site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मृत्युको आयु तोक्ने डाक्टर
Sarbottam CementSarbottam Cement

अक्षर काका


मृत्यु शाश्वत सत्य हो । चराचर जगत्मा जति पनि जीव–जीवात्मा छन्, ती सबैले मृत्युको बही–खातामा दस्तखत गरेकै हुन्छन् ।

जीवनको अनुभव त जो कसैले गर्छ । तर मृत्युको अनुभूति कसैले पनि गर्न सक्दैनन् । कारण– मृत्युले उसका सारा आन्तरिक प्रत्यक्षणहरू आफूसँगै निःचेष्ट तुल्याइदिन्छ । अचेतनको गर्तमा विलय गरिदिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

र त एकाथरी बिद्वानहरूले दिवङ्गतलाई सीमान्तकृत पात्रका रूपमा पनि उभ्याउने गरेका छन् । 

मृतकहरू वास्तवमै सबाल्र्टन (किनाराकृत) हुन् । उनीहरूले आफ्नो मृत्युको साबिती पस्कन पाउँदैनन् । जिउँदाहरूको बयान नै उनीहरूको मृत्युको दसी, प्रमाण हुन् ।

Global Ime bank

जिउँदाहरू नै भर्सेलामा परिरहेका बेला मरेकाहरूको पछि को लागोस् ? कसले बोलिदेओस् उसको दिवङ्गत आवाज ? अक्षरको कठघरामा उभिएर मृतकको वकालत गर्ने फुर्सद कसलाई पो होस् !

तर विरलाकोटीका रूपमा देखा परेका छन्– लघु कथाशिल्पी रवीन्द्र समीर ।

उनी जनस्वास्थ्य विज्ञ हुन् । स्टेथेस्कोपवाला डाक्टर । तर ‘ह्वाइट एप्रोन’को आवरणभित्र पल्लवित र पुष्पित साहित्यिक चेतले उनको चिकित्सकीय परिचयलाई ओझेलमा पारिदिएको छ ।

पछिल्लो ‘मृत्यु मीमांसा’ले त झन् रवीन्द्रलाई जीवनको भन्दा मृत्युको डाक्टर मान्नेहरूको सङ्ख्या बढाइदिएको छ ।

भर्खरै बजारमा प्रविष्ट भएको उपन्यासिका ‘मृत्युको आयु’ असङ्गगत मृत्युको चिरफार बनेको छ ।

अझ भनौं न, रवीन्द्र समीरले ‘मृत्युको आयु’मार्फत् दिवङ्गत मृत्युहरूको शल्यक्रिया गरेका छन् । र, तिनीहरूको अलौकिक ‘आत्मा’लाई नै कथावाचक बनाएका छन् ।

मृत्युसँगको जम्काभेट !

दुई वर्षअघि, समयको हुरीले रवीन्द्रको कानमा ल्याएर सुनाइदिएको थियो– मृत्युको एउटा बिदारक र शोकपूर्ण खबर ।

मृत्यु ननिको कुरा हो । त्यसो त, जीवनलाई मृत्यु स्वीकार्य छ । तथापि, मानिसहरूलाई भने मृत्यु सधैं अस्वीकार्य र तिरष्कृत रहँदै आएको छ ।

जीवनमा अनेकानेक मृत्युलाई नजिकबाट नियालेका रवीन्द्रलाई त्यो मृत्यु स्वाभाविक आकस्मिकता लाग्नुपर्ने हो ।

तर त्यसो भएन ।

फिजिसियनभित्र साहित्यिक हृदय पनि जाज्वल्यमान थियो । त्यसले उनलाई शान्त रहन दिएन । ‘अपत्यारिलो सत्य’ले मथिङ्गलमा घन–छिनो चलायो ।

रवीन्द्रका नजिकका भाइ बाँच्ने उपायको जोहो गर्न युनाइटेड अरब इमिरेट्स (युएई) पसेका थिए । परिवारको आशा, भरोसाको कुम्लो–कुटुरो र आफ्नै पनि सपनाको काम्लो बोकेर खाडी छिरेका उनी अन्तिममा मृत्युको अपत्यारिलो खबर बने । झोलाभरि दिराम कमाउने सपना हुँदो हो । अन्तिममा आफैं ‘हे ! राम !’ भन्नुपर्ने अवस्था आइपर्‍यो ।

४५ डिग्रीको तापमानमा १५ घण्टा पसिना खन्याएर कोठा फर्किएका यायावरी ओछ्यानमै निःचेष्ट भए । आगाको भुङ्ग्रोजस्तो कार्यथलोबाट फर्किएर वातानुकूलित बरफिलो ओछ्यानमा घुप्लुक्क पल्टिएका स्वप्नस्रष्टाले भोलिपल्टको बिहान देख्न पाएनन् । त्यही रात जीवनको आखिरी रात बन्न अभिशप्त भयो ।

मृत्युको खबर हुरीझैं हुर्रिंदै भोलिपल्टै नेपाल आइपुग्यो । तर समाचारझैं शव सजिलो गरी आएन ।

सास दुबई पुग्न जति कठिन भएथ्यो । त्योभन्दा दोब्बर कष्टसाध्य भयो लास काठमाडौं आइपुग्न ।

झण्डै तीन हप्ता अध्यागमन र विमानस्थलको बाटोमा पैताला ओछ्याउनुपर्‍यो । प्रियजनको मृत्युको आलो घाउ बोकेर घायल पैताला घिसारिरहनुपर्‍यो । अध्यागमनका कर्मचारी र एजेन्ट (मध्यस्थ)का ननिका वचनहरूले मुटु नराम्ररी दरफर्‍याउँथ्यो । भत्किएको मनको बाँध आँखामै दबाएर आफन्तहरूले हण्डर–गोता सहिरहे ।

तीन हप्ता लाग्यो लास आइपुग्न ।

तीन हप्तासम्म चिसा आँखा ओभाइसकेका थिए । पीडाले थलिएका शरीरले त्राण पाइसकेका थिए । कफिन काठमाडौं अवतरित भएपछि आफन्तजनको खाटा बस्नै लागेको घाउ पुनः उकल्चियो ।

नजिकका भाइको मृत्युको आँसु र चर्को सन्नाटाले रवीन्द्रको मथिङ्गलमा कथा–भ्रूण पैदा गर्‍यो । त्यसले ‘मृत्युको आयु’को आकार ग्रहण गर्‍यो । झण्डै तीन वर्षको विरेचनपछि उपन्यासिकाको आवरणमा पैदा भयो ।

“त्योभन्दा अघि मेरो मस्तिष्कमा मृत्युका अनेकन आकृतिहरू सलबलाइरहेका थिए । प्रतिबिम्ब नै सही, तिनीहरूका अनेक आकार र प्रकारहरू मेरो मथिङ्गगलमा थिए । तर ती भाइको मृत्युले मेरो दिमागमा अलग्गै बिम्ब खडा गर्‍यो, त्यसलाई लघुकथाको रूपमा जन्म नदिई धरै पाइनँ,” पुस्तकको रचनागर्भ उधिन्छन् रवीन्द्र रवीन्द्र ।

मृत्यु खोज्न खाडी
नेपाली सबाल्र्टन युवाहरूका लागि खाडी जत्ति स्वप्न हो, उत्तिकै दुस्वप्न पनि हो । जत्ति जीवनको सान–मान–अभिमान हो, उत्तिकै अवसान हो ।

तर यो पर्गेल्न निकै मुस्किल थियो ।

मृत्युशै्ययामा छटपटाएका अनेक मृत्युको अनुहारको भावभङ्गिमा पढेका रवीन्द्रले खाडीको दुर्दान्त नजिकबाट नियालेका थिएनन् ।

कुवाभित्र डुबुल्की नमारी गहिराइ पो कसरी थाहा लागोस् !

मगजभित्र उपन्यासिकाको जीव्य सलबलाउनेबित्तिकै उनले खाडीको यात्रा तय गरे ।

दुबई, ओमान र बहराइनका विभिन्न सहर पुगे । आप्रवासी कामदारहरूको बहुल क्षेत्र पुगे । ज्यादातर नेपाली कामदारहरूकै बसोबास क्षेत्र उनको रोजाइमा पर्‍यो ।

नेपाली कामदारहरूको विद्रूप अवस्थामा आँखा परेपछि उनको मुटु चोइटियो । चित्त कुँडिएर आयो ।

वास्तवमा नेपाली कामदारहरू मानवीय मूल्यभन्दा कोशौं टाढा भेटे । यन्त्रमानवसरह २४ घण्टा काममा जोतिन्छन् । तर कामदारको न्यूनतम मूल्य–भोग पनि पाएका छैनन् ।

एउटै कार्यक्षेत्रमा काम गर्ने फिलिपिनी, पाकिस्तानी र भारतीयहरू स्वाभिमानको जीवनयापन गर्थे । काममा वाधा–अड्चन आए, देशले पहलकदमी लिन्थ्यो । तत्कालै समाधान हुन्थ्यो । नेपाली कामदारको अवस्था ठीक विपरीत थियो ।

उनीहरूको भागमा ‘निम्छरो’ जीवन थियो । यन्त्रवत् खटिनुपर्ने । वेतन पनि अरू देशका कामदारको तुलनामा तेब्बर सस्तो, न्यून !

नेपाली कामदारहरूको स्वास्थ्यावस्था खस्कँदो थियो । कतिखेर मृत्यु दैलामा टुप्लुक्क आइपुग्ने हो ? टुङ्गो छैन । जन्मभूमिको नियास्रोले अनुहारमा बादल बसेको छ । हरदम बर्सन ठीक्क परेका छन् आँखाहरू ।

उनीहरूको विदारक जीवन एकसरो नियालेपछि रवीन्द्रलाई खाडीका दिवङ्गत शरीरसँग साक्षात्कार गर्न मन लाग्यो । मृत्युको पीडासँग परिचित हुन मन लाग्यो । एकोहोरो नै सही, मृतकहरूसँग संवाद गर्न मन लाग्यो ।

उनले दुबईका ठुल्ठूला अस्पतालका मुर्दाघरहरू चहारे । ‘इम्बाल्मिङ’ केन्द्र–उपकेन्द्र धाए । मुर्दाघरमा थन्क्याउनेदेखि भिसा रद्द गराएर नेपाल पठाउनेसम्मका प्रक्रियासँग चिनापर्ची गरे ।

जीवनको भन्दा मृत्युको अवस्था झनै उदेकलाग्दो रहेछ !

ओछ्यानमा सुतेको सुत्यै भएका र कार्यक्षेत्रमै दुर्घटनामा परेर प्राणपखेरू उडेकाहरू एकै प्रकारको मृत्युको हरफमा समेटिएका छन् ।

दुर्घटना होस् या भवितव्य, ओछ्यानमा सुतेको सुत्यै भएका हुन्, अस्पतालले खुलाएको कागजमा मृत्युको कारण एकैनासे छ– ‘नेचुरल’ अर्थात प्राकृतिक/स्वाभाविक मृत्यु ।

उमेरले नेटो काटेर, हातगोडा बसेर, शरीरका कोषिका तन्तु क्षीण भएर आँखा चिम्लिएको भए पो स्वाभाविक हुन्थ्यो । भर्खर विवाह गरेर विदेशीभूमि टेकेका सोह्र–एक्काइस उमेरका लक्काजवान पनि सुतेकै थलोमा निष्प्राण भएका छन् । यस्तो पनि प्राकृतिक मृत्यु हुन्छ ? उनको मनले बारबार प्रश्न गरिरहन्थ्यो ।

जीवनको सुखभोग र पारिवारिक समृद्धिको सु–स्पादु सपना बोकेर खाडी उडेकाहरूको जीवनप्रतिको यतिविघ्न उपहास देखेर रवीन्द्रलाई टिठ लाग्यो । मन शोकविह्वल पनि भयो ।

पीडाको समन कसरी हुन्थ्यो ?
“रोजगारीको खोजीमा खाडी पुगेका नेपालीहरूको दूरवस्था र पीडाको प्रतिबिम्बन हो– ‘मृत्युको आयु’,” रवीन्द्र सुनाउँछन् ।

दुबई पुगेका नेपालीहरू मासिक हजार–बाह्र सय दिराम कमाउँछन् । नेपाल पठाउँन २०–२५ ३६ हजार रुपैयाँ हुन्छ । बालुवामा सुन चालेभन्दा गाह्रो छ, रुपैयाँ आर्जिन !

कदाचित मृत्यु भइहाले र मुर्दाघरमा थन्क्याउन परे बरफ फेर्नमात्रै दिनहुँ ११ सय दिराम खर्च हुन्छ । कामदारले महिनाभरि काम गरेर कमाउने रुपैयाँले एकदिनको चिस्यान बदल्न पनि मुस्किल !

कतिपय नेपालीको पशुवत् मृत्युवरण हुन्छ । दारिद्र्यपूर्ण कम्पनी परे मुर्दाघरको बरफसमेत फेर्न सक्दैन । कफिन, जहाज खर्च आदि भुक्तानी गरेर नेपाल फिर्ता पठाउन त निक्कै टाढाको कुरा !

र त, कयौं नेपालीको मृत्यु आफन्त, परिवारजन र नरनाताले थाहा नपाउने गरी गुमनाम हुन्छ । बिनासद्गत विदेशीभूमिमै दफन हुन्छन् ।

मृत्युको गर्भधारण
दिमागमा ‘मृत्युको आयु’को वीर्यवृष्टि भएपछि झण्डै ३ वर्ष उनले ‘मृत्युका भ्रूण’ बोकेर हिँडे ।

सुत्दा, खाँदा, उठ्दा, सपना, विपना, चेतन, अवचेतन, अर्धचेतनमा त्यही मृत्युको छायाले पछ्याइरहेझैं प्रतीत हुन्थ्यो । क्लिनिकमा बिरामीको स्वास्थ्य जाँच गरिरहेका हुन्थे । मन मृतात्मासँगको अन्तरसंवादमा निमग्न रहन्थ्यो ।
चिकित्सकीय पेसाका कारण मृतकहरूसँग जम्काभेट नहुने होइन । त्यतिले चित्त बुझ्दैनथ्यो ।

मनले अरू पनि स्वाभाविक/अस्वाभाविक मृत्युसँग साक्षात्कार गर्न चाहेपछि उनी विभिन्न उच्चाटयुक्त घाट र मुर्दाघर धाउँथे र मथिङ्गलमा मृत्युको सग्लो अनुहार कुँदेर फर्कन्थे । अन्त्यसंस्कार, पद्धति, विधि थाहा पाउन चिन्दै नचिनेका, नाता भन्दा परका किरियापुत्रीकहाँ पुग्थे र घण्टौं बसेर फर्कन्थे ।

जीवन मृत्युबाट पर छैन । मुमूर्षा पनि कसैलाई छैन । तर पनि जीवनलाई कुनै न कुनै दिन मृत्युरूपी बाघले झम्टिइहाल्छ । यसर्थ, मगजमा मृत्यु बोकेर हिँड्नु र त्यसैको पीडामा ताडित रहनु निकै कष्टसाध्य कुरा हो ।
तर रवीन्द्रले यो पहाड छिचोली छाडे ।

“कहिलेकाहीँ सपनामा आफैं मरेको या प्रियजन नरहेको सपना देख्थेँ । भोलिपल्ट उठ्दा मन बेस्सरी कहालिन्थ्यो,” सम्झँदा अहिले पनि उनको आङ जिरिङ्ग हुन्छ ।

ओछ्यानमा अहिले पनि कहिलेकाहीँ ऐँठन खस्छ !

मृत्युका बारेमा अनेकन मिथ छन् । लौकिक धारणा छन् । यी सबैसँग सङ्गती मिलाउन सासना, ताडना बेहोर्नैपर्‍यो ।

पुस्तकलाई प्रामाणिक बनाउन विष्णु–पुराण, शिव–पुराण, गरूड–पुराण, श्रीमद्भागवत्गीता, वेद–उपनिषादि ग्रन्थ त पढे नै, बाइबल, कुरान र शव व्यवस्थापनसम्बन्धी अरबी कानुन समेत पढ्न छुटाएनन् ।

“यी सबैको समष्टि ‘मृत्युको आयु बनेर तपाईंको हातमा आएको छ,” यति भन्दै सन्तुष्टिको स्वास फेर्छन् रवीन्द्र ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement