site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सलनलमा दोङ्देमुन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बिना थिङ 
दोङ्देमुनको सिनित्त परेको सडक । चिल्ला सवारी साधनहरु । आकाश भेटुँला जसरी उभिएका भवन । बाक्ला, काला र लामा पहिरनमा हिँडिरहेका मानिस । ती यसरी हिँडिरहेका थिए कि केही छुटिरहेछ जिन्दगीबाट, त्यसलाई भेट्टाउनु छ । कसैको प्रतीक्षामा म दोङ्देमुनको चौबाटोमा उभिन पुगेकी थिएँ । 

अपरिचित ठाउँ । बिलकुलै भिन्न परिवेश । चराचुरुङ्गीले बोले जस्तो लयदार भाषा । अलिकति असजिलो, तर अधिक रोमाञ्चकता । यही भावभङ्गिमामा म पुगेकी थिएँ, दक्षिण कोरिया । इतर आवाज साहित्यिक समाज दक्षिण कोरियाले आयोजना गरेको थियो, उधौली कविता २०२० र इतर कवितासङ्ग्रह विमोचन कार्यक्रम । त्यस कार्यक्रममा अतिथिको रुपमा आमन्त्रित थियौं राजन मुकारुङ, स्वप्निल स्मृति र म । २६ जनवरी २०२०को त्यस कार्यक्रममा हामी २४ जनवरीमै उडेका थियौं, काठमाडौंबाट । दक्षिण कोरियाको राजधानी सियोलमा २५ तारिखको अपराह्न इन्छान एयरपोर्टमा बडो अधीर अवस्थामा भेटिएका थिए, इतर आवाज साहित्यिक समाजका शीर्षबिन्दु पराजित पोमु । केन्द्रबिन्दु सुष्मा रानाहाँमा ।  शीरबिन्दु सुनिल दिप्त राई, खोम गुरुङ । एयरपोर्टमा पूरा गर्नुपर्ने कागजी औपचारिकताका कारण हामी निकैबेर रुमल्लियौं । त्यसैको कारण हुन पुगेका विलम्बले आयोजक साथीहरुलाई अधीर बनाएको थियो । 

इन्छान एयरपोर्टबाट करिब डेढ घण्टाको दूरी तय गरेपछि हाम्रो गन्तव्य भेटियो । दक्षिण कोरियाको राजधानी सियोल । होटल बाटिकाको दुईवटा कोठा, चार दिनका लागि हाम्रो भयो । आयोजक टिमका बाँकी साथीहरु त्यहीँ भेटिए । अमृत राई, दीपा मेवाहाङ राई, शकुन आँसु, बाबु बलिन्द्र, सुरेश सिंह सम्बाहाम्फे, मातृका नेम्बाङ, उत्तम खजुम, डम्बर सुब्बा । अरु अरु पनि । सबैको अनुहारमा गुराँस फुलेको थियो । साथीहरुको न्यानो स्वागतले सियोलको जाडो मत्थर भएको थियो । साँझको खाना बाहिर नेपाली रेस्टुराँमा खाने सल्लाह भएको थियो । सियोलको दोङ्देमुनमा थुप्रै नेपाली रेस्टुराँ रहेछ । यात्राले ल्याएको शारीरिक थकानलाई तातोपानीले पखालेँ । फुर्तिलो भएँ । त्यसपछि सिनित्तको सडकैसडक हिँडेर चोकमा उभिएँ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

आयोजकसँग दोङ्देमुनको चोकमा उभिरहँदा लाग्यो, म कुनै रहस्यमय चलचित्र हेर्दैछु । एकपछि अर्को रहस्य उद्घाटित हुँदैछ । र, यो सिनेमाको दोस्रो दृश्य हो । पहिलो दृश्य इन्छान एयरपोर्टको थियो । मैले ठम्याएँ, पूर्व–पश्चिम तनक्क तन्किएको सडक, त्यसले दुई भागमा विभाजित गरेको दोङदेमुन । र, दोङ्देमुनको सडकपेटीमा बग्रेल्ती उभिरहेका नेपाली । हिँड्दै जाँदा कुम ठोक्किने । लाग्यो– म काठमाडौंको कुनै परिचित गल्लीमा हिँडिरहेछु ! 

नेपाल सरकार र दक्षिण कोरियाबीच सन् २००८ मा श्रमसम्झौता भएको थियो । त्यसयता कोरियन भाषा तथा सीप परीक्षण उत्तीर्ण गरेका नेपाली रोजगारी निम्ति कोरिया जान पाइरहेका छन् । त्यहाँ सरकारी प्रक्रियामार्फत् कामदार जाने भएकोले न्यून जोखिम र उच्च पारिश्रमिक प्राप्त हुन्छ । वैदेशिक रोजगारीको आकर्षक गन्तव्य बन्न पुगेको छ दक्षिण कोरिया । ६० हजारको हाराहारीमा नेपाली दक्षिण कोरियामा रहेको तथ्याङ्क छ । ती कोरियाका विभिन्न सहर र ग्रामीण भेगमा छरिएर श्रम गरिरहेका छन् । तिनैमध्ये सियोल र त्यस आसपासका भेगबाट ‘सलनल’ मनाउन दोङ्देमुन पुगेका रहेछन् । दक्षिण कोरियाको नयाँ वर्ष हो, सलनल । कोरिया सरकारले सलनलमा चार दिन बिदा दिँदो रहेछ । छुसक भन्ने चाडपछि लामो बिदा सलनलमा पाइँदो रहेछ । 

Royal Enfield Island Ad

औजारको ध्वनिसँग नियमित लयबद्ध हुने श्रमिकहरु सलनलमा केही दिनलाई विच्छेद हुन पुग्दा रहेछन् । अनि आइपुग्दा रहेछन् सम्बन्धको नविकरण गर्न दोङ्देमुन । साथीको सम्बन्ध । आफन्तको सम्बन्ध । प्रेमको सम्बन्ध । भाइचाराको सम्बन्ध । संस्थागत सम्बन्ध । कोरियामै रहेर पनि लामो समयदेखि भर्चुअल सम्बन्धमा रहेकाहरु सलनलमा प्रत्यक्ष ठोक्किन पुग्छन् । घरदेशदेखि टाढा हुँदा उत्पन्न हुने मानसिक पीडालाई यस्ता सम्बन्धहरुले केही हदसम्म राहत दिँदो रहेछ । वास्तवमा मानव जाति सामूहिकता मन पराउँछ । एक्लोएक्लो त ऊ बाध्यतामा मात्र बाँच्छ । त्यसैले हुनपर्छ, दूर देशमा बसेर पनि एकत्रित भइरहेका छन्, नेपाली । विचार मिल्नेहरु भेला हुन्छन् । उद्देश्य निक्र्योल गर्छन् । योजना बनाउँछन् । कार्यान्वयनमा जोड दिन्छन् । हर सम्भव प्रयत्न गर्छन् । त्यसैले त उनीहरु सलनल, छुसकमा एकआपसमा भेट्छन् । विविध गतिविधि गर्छन् । आपूmलाई मन परेको विधामा चुर्लुम्म हुन्छन् । आत्मसन्तुष्टिमा रमाउँछन् । 

साहित्य समाज
उन्नत जीवन बाँच्ने सपना साँचेर दक्षिण कोरिया पुगेका थिए, पराजित पोमु । रोजगारीको विकल्प खोज्दा उनी आप्mनो माटोसँग विच्छेद हुन पुगे । पराइ भूमिमा आप्mनो अस्तित्व गुम्दै गएको महसुस भयो उनलाई । यसले उनीभित्र नजानिँदो पीडा जन्मायो । छातीभरि सल्बलायो माटोसँगको प्रेम । खोज्न थाले, माटोको सुगन्ध । आप्mनो अस्तित्व । भूगोलको घनचक्करमा पिल्सिएका पराजितलाई लाग्यो अब यसको निकास खोज्नुपर्छ ।  अचुक उपाय भनेकै अक्षरसँगको क्रिडा हो भन्ने लाग्यो । त्यसपछि शब्दसँग जीवनको तादात्म्य खोज्न थाले । फरक संस्कृति, रहनसहन, भाषासहित हाम्रो पनि अस्तित्व छ है भन्न थाले । उनलाई अरु भन्दा फरक, तर सग्लो अस्तित्वको लागि वकालत गर्नु नै पहिचान हो भन्ने लाग्यो । राज्यले बोल्दै आएको भाषा भन्दा फरक आवाज भएकोले आपूmलाई इतर माने उनले । यसको लागि गतिलो एउटा फोरम हुनुपर्छ भन्ने विचार मनमा आयो । उनी जस्तै अस्तित्वको लडाइँमा होमिने श्रमिकहरु भेला भए । विचार मिल्यो । उद्देश्य मिल्यो । र, स्थापना गरियो, इतर आवाज साहित्यिक समाज । जहाँ उब्रेको समयमा भेटघाट हुन्छ । सृजना गरिएको साहित्य वाचन हुन्छ । साहित्यमाथि बहस हुन्छ । विशेषतः उपेक्षित र किनारीकृत समुदायका आवाजलाई मुखरित गर्नु इतर आवाज साहित्य समाजको मूल उद्देश्य हो । 

श्रमबाट उब्रेको समय हामी सामान्यतया मनोरञ्जन गर्छौं । सिनेमा हेर्छौं । गाना बजाउँछौं । नेपालबाहिर पुगेका धेरै नेपालीले पनि सङ्गठित भएर धेरैजसो साङ्गीतिक कार्यक्रम आयोजना गरेको देख्छौं । कमैले मात्र बौद्धिक क्रिडाका निम्ति समय निकालेको भेटिन्छ । साहित्य सृजनाका क्षेत्रमा त झन् विरलै भेटिन्छ । यस्तोमा इतर आवाजले पहिचानको मुद्दामा केन्द्रित रहेर लेखिरहेका कविहरुको प्रतिनिधि कवितासङ्ग्रह तयार पा¥यो । यो कार्य बिलकुलै नयाँ र चुनौतीपूर्ण थियो ।  दलित, जनजाति र मधेसी समुदाय जो राज्यको मूलधारबाट विमुख छन्, तीमध्ये ३४० जना कविका कविता यस सङ्ग्रहमा राखिएको छ । यसको आकार–प्रकारदेखि सङ्कलित रचनालाई हेर्दा यसलाई ऐतिहासिक मान्न सकिने आधार भेटिन्छ । सम्भवतः यति ठूलो आकारमा कुनै कवितासङ्ग्रह आजसम्म प्रकाशित भएको छैन । ६८६ पृष्ठको उक्त कवितासङ्ग्रहको लोकार्पण २६ जनवरी २०२० मा तोकिएको थियो । साथमा थियो, उधौली कविता २०२० । यही मेसोमा हामी पुगेका थियांै दक्षिण कोरियाको भूमि टेक्न । 

श्रमबाट उब्रेको समय साहित्य सृजनामा लगाउनु अलग कुरा हो । साहित्यक अभियान चलाउनु, अन्तरराष्ट्रिय स्तरमा कार्यक्रम आयोजना गर्नु झनै फरक कुरा । विदेशी भूमिमा उब्रेको समयको एकदमै महत्व हुन्छ । अझ यस्तो कार्यक्रम आयोजना गर्न लाग्ने लागत कम्ता हुँदैन । त्यसमाथि अहोरात्र कार्यक्रम सफल बनाउन लाग्नु सानो कुरा होइन । यस्तोमा इतर आवाजका साथीहरुको त्यो लगन, चासो, खटाइ लोभलाग्दो लाग्यो । अतिथि सेवासत्कारमा कतै कमजोरी देखिन्छ कि भनेर चनाखो थिए । इतर आवाजको त्यस भव्य कार्यक्रममा गरिएको सम्मानले म भावविभोर भएँ । तत्क्षण मलाई लाग्यो– आफू साहित्य कर्ममा लागेकै कारण यो सब भइरहेछ । एउटा भूगोलेदेखि अर्को भूगोलसम्मको यात्रा साहित्यप्रतिको मेरो समर्पणले नै गराएको हो । मनमनै प्रतिबद्ध भएँ, म निरन्तर यो क्षेत्रमा रहनेछु । आप्mनो बर्कतले भ्याएसम्म साहित्य सृजनामा लागिरहनेछु । त्यससँगै याक्थुङ लेखक सङ्घका अध्यक्ष वियोगी काइँलाबाट राजन मुकारुङ, स्वप्निल स्मृति र म सम्मानित भयौं । यो सम्मानले म थम विभोर हुन पुगेँ । यो स्नेह, सम्मान र सद्भावले इतर आवाजका साथीहरुसँग मेरो सामीप्य बलियो बन्न पुग्यो । उमेरगत हिसाबले कम र अनुभवका हिसाबले बढी सक्रिय थिए, उनीहरु । केहीले मेरो हृदयमा जरो गाडेका छन् । थाहा छैन, उनीहरुको हृदयमा म गाडिन सकेँ कि सकिनँ !

०००००

दुई जोडी चिम्सा आँखा
खलेको चामलको पिठोजस्तो अनुहारको रङ । टुपुक्क परेको नाक । लामा सिन्काजस्ता हात–गोडा । थाइकट कपाल । अलिअलि हाँसो । अलिअलि गम्भीर । हाँस्दा आँखा अलिअलि उघ्रिएजस्तो देखिने । एकदम सन्तुलित भावभङ्गी । उनी हुन् दीपा मेवाहाङ राई । उनको कोरिया बसाइ लम्बिएर चौथो वर्षमा पुगेको छ । उनीसँगै समानान्तर उभिएकी छन्– सुष्मा रानाहाँमा । दीपाको भन्दा दोब्बर चिम्सा आँखा । दूधजस्तो छालाको रङ । औसत नापो भएको नाक । चञ्चल । यी दुई प्राणी आँखामा हरदम प्रेम बोकी हिँड्दा रहेछन् । फेसबुकको कमेन्ट बक्स र म्यासेन्जरमा मसँग जिस्किरहने दुई प्रिय केटीहरुलाई मैले पहिलोपटक सियोलमा भेटेँ । मान्छेलाई समयले सिकाउँदो रहेछ श्रम, प्रेम र जीवन । नत्र त अभिभावकलाई दङ्ग्याउँदै आप्mनै गाउँघरमा डुली हिँड्नुपर्ने हो दीपा र सुष्मा । धेरै गर्दा पनि यी श्रममै समर्पित हुनुपर्ने । तर उनीहरुको चेतनाको स्तर यतिमै सीमित रहेन । मेसिनको कर्कश आवाजमा पनि उनीहरु लय खोज्छन् । जीवनको गीत त्यसमा मिसाउँछन् । र, आत्मसन्तुष्टिको एक पेग ह्विस्की पिउँछन् । आवश्यकताअनुसारको थपथाप गर्छन् । मलिलो झुमझुममा उनीहरु गीत लेख्छन् । कविता कोर्छन् । साहित्यिक अभियन्ता बन्छन् । आपूm मात्र खुसी हुने होइन अरुलाई पनि त्यसमा सामेल गराउँछन् । उमेर भन्दा बढ्ता परिपक्वता हासिल गरेका छन् । अग्रजप्रति यी दुई अनुग्रृहित हुन्छन् । अनुभवको तावामा भुटिँदै गएर हुनुपर्छ कहाँनेर प्रेम दर्शाउने, कहाँनेर आदरभाव प्रकट गर्ने यी दुई स्पष्ट छन् । 

सियोलमा रहुञ्जेल यी दुईले पालैपालो मेरो हात समातिरहे । प्रेमले आल्हादित बनाइरहे । दीपा र सुष्माको प्रेमले म हुरुक्कै भएँ । यी दुईसँगै जोडिएर आएको अर्को नाम थियो, शकुन आँसु  । दीपा र सुष्माभन्दा लामो समय कोरियामा श्रम गर्दै आएकी शकुन, उस्तै प्यारी । कविता कर्ममा समर्पित उनी दुई केटीभन्दा बढी गम्भीर देखिन्थिन् । परदेशको भूमिमा श्रमसँगै सृजनामा समर्पित दीपा, सुष्मा र शकुनलाई म अगाध प्रेम गर्छु ।

संयोगको अर्को प्रसङ्ग
दक्षिण कोरियाको कार्यक्रममा जाने निश्चित भइसकेको थियो । एउटा बिहान सुरेश थोकरको म्यासेज आयो । 

“भाउजु, कोरियामा तपाईंसँग हामी भेटघाट गर्नेछौं ।” 

मलाई लाग्यो व्यक्तिगत चिनजानको कारण हुनुपर्छ यसो भनिएको । काठमाडौंमा हुँदा राम्रो गजल लेख्थ्यो, सुरेश । लेखनबाटै परिचित थियौं हामी । रोजगारीको विकल्प खोज्दै कोरिया पुगेपछि लेखनकर्म थाती राखे पनि संस्थागत रुपमा सक्रिय रहेछन् । सियोल पुगेकै साँझ सुरेश र अमिर योञ्जन म बसेकै होटलमा आइपुगे । अमिर पनि नेपाल हँुदा तामाङ भाषामा साहित्य सृजना गर्थे । पत्रकारिता उसको पेशा थियो । कोरिया पुगेर पनि आप्mनो कर्म छोडेको रहेनछ । होटलमै आइपुगेको अर्को साथी थियो, मनोज सुवेदी । मेरो बालसखा । जिन्दगीलाई आप्mनै तवरले भोग्ने क्रममा ऊ पुगेको थियो, त्या
देश । त्यसो त मेरो बाल्यकालीन साथी, दाइ मदन भुजेल पनि अर्को सहरबाट मलाई भेट्न आउने कुरा थियो । समयको चाँजो मिलाउन नसक्दा उनीसँग मेरो भोलिपल्ट मात्र भेट भयो । मेरै लागि भनेर आएका दाइसँगको आत्मीयता अझ फराकिलो बन्यो । 
 
हामी स्टारबक्स कफी हाउसमा कफी पिउँदै थियौं, मानकुमार आइपुगे । 
 
“हामीलाई साथीहरुले पर्खिरहेका छन् । जाऊँ । भेटघाट कार्यक्रम छ ।” सुरेशले भने । दोङ्देमुनकै एउटा नेपाली रेस्टुराँमा भेटिए नेपाल तामाङ सङ्घ दक्षिण कोरियाका साथीहरु । अघिल्लो दिन आयोजना गरेको ल्होछार सांस्कृतिक कार्यक्रमको धङधङीमै उपस्थित थिए साथीहरु, दाइ र अग्रजहरु । सामान्य भेटघाट भनेर आमन्त्रित मलाई नेपाल तामाङ सङ्घ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबाले सम्मान पत्रसहित खादा प्रदान गर्दा मैले एकपटक आफैंलाई बिर्सिएँ । फेरि सम्हालिनु त थियो नै, सम्हालिएँ । महासचिव गोकुल थोकरले शब्दगुच्छाले साहित्यमा मेरो लगावको मूल्याङ्कन गर्दै समुदायको तर्फबाट यो सम्मान प्रदान गरेको बताए । आपूmले साहित्यको फाँटमा त्यस्तो भयङ्कर केही गर्न सकेको छैन । र पनि मेरो निरन्तर साहित्य सृजनालाई अग्लो मानेर मलाई उचाइमा राख्ने तामाङ सङ्घ दक्षिण कोरियाप्रति म कृतज्ञ थिएँ । एकछिनलाई म अवाक् भएँ । व्यस्त समय, श्रमको साङ्लो, शारीरिक थकान हुँदाहुँदै पनि समुदायगत रुपमा सक्रिय रहेका त्यहाँका साथीहरुप्रति म नतमस्तक भएँ । एकभारी खादा ओढाएर ममाथि थप जिम्मेवारी प्रदान गर्ने समस्त साथीहरुसँग मैले प्रतिबद्ध हुनुपर्छ– तपाईंहरुको विश्वासलाई म कायम राख्न सकुँ । मैले कामना पनि आफैंलाई गर्नुपर्छ । 

लोट्टे टावर 

२७ जनवरी २०२० । 
आयोजक टोलीसहित हामी लोट्टे टावर पुग्यौं । प्रतितला प्रति सेकेण्डमा कुद्ने लिफ्ट । १२३ तलाको यो टावर १२३ सेकेन्डमै चढियो । ११ फेब्रुअरी २०११ मा निर्माण कार्य सुरु भएको यो टावर ३ अप्रिल २०१७ मा सम्पन्न भएको रहेछ । परबाट देख्दा सिसाको अग्लो टाकुरो जस्तो छ यो । यसभित्र प्रवेश गर्दा कुनै जादुमय नगरी जस्तो लाग्छ । उज्यालै उज्यालोको संसार जस्तो । विश्वकै अग्ला टावरहरुमा पाँचौ स्थानमा आउने यस टावरमा चढेर हामीले सियोललाई तल पा¥यौं । अग्लो हँुदै शक्तिशाली सहरलाई होचो हेरिरहँदा हर्षित होइँदो रहेछ । सम्भवतः मान्छे यही आनन्दले सक्दो अरुलाई होचो देख्न चाहन्छ । तर यथार्थमा कुनै न कुनै समय ओर्लनै पर्छ । र, होचोमै बाँकी जीवन बाँच्नुपर्छ । यद्यपि, अग्लोमा हुञ्जेल मानिसलाई यो सत्यबोध नहुँदो रहेछ । म पनि लोट्टे टावरबाट देखिएको नीलो नदी, नदीमाथिको कलात्मक पुल, सलाइका बट्टाजस्ता देखिने अपार्टमेन्ट हेरेर आनन्दित भएँ । सँगै गएका सुष्मा, दीपा, पराजित, राजन मुकारुङ, स्वप्निल स्मृति, मानकुमार लामा, बाबु बलिन्द्र, सुरेश सिंह सम्बाहाम्फेलगायतका साथीले कस्तो अनुभूति गरे कुन्नि, त्यो सुन्न बाँकी नै छ ।

लोट्टे टावरले दिएको मलमल रनाहामा थिएँ । होटल फर्किंदा रातको ११ बज्यो । दिनभर मलाई सम्पर्क गर्न खोजेका रहेछन् दुध लोप्चन, शुभराज भोम्जन, सूर्य रुम्बालगायतका भाइहरुले । श्रमकै सिलसिलामा दक्षिण कोरिया पुगेका यी भाइहरु श्रममा मात्र सीमित थिएनन् । पत्रकारितालाई निरन्तरता दिन दिनको उज्यालोले छेक्थ्यो । त्यसैले रातको उज्यालो पक्रिँदै १२ बजे आइपुगे होटल बाटिकामा । साहित्य र सृजनाको गफगाफमा शुभराज, दुधसँगै मानकुमार र म सामेल भयौं । हाम्रो गफगाफलाई क्यामेरामा कैद गरियो । मीठो कुराकानी टुङ्गिँदा बिहानको १ बजिसकेको थियो । अनिदा आँखाहरुले सिरानी खोजिरहेका थिए । कतिखेर निदाएँ पत्तै पाइनँ । बिहान अबेला मात्र ब्युँझिएँ । सन्तुष्टिको निद्रा बडो गहिरो हुँदो रहेछ । 

सियोल टु बुसान 
२८ जनवरी २०२० । इतर आवाजका साथीहरुसँग बिदा भएँ । लागेँ दक्षिण कोरियाको अर्को ठूलो सहर– बुसानतिर । मानकुमारको बसाइ बुसान । मायाकाली नन्द नानीको बसाइ पनि त्यहीँ । सोनाम पाल्मोको पनि । सानु कान्छा लामाको अनि समग्रमा न्याना मान्छेहरु भेट्न म बुसान जानु नै थियो । त्यसमाथि म कोरियाको ग्रामीण भेगको दृश्यपान गर्न चाहन्थेँ । सियोल स्टेसनबाट रेलमार्ग हुँदै बुसान पुगुञ्जेल नेपालकै जस्तो अग्लो–होचो भूभाग हेरेर म दङ्ग परिरहेँ । भूगोल त दुनियाँको उस्तै रहेछ । रुखविरुवा त्यस्तै अनि माटो पनि उस्तै । केही फरक थियो भने माटोमाथिको टनेल खेती थियो । समानान्तर उभिएका रुखहरुको बुनोट थियो । अनि उपत्यका जस्तो देखिने ठाउँमा उभिएका अग्ला अपार्टमेन्टहरु थिए । चिल्ला, फराकिला बाटोहरु, पहाडको मुटु छेडेर बनाइएका सुरुङ मार्गहरु, सडक छेउछाउ रोपिएका रुखले दक्षिण कोरियाको विकासलाई प्रतिनिधित्व गरिरहेझैं लाग्यो । सडकमा कहीँकतै ट्राफिक उभिएको नदेखिने । र, पनि जाम पनि नहुने । दुर्घटना छैन । न छ धुलो, धुवाँ । कसरी व्यवस्थित भएको छ यो सहर ? मेरो मथिङ्गल हल्लायो । मुलुक सिस्टममा हिँडपछि सबै ठीकठाक चल्दो रहेछ । रेलभित्र उस्तै शान्त छन् यात्रु । कस्तो सभ्य यात्रा ! 
 
सियोलदेखि चार घण्टाको रेल यात्रापश्चात् टेकिएको भूगोल नै बुसान थियो । समय कति नै थियो र मसँग ? भोलिपल्ट २९ जनवरी २०२० को दिन मानकुमार, मायाकाली, राजु ज्वाइँ, म र अरु दुईजना लाग्यौं बुसान टावरतिर । सन् १९७३ मा निर्माण भएको बुसान टावर जुङ्गुमा अवस्थित छ । योङ्गडुसान पार्कको मध्यभागमा उभिएर यस टावरले वर्षौंदेखि मलाई पर्खिरहेझैं लाग्यो । पार्कको सुन्दरता आँखाले निली नभ्याउनुको रहेछ । मलाई लाग्यो– आप्mना मान्छेहरुसँगको त्यो यात्राले म बुसान टावर जस्तै भव्य र अग्लो भएँ । लगत्तै म फैलिएँ हेउन्दे समुद्रसँगै परपर पुगेँ । बुसान सहरलाई छोएर बग्दो रहेछ हेउन्दे । नीलो भएर । समुद्रछेउ उभिरहँदा शरद्को चिसो झोँक्काले गालामा नरम थप्पड लगाइरहेको जस्तो अनुभूति भयो । लेखिएको नाम क्षणभरमै छालले लान्छ भन्ने बोध हुँदा पनि किनारको बालुवामा आप्mनो नाम लेखिरहेँ । नाम जस्तै एकदिन स–शरीर मेटिनु नै छ । यो बोध हँुदाहुँदै पनि क्षणिक बाँच्नुको आनन्द किन नलिने ? केटाकेटीले कुनै चम्किलो पत्थर हातले सुम्सुम्याउँदा प्राप्त गरेको खुसीजस्तै केही प्राप्त भइरहेको थियो । म, मानकुमार, मायाकाली र ज्वाइँ राजुप्रति अनुग्रृहित भइरहेँ । उनीहरु मेरै लागि आप्mनो महत्वपूर्ण पूरा दिन खर्च गरिरहेका थिए । 

इन्छानमा अन्तिम पटक उभिँदा 

३० जनवरी २०२० ।
मन भारी भयो । दुईवटा कारणले । एक, मानकुमार म नेपाल फर्कने दिन इन्छान एयरपोर्टसम्म आउन पाएनन् । छुट्टी मिलेन । अर्को, केही दिन नै सही म प्रेमले आल्हादित थिएँ । दक्षिण कोरियामा मलाई प्रेम गर्ने, मैले प्रेम गर्नेहरुसँग अब बिदा हुनुपर्ने भयो । बुसानदेखि आप्mनो सारा कारोबार दुई दिनलाई थाती राखेर मायाकाली र राजु मलाई इन्छान एयरपोर्ट छोड्न आएका थिए । बोर्डिङ पास नबनुञ्जेल मसँगै लगातार रहेका थिए । बिदाइको हात हल्लाउँदै हामी छुट्टिएका थियौं । कोरिया जादाँ सँगै गएका राजन दाइ र स्वप्निल स्मृति केही दिनअघि नै फर्किसकेका थिए । हङकङ ट्रान्जिट हुँदै नेपाल फर्कन मलाई अत्यास लागिरहेको थियो । मेरो भाग्य हुनुपर्छ, गायिका बबिता किराँती– जो साङ्गीतिक कार्यक्रमको सिलसिलामा सियोल पुगेकी थिइन्, उनीसँगै परेँ म । बबितालाई बिदाइ गर्न आइपुगेका थिए, अनिल किराँती, हाङ चेम्जोङ, दिनेश नाछिरिङ राई र सक्सेस राई । बिदाइको हात हल्लाउन आइपुगेका उनीहरुसँग एकदम छोटो कुराकानी हुन पाये, तर लामो याद रहने गरी । दिनेश नाछिरिङ मोडलिङमा जम्दै गरेका युवा । हाङ चेम्जोङ म्युजिक भिडियो निर्देशनमा आपूmलाई परीक्षण गरिरहेका निर्देशक । अनिल किराँती नेपाल सरकारको अधिकृत पदबाट अध्ययनको सिलसिलामा पुगेका । यस्ता आआफ्ना क्षेत्रमा राम्रो सम्भावना बोकेका मानिसहरुसँगको सान्निध्यमा म अन्तिम पटक इन्छान एयरपोर्टमा उभिएँ । आँखामा प्रेम र हृदयमा याद लिएर अन्तिम पटक कोरियालाई नियालेँ । 

३१ जनवरी २०२० रातको १० बजे नेपाल एयरपोर्ट ओर्लिएँ ।  डोल्मा लामा र कविता शाह मेरो प्रतीक्षामा रहेछन् । उनीहरुसँगै एयरपोर्टबाट बाहिरिएँ । कोरिया यात्रा छोटो, तर अर्थपूर्ण थियो । एयरपोर्टबाट निस्कँदै गर्दा मलाई लाग्यो– तीन घण्टाको कुनै सुन्दर चलचित्र हेरेर म हलबाट बाहिर निस्कँदै छु । जसको रोमाञ्चक दृश्य र घटनाले लामो समयसम्म मेरो मानसपटलमा उथलपुथल मच्चाइरहने छ । मलाई झकझकाइरहने छ । सिर्जनात्मक बनाइरहने छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro