site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महिला सशक्तीकरण कि बाल अधिकार ?

पछिल्लो समय नेपालमा महिला अधिकारको प्रवद्र्धनका नाममा बालअधिकार हनन बढेको छ । आरक्षणको व्यवस्थाका कारण धेरै महिला सरकारी रोजगारीमा लागेका छन् । यसबाहेक निजी क्षेत्रमा पनि रोजगार महिलाको संख्या बढिरहेको छ । महिला र पुरुष बराबर हुनुपर्छ, महिलाले घरधन्दामात्र होइन पुरुषजस्तै बाहिरको आयआर्जनको काममा लाग्नुपर्छ भन्ने मान्यता व्यवहारमा उतार्ने क्रममा बालबालिकाको अधिकारमा भने गम्भीर धक्का लागिरहेको छ । 

दुई वर्षसम्म आमाको न्यानो काखमा स्तनपान गर्न पाउने अधिकारबाट धेरै शिशु वञ्चित भएको दखिन्छ । महिला कानुनबाट बढी स्वतन्त्र र अधिकार सम्पन्न भएपछि सम्बन्ध विच्छेद गर्ने क्रम पनि बढेको छ । महिलाको नाममा सम्पत्ति राख्दा राज्यलाई तिर्नुपर्ने कर दायित्व कम हुने र सम्बन्ध विच्छेदपछि महिलाको नाममा रहेको धनसम्पत्ति महिलाकै हुने तथा पुरुषका नाममा रहेको सम्पत्ति बन्डा हुने हुँदा सम्बन्ध विच्छेदलाई दुरुत्साहन भएको छ । सम्बन्ध विच्छेदले महिलाको अधिकारलाई त सुरक्षित गर्छ तर सन्तानलाई भने भय र असुरक्षाको स्थितिमा पुर्याउँछ ।

बाबु एवं आमा दुवैको न्यानो मायासँगै पारिवारिक वातावरणमा हुर्कन, बढ्न, पढ्न र सामाजिकीकरण हुन पाउनुपर्ने बालबालिकाको अधिकार हो । तर, तिनले बाबु वा आमामध्ये एउटालाई रोज्नुपर्ने बाध्यता सम्बन्ध विच्छेदले निम्त्याइदिएको छ । गल्ती महिला वा पुरुष जोबाट भए पनि यस्तो अवस्थाको सजाय भोग्ने निर्दोष बालबालिका हुन्छन् । यसबाट बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा प्रतिकूल प्रभाव पर्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महिला स्वतन्त्र र अधिकार सम्पन्न भएपछि संयुक्त परिवारबाट नेपाली समाज एकल परिवारमा रुपान्तरण पनि भइरहेको छ । महिलाहरू गाउँ वा पुरानो घरमा सासु ससुरासँग बस्न नरुचाउने र सहर वा नयाँ ठाउँमा पतिसँग मात्र बस्ने प्रवृत्तिसँगै संयुक्त परिवारको नेपालीपन धमिलिएको हो । बालबालिकाले हजुरआमा, हजुरबुबाबाट अनुभव, कथा, नैतिकता, संस्कार, रीति सुन्ने बुझ्ने र रमाइलो गरेर बिताउने अवसरबाट वञ्चित हुनुपरेको छ ।

बच्चाबच्ची भएका बाबुआमा दुवै जागिरे हुँदा धेरै ठाउँमा दुई वर्षभन्दा मुनिका बच्चालाई समेत शिशु स्याहार केन्द्र र प्ले ग्रुपमा भर्ना गरेको देखिन्छ । तीन वर्ष नपुग्दै बच्चालाई नर्सरीमा भर्ना गर्ने र कापी किताबको भारी बोकाउने गरिन्छ । छोराछोरीलाई घरमा स्याहार गर्नुपर्ने बोझबाट मुक्त हुन स्कुल पठाउने कुसंस्कार ‘संस्कृति’ बनेको छ । बिहान ८ देखि बेलुकी ६ बजेसम्म कलिला बच्चाबच्चीलाई घरबाहिर राखेर आफ्नो विकासमा व्यस्त महिला प्रशस्तै भेटिन्छन् । सभ्य समाजमा ५ वर्ष नपुगेको बच्चालाई स्कुल भर्ना गर्ने अभिभावक अपराधी मानिन्छ । नेपालमा शिशु स्याहार केन्द्रमा बालबच्चाको अधिकारको संरक्षण भएको छ कि छैन भनेर अनुगमन गर्ने फुर्सद न अभिभावकलाई छ न राज्यलाई नै ।

Global Ime bank

सुत्केरी बिदा ६० दिनलाई बढाएर ९८ दिन पुर्याइएको छ । अन्य कतिपय मुलुकमा जस्तो २ वर्ष सुत्केरी बिदा दिनुपर्ने माग पनि उठेको छ । महिला तथा शिशु अधिकार रक्षाका लागि उचित हो । त्यसको सही सदुपयोग हुनुपर्छ । तर, नेपालमा भइरहेको अभ्यास हेर्दा त्यसरी दिइने बिदालाई पनि महिलाले आफ्नो व्यक्तित्व र वृत्ति विकासकै क्रियाकलापमा बढी खर्च गर्ने सम्भावना देखिन्छ । 

महिलाले घरबाहिर प्रतिष्ठा, आयआर्जन र इज्जत कमाउन गर्ने कार्यमा जति बढी सफलता पाइरहेका छन् तिनका घरमा कुनै बालिकाको त्यही गतिमा शोषण भइरहेको घटना जताततै देखिन्छ । त्यस्ता महिलाले आफ्नो नातेदारका गरिब परिवारको छोरी वा अन्य कुनै गरिब परिवारको छोरीलाई घरेलु कामदार बनाएर शोषण गरिरहेका हुन्छन् । 

अधिकार सम्पन्न महिलाको घर वा डेरामा घरेलु कामदार बस्ने प्राय ७ देखि १४ वर्षका बालिका हुन्छन् । उनीहरुले बच्चाबच्ची हेर्ने, जुठो भाँडो गर्ने, लुगा धुने, बढार्ने पुछ्नेलगायत कार्य गर्छन् । हिउँदमा चिसो पानीले चाँगका चाँग भाडा माझेको र थुप्राका थुप्रा लुगा धोएको दृश्य निकै दयनीय हुन्छ । 
बच्चाबच्चीबाट आधुनिक र अधिकार सम्पन्न आमालाई सधैं ‘डिस्टर्भ’ महसुस हुन्छ । आमालाई काम गर्न नदिने, पढ्न नदिने, भन्दै आमाको वृत्ति र व्यक्तित्व विकासमा बच्चाबच्चीले बाधा पुर्याइरहेको ठानिन्छ । त्यसैले सशक्तीकरण भएका महिलाले उनीहरुलाई तर्साएर, हप्काएर वा टिभी मोबाइलमा भुलाएर र अलिक ठूला भएपछि ट्युसन भर्ना गराई धेरै समय घरबाहिर राखेर आफ्नो अधिकारको उपयोग बढीभन्दा बढी मात्रामा गर्छन् ।

महिला अधिकारको उपयोगले बालअधिकार मात्र होइन, ज्येष्ठ नागरिक अधिकारको पनि उसै गरी हनन भइरहेको छ । नातिनातिनासँग खेल्ने, खेलाउने, नयाँ पुस्तालाई आफ्ना अनुभव सुनाउने, छोराछोरी, नातिनातिनाको माया पाउने, आराम र मनोरञ्जनपूर्ण जीवन बिताउने ज्येष्ठ नागरिकको अधिकार पनि हनन भइरहेको छ । त्यस्तो अवसर प्राप्त गर्न ज्येष्ठ नागरिकहरु थातथलो छोडेर निरस सहरको डेरा वा घरमा गुम्सिन आउनुपर्ने र बुहारीहरुको कामकाजमा सहयोग पुर्याउनुपर्ने नयाँ ‘संस्कार’ निर्माण भएको छ ।

वर्तमान महिला अधिकारको प्रयोगको प्रवृत्तिले वास्तविक रुपमा पीडित रहँदै आएका सोझासिधा, पिछडिएका, गरिब र पुरुषको शोषणमा पिल्सिएका महिलाको उत्थान भने सायदै गरेको होला । बरु, त्यस्ता महिला र तिनका छोरीलाई भर्याङको रुपमा प्रयोग गर्न सक्षम टाठाबाठा महिलालाई मौका भऐको छ । अरू कसैलाई शोषण गरेर एक तहमाथि उठ्न सफल भएका महिलाले नै अधिकार र सशक्तीकरणको स्वाद लिइरहेका छन् ।

सिद्धान्ततः महिला अधिकार र बाल अधिकार परिपूरक हुन्छन् । बाल अधिकारलाई सुनिश्चित गर्न महिला अधिकार प्रवद्र्धन हुनुपर्छ । महिला अधिकारको पूर्ण उपभोग भयो भने बालबालिकाले गर्भ अवस्थादेखि किशोर नहुँदासम्म उनीहरुको अधिकार सहज प्राप्त गर्न सक्छन् । बालबालिकाको संरक्षणको लागि महिलाले पाएका अधिकार, सहुलियत र प्राथमिकतालाई महिलाले आफ्नो भविष्य बनाउनमात्र दुरुपयोग गर्ने हो त्यसको अनर्थ हुन जान्छ । यहाँ त महिला अधिकारको अधिक प्रयोगले धेरै शिशु पेटमै तथा पृथ्वीमा पदार्पण हुनासाथ बिदा हुनुपर्ने तीतो सत्य बढेको छ ।

घरको काम पुरुषले गरे हुन्न ? बच्चाबच्ची पुरुषले हेरे हुन्न ? भन्ने तर्क सुन्ने गरिएको छ । तर, तिनै महिलालाई आफूभन्दा बढी पढेको र बढी आम्दानी गर्ने पति चाहिन्छ । बढी आम्दानीको लागि घरबाहिर बढी व्यस्त हुनुपर्छ । आर्थिक शोषण नहुने गरी बच्चाको हेरचाह र घरायसी काम दोस्रो पक्षबाट गराउने हो भने आधुनिक महिलाको वेतनले नपुग्ने अवस्था देखिन्छ । उनीहरुको आम्दानी पारिवारिक नभई व्यक्तिगत खर्चमा मात्र ठिक्क हुन्छ ।

बालबालिकाको भविष्यको चिन्ताभन्दा आप्mनो चिन्ता र पितृसत्तात्मक समाजलाई चुनौती दिने रहरमा आधुनिक आमाहरु तल्लीन भएको देखिन्छ । पतिले कुनै अपराध गर्छ भने सजाय उसैलाई मात्र हुनुपर्छ । उसको रिस, आक्रोश बालबालिकामा पोखिनु तथा बालबालिकामा कुनै असर पार्नु हुन्न । महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्दा बालबच्चाको अधिकार कुण्ठित हुनुहुन्न ।

भविष्यका कर्णधार बालबालिकाको अधिकारलाई कुण्ठित पार्ने र वास्तवमै पीडित महिलालाई माथि उठ्नबाट अझ वञ्चित गर्ने गरी अभ्यास गरिएका यस्ता महिला अधिकारका प्रावधानले समग्रमा समाजको हित गर्न सक्दैन । बालअधिकार मैत्री महिला अधिकार अभ्यासको वातावरण सिर्जना गर्नुपर्छ । बोली र शारीरिक बलबाट आफ्नो अधिकार प्राप्त गर्न नसक्ने बालबालिका र ज्येष्ठ नागरिकको अधिकारलाई पहिलो प्राथमिकतामा राख्ने समाज मात्र सभ्य कहलिन हुन सक्छ ।
rameshghimire21@gmail.com

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २१, २०७३  १५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC