site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
ढिठो प्रेम
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


२०२२ सालमा पहिलोपटक जुम्ला (अहिले कालिकोट)मा एसएलसीको परीक्षा केन्द्र हुने भयो । एक जना पनि विद्यार्थी पास नभए केन्द्रै खारेज हुन्थ्यो । केन्द्र खारेज हुने अनुमान गरेर शान्ति विद्यागृह माध्यमिक विद्यालय काठमाडौंमा पढ्दै गरेका प्रेम कैदीलाई जुम्लीले बोलाए । 

गृह जिल्लाको कल्याण गर्नै पर्‍यो । काठमाडौंबाट नेपालगञ्ज त पुगे, तर जुम्ला पुग्न अहिलेजस्तो सहज थिएन । कार्गो हवाईजहाजमा चढेर उनी जुम्ला लागे ।  विडम्बना ! जहाज कर्णालीको तिरैतिर हुम्लातिर लागेछ । प्रेमले गाउँको छहरा देखेपछि पाइलटलाई भने, “हामी हुम्लातिर आयौं ।” 

Prabhu Bank
Agni Group
NIC Asia

जहाज तिला नदी हुँदै फर्किएर जुम्लातिर लाग्यो । माघको महिना थियो । चारैतिर हिमपात । काठमाडौंमा बसेर पढ्न थालेकाले उताको चिसो उनको शरीरले थेग्न छोडिसकेको थियो । हात कठ्याङग्रिएर जानेको पनि लेख्न सकेनन् । तै, तेस्रो श्रेणीमा पास भए । “काठमाडौंका मेरा सबै साथीहरुले फस्र्ट डिभिजनमा पास गरे मैले भने सेकेन्ड डिभिजन पनि ल्याउन सकिनँ,” प्रेम चुक्चुकाउँछन्, “बीएससी एजीमा छात्रवृत्तिमा पढ्ने सपना मेरो अधुरै रह्यो । तर जुम्लामा एसएलसी नदिएको भए म यतिबेला कुनै कृषिको हाकिम भएर भ्रष्टाचार गरेर बसिरहेको हुने थिएँ । जुम्लाको एसएलसीले जे गर्‍यो, ठीक गर्‍यो । हैन भने म बर्बाद हुन्थेँ ।”

जुम्लाको एलएलसीपछि प्रेम त्रिचन्द्र कलेजमा विज्ञान पढ्न भर्ना भए । पञ्चायतको समय, कलेजमा पढाइ कम र राजनीति ज्यादा हुन्थ्यो । त्यही वर्ष खोर्सानी काण्ड (२०२६) भयो । पढाइ बन्द भयो । प्रेमका बुवा काङ्ग्रेसको मुखपत्र ‘तरुण’ गाउँमा वितरण गरेको आरोपमा वारेन्ट पाएर बर्दियामा मिल चलाएर बसिरहेका थिए । त्यहाँबाट पनि निर्वासित भएर उनी भारत पसे ।

Global Ime bank

कलेजमा पढाइ नभएपछि उनी बुवा भएको ठाउँमा पुगे । छोरो प्रेमलाई इन्जिनियर बनाउने रहर थियो उनको । भारतमै भएका बेला उनले एक वर्षे रेडियो इन्जिनियरको कोर्स गर्न प्रेमलाई पञ्जाव पठाए । प्रेमले भने आफ्नो कोर्सभन्दा बढी माक्र्सवादी कम्युनिस्टको दर्शनसँगै इतिवृत्तान्त समेटिएको स्टालिनको पुस्तक पढे, पूरै नौ महिना लगाएर । त्यसले उनलाई दर्शन शास्त्रबारे गहिरो ज्ञान दियो । 

पहिलेदेखि नै लेख्ने बानी थियो उनको । चलचित्रको पटकथामा उनको रुचि थियो । त्यो लेख्थे । जासुसी उपन्यास पनि लेख्थे । आईएस्सी पढ्दापढ्दै उनका केही पुस्तक प्रकाशित भएका थिए । 

आईएस्सी छोडेर इलेक्ट्रिकल इन्जिनियरिङको एक वर्षे कोर्स गरेर फर्किएपछि उनले प्राइभेट आईए पूरा गरे । त्रिचन्द्रमा बीएमा भर्ना भए । 

त्यहीबेला भारतले सिक्किम विलय गरायो । पत्रपत्रिकामा लेख लेख्ने, जासुसी उपन्यास प्रकाशन भइसकेका । हरेक मञ्चमा कविता पाठ गर्ने । उपनाम पनि कैदी । उनी चर्चित थिए । 

सिक्किम भारतमा विलय भएपछि त्यसको विरोधमा उनले त्रिचन्द्रमा कार्यक्रम नै आयोजना गरे । कुनै पनि स्वतन्त्र मुलुकललाई हडप्ने कार्यको उनी घोर विरोधी थिए । त्यही कार्यक्रममा अखिल र नेविसङ्घको झडप भयो । दुवै पक्षलाई मिलाउने काममा संयोजनकारी भूमिका उनैले निर्वाह गरे । उनी मान्छेलाई कसरी सम्झाइबुझाइ थामथुम पार्ने भन्ने कुरामा जानकार थिए । 

काठमाडौंका २६ वटा कलेजमा प्रतिनिधि पठाएर भोलिपल्ट हजारौंको जुलुस लिएर भारतीय दूतावास घेर्न गए । “त्यो जुलुसमा सबैभन्दा पहिला मलाई नै प्रहरीले गिरफ्तार गर्‍यो,” प्रेम सुनाउँछन्, “त्यो बेला नेविसङ्घ र अखिलबीचको सम्बन्ध राम्रो नभएकाले मैले स्वतन्त्र व्यक्तिको रुपमा त्यो जुलुसको व्यवस्थापन गर्ने काम गरेको थिएँ ।” प्रहरीले उनलाई चिल्ड्रेन पार्कमा लगेर राखेको थियो । प्रहरीलाई देखेर कुकुरले झम्टियो । प्रहरीहरु कुकुर धपाउनतिर लागेको मौका छोपेर प्रेम भागे ।

आन्दोलन तितरवितर पार्न प्रहरीले लठ्ठी प्रहार गर्‍यो । अश्रुग्यास हान्यो । प्रहरी निरीक्षक अच्युतकृष्ण खरेल (पछि प्रहरी महानिरीक्षक बनेका) नेतृत्वको टोलीले शान्तिपूर्ण आन्दोलनमा बाधा पुर्‍याइरहेको थियो । 

प्रेम कुनै राजनीतिक दल र विद्यार्थी सङ्गठनमा नबसे पनि अखिलनिटक थिए । 

राजनीतिक सङ्गठनमाथि चर्को सरकारी दमन थियो । तर प्रेम खुलेर कुनै सङ्गठनमा थिएनन्, त्यसैले पनि उनलाई प्रदर्शन गर्दै हिँड्न सहज भएको थियो । उनी साथीहरु लिएर प्रत्येक कलेजमा आम हड्ताल गर्ने भन्दै हिँडे । 

“कलेज बन्द गराउँदै हिँड्दा शङ्करदेव कलेजमा पढाइ भइरहेको थियो । हामीले आफ्नो अभियानमा साथ दिन आग्रह गर्‍यौं । तर केही व्यापारीका छोराहरुले हामीलाई सुनेनन्,” प्रेम सुनाउँछन्, “हामीसँगै एक युवती थिइन्, उनले भनिन्– तपाईंहरुले लगाएको पाइन्ट–सर्ट फुकालेर मलाई दिनुस् म लगाउँछु । मैले लगाएको यो लुगा म दिन्छु, तपाईंहरु लगाउनुस् । त्यसरी बेइज्जत गरेपछि उनीहरुले पनि हामीलाई साथ दिए ।”

कलेज बन्द गराउँदै हिडेका उनीहरु रत्नपार्क पुगेपछि भ्याली एसपी डीबी लामा नेतृत्वको प्रहरीले प्रेमलगायतलाई गिरफ्तार गरेर अञ्चलाधीश कार्यालय पुर्‍यायो । त्यहाँ प्रेमले भेटे– नारायण ढकाल, कमानसिंह लामा, बलराम बाँस्कोटा, सुबास नेम्बाङ, गङ्गाधर लम्साल, देवराज देवकोटालगायत ।

भारतीय विस्तारवादविरुद्ध र साना देशहरुको स्वाधीनताको पक्षमा भएको आन्दोलनलाई सरकारले ‘ट्याकल’ गर्न जानेन । भारतमा सिक्किम विलयविरुद्धको आन्दोलनले नेपालको पञ्चायतविरुद्धको जनमत आन्दोलनका रुप लियो । त्यही आन्दोलनपछि सबैभन्दा लामो विद्यार्थी आन्दोलन (६ महिना) हुन पुग्यो । सरकारले सेना लगाएर दबाउनुपर्‍यो । 

० ० ०

दमनको सीमा नाघिसकेको थियो । विद्यार्थीलाई साहित्यिक कार्यक्रम गर्नसमेत बन्देज लगाइदिएको थियो । २०३४ सालतिर फर्किन्छन् प्रेम । पञ्चायतनिकट विद्यार्थीहरुले कवि गोष्ठी पनि हुन दिँदैनथे । 

साहित्यिक पत्रकार सङ्घको तर्फबाट बासु शशि र हरिभक्त कटुवाललगायतले रत्न राज्यलक्ष्मी क्याम्पसमा सहिद दिवसको अवसर पारेर साहित्यिक कार्यक्रम आयोजना गरे । राजनीतिक निरङ्कुशता व्यक्तिव्यक्तिको कलमसम्म पुगेको थियो ।

परिणामः सबैले त्यहाँ सुनाए कविता । त्यहीँ सुनाए प्रेमले– 

सहिदहरु जो मूर्तिवत् छन् उनीहरुको सम्मान हुन्छ 
सहिदहरु जो सशरीर छन् उनीहरुको हत्या हुन्छ 
यो सहिदहरुको हत्या हुने समय 
यो सिर्जनाको विध्वंश हुने समय... ।

प्रेमले सहिदबारे लेखिएको राजनीतिक कविता सुनाएपछि, वासु शशिले भने– कविता भनेको यस्तो हुनुपर्छ । उनले खुलेर प्रशंसा गरे । 

भारतमा सिक्मिको विलयविरुद्ध सुरु भएको आन्दोलन पञ्चायतविरुद्ध केन्द्रित भइरहेको थियो । आन्दोलनमा सक्रिय थिए प्रेम । दिनभर आन्दोलनमा हिँड्थे । साँझ समाचार लेखेर लिथो गर्थे । त्यही एउटै समाचार सबै सञ्चार गृहमा पुर्‍याउँथे ।

आन्दोलनको समाचार प्रकाशन गर्ने पत्रिकालाई समाचार चाहिएकै हुन्थ्यो । दुरुस्तै त्यही समाचार अधिकांश पत्रिकामा छापिन्थ्यो । 

त्यसअघि, पहिलो पटक २०२३ सालदेखि सम्पादकलाई चिठ्ठीमार्फत् प्रेमका विचारहरु पत्रपत्रिकामा छापिन थालिसकेका थिए । ‘नयाँ समाज’मा पहिलोपटक उनले लेखेको सम्पादकलाई चिठ्ठी छापिएको थियो । त्यसले उनमा  लेखनप्रति आत्मविश्वास जगायो । आशाको दियो बल्यो । २०२७ सालदेखि कथा र लेखहरु छपाउन थाले । 

‘मातृभूमि’ पत्रिकामा उनको पहिलो कथा छापियो । ‘नलेखिएको कथा’ शीर्षकको प्रेमको कथाले पाठकको अन जित्यो । उनको विद्रोही सोचले उठान गरेको सीमान्तकृत समुदायको कथा थियो त्यो । २७ देखि २९ सम्मको समयलाई उनी आफ्नो साहित्य लेखनको ऊर्बर कालखण्ड भन्न रुचाउँछन् । प्रेम भन्छन्, “ती वर्ष अधिकांश पत्रिकामा मेरा कथा–कविता छापिन्थे । मेरा सिर्जना नछापिएका पत्रिका पाउनै गाह्रो थियो ।” यसो भनिरहँदा उनको अनुहारमा प्रशन्नताका रेखाहरु दौडिन्छन् । 

० ० ० 

२०२७ मा समाचार लेख्न प्रेमले आफ्नै घटनाबाट सुरु गरे । नेपालगञ्जका विद्यार्थीले भारतीय प्रहरीलाई कुटपिट गरेका रहेछन् । आफ्नो भूमिमा भारतीय प्रहरीले नेपाली विद्यार्थीलाई देख्नै नहुने कुटिहाल्ने । काठमाडौंबाट गएका प्रेमलाई त्यो घटना थाहा थिएन । नानपारा पुगेका उनलाई भारतीय प्रहरीले लम्कीझम्की गर्‍यो । झोला खानतलास गरियो । चाइनिज टुथपेस्ट भेटे । ‘यो विदेशी टुथपेस्ट किन बोकेको’ भन्दै निहुँ पारेर डण्डा उठाए । प्रेमले भारतीय प्रहरीलाई सोधे, “म काठमाडौंबाट आएको मलाई केही थाहा छैन । मबाट के गल्ती भयो ?”

उनले कारण सोधे । थाहा पाए । त्यसपछि अनुनय–विनय गरे । ठीक त्यहीबेला पुलिस अफिसर आइपुगे । उसले कुरा बुझ्यो । धन्न बचे !

त्यो घटनाले उनलाई रिस उठ्यो । नानपाराको रेलवे स्टेसनमा बसेर समाचार लेखे । हुलाकमार्फत् ‘मातृभूमि’ साप्ताहिकलाई पठाए । ‘मातृभूमि’ले पहिलो पृष्ठमा महत्वका साथ त्यो छाप्यो । समाचारमा भारतीय प्रहरीले नेपालीमाथि गर्ने ज्यादतिलाई बाहिर ल्याइएको थियो । 

० ० ०

त्यहाँबाट प्रेम पुगे कालिकोट । कालिकोटमा चरम् भोकमरी थियो । दुई किलो चामलका लागि जनता लामो लाइन बस्थे । त्यहाँ उनले देखे– प्रहरीको ज्यादति । प्रहरी अधिकृत त्यहाँ घर बनाउँदै थिए । स्थानीय जनतालाई हावाकावा पार्ने, कुट्ने र चामल आफू लिने प्रहरीको व्यवहार देखेका प्रेमले त्यसलाई पनि समाचारमा उतारे । 

‘मातृभूमि’ले त्यसलाई ठूलो महत्वका साथ छापिदियो । त्यो समाचारको प्रभाव कालिकोटमात्रै होइन पूरै कर्णाली अञ्चलमा पर्‍यो । एउटा गाउँको समाचार राष्ट्रिय मुद्दा बन्यो । जनता प्रहरी प्रशासनविरुद्ध विद्रोह गर्ने अवस्थामा पुगे । गृह सहायक मन्त्री हरिश्चन्द्र महत सोही विषयलाई लिएर कालिकोट भ्रमणमा गए ।  

० ० ०

२०३२ सालमा फर्किन्छन् प्रेम । आन्दोलन गरेको आरोपमा रानजनीतिक बन्दीका रुपमा उनी जेल परेका थिए । जेल मुक्त भएपछि उनले थाहा पाए– जुम्लाबाट हवाईजहाजमा चरेस र मूर्तिहरु ल्याइन्छ । 

नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री थिए । उनका साला कर्णाली अञ्चलाधीश थिए । अञ्चलाधीशकै मिलेमतोमा तस्करी हुन्छ भन्ने प्रेमले थाहा पाए । 

जुम्लामा रहेका आफ्ना साथीहरुलाई यसबारे बुझ्न लगाए । अञ्चलाधीशले पठाएको बन्द सामग्रीमा हीराको आँखा भएको शिवको मूर्ति छ भन्ने उनले जानकारी पाए । ‘‘तिब्बतीबाट अञ्चलाधीशले किनेको भन्ने सूचना थियो । त्यो सामग्री रोक्न युवाहरु विमानस्थल पुगे । ‘गाउँ फर्क’ अभियानका अध्यक्ष नीरविक्रम शाहको सहयोग मागे । नीरविक्रमले जनप्रतिनिधि हरिश्चन्द्रलाई भन्नु भने । हरिश्चन्द्र पनि डराए । आर्मीको मेजरले भ्रष्टाचारविरुद्ध साथ दिन सेना तयार छ भनेपछि हरिश्चन्द्र महत त्यो सामग्रीमाथि बसे । र, खोल्न आग्रह गरे । खोल्दा ७५ केजी चरेस भेटियो,” उनले सुनाए ।  

समाचारका लागि त त्यो ठूलो सूचना थियो । तर काठमाडौंका अखबारले छाप्न मानेनन् । सरकारको कामकारबाहीको खबरदारी गर्ने आधा दर्जन पत्रपत्रिका सरकारले बन्द गरिदिएको थियो । सरकारी गुण्डाहरु प्रेमको पछाडि लागिरहेका थिए ।   
“म समाज पत्रिकाका सम्पादक मणिराज उपाध्यायको कार्यालयमा गएँ । उहाँले मलाई देख्नासाथ भन्नुभयो, ‘‘यो राजनीति गर्ने ठाउँ हैन । पार्टीको झण्डा बोक्ने मेरोमा नआए हुन्छ ।” बाटै बन्द भयो । गर्ने के ?

समाचार नछापिने भयो भनेर तनावमा क्षेत्रपाटीतिर घुमिरहेका बेला उनले शक्ति लम्साल (स्तम्भकार) र नारायण गजुरेल (सम्पादक) लाई बाटैमा भेटे । उनलाई प्रेमले चिया खान लगे र एउटा सानो समाचार छ यो छापिदिनुहुन्छ कि दाइ भन्दै नारायणलाई दिए । शक्तिले भने, ‘कैदी भाइले एकदम राम्रो लेख्छ । कैदीभाइजस्तो राम्रो पत्रकार कोही छैन । कहिल्यै असत्य कुरा लेख्दैन । छाप्नैपर्छ ।’

नारायणले हेरे, ‘झण्डाको छत्रछायाँमा अवैध व्यापार, जुम्लामा ७५ केजी चरेस बरामद’ समाचारको शीर्षक थियो । ‘‘जुम्लामा चरेस बरामद भएको भन्ने त मैले पनि सुनेको थिएँ । तर यस्तो समाचार हामीकहाँ आएको थिएन । मिलाएर हेर्नुपर्छ,’’ नारायणले भने ।

उनीहरु ‘समाज’तिर गए । प्रेमले आफ्नै बाटो समाए ।  

मणिराज उपाध्यायले थाहै नपाई प्रेमको समाचार छापियो । समाचार बजारमा आएपछि प्रहरीले मणिराजलाई गिरफ्तार ग¥यो । अञ्चलाधीश कार्यालयमा गएर मणिराजले भने– ‘तीन करोड रुपैयाँ गुप्तचर विभागमा तपाईंले खर्च गर्ने, मलाई गिरफ्तार गर्ने ?’

समाचारको स्रोत सरकारले सोध्यो । मणिराजले प्रेम कैदीलाई पोलेनन् । भने, ‘‘मैले छापेको हो । समाचार सत्य हैन भने मलाई कारवाही गरे हुन्छ ।’’

झण्डाले राजतन्त्रलाई सङ्केत गरेको थियो । राजतन्त्रको मानमर्दन गरेको आरोप लगाएर राजकाज मुद्दा लगाई मणिराजलाई थुन्ने तयारीमा सरकार लाग्यो । तर राजा वीरेन्द्र उदार स्वाभावका भएकाले मणिराजलाई कैद नगर्न हुकुम दिए । मणि छुटे । 

“मणिराजका मान्छेहरु कैदीले फसायो भनेर मलाई खोजिरहेका थिए । मैले के गर्ने ?” प्रेम नोस्टाल्जिक हुन्छन्, “योगी नरहरीनाथकोमा गएँ । कीर्तिनिधि विष्टलाई फोन गरेँ । पृथ्वीमान सिंहलाई फोन गरेँ । सबैले भने– राजाका मुख्य सचिव रञ्जनराज खनालकोमा जाऊ ।”

योगी नरहरिनाथलाई लिएर प्रेम रञ्जनराजकोमा गए । रञ्जनराजले योगी नरहरिनाथलाई ढोगे र प्रेमलाई सोधे, ‘किन आएको ?’ 

प्रेम: जुम्लाको ७५ केजी चरेसको सन्दर्भमा आएको । 

रञ्जनराज: कहाँ पढ्छौ ?

प्रेम: त्रिचन्द्र कलेज ?

रञ्जनराज: विद्यार्थी भएर पढ्ने कि राजनीति गर्ने ? नचाहिने नचाहिने काम गर्ने ?

योगी नरहरि मुसुमुसु हाँसिरकेका थिए । उनले रञ्जनराजलाई भने– ‘तपाईंले उसको नाम नै सुन्नुभएको छैन ।’

रञ्जनराजले सोधे तिम्रो नाम के हो बाबु ?  

“म भर्खर जेलबाट छुटेर आएको । २०३२ को आन्दोलन चलाउने म पनि एक हुँ । मेरो नाम प्रेम कैदी हो ।”

‘ओ हो, के छ मैले गर्नुपर्ने ? निवेदन छ ?’

छ । 

रञ्जनराज: महाराजलाई भेट्ने हो ? मयलपोस–सुरुवाल लगाएर महाराजलाई भेट्न सकिन्छ ? 

प्रेम: मसँग छैन । कसैसँग मागेर लगाउँदिन पनि । राजासँग मलाई नभेटाउनूस् । तपाईंले नै जे गर्ने हो, गरिदिनू ।

प्रेमले निवेदन दिए । निवेदनमा थियो, ‘जुम्लामा ७५ केजी चरेस तस्करी गर्ने प्रशासक र संलग्नलाई कारबाही गरिपाऊँ ।’ 

राजाले छानविन आयोग बनाए । आयोगको छानविनले समाचार सत्य रहेको ठहर गर्‍यो ।

अञ्चलाधीश तानिए । प्रधानमन्त्रीले उक्त आयोगको प्रतिवेदन आएपछि त्यसलाई दबाउन सकेनन् । कहिल्यै नढल्ने घामजस्ता प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालले राजिनामा दिनुको कारणमध्ये एक त्यो समाचार पनि रहेको प्रेम दाबी गर्छन् । राजाले अपदस्थ गर्ने अवस्थामा पुगेपछि उनले राजिनामा बुझाएका थिए । 

“त्यो बेलाको प्रशासनले समाचारप्रति विश्वास गथ्र्यो । अहिलेको सरकार पत्रकारलाई दुश्मन ठान्छ । पत्रकारिताप्रति त्यो बेला भरोसा थियो, अहिले अतिरञ्जित समाचार भनेर सरकार पन्छिन्छ,” उनी विगत र वर्तमान छुट्ट्याउँछन् । 

० ० ०

नेपालभूषण न्यौपाने सम्पादक रहेको पत्रिका ‘चर्चा’ साप्ताहिकमा जनजाति, महिला तथा सीमान्तकृतको आवाज उनले मुखरित गरे । 

०३२ सालमा पद्मसिंह कार्कीको पत्रिका ‘पर्यवेक्षक’ साप्ताहिकमा प्रेमले सम्पादक भएर काम गरे । यो नेपालगञ्जबाटै प्रकाशन हुन्थ्यो । 

०३८ सालमा लियाकत अली प्रकाशक रहेको ‘सङ्कल्प’ पत्रिका सम्पादन गरे । त्यो पनि नेपालगञ्जबाटै प्रकाशन हुन्थ्यो । पत्रिका प्रकाशनकै दौडमा उनीसँग अर्को पनि अनुभव छ । उनले ‘मालिका’ पाक्षिक दर्ता गरे । जनमत सङ्ग्रहको अवधिमा त उनले पत्रिका प्रकाशन गरे, तर जनमत सङ्ग्रह सकिनेबित्तिकै अञ्चलाधीशले दर्ता खारेज गरिदिए । 

‘कर्णाली’को जुम्लाबाट प्रकाशन गर्ने भनेर प्रेमले ‘कर्णाली’ साप्ताहिक दर्ता गरेका थिए । तर अञ्चलाधीशले जुम्लामा छाप्न दिएनन् । ‘मालिका’जस्तै यो पनि गर्भमै तुहियो । त्यसपछि आएर प्रेमले ‘चर्चा’मा काम गरेका थिए । 

काठमाडौंमा दर्ता नदिएपछि प्रेम नेपालगञ्ज गएर ‘बाँकेको युगधारा’ प्रकाशन सुरु गरे । ६ अङ्क प्रकाशन गरेपछि उनले त्यही पत्रिकालाई काठमाडौं सारे । 

“यो पत्रिकाले नेपाली समाजका भ्रष्टाचार, विकृति र विसङ्गतिविरुद्ध थुप्रै काम गर्‍यो,” प्रेम आफूले प्रकाशन गरेका पत्रिका सम्झिन्छन्, “त्यसपछि मैले युगान्तर साप्ताहिक दर्ता गरेँ । दुवै पत्रिका एकैपटक पनि प्रकाशन गरेँ ।” 

०४५ ‘बाँकेको युगधारा’ र ‘युगान्तर’ सरकारले दुवै पत्रिकाको दर्ता खारेज गरिदियो । उनले अदालतमा मुद्दा दायर गरे । ०४६ को आन्दोलनमा पनि उनी मुद्दा लडिरहेका थिए । आन्दोलनले पञ्चायतको घुँडा टेकाएपछि पत्रिका दर्ता र प्रकाशनमा लाग्दै आएको अङ्कुश हट्यो । पत्रकारिताका लागि स्वतन्त्र वातावरण तयार भयो । उनी पुनः पत्रिका प्रकाशनको यात्रामा लाग्न थाले । 

डलर काण्डको समाचार उनले आफ्नो पत्रिका ‘युगधारा’मा सार्वजनिक गरे । अफ्रिकाबाट ठूलो रकम नेपाल भित्राइदिने भन्दै भारतीयले नेपाल राष्ट्र बैङ्कसँग करोडौं रकम अग्रिम मागेको थियो । रकम दिने तयारी पनि भएको थियो । दरबारकै सदस्य त्यसमा संलग्न भएकाले प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले नाइँ भन्न सकेका थिएनन् । तर उनकै परराष्ट्रमन्त्रीले शङ्का व्यक्त गरेका थिए । खोज्दै जाँदा ठग भएको पत्ता लाग्यो । यदु भट्ट र अर्जुननरसिंह केसीले प्रेमलाई साथ दिए । प्रेमले समाचार लेखे । राष्ट्रिय पञ्चायतमा यो विषयले प्रवेश पायो । अन्तरराष्ट्रिय समाचार संस्थाहरुले पनि यसलाई ठाउँ दिए । राज्यको  ढुकुटीको करोडौं रुपैयाँ जोगियो ।    

० ० ०

०४८ सालमा पत्रिका बन्द गरेर उनी संसद्को चुनाव लड्न कालिकोट गए । 

उनी भन्छन्, “त्यहाँ मैले गल्ती गरेँ ।” 

कस्तो गल्ती ?

गणतन्त्रको पक्षमा लड्छु भनेर अन्तरवार्ता दिएँ । दरबार रिसायो । “मलाई चुनावमा हराउन दरबार पक्षका व्यक्तिलाई पैसा दिएर खटाइयो । त्यतिमात्रै होइन सेना लगाएर मेरो जमानत जफत नै गरिदियो,” प्रेम एउटा अन्तरवार्ताको परिणाम सम्झिन्छन् । त्यसपछि उनले कहिल्यै चुनाव लडेनन् । 

प्रतिपक्षीको जस्तो कलम चलाइरहे । 

“म माओवादीनिकट पुगिसकेको थिएँ । उनीहरुको पक्षमा पत्रिकामा लेख लेख्ने पहिलो व्यक्ति मै हुँ,” प्रेम दाबी गर्छन्, “महिमा साप्ताहिकमा छापिएको लेख नै माओवादीको पक्षमा छापिएको पहिलो लेख हो । र, त्यो मैले नै लेखेको थिएँ । ०५२ फागुन ४ गते त्यो लेख छापिएको थियो । कसैले लेख्ने आँट नगरेका बेला मैले लेखेको थिएँ ।” 

तर जब अन्तरराष्ट्रिय शक्तिले माओवादीभित्र खेल्न थालेको उनले महसुस गरे, त्यसपछि माओवादीबाट आफू अलग भएको प्रेम बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २१, २०७६  ०७:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC