site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जब कालापानीको आकाशमा हेलिकोप्टरले फन्को मार्‍यो !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

दार्चुला (खलङ्गा) । सुर्खेतको जमिनबाट आकाशमा वेग हान्नेबित्तिकै सुदूरको दुर्दशा आँखा सामुन्ने आइहाल्यो । खुकुरीका धारजस्ता पहाड । उच्चाटिला डाँडा । हिउँले निमोठेका बोटबिरुवाबाहेक जति आँखा तन्काए पनि कतै समथर, कुलो–नहर पुगेका उब्जाउयोग्य जमिन भेटिँदैनन् ।

ढुङ्ग्यान, नाकेभीर र चुच्चे पहाडको फेदीमा फाट्टफुट्ट मात्रै डोजरले डाँडा कोपरिरहेको भेटिन्छ । मध्यपश्चिम र पश्चिमका डाँडामा राँटै नराखी बकेट गाडिरहेका स्काभेटर सुदूरका छातीमा छैनन् । तल, सुदूर खोँच र बेँसीतिर पनि डोजर आउने बाटो बनेका नहोलान् ।

अधिकांश रछ्यान र जुठेल्नोसमेत मरुस्थलतुल्य झुप्रा र कतैकतै मात्र हरियो, पहेँलो अनि सेतो चुन पोतेका घर देख्न पाइन्न्छ । प्रायः निर्जन पहाडमुनि नियतिलाई धिक्कारिरहेको एकलास घरहरू मात्रै देखिन्छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मध्यपश्चिमका हरिया डाँडाकाँडालाई धुर्स्याउँदै, फुर्स्याउँदै जथाभावी स्काभेटरले मुख जोतिरहेको देख्दा चित्त काढिएथ्यो । सुदूरका पहाडमा डोजरसम्म नकुदेको देख्दा रनाहा छुट्यो । बाटो हुन्थ्यो त, मुस्किलले शीत–झरी ओत्ने खरका घरहरूको पहुँच सदरमुकाम र सहरसम्म पुग्दो हो । दिनहुँजसो निमुखा निल्ने भीरपहरा छिचोलेर विकास ओहोरदोहोर गर्दो हो । झुपडीमा उज्यालो पुर्‍याउन राज्यको खोपडीमा पनि दियालो जल्दो हो । यस्तैयस्तैले उनीहरूको दिन–दशा बदल्थ्यो कि !

Royal Enfield Island Ad

शीतयाम क्रमशः ओह्रालो झर्दै गएकाले घामको रङ निकै प्रखर बन्दै थियो । तर, विकासका आँकुरा नपलाएका सुदूरका टाकुरा अँध्यारै आभास हुन्थ्यो । उत्तरतर्फ लहरै फैलिएका, उन्मुक्त हाँसिरहेका सैपाल, अपी आदि हिमालले पनि सुदूरको मुहारमा जुनेली आभा छर्न नसकेको प्रतीत हुन्थ्यो ।

सुर्खेत, दैलेख, अछाम छिचोलेर डोटी पुग्दासम्म अविकासले उसैगरी पछ्याइरह्यो । सुदूरको दुःखमा राज्यको दृष्टि नपर्दा मन उसैगरी अमिल्लिइरह्यो । हिउँले खाएका थुम्कामुनि जीवनको मूल्य खोजिरहेका नागरिकको दुर्दशाले छातीमा एक किसिमको सामुद्रिक ज्वारभाटा उर्लन्थ्यो ।

बैतडी पुगेपछि शरीरमा रगतको बहाव अर्कै भयो । बैतडीको किनारै–किनार भएर अविश्रान्त महाकाली बगिरहेछ । महाकालीको पल्लो किनार गुलजार छ । जीवन सुखमय छ । सुख–सुविधा भरिपूर्ण छ ।

भारतीय भूमि विकासको तीव्र रफ्तारमा देखिन्छ । डबल लेनको बाटोमा एकनास गाडी हुइँकिरहन्छन् । भर्खरै बनेका नूतन पार्क, चौतारीमा नागरिकहरू गफिन्छन् । प्रत्येक तीन किलोमिटरको दूरीमा रहेका सुरक्षा जाँच चौकी, सैन्य, अर्धसैन्य बलको क्याम्पले सीमाको रखबारी गरिरहेका छन् । नागरिकहरू पारिको गतिविधिमा उत्तिकै चनाखो छन् । ऐन–मौकामा उपस्थित हुने केन्द्रीय सरकारका प्रतिनिधिले के भन्छन्, त्यसआधारमा धारण तय गर्छन् । र देशभक्तिको भाकामा समवेत स्वर निकाल्छन् ।

व्यवस्थित निकास, तटबन्ध छ । तटबन्धका कारण देशको एकमुठ्ठी माटो पनि बगेर जान पाएको छैन । चारैतिर आवादी र पार्क निर्माणको चलनचल्तीले लाग्छ, देशको एक चिम्टी माटो पनि हावाले उठाउन सक्दैन ।

ठीक विपरीत जीवन बाँचिरहेको छ– वारि किनार । अर्थात् नेपालतिरको भूमि । तटबन्ध नहुँदा वर्षेनी महाकालीले नेपाली भूमिलाई कटान गर्छ । काठमाडौंमा मौसमी राष्ट्रवाद उर्लिएझैं प्रत्येक वर्षामा महाकाली उर्लन्छ र नेपाली भूमिलार्ई आफूसँगै लिएर जान्छ ।

यस्तो लाग्छ नेपाली भूमिका रक्षा गरिरहेको महाकाली बेलाबखत बाटो बिराउँछ र उल्टै हामीलाई पिराउँछ । २०७० सालमा महाकालीले रौद्र रूप धारण गर्दा दार्चुला सदरमुकाम एकतिहाइ खण्डहर भयो । जिल्ला अस्पतालको शवगृह, जनस्वास्थ्य, वन तथा भू–संरक्षण, कभर्ड हललगायत झन्डै ९ सरकारी घर खण्डहर तुल्यायो । तीनदिन लगातार परेको झरी आफैं थामियो नत्र सदरमुकाम खलङ्गा पूरै बगर बन्थ्यो । त्यसको पीडा अझै पुर्ताल भइसकेको छैन । रुग्ण घर–भवन निर्माण भइसकेका छैनन् ।

भारतीय पक्षले धौलीगंगा बाँध खोलिदिएकाले मात्रै महाकालीले वितण्डा मच्चाएको थिएन, सदरमुकाम छेक्ने तटबन्ध नै नभएपछि नदी बेलगाम बगेको थियो ।

पारिपट्टिको धार्चुलालाई सिमेन्टेड तटबन्धले घेरेको देख्दादेख्दै पनि वारिका अधिकारीहरू कानमा तेल हालेर बस्दा विनाश निम्तिएको भन्दा अतिशयोक्ति हुँदैन ।

विध्वंशकारी बाढीपछि महाकालीको भँगालो नेपालतर्फ सोझिएको छ । झन्डै खलङ्गाजत्रै भू–भाग भारततर्फ धकेलिदिएको छ । विशाल बलौटे मैदानलाई भारतले ब्यारेकमा परिणत गर्दै छ । संरचना निर्माणलाई तीव्र बनाएको छ ।

सरकारको उपस्थिति सदरमुकाममै साँघुरिएको छ । बाटोघाटो, सुविधाहरू सदरमुकाबाट विस्तार नहुँदा सीमा सुरक्षा पनि सदरमुकाममै सीमित छ । हामी सीमा जोगाउने जिम्मा महाकाली नदीलाई नै सुम्पिएर आफूचाहिँ खुलामञ्च र माइतीघरमा राष्ट्रभक्तिको राग अलापेरै चित्त बुझाइरहेका छौं ।

० ० ०
आइतबार दिउँसो दुई बजे दार्चुला सदरमुकाम खलङ्गामा हेलिकोप्टर अवतरण भयो । महाकाली नदीको उद्गमविन्दुबारे भारतले पछिल्लो समय भ्रम फिँजारिरहेको छ । सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुरालाई नै महाकाली नदीको उद्‍भव थलो किटान गरेको छ र, नेपालको पश्चिमी सीमाना निर्धारण गरेको छ ।

तर, भारतले पछिल्लोपटक लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि दार्चुलावासी पुनः सीमारक्षाका लागि एकजुट भएका छन् । 

कालापानीको व्यथा सिंहदरबार ल्याएर फुकाउने प्रेमसिंह धामी जन्माउने तिनै दार्चुलावासीलाई सम्बोधन गर्न पुगेका थिए उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ।

त्यही मेसोमा उनले कालापानी क्षेत्रको निरीक्षण र छाङ्ग्रुमा सशस्त्र प्रहरी बल रहने स्थान अवलोकनको चाँजोपाँजो मिलाएका थिए ।

० ० ०
सुदूरपश्चिम पर्यटन व्यापार मेला तथा दार्चुला महोत्सवको उद्घाटन सत्र सकिएपछि जिल्ला प्रशासन कार्यालयको हलमा ‘ब्रिफिङ’ चल्यो । झन्डै एक घण्टा चलेको ब्रिफिङपछि रक्षामन्त्री पोखरेलले सेनाको ब्यारेकमा अर्को ब्रिफिङ राखे । त्यहाँ सीमा हेर्ने सेनाका उच्च अधिकारी, प्रजिअ र तीनवटै सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो ।

छाङ्ग्रुमा नेपाल प्रहरीको अस्थायी चौकी छ । भारततर्फ उपल्लो विन्दु (कालापानी) सम्म सुरक्षाकर्मीको उपस्थिति भए पनि छाङ्ग्रुभन्दा माथि नेपाली सुरक्षाकर्मीको उपस्थिति छैन । त्यहाँ सरकार शून्य अवस्थामा रहेको आजदेखि होइन, सुगौली सन्धिपछि सीमा सुरक्षाको जिम्मा जङ्गे पिलरलाई नै दिइयो ।

शीतयाममा बाक्लो हिउँ पर्ने भएकाले प्रहरी बस्न सक्दैनन् । भारततर्फ बाह्रैमहिना छाङ्ग्रु पारिपट्टि अर्धसैन्य बल तैनाथ रहन्छन् । कालापानी क्षेत्रमा महाकाली वारि तरेर क्याम्प खडा गरेका छन् । रासनपानीको जुगाड पनि बाह्रैमहिना गर्छन् ।

फागुनको उत्तराद्र्धतिरबाट हिउँ पग्लन थाल्ने भए पनि प्रहरीलाई आवासकै समस्या छ ।

“कटेरोजस्तो ठाउँमा ढुङ्गा सिरानी हालेर सुत्छन्, हाम्रो फोर्स !” डीएसपी दीपेन्द्रबहादुर शाहीले ब्रिफिङमा दुःखमनाउ गरे ।

हिउँ पर्ने याममा त नेपाली सुरक्षाकर्मीको उपस्थिति नै छैन भन्दा हुन्छ । दार्चुला सदरमुकामदेखि छाङ्ग्रुसम्म ११ सीमारक्षा चौकी त छन् । शीतयाममा बाक्लो हिमपात हुँदा अधिकांश रित्तोप्रायः हुन्छन् । प्रहरीहरू सदरमुकाममै फिर्ता हुन्छन् ।

सरकारले छाङ्ग्रुमा सशस्त्र प्रहरी बल रहने बोर्डर आउट पोस्ट (बीओपी) राख्ने निर्णय गरेको छ । बाक्लो हिउँ थुप्रिएकाले तत्कालै बीओपी बस्न सम्भव छैन ।

बन्दोबस्तीका सामान खरिद गरिसके पनि हिउँकै बाटो हेरिरहेको जिल्ला सशस्त्र प्रहरी बलका उपरीक्षक डम्बरबहादुर विष्टले जानकारी गराए ।

सरकारले बीओपी बसाउने निर्णय गरिसकेको छ तर हिउँ पन्छाएर बस्न सक्ने अवस्था छैन । हामीसँग हिउँको चिसो छल्ने किसिमको संरचना निर्माण गर्ने प्रविधि पनि कहाँ छ र !

छाङ्ग्रु क्षेत्रमै उत्रिएर समस्या नियाल्ने र तत्कालै बीओपी स्थापना गर्ने रक्षामन्त्रीको योजना थियो । दार्चुलाको उत्तरी क्षेत्रमा बाक्लो हिमपातको सम्भावना रहेकाले उत्रन सम्भव होला कि नहोला भन्ने पाइलटको द्विविधा नै थियो ।

सेनाका अनुभवी र पुराना पाइलट भएकाले रक्षामन्त्रीले उत्रिएरै अवलोकन गर्ने जोड गरिरहे । जमिनको अप्ठ्यारो उनले अनुमान गरेनन् । डाँडाकाँडामा हिउँ परे पनि छाङ्ग्रु र मुनिपट्टिको गागा क्षेत्र गहिरो भूगोलमा पर्ने भएकाले उत्रन सहज हुने उनले चिताएका थिए ।

शीतयाम सुरु नहुँदै नेपाल प्रहरीले सेनाकै हेलिकोप्टरबाट बन्दोवस्तीका सामग्री उतारेको केहीबेरअघिको ब्रिफिङमा सुनेकाले पनि मन्त्रीलाई थप बल पुगेका थियो ।

“दार्चुलाका प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्य गेल्बुसिंह बोहोरा र मानबहादुर धामीसहितको जनप्रतिनिधिको टोली पहिलो लटमा उतारौैं । उहाँहरूले ठाउँको रेकी गर्नुहुन्छ । दोस्रो लटमा काठमाडौैंबाट आएको टोली उतारौंला,” छलफलमा मन्त्रीले प्रस्ताव गरे ।

“रक्षामन्त्री नै रहनुभएकाले मैले सुरक्षामा संवेदनशील हुनैपर्छ । खलङ्गाबाट जति उत्तर बढ्यो उति हिउँ भरिएका टाकुरा र पहाड मात्रै छन् । हेलिप्याडमा हिउँ जमेको भए कसरी ल्यान्ड गर्नू !,” पाइलटले असमर्थता व्यक्त गरे ।

पोखरेल अझै उत्रन सकिन्छ भन्ने मै थिए । प्रहरी उपरीक्षक शाहीले आफ्नो संयन्त्र प्रयोग गरेर ठाउँको वस्तुस्थिति बुझे । “छाङ्ग्रु क्षेत्रमा १० फिटसम्म हिउँ जमेको छ । कुनै हालतमा हेलिकोप्टर ल्यान्ड हुन सक्दैन,” उनको अनुहार सोहोरियो ।

छाङ्ग्रु क्षेत्रमा जम्माजम्मी २० घर रहेछन् । हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा सुरक्षित स्थानतिर सर्दा रहेछन् ।

सेनाले भर्खरै खरिद गरेको एनए–५८ कल साइन भएको हेलिकोप्टर जहाँपायो त्यही अवतरण गर्न नमिल्ने प्रकृतिको रहेछ । पिँधमा क्लियरेन्स पनि कम भएकाले हिउँमा अवतरण त झनै गर्न त झनै कठिन । मौसम जुनसुकै बेला बिग्रन सक्ने भएकाले अवतरण भए पनि इन्जिन स्टार्ट हुन समस्या आइलागे के गर्ने भन्ने प्रश्न ठिङ्ग उभिएपछि सेनाका पाइलटले दुई विकल्प प्रस्तुत गरे । 

पहिलो विकल्पअनुसार सुरुको लटमा पाँच जनाको समूह जाने । त्यो समूह त्यहीँ उत्रिएर ठाउँ अवलोकन गर्ने । त्यसपछि ७ जनाको समूह जाने । त्यसले ठाउँ अवलोकन गरेपछि फर्किएर धनगढीमा इन्धन भर्ने र, काठमाडौं फर्कने ।

अर्को विकल्प १३ जनाको समूह जाने । नउत्रिई, माथि–माथिबाटै अवलोकन गरेर फर्किने ।

रक्षामन्त्रीको जोड बाहिर हल्ला भइसकेकाले उत्रिएर एकपल्ट छाङ्ग्रुको भू–स्थिति बुझ्ने र बीओपी राख्ने ठाउँ तय गर्ने थियो ।

० ० ०
भोलिपल्ट, सोमबार बिहानीको पहिलो प्रहरभित्रै छाङ्ग्रु जाने निधो भएको थियो । हेलिकोप्टरको इन्जिन स्टार्ट हुँदा सवा आठ भएको थियो । रक्षामन्त्रीसहित १३ जना जाने तय भएको थियो । एकजना थपिए ।

पाइलटले ओभरलोड भएको सूचित गरेपछि रक्षामन्त्रीका अङ्गरक्षक मेजर राजकुमार श्रेष्ठलाई खलङ्गामै उतारेर ८ः३१ बजे हेलिकोप्टर छाङ्ग्रुतर्फ उड्यो । सौभाग्य ! मौसम सफा, स्नीग्ध थियो । आकाशमा बादलको टुक्रासम्म थिएन । नीरले नुहाएजस्तो निख्खर नीलो ।

डाँडाकाँडा पनि दूधले नुहाएजस्ता सेतामात्रै देखिन्थे । दुई अग्ला पहाडको खोँचभित्र महाकाली कता हो कता अलप, अदृश्य भएझैं लाग्थ्यो ।

डाँडाकाँडामा हिउँको उरुङ लाग्दा हिमालै वरवर सरेजस्तो भान हुँदो रहेछ । सुनसेराको थाप्लोमा त अपी हिमाल नै मीनपचासको बिदा मनाउन आएको प्रतीत हुन्थ्यो ।

नेपालतिर, खुकुरीको धारजस्ता पहाडमा हिँउको खात लागेको थियो । भारततिर प्रकृतिले कञ्जुस्याइँ गरेको भान हुन्थ्यो । एउटा बुट्यान पनि नभएको पहाडको शीरमा छ्यास्स हिउँ देखिन्थो । केही पहाडको कुमसम्म हिउँ आइपुगेका थिए । वन, बुट्यानविहीन धारिला पहाडको फेदितिर पहेँला, हरिया घर । कतै झुरुप्प बस्ती । कतै एकलास, एकलकाटे घरहरू ।

हाम्रोतिर खलङ्गाबाट अघि बढ्न नसकेको बजार भारततर्फ भने दुम्लिङसम्मै विस्तारित रहेछ । धौलीगङ्गा बाँधसम्म चौडा बाटो नै छ । दुम्लिङमा पनि बैङ्क तथा वित्तीय संस्था र बजार प्रशस्तै रहेछन् । आईएमईलगायत सुविधा खोज्न टाढा जानुनपर्ने !

वारि नेपालतर्फको भूमि महाकालीको रोदन सुन्दै दिन काटिरहेछ । सरकार कुन जीव, जीवात्मा हो ? त्यो कहाँ बस्छ ? लालपुर्जा र नागरिकतामा बाहेक उनीहरूले सरकारको दर्शन कतै पाएका छैनन् । नुनतेलका लागि सँधियार बनेको भारतसँगै निर्भर हुनुपर्छ । बिरामी भइयो भने उनीहरूकै भर पर्नुपर्छ । पञ्चायतकालमै बनेको गोरेटो अहिले झारले निलिसक्यो । गोरेटोको अवशेष नै बिलायो ।

अन्यत्रका तुइन झोलुङ्गे पुलले विस्थापित गर्दा दार्चुलावासीको ‘लाइफलाइन भन्नु त्यही तुइन बनेको छ । तुइन छ र त जीवन छ । त्यही तुइनबाट उछिट्टिएर कतिको जीवन महाकालीले निल्यो त्यसको कुनै हिसाब छैन ।

यी कहर त वर्षौंदेखि जरो गाडेर बसेकै छन् । शीतयाममा तिङ्कर भञ्ज्याङ छाङ्ग्रु लगायत व्यास क्षेत्रमा बासिन्दाको थाप्लोमा हिउँ बर्सन्छ । शोक, भोकले फाटेका आङ झन् ठिहिर्‍याउँछ ।

मल्पा, दोपखे क्षेत्रमा भारतीय ज्यादती अकथनीय छ । नेपालमा जबजब राष्ट्रियताको मुद्दा प्रखर बनेर आउँछ । सीमा मिचेको भन्दै भारततिर औंला तेर्सिन्छ । त्यसपछि भारतीय पक्षले महाकालीको तुइन काटिदिन्छ । व्यास–दार्चुलाबासीका चुल्हो पानी छम्किए बराबर हुन्छ । बालबच्चा भोकै पर्छन् ।

सदरमुकाम जोड्ने गोरेटो बाटो छैन । भारततिर हमेसा गाडी गुड्छन् । हिउँ छल्ने न्यानो छ । आँखा सधैँ ओभानो छ ।

नेपालीहरू रोजीरोटीका लागि भारतकै बाटो प्रयोग गर्न विवश छन् । आफ्नो बाटो प्रयोग गर्न दिएवापत भारतीयहरूले अनेक ढंगले फाइदा उठाउँदै आएका छन् । नेपालीहरूले सदियौंदेखि मूल्य चुकाइरहनुपरेको छ ।

“सीमापारिकालाई दाउरा चाहिनेबित्तिकै महाकाली तरेर वारि आउँछन् र जङ्गलमा आगो सल्काउँछन् । भारतीय पक्षले डढेलो लगाउँदा नेपाल तर्फको कयौं हेक्टर जमिन सखाप भएको छ, नेपाली भूमि अतिक्रमण गरेर भारतीय पक्षले सडक बनाइरहेको छ,” सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी सुनाउँदै थिइन् ।

यसका अतिरिक्त नेपालतिर पाइने महँगा, मूल्यावान् जडिवुटीमा पनि उनीहरूको आँखा लागेकै छ । तल्लो बेल्टतिरको भूमि ‘बन्जर’ भएकाले नेपालतिरको भूमिमा पसेर यार्सागुम्बा, पाँचऔंलेलगायत दुर्लभ जडीबुटीमा लामो हात गर्छन् ।

बैतडी प्रवेश गर्नेबित्तिकै महाकालीपारि भातरले बाटो खन्दै माटो महाकालीमा खसाल्दै गरेको देखिएको थियो । तटीय क्षेत्रमा माटोको उरुङ लाग्दा महाकालीले धार परिवर्तन गर्ने र नेपाली भूमि कटान गर्ने सम्भावना छ । त्यो कृत्य सर्दैसर्दै व्यास क्षेत्रको पारिपट्टिसम्मै आइपुगेको रहेछ ।

नेपाली पक्षको रोदन र भारतीय दोहन अनुभूत गर्दा गर्दै छाङ्ग्रु पुगियो । छाङ्ग्रु अलग्गै हिम उपत्यकाकाजस्तो थियो । लिपुभञ्ज्याङतिरबाट आएको नदी हिउँमै पसारो परिरहेको भान हुन्थ्यो । लिम्पियाधुराबाट आएको महाकालीले पनि हिउँकै सिरक ओढिरहेको थियो ।

छाङ्ग्रुमुनिको गागा क्षेत्र हिउँको गह्रा परेको थियो । हेलिप्याडको नामोनिशान थिएन । कहाँ अवतरण गर्नू ! कसरी अवतरण गर्नू !

पश्चिम लिम्पियाधुराबाट आउने चिसो सिरेटो र उत्तर कालापानी क्षेत्रमाबाट आउने स्याँठको पर्वाह नगरी हेलिकोप्टरले एक फन्को त मार्‍यो तैपनि हेलिप्याड देखिएन । अवतरणको कुनै सम्भावना रहेन ।

लिम्पियाधुरादेखि लिपुभञ्याङसम्म बोटविरुवाको नामोनिशान मेटिनेगरी बाक्लो हिउँ परेको रहेछ । धन्न मौसम खुलेको रहेछ मात्र छाङ्ग्रु क्षेत्रको दर्शन पाइयो ! अन्यथा सुनसेराबाट फिर्ता हुनुपर्ने !

हिउँ नै हिउँले ढाकेको हिमभूमि कालापानी क्षेत्र आँखैले नापेर रक्षा मन्त्रीसहितको टोली दार्चुला फिर्ता भयो ।

छाङ्ग्रुको आकाशमा हेलिकोप्टरले फन्का मार्दा त्यही क्षेत्रका जनप्रतिनिधि पुलकित देखिएका थिए । मुटु ढक्क फुलेको आभास भएको थियो । कालापानी क्षेत्रमा घुम्यो है सेनाको हेलिकोप्टर भन्ने मनोविज्ञान सिर्जना गर्न पाएकाले पनि हुनुपर्छ, उनले खुुसी साटिहाले, “नेपाल भारत सीमा क्षेत्र कालापानीको आकाशमा हेलिकोप्टरले यसरी घुमेको पहिलोपल्ट हो ।”

हेलिकोप्टर अवतरण गर्न नपाएको दुखेसो छँदै थियो । व्यासवासीको दुःखलाई नजिकैबाट नियालेपछि रक्षामन्त्रीले हेलिकोप्टरबाटै अठोट लिए, “सरकारले खलङ्गादेखि तिङ्करभञ्ज्याङसम्म बाटो बनाएर छाड्छ । सरकारले सीमाको रक्षा गर्छ र नागरिकलाई सुविधा पनि दिन्छ ।”

हेलिकोप्टरबाट उत्रँदै गर्दा सेनाका उच्च अधिकारीले पनि भनेका थिए, “कालापानी क्षेत्रको सीमा सुरक्षाको सन्दर्भमा हामीले सरकारलाई दुईवटा विकल्प दिएका छौं । हेरौं सरकारले कुन विकल्प छनोट गर्छ ।”

उनी यतिमै रोकिएनन्, “हामी सरकारको निर्णय पर्खिरहेका छौं, सरकारले निर्णय गर्नासाथ जतिबेला पनि कार्यान्वयन गर्न तयार छौं ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०७६  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro