site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यी हुन् संसारका सबैभन्दा ठूला मोटर कम्पनी

काठमाडौं । संसारका धनी मानिस महँगोभन्दा महँगो मोटर चढ्छन् । 

संसारभरका धनीले आफ्नो सम्पत्ति देखाउने सबैभन्दा प्रमुख साधन भनेको मोटरै हो ।

तर, प्रविधिको विकास र मोटर बाटोको विस्तारसँगै हरेक देशमा सामान्य आय भएका व्यक्तिले पनि मोटर किन्ने र चढ्ने गर्न थालेका छन् । यसरी मानवजातिको विकासको मानक बनेको मोटर बनाउने कम्पनी पनि संसारभर सयौं छन् । तिनीमध्ये बजार मूल्यको हिसाब अर्थात् तिनको सेयर मूल्यका आधारमा सबैभन्दा ठूला दश मोटर कम्पनीको विषयमा यहाँ सामग्री प्रस्तुत गरिएको छ । 

मोटर कारको उत्पत्ति जर्मनीमा कार्ल बेन्जले सन् १८८६ मा गरे र संसारमा सबैभन्दा धेरै मोटर गुडने र धेरै मोटर बिक्ने देश अमेरिका बन्यो । 

तर, संसारको सबैभन्दा ठूलो मोटर कम्पनीचाहिँ जापानको हो, टोयोटा मोटर कम्पनी । 

बजार मूल्यको आधारमा यो कम्पनी अहिले संसारकै सबैभन्दा ठूलो कम्पनी हो जसको पुँजी २०३ अर्ब डलर छ । 

यो कम्पनीको नाम यसका संस्थापक इचिरो टोयोडको नामबाट राखिएको हो । 

सबैभन्दा लामो समयसम्म चल्ने मोटरका रूपमा टोयोटाका सबै कम्पनीको साख छ । सन् १९५७ मा अमेरिकी बजारमा प्रवेश गरेको टोयोटाका केही मोटर कार अझै चालु हालतमा रहेको दाबी गरिन्छ । 

यो कम्पनीले एक घण्टामा करिब १० लाख डलर बराबर रकम मोटरमा अझ नयाँ के गर्न सकिन्छ भन्ने अनुसन्धानमा खर्च गर्छ । 

यो कम्पनीले अमेरिकामा मात्र ३ लाख व्यक्तिलाई रोजगारी दिएको छ । लेक्सस् ब्रान्डअन्तर्गत टोयोटाले लक्जरी मोटरहरू निर्माण गर्छ । टोयोटा मोटरअन्तर्गत हिनो, डायहात्सुजस्ता ब्रान्ड पनि पर्छन् । 

सबैभन्दा कान्छो मोटर कम्पनीका रूपमा सन् २००३ मा स्थापना भएको र केवल इलेक्ट्रिक सवारी मात्र बनाउने टेस्लाको प्रगति अभूतपूर्व देखिएको छ ।

सन् २०१९ मा ६० अर्ब बजार पुँजी भएको यो कम्पनीको अहिले बजार मूल्य १०२ अर्ब डलर पुगेको छ । यो कम्पनीका सीईओ एलन मस्क अहिले संसारमा सबैभन्दा चर्चित व्यवसायी बनेका छन् ।

उनको कम्पनीले स्पेस एक्स कम्पनी बनाएर अन्तरिक्षमा साधारण मानिसलाई पनि पठाउने र एकपटक प्रयोग गरेको रकेट पुनः प्रयोग गर्न सकिने प्रविधिको पनि विकास गरेको हुनाले सेयर मूल्य अत्यन्त बढ्न गई एकैपल्ट दोस्रो ठूलो कम्पनीका रूपमा देखिएको हो । 

तेस्रो ठूलो कम्पनीका रूपमा भक्सवागन (वा फल्क्सवागन) देखिएको छ । यो कम्पनीको कुल पुँजी करिब ८९ अर्ब डलर छ । सन् १९६३ मा उत्पादन भएको बिटल मोटरले यो कम्पनीको विश्वव्यापी प्रतिष्ठा बढायो । 

यो कम्पनीको स्थापना भने हिटलरको नाजी पार्टी जर्मन मजदुर मोर्चा (जर्मन लेबर फ्रन्ट) ले गरेको थियो । 

तर दोस्रो विश्वयुद्धपछि कम्पनी पश्चिम जर्मनीको सरकारले यो कम्पनीलाई राष्ट्रियकरण गरेको थियो ।  हाल यो कम्पनीमा पोर्स कम्पनीको सबैभन्दा ठूलो भोटिङ अधिकार छ ।

भक्सवागन कम्पनीअन्तर्गत ल्यामबोर्गिनी, फेरारी, पोर्स, बेन्ट्ले, बुगाटी, स्कोडा, सिएट, डुकाटी, म्यान, स्कानिया आदि ब्रान्डका विश्व प्रसिद्ध मोटर छन् ।

चौथो नम्बरमा अमेरिकाको जनरल मोटर्स कम्पनी छ । यो कम्पनीको बजार मूल्य ४९ अर्ब डलर छ । 

कुनैबेला संसारको सबैभन्दा ठूलो कम्पनी भएको यो अहिले निकै सानो भएको छ । 

जापान र कोरियाका मोटरहरू बजारमा आएपछि यसको बजार कमजोर भएको हो । यो कम्पनी सन् १९०८ मा विलियक सी डुरान्टले स्थापना गरेका हुन् । 

यो कम्पनीले सेभरोले, क्याडिलाक, ब्युक तथा जीएमसी ब्रान्डका मोटर उत्पादन गर्छ ।

मर्सिडिज बेन्जको नामले प्रसिद्ध पाँचौं स्थानमा रहेको कम्पनी हो डाइमलर एजी । 

यो कम्पनीको बजार मूल्य ४७ अर्ब डलर छ । यसको मुख्य कार्यालय जर्मनीको स्टुटगार्टमा छ । बेन्जका कारहरू लक्जरी कारवृत्तमा निकै चर्चित छन् ।

जापानी कम्पनी होन्डा ४७ अर्ब डलरसहित छैटौं स्थानमा छ । यो कम्पनी १९४९ मा ड्रिम नामक मोटरसाइकलको निर्माणबाट सुरु भएको हो । 

यो कम्पनी अमेरिकामा सन् १९५९ मा प्रवेश गरेको हो । अहिले पनि यो कम्पनीले सबैभन्दा धेरै मोटर अमेरिकामै बनाउँछ । 

यो कम्पनीले प्लेनको इन्जिनदेखि अन्य धेरै प्रकारका इन्जिन पनि उत्पादन गर्छ । 

यसको होन्डा एकर्ड र सिभिक मोडल प्रख्यात छन् । एक्युरा ब्रान्ड होन्डाको लक्जरी सेक्सन हो । 

सातौं सबैभन्दा ठूलो कम्पनी हो बीएमडब्ल्यू । यो कम्पनीको बजार मूल्य करिब ४४ अर्ब डलर छ । यो मोटरले केवल लक्जरी कार मात्र उत्पादन गर्छ । 

अहिले १४ देशमा आफ्नो उत्पादन कम्पनीको स्थापना सन् १९१६ मा प्लेनको इन्जिन बनाउने उद्देश्यका साथ गरिएको थियो । 

तर प्लेनको इन्जिन भने बीएमडब्ल्यूले सन् १९१९–१९१८ तथा १९३३–१९४५ सम्म मात्र बनायो । 

बीएमडब्ल्यू कम्पनीअन्तर्गत रहेको पुरानो बेलायती कम्पनी रोल्स रोयस् संसारकै सबैभन्दा महँगो र राम्रो मोटर बनाउने कम्पनीका रूपमा प्रसिद्ध छ । 

यसको प्रधान कार्यालय जर्मनीको म्युनिखमा छ ।

आठौं स्थानमा अर्को लक्जरी ब्रान्ड फेरारी छ । इटलीको यो कम्पनी सन् १९३९ मा मोडेना सहरमा स्थापना भएको हो । 

यो कम्पनीको कारलाई संसारमै सबैभन्दा ठूलो लक्जरी ब्रान्डका रूपमा हेरिएको छ । 

फेरारीको ५० प्रतिशत सेयर फिएट कम्पनीले सन् १९६९ मा किनेको थियो तर सन् २०१५ मा यो कम्पनीलाई छुट्टै बनाएर नेदरल्यान्डस्मा यस्को प्रधान कार्यालय स्थापना गरियो । 

मोटर रेसिङमा फेरारी कारको पकड लामो समयदेखि कायम छ । 

नवौं स्थानमा अमेरिकामा सबैभन्दा पहिलो मोटर बनाउने फोर्ड कम्पनी छ ।

यसको बजार मूल्य ४२ अर्ब डलर छ । हेनरी फोर्डले सन् १९०३ मा स्थापना गरेको यो कम्पनीको मस्ट्याङ स्पोर्टस् मोटर निकै चर्चित छ । 

यो कम्पनीले मोटर उत्पादनमा सबैभन्दा पहिले एसेम्ब्ली लाइनको सुरुवात गरेको थियो । यसको लक्जरी ब्रान्ड लिङ्कन हो । 

बेलायतमा बन्ने प्रसिद्ध मोटर ज्यागुअर तथा ल्यान्ड रोभर पनि सन् फोर्ड सँगै थियो, जुन पछि भारतीय कम्पनी टाटाले क्रमशः सन् १९८९ र २००० मा किन्यो । 

बजार मूल्यका आधारमा दशौं स्थानमा रहेको छ दक्षिण कोरियाको कम्पनी हुन्डे मोटर्स । 

यो कम्पनीको बजार मूल्य २७ अर्ब डलर छ । हुन्डे मोटर्स सन् १९६७ मा स्थापना गरिएको हो । 

यो कम्पनीले किया मोटर्सको पनि करिब ३३ प्रतिशत सेयर किनेको छ भने यसको लक्जरी ब्रान्ड जेनेसिस मोटर हो । 

उल्लेखित मोटर कम्पनीको बजार मूल्य जनवरी २०२० का हुन र सबै तथ्यांक याहु फाइनान्सबाट लिइएको हो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  ०९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro