महाभारतमा द्रौपदीलाई सुशिक्षित, साहसी र तेजस्वी महिलाका रूपमा चिनाइएको छ । तर, अहिलेको समाजले त उनका पाँच पति थिए भनेर जान्छ । द्रौपदीकोे जीवनमा यस्ता धेरै घटना तथा परिघटना छन् जहाँ उनले ऐतिहासिक निर्णय गरेकी थिइन् । धर्मराज, सत्यवादी तथा सशरीर स्वर्ग प्रस्थान गरे भनिएका युधिष्ठिरले जब जुवामा सहदेवलाई हारे, नकुललाई हारे, अर्जुनलाई हारे, भीमसेनलाई हारे, आफूलाई पनि हारे अनि द्रौपदीलार्ई समेत जुवाको दाउमा लगाए । कपट जुवामा उनले द्रौपदीलाई पनि हारे । विडम्बना, हारको सबैभन्दा धेरै सजाय भने द्रौपदीले सहनु परेको थियो । किन ?
जुवामा आफूले जितेकी द्रौपदीलाई कुरु सभामा ल्याउन दुर्योधनले आफ्ना सेवक प्रतिकामीलाई पठाए । द्रौपदीले भनिन्– म रजस्वालामा छु, एक वस्त्रमा छु । यस्तो अवस्थामा मैले सभामा जान हुँदैन । युधिष्ठिरले आफैँलार्ई जुवामा हारेपछि मलाई जुवामा दाउ लगाउने हैसियत राख्छन् र ? जाऊ ! बरू कुरू सभालाई सोध ।
प्रतिकामी सभामा फर्कन्छन् र भन्छन् – युधिष्ठिर आफैं हारेपछि उनले द्रौपदीलाई जुवामा हार्न सक्छन् भन्दै द्रौपदीले सोधेकी छन् । उनी यहाँ आउन मानिनन् । कुरू सभा मौन हुन्छ । दुर्योधनले भने – यो दासी बढ्ता बोल्छे भन्दै जा त्यसलाई समातेर ले भन्दै फेरि आदेश दिन्छन् । तैपनि, द्रौपदी आउन मान्दिनन् । दुर्योधन रिसाउँदै घिसारेर भए पनि लिएर आउन आफ्ना भाइ दुःशासनलार्ई पठाउँछन् ।
दुःशासनले एक वस्त्रमा रहेकी द्रौपदीलाई घिसार्दै सभामा ल्याउँछन् । एक वस्त्रा, लज्जित द्रौपदीले सभामा भन्छिन्– के जुवामा आफूलाई नै हारेका युधिष्ठिरले मलार्ई दाउमा थप्न पाउँछन् ? कुरू सभामा सबै स्तब्ध हुन्छन् । द्रौपदी आक्रोशित हुँदै भन्छिन् – यस सभाको सबैभन्दा आदरणीय, सम्माननीय, वयावबृद्ध, ज्ञानी तपाईँ भीष्म पितामह हुनुहुन्छ । तपाइँ भन्नुहोस्, के जुवामा हारेका युधिष्ठिरले मलार्ई हराउन पाउँछन् ?
भीष्म पितामह भन्छन् – स्त्री पतीकै सेविका हुन्छे । पतिकै दासी हुन्छे । तर, आफैँलाई हारी सकेका पतीले हार्न सक्छ कि सक्दैन भन्न सकिएन । पत्नी पतीको दासी हुने भएकाले दास पतीको पत्नी पनि दासी हुने नै भई । तर यसमा म अनुत्तरित छु, धर्मका तत्त्व अति सूक्ष्म हुन्छ । त्यसैले यसको उत्तर दिन गाह्रो छ ।
दुर्योधन कराउँदै भन्छन्– दासकी पत्नी दासी हुन्छे । यो अब दासी भइसकी । यसलाई मेरो काखमा राख । यसको वस्त्र उतार । तिमीहरू के भन्छौ भन्दै दुर्योधनले पाण्डवलाई लल्कार्छन् । पाण्डव घोसे मुन्टो लगाउँछन् । कोही केही बोल्न सक्तैनन् । दुर्योधन र दुःशासनले द्रौपदीको अपमान गर्छन् । उनीमाथी अत्याचार गर्दछन् । सिंगो कुरू सभा स्तब्ध हुन्छ । कुरू सभाका सम्माननीयहरू मौन हुन्छन् । द्रौपदीको चीरहरण गरिन्छ । द्रौपदी चिच्याउँदै भन्छिन् – पाप अदण्डित रहँदैन ! तिमिहरूले दण्ड भोग्नै पर्छ ! तिमीहरूको विनाश हुन्छ ! हुन्छ ! अवश्य हुन्छ !
भो भो, यो अति भयो भन्दै नेत्रहीन धृतराष्ट्र कराउँछन् । रोक, रोक, द्रौपदीको अपमान नगर । यिनलाई छोड भन्दै आदेश दिन्छन् । द्रौपदी तिम्रो प्रश्नको उत्तर कसैले दिन सकेन । मैले तिम्रो अपमान रोक्न सकिन । म लज्जित छु । किन मेरो बुद्धी अघि आएन भन्दै पछुतो मान्छन् । भन, द्रौपदी । तिमीलार्ई के चाहियो ? के बरदान माग्छ्यौ ? भन । म पूरा गर्छु ।
द्रौपदी भन्छिन् – मलाई के वरदान चाहियो र ! मेरा यी नालायक पतिहरूलाई मुक्त गरिदिनुहोस् । (स्मरणीय छ, द्रौपदीले यस्तो संकटमा पनि आफूलाई कमजोर देखाउँदिनन् ! ) । धृतराष्ट्रले ल तिम्रा पतीहरूलाई मैले मुक्त गरिदिएँ दोस्रो वर माग भन्छन् । मद्रौपदी भन्छिन् – मेरा लागि केही माग्नु छैन । तर, यी नालयक पतिहरूले जुवामा हारेका हातहतियार र यिनका शरीरबाट खोसिएका वस्त्रमध्ये एकसरो फर्काई दिनुहोस् । धृतराष्ट्रले यो वरदान पनि पूरा भयो भन्छन् ।
तेस्रो वरदान माग । तिम्रा पतीले जुवामा हारेका राज्य माग । म पूरा गर्दिन्छु, भन्छन् । अहँ, म तेश्रो वरदान माग्दिन । यसो गर्नाले म लोभी देखिन्छु । ममा लालच देखिन्छ । कसैले दियो भन्दैमा एकपछि अर्को माग्नु हुँदैन । यी मेरा पाँच पति झनै नामर्द देखिन्छन् । त्यसैले म राज्य फिर्ता होस् भनेर वरदान माग्दिन । सके भने यी कायरले राज्य लडेर लेलान । सकेनन् भने मलाई यो राज्य चाहिँदैन ।
महाभारतका वीर योद्धा कर्णले द्रौपदीलाई सधैँ निन्दा गर्थे । अपमान गर्थे । उनैले द्रौपदीको हिम्मत र आत्मविश्वास देखेर भने – द्रौपदी अब तिमी साधारण नारी रहिनौ । तिमी असाधारण नारी भयौ । नदीमा डुबी सकेका तिम्रा नामर्द पतिलाई तिमीले नाउ बनेर तार्यौ ।
आजको लोकतन्त्रमा सयौं रोसनीको इज्जत लुटिएको छ । सयौं निर्मलाको बलात्कार गरी हत्या गरिएको छ । महिला अधिकार र मुक्ति लागी जीवन बलिदान गर्न पनि पछि नपर्ने भनेर कुर्लीकुर्ली सयौंपल्ट भाषण गर्ने नेता तथा नेतृहरू आज चुपचाप छन् । यिनले भाषण गर्दा परर ताली बजाउने दुःशासनहरू पीडकको पक्षमा स्याल हुँइया गर्दैछन् । जब महिला मुक्ति राजनीतिक दल सत्तामा जाने भ¥याङ हुन्छ तब बलात्कारका यस्ता नृशंस घटना भइरहन् । सत्यको पक्षमा बोल्नुभन्दा इमान जमान बेचेर सत्ताको चास्नीमा डुबुल्की मार्न तत्पर हुन्छन् । जुन समाजमा दुःशासनको प्रशंसा हुन्छ त्यहाँ विकर्णलाई कसैले चिन्दैन । महाभारतका अर्का गुमनाम पात्र दुर्याेधनका भाइ विकर्ण हुन् जसले कुरू सभामा द्रौपदीको चीरहरण हुँदा विरोध गरेका थिए ।
महाभारतमा भीष्म पितामहलाई गंगा पुत्र भनेर चिनिन्छ । महाराजा शांतनु भीष्म पितामहका बाबु हुन् । शांतनु सत्यवतीको रूप र सौन्दर्यप्रति आशक्त थिए । सत्यवतीलाई बिहे गर्न चाहन्थे । तर, सत्यवती शांतनुसँग बिहे गर्न तयार थिइनन् । सत्यवतीको माग उनकै सन्तानले राजकाज पाउनुपर्ने भन्ने थियो । शांतनुले हुन्छ भन्न सकेका थिएनन् ।
वृद्ध पिता शांतनुको कामाशक्तिका लागि तन्नेरी छोरा देवब्रतले राजकाज त्याग्दै आजीवन ब्रम्हाचारी रहने (अस्वभाविक?) प्रतिज्ञा गरे र बाउ शांतनुको सत्यवतीसँग विवाह गराए। हस्तिनापुरको संकटको प्रारम्भ यहीँबाट भएको थियो । भीष्मले पिताको वासनाका लागि गरेको प्रतिज्ञाले अन्ततः हस्तिनापुरकै अपकार गर्यो । लोकतन्त्रमा नेता जब शांतनु बन्छन् र कार्यकतालाई दुःशासन बनेर प्रतिकार गर भन्छन् त्यसले अन्ततः लोकतन्त्रलाई नै समस्यामा धकेल्छ ।
सम्माननीय सभामुखले असमान्य हर्कत गरे । उनकै मातहतकी एउटी कर्मचारीलार्ई यौन शोषण, कुटपिटको आरोप लाग्यो । सार्वजनिक भएका समाचारअनुसार असह्य भएपछि महराको हर्कतलाई बाहिर ल्याउन र न्याय पाउने विश्वासमा पीडित महिलाले नेतृहरूलाई भनिन् । प्रहरीलार्ई फोन गरिन् । सभामुखको दलका महिला नेतृहरूले बोल्ने हिम्मत गर्न सकेनन् । अन्य दलका महिला नेतृ र पत्रकारले हिम्मत गरे । घटनालाई बाहिर ल्याए ।
यो घटना अजंगको ढुंगोले एउटा पुतलीलाई किचे सरहको थियो । यस्ता घटनालाई दलका दुःशासनहरुले साथ दिनु सामान्य प्रचलनजस्तै भएको यस समाजमा सम्माननीयबाट महिला पीडित हुँदा समाज पनि विभक्त हुने नै भयो । दुःशासनहरु सल्बलाउने नै भए ।
पीडित महिलाले यसबाट छुटकारा पाउन ४८ घन्टासम्म डटेर रहिन् । दुःशासनका धम्कीलाई निस्तेज गर्दै डटिरहँदा जब सबैभन्दा नजिकका जीवनको सहारा भनिएका पतिको आडभरोसाको भ्रम टुट्यो । आफ्नो (पुरूषत्वको) बेइज्जत भएको भनेर तनाबमा रहेकी पत्नीसँग पारपाचुके गरेको भनेर भट्याए । यसरी भट्याउनेले वर्षौंसम्म के हेरेर बसेका थिए ? कुन लालचमा परेरे या तमासा गरेका थिए । थाहा नपाएको अभिनय किन गरे ? यस्तालाई किन यो समाजले कुनै प्रश्न साध्दैन ?
राज्य भनेको सबै जनताको अभिभावक हो । एउटी नारीको अस्मिता ‘सम्माननीय’ले लुट्दा अरूको सरोकारको विषय बन्दैन ? राष्ट्रपती, प्रधानमन्त्री तथा पूर्व सम्माननीय ज्यूहरू ! के तपार्इँहरूको कुनै दायित्व छैन ? किन यो यौन शोषणको विरोध गर्नु हुन्न ? महरालाई गिरफ्तार गरेर कानुनी कार्यबाही अगाडि बढाउन किन आदेश दिनुहुन्न ? ती अभियुक्तलाई गिरफ्तार गर्न के नेपालको कानुनले रोकेको छ ? यस्ता अपराधमा नेपाल प्रहरीले कयौं आरोपितलाई गिरफ्तार गरेर मुद्दा चलाईएका उदाहरण हजारौं छन् । तर महरालाई किन गिरफ्तार गरिदैन ?
महाभारतका सम्माननीयहरूले द्रौपदीको चीरहरण जोगाउन सकेनन् । कसैमाथि विनाकारण हिंसा थोपर्दा पाइने त विद्रोहमात्रै हो । द्रौपदीले आफूमाथि भएको हिंसा, अपमानको बदला लिने उद्घोष गरेकी थिइन ।् जब अन्तिम अवस्थामा युद्ध रोक्न शान्ति वार्ताका दूत भएर हस्तिनापुर जान लाग्दा द्रौपदीले कृष्णलाई भनेकी थिइन् – अपमान मेरो भएको छ । जबसम्म दुःशासनले जगल्टा्याएको मेरो कपाल दुशासनको रगतले कोरिन्न तबसम्म यी कपाल यतीकै रहने छन् । नलडुन् यी पाँच पाण्डव । मेरा पाँच छोरा लड्छन् । मेरा माइती लड्नेछन् कौरवका विरूद्धमा । शान्तिवार्ता गराएर आयौ भने म मान्ने छैन । भनिन्छ, महाभारत युद्ध हुनु पछाडिका प्रमुख कारणमध्ये एउटा कारण यहि हो ।
अन्तत्वोगत्वा महाभारत युद्ध भयो । पाण्डवले लडाइँ जिते । मृत्यु शैयामा रहेका भीष्म पितामहसँग ज्ञान माग्न पाण्डवहरू जान्छन् । भीष्म पितामहलाई धर्मको तत्त्व बताइदिनुहोस् भन्दै पाण्डवले आग्रह गर्दछन् । द्रौपदी हाँछिन् र भन्छिन् पितामहलाई धर्मको तत्त्व त कुरू सभामा मेरो चरीहरण गरिंदा सोधेको थिएँ । उनले धर्मको तत्त्व अति सूस्क्ष्म हुन्छ, म जवाफ दिन सक्तिन भनेका हैनन् र ? तिमिहरू के सोध्छौ यिनै भीष्म पितामहलाई !
यस्ता महान ज्ञानी, वयोवृद्धलाई अपमान गर्ने भन्दै भीम द्रौपदीसँग रिसाउँछन् । भीमलाई थमथमाउदै भीष्म पितामह भन्छन् ¬– तिमी चुम लाग ! हो, त्यतिखेर मैले बोल्न सकिन । मेरो खानपान सबै कौरवबाट चलेको थियो । अहिले मेरो शरीरमा अन्न छैन । म सत्य बोल्न सक्दछु । द्रौपदीले भनेको सत्य हो । मृत्यु शैयामा रहेका सम्माननीय भीष्म पितामहले ढिलै भए पनि सत्यलाई स्वीकारे तर महाभारत युद्धको क्षतिलाई रोक्न सकेनन् ।
अहिलेका लोकतन्त्रका सम्माननीयहरूको खानपान हाम्रा करले चलेको छ । कामना गरौं, यिनिहरुको खानपानमा भ्रष्टचारीको भरथेग छैन । यिनले समयमा नै सत्यलार्ई स्वीकार गर्न सकून् । पीठितलाई यिनले न्यायको अनुभूत गराउन सकून । अपाराधीलाई कानुनको दायरामा ल्याउन नेपाल आमाले यिनलाई सत्बुद्धी प्रदान गरून् ।