site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हत्या अभियोग’ लागेका सापकोटा सभामुख : जनताको मनमा चोट !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई प्रतिनिधिसभाले आइतबार सभामुखमा निर्विरोध निर्वाचित गरेको छ ।

‘हत्या अभियोग’ लागेका सापकोटालाई संसद्भित्र सभामुखमा निर्विरोध निर्वाचित गरेको भए पनि बाहिर भने विरोध प्रदर्शन जारी थियो ।

गत असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले आफ्नै सचिवालयमा कार्यरत कर्मचारीसँग जबर्जस्ती करणी उद्योगमा मुछिएपछि राजीनामा दिएका थिए । 

त्यसपछि नेकपामा सभामुख कसलाई बनाउने भन्ने लामै रस्साकस्सीपछि आइतबार सभामुख चयन गरिएको थियो ।

काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा सभामुख बनाउन नहुने माग भइरहेका बेला नेकपाले सापकोटालाई नै सभामुख बनाउने निर्णय गरेको थियो । तर प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समेत उनीविरुद्ध उमेदवारी नदिएको भन्दै चर्को आलोचना खेप्नुपरेको छ ।

सापकोटलाई सभामुख बनाउने प्रक्रिया रोक्न र तत्काल पक्राउको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट  दायर गरेका थिए । 

आइतबारनै उनको मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलाशमा पेशी थियो । 

तर, अधिवक्ता हुँदा फुयाँलले सोही मुद्दामा सापकोटाविरुद्ध बहस गरेकाले मुद्दा ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ सरेको थियो । नेकपा र संसदको यो निर्णयलाई कानुनविद्हरुले चर्को आलोचना गरेका छन् ।

सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै राष्ट्रपतिका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामासमेत दिइसकेका छन् ।

उनले अहिले यसविषयमा कुनै पनि टिप्पणी नगर्ने बताए ।

नागरिक अगुवा कनकमणि दीक्षित सापकोटालाई सभामुखमा प्रस्ताव गरिएदेखिनै त्यसको विरोधमा उत्रिए । 

आइतबार बाह्रखरीसँगको कुराकानीमा उनले सापकोटा सभामुख नियुक्त हुँदा जनताको अन्तरमनमा चोट लागेको प्रतिक्रिया दिए ।  

“एक हत्या आरोपित व्यक्ति सफाइ नपाउँदै मुलुकको संसदको सभामुख हुनाले यसले नेपाली जनताको अन्तरमनमा चोट लागेको छ । आत्मबल घटेको छ । र, हेर्दै जानुस्,  यो प्रकरणले नेपालको अन्तर्राष्ट्रिय छवि मात्र घटाएन । अन्ततोगत्वा यो मुलुकको अर्थतन्त्रलाई नै धक्का दिनेछ,” सापकोटा सभामुख नियुक्त भएपछि दीक्षितको टिप्पणी छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी मुद्दा अदालतमा विचाराधीन रहँदै सभामुख बनाउनु गम्भीर आपत्तिजनक भएको बताए । 

सापकोटा सभामुख बन्दा अदालतको सम्मान नभएको बताए । 

“अदालतमा मुद्दा विचाराधीन भइसकेपछि संसदले अदालतको सम्मान गर्नुपर्थ्यो । जब ४ महिनादेखि पद रिक्त थियो । हतार थिएन भने अहिले आएर हतार गर्न जरुरी थिएन । अदालतको आदेशलाई पर्खनुपर्थ्यो,” उनले भने । 

मुद्दा नटुंगिदै सापकोटालाई सभामुख बनाइँदा अदालतको सम्मान नभएको उनले बताए । 

राजनीतिक स्थिरता बिग्रन सक्छ : श्रेष्ठ

तत्कालीन माओवादी नेतृत्वको सरकारमा महान्यायाधिवक्ता रहिसकेका अधिवक्ता रमण श्रेष्ठ सापकोटाको विरोध पुरानै विषय भएको बताउँछन् ।  सापकोटाको विषयलाई राजनीतिक रुपमा हेर्नुपर्ने उनको भनाइ छ । 

युद्दकालमा भएको राजनीतिक घटनालाई अहिले उचाल्दा राजनीतिक स्थिरता बिगार्ने उनको टिप्पणी छ । सापकोटा मन्त्री बन्दा पनि विरोध भएको हुँदा अहिले सभामुख बन्ने बेलामा विरोधको कुनै अर्थ नरहेको बताए । 

अग्नि र अर्जुनको कनेक्सन 

अर्जुन लामा घटना भएको साल ४८ वर्षका थिए । उनी काभ्रेको छत्रेबास गाविस ५, दाप्चा निवासी हुन् । उनी माओवादी कार्यकर्ताद्वारा २०६२ साल वैशाख १६ गते अपहरणमा परेका थिए । उनलाई छत्रेबास गाविस वडा नं १ स्थित स्थानीय श्रीकृष्ण माध्यमिक विद्यालयबाट अपहरण गरिएको हो । सो घटना अप्रिल १९, २००५ का दिन भएको थियो । 

गैरसरकारी संस्था एडभोकेसी फोरमका अनुसार सो हत्या काण्डमा पुरानागाउँ गाविस ८ काभ्रेका माओवादीका सदस्य राक्की भनिने यादव पौडेल, मथुरापाटी गाविस ३ फूलबारी काभ्रेका भोला अर्याल, पोखरी चउर गाविस ८ काभ्रेका श्याम भनिने कर्णाखर गौतम, सिन्धुपाल्चोकका माओवादी केन्द्रीय सदस्य अग्नि सापकोटा, काभ्रेका तत्कालीन माओवादी जिल्ला सचिव लालध्वज भनिने सूर्यमान दोङ, मेच्छे गाविस ९ काभ्रेका माओवादी सदस्य नोर्बु मोक्तानको सहभागिता रहेको थियो । 

उनीहरुले अर्जुन लामालाई अपहरण गरेर आफ्नो सैनिक तालिम केन्द्रमा लागेका थिए । 

तालिम केन्द्र बुढाखानी गाविस काभ्रेमा रहेको बताइएको छ ।

एडभोकेसी फोरमले अर्जुनकी पत्नी पूर्णिमायालाई उद्धृत गर्दै जनाएअनुसार स्थानीय माओवादी कार्यकर्ताले उनलाई माओवादीका केन्द्रीय नेता अग्नि सापकोटा समक्ष पेश गरेका थिए । 

त्यसपछि सापकोटाको प्रत्यक्ष निर्देशनमा त्यहाँ रहेका अन्य माओवादी कार्यकर्ताले उनको हत्या गरेको आरोप रहेको छ ।

जुन २००५ मा अपहरणको चार सातापछि उनलाई हत्या गरेर खाल्डोमा पुरेको अभियोग रहेको छ ।

कसरी भयो घटना ?

अप्रिल १९ २००५ का दिन अर्जुन लामा श्रीकृष्ण माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएपछि त्यहाँ स्वागत कार्यक्रम भएको थियो ।  सोही कार्यक्रमबाट माओवादीका कार्यकर्ता यादव पौडेल, भोला अर्याल र कर्णाखर गौतमले अर्जुनलाई अपहरण गरेका थिए ।

उनीहरुले त्यतिबेला लामासँग केही काम भएको भन्दै लगेका थिए । 

सो घटनाका प्रत्यक्षदर्शीले त्यतिबेला बताएअनुसार माओवादीले उनलाई काभ्रेका विभिन्न गाउँ हुँदै घटनास्थलतर्फ लगेका थिए ।

अर्जुनकी पत्नीले राष्ट्रिय मानवअधिकार आयोगमा सो सम्बन्धी उजुरी दर्ता गरेकी थिइन् । 

उनले मानवअधिकार आयोगमा सन् २००५को मे ३ का दिन उजुरी हालेकी थिइन् । 

२००५ को डिसेम्बर १७ मा माओवादी नेता सूर्यमानले घर्तिछापमा भएको बेलामा नेपाल आर्मीले एरियल एट्याक गरेको र त्यसमा अर्जुन मारिएको एक पत्रकार सम्मेलन गरेर दाबी गरेका थिए ।

पत्रकार सम्मेलनमा सूर्यमानको दाबी पछि अर्जुनकी पत्नीले मानवअधिकार आयोगमा अर्को उजुरी हालेकी थिइन् ।  उनले अर्जुनको शव उत्खनन् गर्न आग्रह गरेकी थिइन् । आयोगले त्यो स्थानको अवस्था निरीक्षण गरेको थियो । 
आयोगले त्यसपछि अर्जुनको मृत्यु सेनाको एयर स्ट्राइकमा नभएको निष्कर्ष निकालेको थियो । 

उनलाई पक्राउ गरेर मारिएको निष्कर्ष निकालेको थियो ।  उनको शव उत्खनन् भने गरिएन । सन् २००७ को जुन २८ मा एडभोकेसी फोरमको सहयोगमा परिवारका सदस्यले एफआइआर दर्ता गरेका थिए । त्यसपछि काभ्रे र सर्वोच्च अदालतमा गरी सो सम्बन्धि मुद्दाको लामो शृङ्खला रहेको छ । 

एकताका  सो घटनामा संलग्नको बारेमा अदालतका तर्फबाट चासो राख्दा घटनामा संलग्नहरु फेला नपरेको भनेर प्रहरीले रिपोर्ट बुझाएको पनि पाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro