site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विदेशमा काम गर्नेलाई सम्मान : राजनीतिक अधिकारसहितको नागरिकता र लगानी 

हामी गैरआवासीय नेपाली संघ विश्व सम्मेलनको लगभग संघारमा आइपुगेका छौँ । करिब ५० लाख नेपाली विदेशमा बस्दै आएको भएरमात्र होइन नेपाली अर्थतन्त्रको विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्समा बढ्दो निर्भरताले पनि यो सम्मेलनको महत्त्व सिद्ध हुन्छ । नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या कम गर्नदेखि विदेशी मुद्राको संचिती, भुक्तानी सन्तुलनलगायतका अर्थतन्त्रका मुख्य सूचकमा पनि रेमिट्यान्सको महत्त्वपूर्ण योगदान छ । 

नेपालका करिब ६० प्रतिशत घरपरिवारको रेमिट्यान्स आम्दानीको स्रोत बनेको छ । नेपालले गत आर्थिक वर्ष करिब नौ सय अर्ब (९ खर्ब) रुपैयाँ विदेशमा जाने नेपालीबाट प्राप्त गरेको छ । राष्ट्रबैंकको तथ्यांकअनुसार केही समययता नेपाली विद्यार्थी बढी संख्यामा जाने विकसित देशबाट जाने रेमिट्यान्स बढ्दो क्रममा छ । रेमिट्यान्सले नेपालमा रेस्टुराँ व्यवसाय, बैंक बचतदेखि घरजग्गा कारोबारसम्ममा असर पारेको छ । सरकारको राजस्वमा रेमिट्यान्सको योगदान १ खर्ब रुपैयाँभन्दा बढी रहेको बताइन्छ । 

विदेशमा जनशक्ति पठाएर सधैँ देश सञ्चालन गर्छु भन्नु उपयुक्त हुँदैन । यसको विकल्प खोज्नुपर्छ । तर, पनि अहिलेको अवस्थामा रेमिट्यान्सको विकल्प देखिँदैन । यो यथार्थ हुँदाहुँदै पनि विदेशमा बस्ने नेपालीहरू समस्याग्रस्त छन् । आफ्नो देश, जन्मभूमिभन्दा टाढा हुँदाको समस्या त छँदै छ यसबाहेक हामीमाथि हुने व्यवहार र नियम कानुनका अप्ठेरा पनि भोग्दै आएका छौँ । हामी कतै दोस्रो दर्जाका नेपाली नागरिक हुने हौँ कि भन्ने त्रास पनि पलाउँदै गएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हामी विदेशमा बस्ने नेपाली के चाहन्छौँ ? 

पहिलो विदेशमा रोजगार वा व्यवसाय गर्नेलाई सम्मान होस् भन्ने हाम्रो चाहना हो । माथिनै मैले उल्लेख गरिसके नेपालको अर्थतन्त्रलाई अहिले रेमिट्यान्सले भरथेग गरिरहेको छ । देशमा पर्याप्त अवसर नभएर बाध्यतावश विदेशमा रोजगारी वा व्यवसाय गर्न पुगेका हामीले थुप्रै समस्या भोग्दै आएका छाैँ । खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान, हंङकङलगायतका देशमा ठूलो संख्यामा नेपाली रोजगारका लागि गएका छन् । तर, त्यहाँ नेपालीले थुप्रै समस्या भोग्दै आएका छन् । 

Global Ime bank

खाडी मुलुकमा लाखौं संख्यामा नेपाली रोजगारका सिलसिलामा बस्दै आएका छन् । यहाँ समस्या पनि बढी छ । तर, नेपाल सरकार र त्यहाँका कूटनीतिक नियोगले समस्यामा पर्ने नेपालीलाई उपयुक्त सेवा चुस्तरुपमा दिन नसकेको गुनासो व्याप्त छ । त्यहाँमात्र होइन विदेश जाँदादेखि फर्किएर घरसम्म पुग्दासमेत थुप्रै ठाउँमा हण्डर र ठक्कर खानुपरेको छ । कतिपय ठाउँमा ठगिनु परेको छ । विदेशबाट नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै समस्या सुरु हुन्छ । विमानस्लथमा सामान लिँदाको सास्तीदेखि बाहिर निस्कनेबित्तिकै गरिने दुव्र्यवहार घर नपुग्दासम्म सहनुपर्छ ।

नेपालका कूटनीतिक नियोगबाट राहदानीदेखि विभिन्न सिफारिस लिन पनि सहज छैन । कतिपय अवस्थामा प्रहरी प्रशासनसमेतले दुःख दिने गरेका छन् । यो अवस्थालाई सुधार गर्नु आवश्यक छ र विदेशमा काम गरेर रेमिट्यान्स पठाउनेलाई सम्मान हुनुपर्छ । यो सजिलै हुँदैन । हामीले चर्को स्वरमा आवाज उठाउन सक्नुपर्छ, आवश्यक परे सम्बद्ध निकायलाई दबाबसमेत दिनुपर्छ । 

खाडीमुलुक र मलेसियाजस्ता धेरै नेपाली रहेका देशले समग्र नेपालकै प्रतिनिधित्व गर्छन् । कूटनीतिक नियोगको सक्रियता र संकटमा पर्ने नेपालीलाई तत्काल सहयोग गर्ने तत्परता, नियम कानुनको कार्यान्वयन प्रभावकारी भयो भने त्यहाँका समस्याको केही हदसम्म सम्बोधन पनि हुन्छ । जुन अहिलेसम्म भएको छैन । 

दोस्रो, हाम्रो माग नेपाली नागरिकताको निरन्तरता नै हो । नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता दिने उल्लेख छ । यसका लागि अहिलेसम्म ऐन कानुन भने स्वीकृत भइसकेको छैन । यो नागरिकतामा राजनीतिक अधिकारबाहेक सबै अधिकार नेपाली सरह उपयोग गर्न पाइने भन्ने छ । 

नेपालमा जन्मेर नेपाली नागरिकता लिइसकेपछि विदेशी नागरिकता लिनेको हकमा पनि नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने हाम्रो आग्रह हो  । अमेरिका, युरोप, अस्ट्रेलिया बस्ने थुपै नेपालीले त्यहाँको नागरिकता स्वीकार गरेका छन् । यसलाई नेपाली नागरिकता त्यागेको अर्थमा बुझ्नु हुँदैन । त्यहाँ बस्न, रोजगार गर्न सजिलो होस् भन्ने उद्देश्यले नागरिकता लिइएको हो । यसले नेपाललाई केही बेफाइदा हुँदैन बरु फाइदा नै हुन्छ । 

नेपालको राहदानीको मर्यादा बढाउनुपर्छ भन्नेमा दुईमत छैन तर विदेशी पासपोर्ट लिएर यात्रा गर्दैमा पराइ भयो भन्न मिल्दैन । यो व्यावहारिकताले गर्दा विदेशी राहदानी लिनुपरेको मात्र हो । बेलायती सेनामा काम गर्ने नेपालीले नेपालमा आउँदा चुनावमा भोट हाल्छन् । राजनीतिक गतिविधिमा सहभागी हुन्छन् । यसले नेपाललाई कुनै हानि गरेको छैन । फाइदै भएको छ । विदेशमा बसेर ज्ञान, सीप र धन आर्जन गरेको नेपाली नेपाल आएर आफ्नै गाउँठाउँको विकासका लागि राजनीतिमा सहभागी भएर काम गर्न आउँछ भने नेपाललाई बेफाइदा हुँदैन । बरु फाइदा नै पुग्छ । 

आफ्नो देश र जन्मभूमिको माया देश छाडेर टाढा हुँदा अझ बढेको हुन्छ । देशलाई संकट पर्दा विदेशमा वस्ने नेपाली सडकमा उत्रिएका छन् । भारतले केही वर्षअघि नेपाललाई आर्थिक नाकाबन्दी लगाउँदा न्युयोर्कदेखि लन्डनलगायत विश्वका विभिन्न देशमा रहेका नेपाली सडकमा उत्रिएका थिए । यो देशको मायाले गर्दा न हो । आवश्यकता पर्दा आउने दिनमा पनि नेपाली यसरी सडकमा उत्रिनेछन् । त्यसैले विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्छ भन्ने हाम्रो माग हो । यसबाट नेपाललाई फाइदा हुन्छ भन्ने ग्यारेन्टी पनि हामी गर्न सक्छौँ । 

यसको विरोध गर्नेहरु सरकारदेखि सडकसम्म छन् । यसो हुनुमा हामीले यसका फाइदाका बारेमा राम्रोसँग बुझाउन नसकेर हो । अब राजनीतिक अधिकारसहितको नागरिकता दिँदाका फाइदाका बारे हामीले सरकार, राजनीतिक पार्टी र नेपाली जनतासँग छलफल चलाउनु पर्छ । 

तेस्रो, लगानी र व्यावसायिकता हो । नेपालको आर्थिक विकासका लागि अझ बढी लगानीको खाँचो छ । रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई त्यसबाट बाहिर निकाल्न पनि थप लगानीको खाँचो छ । विदेशमा बस्ने नेपाली अहिले पहिलेभन्दा बढी सम्पन्न हुँदै गएका छन् । सानो होस् वा ठूलो विदेशमा आर्जन गरेको पुँजी नेपालमा लगानी गर्ने हैसियत बनाउने नेपालीको संख्या बढ्दो छ । लगानी गर्ने चाहना पनि छ । विदेशमा वस्ने कतिपय नेपालीले विभिन्नरुपमा नेपालमा लगानी गर्नुभएको पनि छ । 

दुई वर्षअघि आर्थिक पत्रकारको संस्था सेजनले गरेको सर्वेक्षणमा ९ जिल्लामा मात्र ३० अर्ब रुपैयाँ विदेशमा बस्ने नेपालीले लगानी गरेको देखिएको थियो । यो बढ्दो क्रममा छ । देशभरको तथ्यांक हेर्ने हो भने यो अंक निकै ठूलो हुन्छ । तर, यसमा कैयौं समस्या छन् । पैसा नेपाल ल्याउनदेखि फिर्ता लैजानसम्मका झन्झट छन् । पाँच करोड रुपैंया वा त्यसभन्दा माथिको लगानीलाई मात्र विदेशी लगानी भन्ने ऐन आएको छ । एकैपटक पाँच करोड लगानी गर्न नसक्ने वा सक्ने भए पनि एकै पटक जोखिम किन लिने भन्नेलाई यस प्रावधानले नेपालमा पैसा ल्याउन बाधा पगेको छ । 

विदेशी लगानीलाई रातो कार्पेट ओछ्याइएको छ भन्ने हामीले सुन्दैआएका छौँ । तर, यो व्यवहारमा महसुस गर्न सकेका छैनौ । म आफैँले नेपालमा लगानी गर्दा भोगेको समस्या हो यो । लगानी भित्र्याउन अझ उदार नीतिहरु आवश्यक छ । स्थानीय अवरोध कम गर्नुपर्छ । 

विदेशमा बस्ने नेपाली लगानीमात्र लिएर आउने होइनन् नयाँ सीप र ज्ञान पनि ल्याउँछन् । अहिले देशका लागि त्यसैको आवश्यकता छ । लगानी नाफाका लागि नै गरिन्छ । यो समाजसेवा होइन । अझ उदार वातावरण भयो भने विदेशमा बस्ने थुप्रै नेपाली लगानीका लागि अभिप्रेरित हुनेछन् । 
नेपालमा लगानीमात्र होइन विदेशमा पनि नेपालीलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्छ । अमेरिका, अस्ट्रेलिया, जापानलगायत थुप्रै देशमा व्यवसायमा नेपालीहरु सफल भइरहेका छन् । 

अहिले विश्वका कैयौं सहरमा नेपालीको व्यवसाय भेटिन्छ । बढीभन्दा बढी नेपालीलाई व्यवसाय गर्न एनआरएनए संचरनाले प्रेरित गर्न सक्छ । हामीले ८० देशका एनआरएनए एनसीसीलाई यसका लागि परिचालन गर्न सक्छौं । एनआरएनए सम्बन्धित समितिलाई नेपालीलाई व्यवसायमा लाग्न अभिप्रेरित गर्न उत्प्रेरकको भूमिका खेल्न सक्छन् । यसका लागि केही आधारहरु भने बनाउनुपर्छ । एउटा नेपाल र सम्बन्धित देशबीच दोहोरो कर उन्मुक्तिको प्रावधान हो । दुवैतर्फ कर लाग्ने व्यवस्था हटाउन एनआरएनएले पहल गर्न सक्छ । यसका लागि सम्बन्धित एनसीसी उपयुक्त संस्था पनि हो । एनआरएनएले यसका लागि गृहकार्य गरेर रूपरेखा बनाई एनसीसीलाई यसको जिम्मेवारी दिन सक्छ । 

(एनआरएनएको आगामी निर्वाचनमा सचिव पदका आकांक्षी )

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २७, २०७६  १३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC