एउटा भयानक कथा
छेउछाउ सबै फेरिएको हुनेछ
राजधानी फेरि पनि हुनेछ यथावत्
बिर्सन सक्दिनँ म, डराएर
गुञ्जियो सर्वत्र बच्चाहरूको पुकार ।
बिर्सन सक्दैनौं हामी उनको
अनुहारमा लेखिएको त्यो भय ।
दुश्मनले बुझाउनुपर्छ
सय–गुना मूल्य निश्चय ।
सम्झनामा राख्नेछौं हामी दुश्मनको मार
राख्नेछौं सम्झना त्यो समय
जब दुश्मनले गरे यस्तो मनपरी
जस्तो बेथलह्याममा हेरोदले ।
आउने छ नयाँ युग, आउने छ गतिलो समय
रहने छैनन् साक्षी
तर भुल्न सक्ने छैनन् कसैले
यी बालबालिकाको रोदन ।
० ० ०
दोस्रो पटक वसन्त
रेल गइसकेको छ । कालो छ किनार ।
कसरी खोजूँ म बाटो यो अँध्यारोमा ?
छेउछाउमा सबै कुरा अस्पष्ट छ
त्यसो त गएको एक दिन, एक रात बितेको हो ।
लिक(रेल)हरूमा फलाम कुट्ने आवाज हराइसकेको छ ।
अचानक यो कस्तो जादू,
यो कस्तो विसङ्गति, कस्तो महिलाहरूको गोष्ठी ?
सायद यो चमत्कार हो दुष्टात्माको ?
कतै सुनेको थिएँ मैले कुराकानीको यो अंश
बितेको वर्ष
ओहो ! सायद यो त्यो झरना हो
जो घना झाडीबाट आजको रात बाहिर निस्किएको छ
निश्चय नै यो घरेलु ताल हो
जुन हिउँलाई धकेल्दै पहिलेजस्तै माथि उठेर आएको छ ।
एउटा अर्को चमत्कार हो ।
दोस्रो पटक वसन्त ।
वसन्त हो यो वसन्त हो ।
यो उसको टुनामुना (जादू) हो
ऊ हेर नम्राको रूखपछाडि छ उनको त्यो ज्याकेट,
रुमाल छ, पिठ्यूँ छ र कम्मर छ ।
चट्टानको माथि उभिएकी छन् हिमकन्या
त्यही हो जसलाई लिएर गुफाको भित्रबाट
त्यो मात्तिएको गफाडीको बरबर बगिरहेको छ ।
त्यही हो जसका सामुन्ने, हरेक रोडाढुङ्गालाई बाढीमा समेट्दै
बग्दै गरेका नदीहरू हराउँछन् त्यो पानी भरिएको बादलमा
जुन कुनै चट्टानमा चिप्लिएर
घाममा नुहाउँदै गरेको जल–प्रपातमा खस्छ
दाँत कट्कटाउने जाडोमा
हिम–नदी छ त्यो बगिरहेको छ उँचाईमा
तालमा र त्यहाँबाट अन्त कुनै अरु नै पात्रमा ः
उद्दाम जलको स्वर हो यो, जीवनको बेहिसाब अभिव्यक्ति हो ।