हुर्केका स्थान हो लुम्बिनी । वर्षमा लाखौं जना शान्तिको खोजीमा बुद्धले देखाएको बाटो पहिल्याउन नेपाल आउँछन् । बुद्ध जन्मेको, हुर्केको, ज्ञान प्राप्त भएको, बुद्धत्वपछि स्वजनलाई भेट्न फर्केर आएको स्थान त्यस्ता जिज्ञासुको गन्तव्य हुने गर्छ । म पनि यसपटक यस्तै चाहना लिएर त्यहाँ पुगेको थिएँ सिद्धार्थको जन्म स्थान लुम्बिनी र उनका पिता शुद्धोदनको दरबार भएको तिलौराकोटसमेत घुम्ने चाहना राखेर । 

भनिन्छ गर्भवती महारानी मायादेवी तिलौराकोटबाट माइत देवदह जाँदैगर्दा यी दुवै स्थानको बीचमा पर्ने लुम्बिनी भनेर परिचित यस स्थानमा विश्राम गर्ने क्रममा सिद्धार्थ गौतमको जन्म भएको हो । बौद्ध ग्रन्थहरुमा यस स्थानलाई सालका रुखहरु पल्लवित रहने एवं पाँच जात र र∙हरु भएका मौरीहरु विचरण गर्ने  प्रदिमोक्ष वन भनिएको पाइन्छ । चित्त शान्त र प्रफुल्ल पार्ने यस स्थानमा चराहरुको मधुर चिर्बिर र प्राकृतिक छटाहरुले स्वर्ग समान भनिएको छ । स्वयं बुद्धले आफ्नो महापरिनिर्वाणभन्दा केही अगाडि आफ्ना चेला तथा अनुयायीहरुलाई एकपटक लुम्बिनी पुग्न निर्देश गरेका छन् । 

बुद्धको निर्वाणपश्चात २४९ ईसापूर्वको हाराहारीमा भारतका चक्रवर्ती सम्राट अशोकले आफ्नो गद्दी आरोहणको बीसौं वर्षको अवसरमा यहाँको धार्मिक यात्रा गरेको इतिहास छ । यस भ्रमणमा उनले बुद्ध जन्मस्थान ढुंगाको पर्खालले घेरी ढुंगाकै स्तम्भ स्थापना गरेका थिए । यसैलाइ हाल अशोक स्तम्भ भनिन्छ । यही स्तम्भ नै बुद्ध जन्म स्थलको आधिकारिक प्रमाण हो । पछि पाँचौं र सातौं शताब्दीमा चिनियाँ भिक्षुहरुले पनि यस स्थानको भ्रमण गरेका लिखित प्रमाणहरु भेटिएका छन् । यसपछिको कालखण्डमा भारत वर्षमा आएको सामाजिक तथा राजनीतिक उथलपुथलले यस महान् तीर्थस्थल विस्मृतिमा गएको देखिन्छ । सन् १८९५ मा केशरशमसेर जबरा तथा जर्मन नागरिक अलोइस एन्टन फ्युररले उत्खनन गर्दा यो स्तम्भ, स्तम्भमा ब्राम्ही लिपिमा  लेखिएको जानकारीमूलक सामग्री तथा चाइनिज तीर्थयात्रीहरुले लेखेको विवरण भेटेपछि यो स्थल पुनः विश्व सामु देखापरेको हो । 

सन् १९६७ मा संयुक्त राष्ट्र संघका महासचिव (तत्कालीन बर्मा, हालको म्यान्मारका नागरिक) ऊ थान्तले लुम्बिनीको भ्रमण गरेपछि यसको चर्चा हुन थाल्यो । बुद्ध धर्मका अनुयायी ऊ थान्तले लुम्बिनिलाई संसारकै शान्तिको मुहानका रुपमा विकास गर्न प्रस्ताव गरे । यसैलाई मूर्तरुप दिन १५ सदस्य राष्ट्र भएको अन्तर्राष्ट्रिय लुम्बिनी बिकास समितिको स्थापना उनकै अग्रसरतामा भयो । जापानी वास्तुविद केन्जो टाँगेले यसको प्रारुप तयार पार्ने ऐतिहासिक जिम्मा पाए । सन् १९७८मा उनले तयार पारेको लुम्बिनी विकासको गुरु योजना स्वीकृत भयो र काम पनि सुरु भयो ।  

लागेको थियो लुम्बिनी तीर्थमा पुगेपछि विचार, मन तथा शरिर नै तरंगित हुनेछ । तर, त्यहाँ पुग्दा यो भावना पटक्कै आउन सकेन । अधिकांश मानिस, त्यसमा पनि नेपालीहरु ठूलै संख्यामा त्यहाँ पुग्ने रहेछन् । किन्तु, जानकारीमूलक सूचनाको अभावमा उनीहरुको मुख्य गन्तव्य त विभिन्न मुलुकले बनाएका गुम्बाहरु पो हुँदा रहेछन् ।

त्यहाँ भएका इरिक्सा चालकले पनि गुम्बाहरुको वर्णन गरेर सतही भ्रमणमा प्रोत्साहित गरेको पाइयो । बुद्धको जन्म स्थान त यसो घुम्दै वा सोध्दै पुग्ने स्थान पो हुँदो रहेछ । त्यहाँ न त पानी परे ओत लाग्ने स्थान छ न त गर्मीमा छेकिने ठाउँ नै रहेछ । त्यस स्थानको महत्ता बताउन सक्ने व्यक्ति वा सूचना सामाग्री पनि त्यहाँ देखिएन ।

कतिसम्म अव्यवस्थित अवस्था रहेछ भने अशोकस्तम्भ एकातिर र त्यसमा लेखिएको विवरण भएको जानकारीमूलक सूचनापार्टी अर्कोतिर पो पाइयो । त्यहाँ गएर एकछिन आँखा चिम्म गरेर शान्ति र एकान्त खोज्ने चाहना बस्न हुने ठाँउसमेत नपाएर पूरा हुन सकेन । मन्दिरको दक्षिणतर्फ रहेको पीपलबोटको फेदमा यसो बसेर आँखा चिम्ममात्र गरेको के थिएँ भिक्षु पहिरनमा भएका एक जनाले त्यहाँबाट भगाए । आफ्नो निरीहता र क्षोभ लुकाउने प्रयास गर्दै त्यहाँबाट निस्किएर घुम्दै जाँदा सिंगापुर गुम्बामा भेटिएका लामा टाशी गुरुङले पनि निराशाका शब्द पोखे । ”माल पाएर चाल नपाउने जात हो हाम्रो । यत्रौ वैभवशाली सम्पदा छ तर हामीले न त यसको उचित व्यवस्थापन गर्न सकेका छौँ न त यसको प्रचारप्रसार नै । हालत कस्तो छ भन्ने मूल मन्दिरमा देखिहाल्नु भयो’’ उनले भने – ‘‘के यस परिसरभित्र छिर्नेबित्तिकै हामी यौटा भव्य कक्ष बनाएर भित्र भएका सबै स्थानको जानकारी दिन सक्तैनौ ? बुद्ध र उनीसँग सम्बन्धित पक्षहरुको जानकारीमूलक सामग्रीको प्रदर्शन गर्न सक्तैनौ ? मन्दिर परिसरमा एकछिन सुस्ताउने स्थान बनाउन सक्तैनौ जहाँ घामपानीमा ओत लाग्न सकियोस् ?’’ उनको थप जिज्ञासा थियो ।’’

उनका यी प्रश्नहरुको जबाफ कसरी दिने र कस्ले दिने ? विश्वकै शान्तिको मुहानलाई ब्युझाउँन ऊ थान्तले देखेको सपना त परको कुरा मन्दिर परिसरलाई सफा र व्यवस्थित बनाउनसम्म हामीले चालीस वर्षमा पनि सकेका छैनौ । बुद्ध नेपालमा जन्मेका हुन् भनेर ७५ हजार मान्छे उतारेर द∙ पर्ने हामी यति पनि सोच्न सक्दैनौ हामीभन्दा सयौं गुण बढी नागरिक भएका मुलुकले यसै गरेर मान्छे उतारे भने के होला ? कसरी यसलाई जीवन्त बिश्व शान्ति सम्पदा बनाउने ? कसरी यस स्थलसँग सम्बन्धित सामग्री खोज्ने ? तिनको पुनःस्थापना कसरी गर्ने ? त्यहाँ आउने सबैलाई लुम्बिनीसँग जोड्ने काम कस्ले र कहिले गर्ने ? बढी यात्रु ल्याउनेमात्र हैन आएकालाई कसरी सन्तुष्ट हुने वातावरण बनाउने भन्ने पो हाम्रो ध्यान हुनुपर्ने हो । पारख नहुँदा मणि पनि कौडीमा मिल्किन्छ भन्ने उदाहरण भएजस्तो लाग्यो – लुम्बिनी । 

गरिब देशको नागरिक भएकोमा हैन सोच र दृष्टिकोणमा दरिद्रता देखेर मन खिन्न हुन्छ । यस्तै सोच भएपछि हामी वास्तवमै उन्नत हुन दशकौं हैन शताब्दियौं लाग्नसक्छ ।

राष्ट्रिय गौरवको योजना त लुम्बिनीको उत्थान पो बन्नुपर्ने हो । हैन ? 

प्रतिकृया दिनुहोस
ad