कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रलाई थल्याएको छ । चिनियाँ पर्यटक नेपाल आउने सबैभन्दा उत्तम समयमा कोरोना आयो । योसँगै चिनियाँ पर्यटक शून्य हुँदा नेपाली पर्यटन व्यवसायी मारमा परेका छन् ।
अब प्रश्न उठेको छ, यो असर न्यूनीकरण गर्ने कसरी ? अबको दिनमा चीनका पर्यटकलाई कुन नजरले हेर्ने ?
आजमात्रै एउटा होटलले चिनियाँ पर्यटकलाई क्वारेन्टाइन प्रमाणपत्र मागेछ । होटल बुक गरेर होटल पुग्दा पर्यटकले सो प्रमाणपत्र पेस गर्न नसक्दा होटलले ती पर्यटकलाई फर्काइदिएछ । सरकारले नै क्वारेन्टाइन प्रमाणपत्र नदिएको अवस्थामा अबको दिनमा चिनियाँ पर्यटकको व्यवस्था गर्ने ?
अहिले वैकल्पिक बजार खोज्ने विषयमा सभा, सेमिनार हुँदै आएको छ । चीनबाट पर्यटक आउन नसक्ने भएपछि त्यहाँको विकल्पका रूपमा सोचिएको छ । तर, यसमा कच्चापन देखिन्छ किनकि पर्यटन बजार नयाँ खोज्नु, बजारबाट तरकारी किनेजस्तो होइन । एउटा नपाए अर्को ल्याउँछु भन्न मिल्दैन । पर्याप्त गृहकार्य गरेर, गन्तव्य प्रवर्द्धन गरेर, एअर कनेक्टिभिटी विस्तार गर्नुपर्छ ।
केही नगरी वैकल्पिक बजारको कुरा गर्नु तारतम्य मिलेन । हचुवाका भरमा यसो गर्दा हामी चाइनिज टुर अपरेटको मनोबल पनि खस्कन थाल्यो । अप्ठ्यारो पर्दा तपाईंहरू कुर्न सक्नुहुन्न ? त्यो राम्रो भएन ।
घरमा कोही बिरामी हुँदा त्यसलाई फालेर अर्को ल्याउने ‘जेस्चर’को अपेक्षा थिएन ।
पर्यटन बोर्डले अबले दिनमा कसरी जाने भन्ने सोच्नुको सट्टा अर्को खोजनुले पर्यटन क्षेत्र झनै तहसनहस पार्ने देखिन्छ । चिनियाँ राष्ट्रपति आएर सहकार्य गर्ने प्रतिबद्धता गरेको केही दिनमा अप्ठ्यारो पर्नासाथ मार्केट सिफ्ट गर्दा नराम्रो असर पर्छ कि ?
नेपालमा कोरोना भाइरस छैन, हामी सुरक्षित छौं भनिरहँदा त्यसलाई साथ दिने कुनै आधार छैन । चीनबाट मान्छेहरू आइरहेका छन् । तर, विमानस्थलमा राम्रो स्क्रिनिङ छैन भन्ने कुरा बाहिर आइरहेकै छ । सामाजिक सञ्जालमा कोही चेक गर्ने मान्छे नभएको देखिइरहेको छ ।
यसकारण निरोगी व्यक्ति नेपाल भित्रिएका छन् भन्नेमा प्रश्न गर्ने ठाउँ छ । रोगको लक्षण नदेखिनु फरक कुरा हो । हतार र हचुवाका भरमा लाग्नु हुँदैन ।
मेरो बुझाइमा केटाकेटी तरिकाले काम भइरहेको देख्छु । हामीले सरकारलाई साथ दिन पनि पर्नेछ ।
सरकार स्वयं पनि लाचार देखिन्छ । धावनमार्गमा सुधार आए पनि पार्किङ र अराइभल सुधारिन सकेको छैन । हामी कसरी लक्ष्य पूरा गर्ने भन्ने पहिलो आवश्यकता पनि त्यही थियो । ठेकेदारलाई दोष दिनु र आफू पन्छिनेहरूले नयाँ गन्तव्य खोज्छु भन्नु केटाकेटीपन हो ।
अर्कातर्फ विदेशी पर्यटक र नेपाली यात्रुलाई एउटै भाडा र व्यवहारिक छैन । किनकि घुम्न आउनु उनीहरूको विकल्प हो । देशभित्र हिँड्नु आवश्यकता हो । हामीले प्रदान गर्ने सेवा स्वीकार गर्ने कि नगर्ने उनीहरूको कुरा हो । हामीले यसरी विदेशी र नेपालीलाई एउटै भाडा अफर गरे नेपाली यात्रुका लागि महँगो पर्न जान्छ र आन्तरिक पर्यटन धरापमा पर्छ । (कुराकानीमा आधारित)