site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनै, क्वाति र क्वन्ति मेला

मेरा एक मित्र जनैको बखान गर्छन् । जनैसम्बन्धी प्ज्ञान पनि छ उनीसँग । जनैको धागो केको हुन्छ, कस्तो हुन्छ, कसरी बन्छ, किन लगाउने, कहिले लगाउने, आदि इत्यादि सब जानकारीका मालिक हुन् उनी । जनैको धार्मिक, सांस्कृतिक, सामाजिक महत्त्व सब कण्ठ छ उनलाई । तर, उनले कहिल्यै जनै लगाएको भने भेटेको छैन है मैले ! उनको घर जाँदा पनि यसो काँटीमा झुन्ड्याएको जनै कतै भेटिन्छ कि भनेर हेर्दा पनि भेटिन्न । आज यिनीजस्ता सम्पूर्ण जनैधारी र चुपचाप हल्ला नगरी जनै फेर्नुहुने र जनै फेर्न ससुराली पुग्न भएका सकल तागाधारीलाई जनै पूर्णिमाको एकमुष्ट शुभकामना । 
येन बध्दो बलीराजा
दक्षिणा नदिई लौ जाजा...
अर्थात् बलवान बलीराजासंग त दक्षिणा ठटाएँ भने तिमीलाई कहाँ छोडौँला । यो मन्त्र चैं म बिना  तागाधारीले अर्थ्याएको, कस्तो लाग्यो साथी हो?

बुवाले भन्नुहुन्थ्यो हामी पनि जनैधारी थियौँ रे । बुवाका बा याने कि मेरा बाजेले जनै लिनु भएन र नेवारी तान्त्रिक दीक्षा पनि लिनु भएन । अनि पछि ठूलो बुवाले पनि जनै र दीक्षा लिनु भएन । आफ्नो दाइको अनुसरण गर्दै बुवाले पनि जनै लिनु भएन छ । मैले पनि बुबाको बिँडो थाम्दै जनै लिइन । जनैधारी जिजुबाजेले प्याज, कुखराको मासु, कुखुराको अण्डा, छ्यापी, रक्सी केही छुनु भएन, जनै छोड्न सके पनि मेरा बाजेले खानपिनमा भने जीजुबाजेको प्याज, कुखराको मासु, कुखुराको अण्डा, छ्यापी, रक्सी नखाने परम्परा छोड्न सक्नु भएन छ । बुवा र ठूल्बुवाले पनि धेरै समयसम्म खानपिनको परम्परा कायम राख्नु भए पनि विदेश घुमेर हो कि जमाना बदलिएर हो प्याज, कुखराको मासु, कुखुराको अण्डा, छ्यापी खान थाल्नुभयो, रक्सी खानु भएको चाहिँ थाहा भएन । हाम्रो समयसम्म आइपुग्दा हामीले खान र पिउन हुने केही पनि छोडेनौँ । पितृले माथि बसेर हामीलाई के भने होलान् कुन्नि ?  

जनै पूर्णीमाका दिन जनै नलगाए पनि हामी रक्षावन्धनको पहेँलो डोरो भने बाँध्छौँ । हाम्रा पुरोहित बाजे घरमै आउनु हुन्थ्यो डोरो बाँध्न । कहिलेकहीँ पूर्णिमाको भोलिपल्ट आउनु हुन्थ्यो । किनभने मोटाघाटा जजमान कहाँ धाउँदावर्दा ढिलो भएर त्यही दिन आउन नभ्याउने रहेछन् । भोलिपल्ट आएको हामी कसैलाई मन पर्दैन थियो । भोलि पर्सी सबै कर्मकाण्ड यिनैसँग गराउनुपर्ने भएकोले चुपचाप डोरो बाँध्थ्यौँ रहरले हैन करले । जनै, डोरो बाँध्नु भए पनि नबाँध्नु भए पनि सबैलाई रक्षा बन्धनको शुभकामना । क्वन्ति महादेव अर्थात् कुम्भेश्वर महादेवले सबको रक्षा गरून् !

Prabhu Bank
Agni Group
NIC Asia

आज गुंपुन्ही अर्थात् क्वाति पुन्ही अर्थात् क्वाति पूर्णिमा हो । टुसाएको चना, बोडी, सिमी, गेडा मुङ, गेडा मास, भटमास, ठूलो केराउ, सानो केराउ, मस्याङ आदि विभिन्न नौ थरीका गेडागुडी भएको क्वाति खाने दिन । क्वातिमा गहुँको रोटी, मासुको किमा मिसाउने चलन पनि कतै कतै छ । आजै क्वन्ती अर्थात् पाटन कुम्भेश्वर महादेवको मेलाको दिन, जात्राको दिन । 

धेरै साथीहरू बगलामुखी मन्दिर जानु भएको होला । कोही कुम्भेश्वर मन्दिर नै जान्छु भनेर जानु भएको छ ? सायद कोही पनि जानु भएको छैन होला । म पनि हाइ स्कूल पढ्दा बगलामुखी जान्थेँ । आजकल जस्तो बिहिवार हैन, हामी उ बेला शनिवार जान्थ्यौँ । हाम्रो एसएलसी को जाँच अलि अघि त दिन दिनै जान्थ्यौँ । त्यहाँ जानुको दुई कारण थियो, पहिलो कारण एसएलसीको फलामे द्वार खोल्न सकुँ, एसएलसीको विशाल पहाड उचाल्नु सकुँ भनेर र अर्को सुन्दर कारण थियो हामी जस्ता एसएलसी वाला ठिटीहरू पनि त बगलामुखी भाक्न आउँथे नि, हो ती ठिटीहरू हेर्ने; उनीहरूको पनि रहर होला हामीजस्ता ठिटाहरू हेर्ने, हो त्यो पनि त पूरा गरिदिनु प-यो नि, हैन त साथीहरू ? उहिले छोटो लाम हुन्थ्यो मन्दिर पस्न । लाम लाग्न हामी निपुण, यस्तरी लाम लाग्ने कि देउता ढोग्ने बेला कुनै सुन्दर ठिटीसँगै परोस् । इच्छा भएपछि जुक्ती त निस्की हाल्छ । 

Global Ime bank

सबै बगलामुखी नै जाने भएकोले थोरैले मात्र कुम्भेश्वर महादेवतिर ध्यान दिन्छन् । ती थोरैमध्येका पनि थोरैले त्यो मन्दिरको तल्ला गनेका होलान् र थोरैले मात्र यो नेपालको दोश्रो पाँच तल्ले मन्दिर हो भनेर जानेका होलान् । यसरी अग्लो ठिङ्ग उभिएको महादेवलाई हामी बगलामुखीको दर्शनपछि नमस्कार गर्थ्यौँ, अनि सँगैको सानो गौरीकुण्ड मन्दिरको पानीले मुख धुन्थ्यौँ, पानी निर्मल र चिसो हुन्थ्यो । भनिन्छ, यो पानी गोसाई कुण्डबाट जमिन भित्रभित्रबाट बग्दै यहाँ आइपुगेको हो । अनि त्यसपछि कुम्भेश्वर मन्दिर अगाडिको भजन दबलीमा एकछिन बस्थ्यौँ, सबै देवता ढोगेपछि यहाँ बसेन भने पुण्य पाइँदैन भन्ने किवदन्ति छ । 

यी देवहरूका पनि देव महादेवको दिन प्रत्येक बिहिवार र प्रत्येक शनिवार नआए पनि वर्षको एकपल्ट जनै पूर्णिमाका दिन अर्थात् क्वाति पुन्हि/गुंपुन्हिका दिन भने आउँछ । उ बेला हामी जनै पूर्णिमाको अघिल्लो मध्यरातमा क्वन्ति, कुम्भेश्वर पुग्थ्यौँ, त्यो मध्यरातमा माथिल्लो तल्लाबाट महादेव भक्तालु, श्रध्दालुजनलाई दर्शन दिन तल ओर्लिन्छन् र क्वन्ति पोखरीको बीच भागमा अवस्थित स्थानमा आसन ग्रहण गर्दछन् । त्यो विशेष क्षण, समयलाई थप विशेष बनाउन स्यस्य: (श्रेष्ठ, अमात्य, प्रधान आदि) थरीकाले 'दमोखिं', शाक्य, बज्राचार्यहरूले 'धा', स्यस्य: र शाक्य-बज्राचार्यहरूले 'खिं', बारायी थरीकाले 'नेकु', खड्गी थरीकाले ‘नाय्खिं’, कुल्से थरीकाले 'म्वाली' (सहनाई) आदि नौ थरीको बाजा बजाएर महादेवको स्तुति गर्दछन् । बजाउन नआएरमात्र हो नत्र मलाई पनि दमोखिं बजाउने रहर थियो । आफूलाई भने रेडियोबाहेक अरु केही बजाउन नआउने । 

साउन महिना भनेकै देवाधिदेव महादेवको महिना हो । त्यसमा पनि जनै पूर्णिमाका दिन भगवान् शिवको वासस्थान हिमाल पर्वतस्थित गोसाई कुण्डमा मेला भर्न सके ठूलो पुण्य प्राप्त हुन्छ भन्थे । आफूलाई भने कहिल्यै गोसाई कुण्ड जाने साइत जुरेन । बिहेपछि विवाहित जोडी त झन् जान हुन्न भनेर तर्साई दियो । त्यसैले जाने आँट नै आएन । मजस्तै जान नपाएका, जान नसक्नेले पनि त्यहाँ गए जत्तिकै पुण्य कमाउन कुम्भेश्वर अर्थात् क्वन्ती पोखरीमा नुहाएर वा मुखमात्रै धोएर क्वन्ती महादेवको दर्शन गरे पनि उत्तिकै पुण्य प्राप्त हुन्छ भन्ने किम्बदन्ति भएकोले प्रत्येक वर्ष कुम्भेश्वर मेला भर्नेहरूको घुइँचो हुन्छ क्वन्तीमा । 

पोखरीको किनाराबाट बीचसम्म जान ठूलठूला दलिन  सुताएर राखेको हुन्छ । त्यहीँबाट पोखरीको मध्य भागमा रहेको महादेवको दर्शन गर्ने हो । नुहाउन र मुख धुन भने किनाराबाटै मिल्छ । म कयौँ पटक स्काउट स्वयंसेवी भएर हाम्रा स्काउट शिक्षक रत्नमान शाक्य सरसँग यो मेलामा बसेको छु । अलि सानो छँदा स्कुलका साथीसँग पनि मेलामा गएको छु । साथी मलाई लुगा हेर्न राखेर पोखरीको पर्खालबाट झ्वाम्म हाम फाल्थ्यो र श्रध्दालुहरूले बाहिरबाट भगवानतिर फ्याँकेर चढाएको पैसा जुन प्रायः पोखरीमा खस्छ त्यो डुबल्की लगाएर टिप्थ्यो अनि मुखमा जम्मा गरेर ल्याउँथ्यो । महादेव दर्शन गर्न जाने ठिटीहरू, महिलाहरूलाई ताकेर पानीमा हाम फाल्ने र पानी उछिट्याएर भिजाउने अर्को चर्तिकला हुन्थ्यो पानीमा हाम्फाल्ने केटाहरूको । यस्ता उरन्ठेउला केटाहरूलाई खेदेर बस्थे पुजारीका मानिसहरू । तर अन्य दर्शकहरूका लागि भने त्यो मेलाको आकर्षण हुन्थ्यो ।

अर्को गजबको दृश्य हुन्थ्यो थामी, झाँक्रीहरूको । उनीहरू काठमाडै र वरपरबाट ढ्याङ्ग्रो ठोक्दै कुम्भेश्वर महादेवको दर्शन गर्न मेलामा आइपुग्छन्, यो भिन्न संस्कृतिको संगम अपूर्व हुन्छ । विविधतामा एकता यसरी हुन्छ, समावेशीताको कोरा नाराले त विकृतिमात्र जन्माउँछ । डोरा बाध्न बसेका बाजेहरू त हुने नै भयो । उनीहरूको लागि त दशैं नै भयो, कुष्ट आम्दानी हुने दिन । मन्दिर परिसर बाहिर साँझ परेपछि फेरि अर्कै रमिता हुन्छ, गाउँबाट आएका तरुना तरुनीहरूको बेजोड दोहरी घमासानसंग चल्छ, गाउने, नाच्ने, रमिता हेर्नेहरूलाई फेरि अर्कै मजा । दोहरीमा केटाले जितेर ठिटी भगाएपछि ठूलो हल्लीखल्ली हुन्छ । बडो रमाइलो हुन्छ क्वाती पुन्ही । यो क्वाती पुन्हीको उपलक्ष्यमा सबैलाई शुभकामना !! क्वाटी खाउँ हृष्टपुष्ट बनौँ ...मखुला पासा ?

भारतीय टीभीले नेपालमा, विशेष गरेर काठमाण्डूमा भित्र्याएको नयाँ चलन हो राखी । रक्षावन्धनलाई राखीसँग जोड्न थालेका छन् आजकल । यो नयाँ चलन भने मलाई अलि पच्दैन । यसै बहानामा आज साँझ पचाउने झोल तुच्च लगाउनु पर्ला जस्तो छ है साथी... के भन्नु हुन्छ ? 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC