site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आधी बाटो हिँडेपछि ‘पत्रकार’
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


भाग्यको लहरामा लहरी लहरी 
पुगेँ म यस मरुस्थलमा कसरी 
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि
मेरो प्यारो ओखलढुङ्गा ।

युगकवि सिद्धिचरण श्रेष्ठले ओखलढुङ्गा कविताका यी हरफमार्फत् भन्न खोजेजस्तै जिन्दगीमा कहाँ पुग्ने सपना देखेका रमण घिमिरे कता पुगे ! गायक हुने सपना बोकेका रमण पत्रकार भए । साहित्यप्रति रुचि त थियो, तर साहित्यकार नै बन्ने त छिपछिपे चाहनामात्रै थियो । झापा धुलाबारीमा छिमेकी मानबहादुर खड्काको घरमा खैरो रङको पानासोनिक रेडियो  थियो । त्यहीँ जान्थे उनी गीत सुन्न । राति ९ बजेको अङ्ग्रेजी समाचारपछि हरिश चन्द र एक महिला उद्घोषकले अङ्ग्रेजीमा विदेशमा बस्ने नेपालीहरुका लागि भनेर कार्यक्रम चलाउँथे । कार्यक्रम अङ्ग्रेजीमा चले पनि गीत भने नेपाली बज्थे । त्यो कार्यक्रम सुन्न गाउँभरिका मान्छेको भीड लाग्थ्यो । रमण रेडियोमा सुनेकै भरमा गीत कण्ठ पार्थे । 

Prabhu Bank
Agni Group
NIC Asia

रमणको घरमा ०३० सालमा रेडियो आइपुग्यो । बुवा (हरिनारायण उपाध्याय) गाउँपञ्चायतका सचिव थिए । उनले पनि खैरो रङ्कै जापानिज पानासोनिक रेडियो शानका साथ भित्राएका थिए ।  

रेडियोमा नारायण गोपाल, बच्चु कैलाश, अरुणा लामा, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, तारादेवीका गीत बज्थे । नारायण गोपालको स्वरले रमणको दिमाग झङ्कृत पारेको थियो । 

Global Ime bank

गाउँमा बिहेबटुलो हुन्थ्यो । त्यस्ता कार्यक्रम रमणका लागि गीत गाउने अवसर हुन्थे । नक्सलबाडीबाट ल्याएको माइकमा गीत गाउँथे रमण ।

एसलसीमा अनुत्तीर्ण भए । रवीन शर्माका बुवा (ठाकुरप्रसाद घिमिरे) नाताले रमणका काका पर्थे । प्रधानपञ्च रहेका उनले लगाइदिए मुखियाको जागिर । काकडभिट्टा गाउँपञ्चायतमा दुई वर्ष मुखिया भएर काम गरेका रमण ०३६ मा काठमाडौं छिरे । 

कवि विष्णुविभु घिमिरे रमणका दाइ । भदौको महिना थियो । होटलमा खाना खानुपर्ने । होटलको खानपान चित्त बुझेन, दसैं पनि नजिकै आइसकेको थियो । एक सातामै फर्किए रमण धुलाबारी । 

दसैंपछि रमण पुनः काठमाडौं फर्किए । गायक बन्ने सपना मरेको थिएन । तर सङ्गत भयो अशेष मल्ल, दिनेश अधिकारीलगायतसँग । उनीहरुले खोले सर्वनाम थिएटर । साहित्यकारको सामीप्यमा पुगे । हरेक शुक्रबार पद्मकन्या क्याम्पसमा कविता वाचन हुन्थ्यो । रमण पनि जान्थे । नाटक मञ्चन हुन्थ्यो । अभिनय गर्न थाले रमण । दिनेश अधिकारी उद्घोषण गर्थे । पछि उनी जागिरे भएर हिँडे । उद्घोषण रमणले गर्न थाले । ‘सडकदेखि सडकसम्म’, ‘हामी वसन्त खोजिरहेका छौं’, ‘पर्खाल’लगायतका १० वटा नाटकमा रमणले अभिनय गरे । ‘पर्खाल’मा मुख्य भूमिकामा रहेका रमणको को–एक्ट्रेस थिइन् सपना प्रधान मल्ल (हाल न्यायाधीश) । कुसुम शर्मा, मनु कोइराला, कृष्ण अमात्य, किशोर पहाडी, सुनील पोखरेल, बद्री अधिकारी, ओममणि शर्मा, अशेष मल्ल, गोविन्द सिंह रावतलगायत अभिनय गर्थे । ०३८ देखि ०४१ सालसम्म उनले अभिनय गरे । 

पञ्चायत थियो । राज्य कठोर थियो । नाटकको स्क्रिप्ट अञ्चलाधीश कार्यालयबाट सेन्सर पास गराउनुपथ्र्यो । “सेन्सर गरेको स्क्रिप्टअनुसार कलाकारले नाटक मञ्चन गर्दा डाइलग बोल्छन् कि बोल्दैनन् भनेर अञ्चलाधीशले एक जना कर्मचारी खटाउँथ्यो,” रमण सम्झिन्छन्, “हामी राजनीतिक रुपमा सचेत थियौं । हाम्रो नाटक केही राजनीतिक पनि हुन्थे । त्यसैले दुइटा नाटक मञ्चन भइरहेका बेला अञ्चलाधीश कार्यालयबाट आएको कर्मचारीले बीचमै रोकेका थिए ।”

नाटक छोडेर पत्रकारिता
अशेष मल्लले प्रदीप गिरिका भाइ शेखरलाई भन्दिए । शेखरले गिरिले पुष्प थपलियाको ‘जनहित’ पाक्षिकमा जागिर लगाइदिए । तलब आउँछ भनेर रमणले काम सुरु गरे । तर विज्ञापनको मौसममा मात्रै पत्रिका प्रकाशन हुने रहेछ । ‘टोकन मनी’जस्तो केही पैसा पाए पनि त्यो काठमाडौं बसाइका लागि पर्याप्त थिएन । 

पुष्पले रमणलाई भने, “तपाईं घर जाँदै हुनुहुन्छ । केही समय लिएर ग्राहक बनाएर आउनूस् ।” भनेको मान्नैपर्‍यो । झापादेखि धरानसम्म आएर २५ जना ग्राहक बनाए । पैसा लिएर आए । पाक्षिक भनेको पत्रिका तीन महिनामा पनि निस्कँदैनथ्यो । पछि घर जाँदा खोई त तेरो पत्रिका आएन त भन्थे । रमण लाजले पानीपानी हुँदै भन्थे, “हो र मैले नै त्यो पत्रिका छोडी पो सकेँ ।” 

महिना मरेपछि तलब आउँछ भनेर काम सुरु गरेका उनले ‘जनहित’ पाक्षिक छोडे । सोमनाथ घिमिरेको ‘युगसंवाद’मा पुगे । त्यहाँ पनि लामो समय बस्न सकेनन् । तर त्यसमा ‘बिम्ब प्रतिबिम्ब’ नामक कोलम लेख्थे । तर यो कोलम उनले ‘जनहित’मा जानुअघि नै सुरु गरिसकेका थिए । 

पदम ठकुराठी ‘साप्ताहिक मञ्च’काे सम्पादक थिए । निकै लोकप्रिय पत्रिका थियो ‘साप्ताहिक मञ्च’ । ‘साप्ताहिक मञ्च’ले उनलाई बोलायाे । रमणले अशेष मल्लसँग सल्लाह गरे । अशेषले जाऊ भने । रमणले लेख्न थाले  ‘साप्ताहिक मञ्च’ मा । 

४५० रुपैयाँ मासिक तलब थियो । रमणले पूर्ण व्यावसायिक पत्रकारिता सुरु गरेको यही पत्रिका थियो । ‘साप्ताहिक मञ्च’मा कोलम लेख्न थालेपछि उनी पत्रकारका रुपमा स्थापित भए । 

पत्रकार जनार्दन आचार्यले रमणलाई भने, “एउटा कला पत्रिका निकालौं । तयारी गर्नुस् । ‘रुपरङ्ग’ प्रकाशन भयो । यो पत्रिका तीन वर्ष चल्यो ।’’ 

‘साप्ताहिक मञ्च’ टुक्रियो । हरिहर विरहीले ‘विमर्श’ सुरु गरे । त्यसमै गए रमण पनि । ‘विमर्श’मा दुई वर्ष काम गरेपछि  रमण पुगे ‘उर्वशी’ । लगानी गरेका थिए उद्योगी वसन्त चौधरीले । 

“अहिलेको जस्तो अवस्था थिएन । कलाकार बोलाएपछि सहजै उपलब्ध हुन्थे,” रमण सुनाउँछन्, “हामी त्यो बेलाका सुपर स्टारहरु कृष्टि केसी, भुवन केसीहरुलाई विभिन्न ठाउँमा लगेर फोटो सेसन गराउँथ्यौं ।”
‘उर्वशी’ तीन वर्षपछि बन्द भयो ।

‘उर्वशी’ पछि ‘सत्ता’ प्रकाशन गर्ने भए वसन्तले । त्यसमै काम थाले रमणले । यो पनि कला–साहित्यसँगै सम्बन्धित थियो । पछि ‘सत्ता’ अङ्ग्रेजी ‘इन्डिपेन्डेन्ट’मा रुपान्तरण भयो । रमणले छोडे । 

‘सत्ता’ पछि रमण पुगे चौधरीकै साहित्य–कला मन्दिरमा । पत्रिकामा कोलमहरु लेखिरहन्थे । तर ‘इनहाउस’ काम गरेका थिएनन् । 

एक दिन पत्रकार विजयकुमार पाण्डेले पेजरमा म्यासेज पठाए, “अर्जेन्ट छ, भेट्न आउनू ।” 

कान्तिपुर पब्लिकेसन्सले ‘नेपाल’ म्यागजिन निकाल्ने तयारी गरेको रहेछ । सम्पादक हुँदै थिए, विजयकुमार । उनले भने, “सँगै काम गरौं । कला–साहित्यको पाटो हेरिदिनुपर्‍यो ।”

रमणले भने, “कला–साहित्य मन्दिर छोड्न मिल्दैन । पार्टटाइम हो भने गर्छु ।”

विजयकुमारले भने, “मिल्दैन ।”

पहिलो अङ्क निस्कियो । 

दोस्रो अङ्कमै विजयकुमारले बोलाएर फेरि काम गर्न भने । रमणले पुरानै सर्त राखे । विजयकुमारले सर्त माने । दोस्रो अङ्कबाट ‘नेपाल’मा काम गरेका रमणले गत मङ्सिरमा राजीनामा दिए । 

ती अम्बर गुरुङ र रमण  
रमणको सम्बन्ध अम्बर गुरुङसँग खुबै राम्रो थियो, पारिवारिकजस्तै । सङ्गीत नाट्य प्रतिष्ठानमा अम्बर हुँदा हरेक दिनजस्तो रमण पुग्थे । रमण र अम्बर लामो समय गफिन्थे । घटना–परिघटना र समाचारका लागि मात्रै होइन । दुःख–सुखका कुरा पनि साट्थे । 

कार्यालयमात्रै होइन, रमण उनको घरमै पनि पुग्थे । “एक दिन म ज्ञानेश्वरस्थित अम्बर दाइको घरमा पुगेँ । उहाँले त्यसदिन मलमलले बेरेको बही खाता खोल्नुभयो । त्यसमा एकातिर गीत लेखिएको थियो, अर्कोतिर नोटेसन,” रमण सम्झिन्छन्, “उहाँले त्यसदिन मलाई १५ वटा नयाँ गीत सुनाउनुभयो ।” 

रमणलाई नसुनाएका र नभनेका अम्बरका कुनै त्यस्ता प्रसङ्ग छैन होला जुन अम्बरसँगै निष्प्राण भए । कति त रमणले आफ्नो पुस्तकमा पनि उल्लेख गरेका छन्, अम्बरसँगका रङ्गीन सम्बन्धहरु । 

ज्ञानेन्द्र शाहले राज्यसत्ता हातमा लिए । राजनीतिक समाचार प्रकाशन–प्रसारणमा कडाइ भयो । ‘नेपाल’ म्यागजिनमा हरेक साता एउटा राजनीतिक अन्तरवार्ता छापिन्थ्यो । तर त्यो सम्भव भएन । तर अन्तरवार्ता त चाहियो । सम्पादक सुधीर शर्माले भने– एक जना अग्रज कलाकारको अन्तरवार्ता गनुपर्‍यो । कसको गर्ने ?

रमणको दिमागमा झट्ट नाम आयो– अम्बर गुरुङ । सुधीरले ‘हुन्छ’ भने । अम्बरको अन्तरवार्ता लिन रमणलाई के थियो र ! 

अम्बरको घर पुगे रमण । अम्बर हरेक दिन बिहान ६–८ बजेसम्म रियाज गर्थे । भर्खर रियाज सकेर बसेका रहेछन् । 

अम्बरले भने ओहो ! तपाईं कताबाट आउनुभयो ? 

रमणले भने, तपाईंको अन्तरवार्ता लिन आको । 

अम्बरः तपाईंसँग अन्तरवार्ता गर्न के भयो र ! गरौं । 

अन्तरवार्ता सुरु गर्नुअघि अम्बरले एउटा किस्सा सुनाए– 

“पत्रकार पनि अनौठा हुन्छन् भाइ ।”

“सङ्गीतकार, गीतकार पनि अनौठा हुन्छन् नि दाइ ।”

“हैन एकजना बहिनी आएकी थिइन् । त्यस्तै १९/२० कि थिइन् होला । तपाईंको अन्तरवार्ता लिन आको भनिन् । मैले ‘हुन्छ’ प्रश्न गर्नुस्, म उत्तर दिन्छु भनेँ । उनले प्रश्न गरिन्– तपाईंको पहिलो लोकप्रिय गीत कुन हो ? म स्तब्ध भएँ । अनि मैले भनेँ– बहिनी तपाईं यो पत्ता लगाउनुस् अनि मेरो अन्तरवार्ता लिन आउनू । यस्ता पनि पत्रकार हुन्छन् !” 
“दाइ गायक पनि त बेसुरा छन् नि !”

पपगायन खासै मन नपराउने अम्बरले भने, “पपगायक अलि बेसुरा हुन्छन् ।” 

त्यो अन्तरवार्तामा रमणले नारायण गोपालसँगको प्रसङ्ग उठाए । नारायण गोपालले रमणसँग अनौपचारिक कुराकानीका क्रममा भनेका थिए– अम्बर गुरुङ राम्राराम्रा सङ्गीत बिरालाले गुहु लुकाएझैं लुकाउँछ । एकदम राम्रो सङ्गीत गर्ने मान्छे हो, तर अरुलाई दिँदैदिँदैन । मलाई त दिँदैन भने अरुलाई के दिन्छ ! 

रमणले नारायण गोपालले लगाएको आरोप अम्बरलाई सुनाइदिए । र सोधे– किन आफ्नो राम्रा सङ्गीत अरुलाई नदिएको ? 

अम्बरले भने, “नारायण गोपालजस्ता हजारौं गायक छन् नेपालमा । नारायण गोपालमात्रै एउटै गायक होइन । नारायण गोपाललाई मात्रै म राम्रो गायक मान्दिनँ । हामीले खोज्न नसकेको मात्रै हो ।” 

हेडलाइन नै यही राखेर ‘नेपाल’ले अम्बरको अन्तरवार्ता छाप्यो । सयौं पाठक प्रतिक्रिया आए । कतिले अम्बर गुरुङ आफूलाई मात्रै महान् ठान्ने ‘नौ लाख तारा...’बाहेक उसको के छ र ? दम्भी सङ्गीतकार । ‘कहिले लहर कहिले तरङ्ग...’ नारायण गोपाललाई गाउन दिएको भए कति राम्रो हुन्थ्यो भनेर गाली गरेर  प्रतिक्रिया आए । त्यो पनि ‘नेपाल’ले छाप्यो । 

अम्बर गुरुङ रमणसँग रिसाए । मुुखैले गाली त उनले गरेनन् । तर राम्रो ‘रेस्पोन्स’ गर्न छाडे । 

जब नेपाल म्युजिक स्कुल खुल्यो । त्यसमा अम्बर निर्देशक भएर गए । त्यो बेला रमणले भने, “दाइ तपाईं मसँग रिसाउनुभयो । पत्रिकामा छापिएको कुरालाई मनमा नराख्नुस् । मलाई तपाईंले सम्पादक ठान्नुभयो होला । तर म सम्पादक होइन ।

सबै कुरा मेरो हातमा हुँदैन । नछाप भनेका कुरा पनि कहिलेकाहीँ छापिदिन्छन् ।” 

चिसिएको सम्बन्धमा केही सुधार आयो । 

सङ्गीत नाट्य प्रतिस्ठानका कुलपति भएका बेला सुगरका बिरामी अम्बर सिकिस्तै भएछन् । रमणलाई कसैले फोन गरेर भने, “अमर दाइ सिकिस्त भएर नर्भिक ल्याउने तयारी भइरहेको छ । तपाईंले भन्दिनुपर्‍यो ।”

रमणले नर्भिकमा डा. भरत रावतलाई भनेर उपचारको चाँजोपाँजो मिलाइदिए । समयमै उपचार भयो । त्यसपछि रमण र अम्बरको सम्बन्ध पुरानै अवस्थामा फर्कियो ।  

नारायण गोपालसँगको किस्सा
रेडियोमा सुन्दा रमण नारायण गोपालका फ्यान थिए । औधी मन पर्ने उनका गीत । मन पर्ने गायकसँग भेट्ने लोभ त्यही बेलादेखि पलाएको थियो । 

तर काठमाडौंको साथीसङ्गातीले हिँड्ने बाटो मोडियो । गायक हुने सपना छोडियो । अभिनय हुँदै कलम समाए । तर पनि देशकै नामी गायक भेट्ने रहर मरेको थिएन । ०४१ मा बुलु मुकारुङले पहिलोपटक  नारायण गोपालसँग भेटाए रमणलाई । अनौपचारिक गफगाफ भयो । 

भेटघाट बाक्लियो । घरमा गइहन्थे रमण । घरमै हुन्थे नारायण गोपाल । रसिला मान्छे उनलाई ‘जोक्स’ सुनाइरहन्थे । रमाइला कुरा गरिरहन्थे । एक दिन नारायण गोपालले रमणलाई रियल किस्सा सुनाए । त्यही किस्सा अहिले रमणले हामीलाई सुनाए, “एक जना नायक फिल्म बनाउँदैछु भनेर नारायण गोपालकोमा पुगेछन् । नेपाल बैङ्कबाट लोन लिएर फिल्म बनाउँदै थिए ती नायक । उनले कस्तो फिल्म बनाउने, विषय के हो, पृष्ठभूमि के हो, कस्तो गीत चाहिने हो ? भनेर सोधेछन् । सबै कुरा सकिएपछि नारायण गोपालले पारिश्रमिकको कुरा गरेछन् । पारिश्रमिकको कुरा गरेपछि ती नायकले भनेछन्– दाइ बैङ्कबाट लोन लिएर बनाउन लागेको पारिश्रमिक त दिन सक्दिनँ । मलाई सहयोग गरिदिनुपर्‍यो । पछि चलचित्रले कमाइ ग¥यो भने दिन्छु । नारायण गोपालले भनेछन्– हेर्नुस् भाइ तपाईंको आवाज मैले सुनेँ । तपाईंको आवाज सुनेपछि मलाई के लाग्यो भने, त्यसमा मेरो स्वर सुट हुँदैन । त्यसैले शिवशङ्करलाई गाउन लगाउनूस् । शिवशङ्कर राम्रो सङ्गीत गर्ने, तर स्वर राम्रो नभएका व्यक्ति थिए ।’’ (नायक र चलचित्रको नाम रमणले भन्न चाहेनन् ।)

‘रुपरङ्ग’ पत्रिकाका लागि रमण मीन बज्राचार्यलाई लिएर अन्तरवार्ता लिन नारायण गोपालको घर पुगे । ‘साप्ताहिक मञ्च’मा हरिहर विरहीले अन्तरवार्ता लिएको दुई सातामात्रै भएको थियो । त्यसैले उनले रमणलाई भने, “अन्तरवार्ता भर्खर ‘साप्ताहिक मञ्च’लाई दिएको, एक–दुई महिनापछि गरौंला । तर म तपाईंलाई अन्तरवार्ता दिन्छु ।” 

अन्तरवार्ता त त्यो बेला रमणले लिन पाएनन् । तर तस्बिर भने खिचे । “त्यो दिन उहाँले फोटो सेसन भने गर्नुभयो । पोजपोजको फोटो हामीले खिचायौं । आँगनमा, दलानमा, चौरमा, बार्दलीमा, कोठामा, हार्मोनियम बजाउँदै, हातमा चुरोट लिन लगाएर उहाँको फोटो खिच्यौं,” रमण नोस्टाल्जिक हुन्छन्, “अहिले जति पनि उहाँका रङ्गीन र राम्रा तस्बिर छन् ती सबै हामीले त्यो दिन गरेको फोटो सेसनका तस्बिर हुन् । त्यो नै उहाँको अन्तिम फोटो सेसन हुन पुग्यो ।” 

नारायण गोपालसँग थुप्रै अनौपचारिक भेटघाट र गफगाफ भए पनि उनीसँग अन्तरवार्ता लिने मौका भने रमणलाई कहिल्यै जुरेन ।    

भुवन केसी र टोलमा इज्जत
रमणको सम्झनाको तरेलीमा अनगिन्ती यादहरु कुँडुलो परेर बसेका छन् । कति राम्रा, कति नराम्रा । कति भन्न मिल्ने त कति नभन्दै राम्रो हुने । 

भुवन केसीसँगको प्रसङ्ग सुनाउँछन् रमण । रमणलाई साँच्चै हिरो जस्तो भुवन केसीमात्रै लाग्थ्यो । चक्लेटी लुक्स । सधैं चिटिक्क परेर हिँड्ने । आफ्नै गाडी त्यो पनि फेरेर चढ्ने । बागबजारको महङ्गा सैलुनमा कपाल काट्ने । स्टारडम राख्न सक्ने हिरो भुवनमात्रै हुन् जस्तो लाग्थ्यो । 

विषय के थियो ? रमणको सम्झनाको तरेलीबाट पाखा लागिसक्यो । तर घटना भने आलै छ । भुवनविरुद्ध पत्रकार सम्मेलन भएको थियो । पत्रिकाले समाचार लेखेछ । भुवनलाई पर्‍यो आपत् । खण्डन कसरी गर्ने ? 

शान्तिनगरबाट भित्र रमणले घर बनाएर भर्खर सरेका थिए । बाटो बनेकै थिएन (०४९) । हिलैहिलो थियो । बीच बाटैमा गाडी छोडेर उनी पाइन्ट सुर्केर हिँडे । “भुवन केसीलाई त्यो बेला सबैले चिन्थे । भुवन कसकोमा आयो भनेर सबैले हेरे । भुवन मेरोमा आए । तीन–चार कप चिया खाएर गफ गर्‍र्यौं,” रमण भन्छन्, “बागबजारमा पत्रकार सम्मेलन गर्ने कुरा भयो । भुवनलाई छोड्न म उनीसँगै गाडी छोडेको ठाउँसम्म फर्किएँ । भुवनसँग मलाई देखेपछि त्यो टोलका मान्छेले चर्चित हिरोसँग यस्तो राम्रो सम्बन्ध भएको मान्छे पो रहेछ यो भनेर त्यो टोलमा मलाई सबैले चिने ।”

त्यो पत्रकार सम्मेलनमा रमणले भुवनको पक्षमा बोल्दिए । भुवन सजायको भागी छैनन् भनेर उनले भन्दिए ।  

भुवनलाई अपशब्द प्रयोग गरेको आरोप लागेको थियो । भुवनले त्यो पत्रकार सम्मलेनमा भनेका थिए, “म रिसाएको हो । गाली पनि गरेको हो । तर पत्रिकामा छापिएजस्तो छुद्र शब्द प्रयोग गरेकै छैन ।” 

० ० ०

पत्रकारिता पेशा । कहिले कुनमा कहिले कुनमा ठेगान नै नहुने । प्रायः बिट परिवर्तन भइरहने । तर रमणले त्यो गरेनन् । मात्रै परिस्थिति र समयअनुसार सञ्चारगृहमात्रै परिवर्तन गरिरहे । ‘साप्ताहिक मञ्च’मा काम गर्दाको एउटा काहानी कहे रमणले । कहानीमा जोडिएका थिए– सङ्गीतकार बुलु मुकारुङ । बुलु रेडियो नेपालमा काम गर्थे । कडा मिजास र आक्रोशित स्वाभावका उनले घिमिरे थरका एक सहकर्मीलाई कुटेछन् । ‘सुलसुले’ स्तम्भमा त्यही घटना छापियो । 

कहिले चिनजान नै नभएका बुलु जङ्गिँदै आए । रमणलाई थर्काउन खोजे । रमणको नाम त थिएन । तर कला–साहित्यसँग सम्बन्धित सुलेसुले आयो भने त्यो रमणले नै लेखेको सबैले लख काट्थे । र, हो पनि । रमणले नै लेखेका थिए । 
“तपाईंले कुटेकै हो । के भयो त ? तपाईंको नाम नै भयो । मान्छेले चिने । राम्रै त भयो । कहिलेकाहीँ यस्तो हुन्छ,” रमणले बुुलुलाई थामथुम पारे । 

अप्रिय घटनाबाट भएको चिनजान प्रगाढ मित्रतामा बदलियो । रमणको पहिलो गीत बुलुले नै सङ्गीत गरे । उनकै पहलमा रेडियो नेपालमा रमणको गीत रेकर्ड भयो । त्यसपछि रमणको दोस्रो गीत ‘धन र दौलत...’ मा पनि बुलुले नै सङ्गीत गरे ।

‘सुलसुले’ले गराएको बुलुसँगको भेटपछि गायक बन्ने रमणको सपना पूरा नभए पनि गायनसँगै जोडिने गीतकार बनेर निस्किने अवसर मिल्यो । गीत गाउने धोको पूरा नभए पनि लेख्ने धोको पूरा भयो । 

पत्रकारका रुपमा चिनिसकेका रमणको भेट एकेडेमीमा शम्भूजीत बास्कोटासँग दिनहुँजस्तै हुन्थ्यो । रमणको एउटा गीत शम्भूजीतले ट्युनिङ गरिरहेका थिए । यम बरालले गाउने भएका थिए । 

यमले गीत छोडे । रामकृष्ण ढकालले मुम्बई गएर रेकर्ड गराए । त्यो गीत थियो, ‘रिसाउँदा नि आफ्नै खुसी हुँदा नि आफ्नै...’ । “यो गीतले मलाई गीतकारका रुपमा चिनायो,” रमणको मुहार उज्यालियो । 

रमण पत्रकारसँगै गीतकारका रुपमा स्थापित हुँदै गए । दुई सयभन्दा धेरै गीत रेकर्ड हुँदा दर्जनौं गीत लोकप्रिय हुन पुगे । 

१. आधी बाटो हिँडेपछि...,

२, कहिले तिम्रो पछ्यौरीमा अल्झेँ...,

३, बुढापाका भन्थे...,

लोकप्रिय गीतको सूची पनि लामै छ रमणसँग । 

एकातिर गीतकार, अर्को पेशा पत्रकारिता । सम्बन्ध–सम्पर्क सबैसँग राम्रो हुने नै भयो । त्यसमा पनि मिजासिलो उनको स्वभाव । 

थुप्रै लिजेन्ड गायक–गायिकासँग अन्तरङ्ग कुराकानी गरे । अम्बर गुरुङदेखि अरुणा लामासँग । गफैगफमा रमणले सम्झिए तारादेवीलाई । अन्तरवार्ता लिने भए । समय तय भयो । स्थान रेडियो नेपाल । 

अन्तरवार्ताका लागि डायरीको पानामा तयार प्रश्न सकिए । मस्तिष्कमा रहेका प्रश्न पनि सकिए । तर तारादेवीले बोलेको रेकर्डरमा मुस्किलले दुई–तीन मिनेटमात्रै भयो । “एस, नो मा जवाफ दिने उहाँको बानी थियो । आफैंले उहाँको भाव र विचार बुझेर एस नो लाई डिस्क्रिप्सन गर्नुपथ्र्यो,” रमणले तारादेवीको बोल्ने शैली सुनाए । 

कालजयी गीतका गायक अधिकांश मन्दिरबाट आएको रमणलाई थाहा छ । यसै भन्थे अग्रज गायक उनीसँग । सम्झनाको पोयो फुकाउँछन् रमण र भन्छन्, “उहाँहरु नै भन्नुहुन्थ्यो हामी सबै गायक मन्दिरबाट आएका हौं ।”

नारायण गोपाल सेतो मत्स्येन्द्रनाथमा भजन गाउँथे । नातीकाजी जयबागेश्वरीको मन्दिरमाप अनि फत्तेमान राजभण्डारी पशुपतिनाथ मन्दिरमा भजन गाउँथे भने शिवशङ्कर पनि कालिमाटीको कुनै मन्दिरमा भजन नै गाउँथे । 

० ० ०

जिन्दगीको उकालीओरालीमा सधैं जसमात्रै कहाँ पाइन्छ र ! कहिलेकाहीँ भाग्यमा अपजस पनि आइपुग्छ । यस्तै दुइटा अन्तरवार्ता लिए रमणले । ती अन्तरवार्ताका कारण अन्तरवार्ता दिनेले असहज महसुस गर्नुपर्‍यो । आलोचनाको सिकार हुनुपर्‍यो । यद्यपि, रमणले उनीहरुलाई झुक्याएका थिएनन् । अन्तरवार्ता दिने भनेर सोधेका थिए । लिइसकेपछि छाप्दा फरक पर्दैन नि ? भनेर पनि सोधेका थिए । 

एक जना गायक थिए । असाध्यै सुमधुर थियो उनको स्वर । होटलहोटलमा गाउँथे । भलै उनले स्टुडियोमा गाएनन् । होटलमा भेट हुँदाहुँदै ती गायकसँग राम्रो चिनजान भइसकेको थियो रमणको । एक दिन रमणले भने, “अन्तरवार्ता दिने हो ?” 
ती गायकले भने, “हुन्छ । तपाईंसँग कुरा गर्न के भयो र ?”

ती गायकको स्वर यति राम्रो थियो कि युवतीहरु उनको गायकीबाट प्रभावित भैहाल्थे । गायकीकै कारण थप्रै युवतीसँग उनको सम्पर्क–सम्बन्ध थियो । ‘चेन रिलेसन’मा बस्थे भन्ने रमणलाई थाहा थियो । उनले सोधे, “तपाईंसँग थुप्रै युवती सम्बन्धमा छन् रे ! चेन रिलेसनमा हुनुहुन्छ रे हो ?’’

जसरी निस्फिक्री रमणले प्रश्न गरेका थिए उनले पनि बिनाहिचकिचाहट खुलेर भने ‘हो’ ।

रमणले सोधे, यो लेख्दा केही फरक पर्दैन ?

उनले अनुमति दिए । 

यस्तै अर्को अन्तरवार्ता पनि लिएका थिए रमणले । ती व्यक्ति थिए, नायक । नाम अहिले पनि लुकाउँछन् रमण । तर विषय लुकाउँदैनन् । विपरीत लिङ्गीसँगको सम्बन्ध नै विषय थियो । उनले भनेका थिए, “थुप्रै युवतीसँग रिलेसनमा छु । केही नायिकाहरु पनि मसँग रिलेसनमा छन् ।”

रमणले गायकलाई जस्तै उसैगरी सोधे, “छाप्दा हुन्छ, केही फरक पर्दैन ?”

गायकले जस्तै नायकले पनि भने, “हुन्छ, केही फरक पर्दैन । छाप्दिनूस् ।”  

तर उनीहरुले सोचेजस्तो सामान्य समय र अवस्था थिएन । प्रतिक्रिया नकारात्मक आयो । आलोचना र गालीले उनीहरुको कान पाक्यो । 

त्यसपछि रमणसँग गुनासो गरे, “रमणजी तपाईंले लिएको अन्तरवार्ताले...!”

रमणले भन्दिए, “मैले सोधेकै थिएँ नि, छापौं कि नछापौं भनेर ।”

रमण आफ्नो उमेर र समयको तुलना गर्दै भन्छन्, “सायद आज थियो भने म ती अन्तरवार्ता छाप्दैनथेँ । अहिलेको मेरो स्वभावले त्यो दिँदैन । त्यो बेला अल्लारे उमेर थियो । के सबैभन्दा धेरै बिक्री हुन्छ र चर्चा हुन्छ भन्ने मात्रै ध्यान हुन्थ्यो ।”  

० ० ०

करिष्मा मानन्धरले आफ्नै लगानीमा चलचित्र निर्माण गरेकी थिइन्, ‘बाबुसाहेब’ । प्रिमियर सो गरिन् । प्रिमियरमा रमण पनि गएका थिए । सो सकियो । रमणले छोटो कुरा गरे । करिष्माले भनिन्, “गार्मेन्ट उद्योगबाट आएको मान्छे आज यहाँसम्म आइपुगेँ ।”

यसैलाई आधार बनाएर रमणले समाचार बनाए, ‘नेपाल’का लागि । 

सम्पादक विजयकुमारले भने, “रमणजी करिष्माको लाइफस्टोरी गरौं न ।” 

“गर्ने भए गरौं ।”

विजयकुमार र रमणले करिष्मासँग विस्तृतमा कुरा गरे । करिष्माले गार्मेन्टमा काम गर्दा पाएको दुःख । चलचित्र नगरीमा प्रवेश । चलचित्रमा गर्नुपरेको सङ्घर्ष । प्रकाश थापाले करिष्मालाई चलचित्रमा खेल्नै दिन्न भनेका कुरासम्म समेटिएको स्टोरी गरे । कभरस्टोरी नै भयो । 

त्यसपछि सेलिब्रिटीहरु रमणलाई खोज्दै आफैं आउन थाले स्टोरीका लागि । उद्धव पौडेलको पनि स्टोरी गरे । उद्धवले श्रीमती आफूलाई छोडेर भागेर अमेरिका गएको प्रसङ्ग पनि नढाँटी भनेको रमणले बिर्सिएका छैनन् । 

रामकृष्ण ढकालको पनि त्यस्तै स्टोरी लेखे । जसमा गाडीमा गाउँदै हिँडेको र चितवनमा बदाम बेच्दै हिँडेको प्रसङ्ग समेटियो । पछि विजयकुमारले तिनै स्टोरीका आधारमा रामकृष्ण र करिष्माको टेलिभिजन अन्तरवार्ता गरे । 

कलाकारहरुको मन जिते रमणले । सूचना तोडमोड गर्दैन र अन्टसन्ट लेख्दैन भनेर कलाजगत्मा उनको छवि बन्यो । जसलाई रमणले अहिले पनि टिकाइरहेका छन् । 

“पत्रकारिता गरेर मैले कमाएको यही छविमात्रै हो,” गफको बिट मारे रमणले ।   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २८, २०७६  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement