विराटनगर । नेपाली कांग्रेस मोरङले मोरङ व्यापार संघ र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई सोमबार सम्मान गरेको छ । वीपी कोइरालाको ३७ औं जन्मजयन्तीको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दुबै संस्थाका पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको हो ।
त्यस अवसरमा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, महासचिव अनिल साह, विराट व्यापार संघका अध्यक्ष सुजन थापालगायत पदाधिकारी र सदस्यहरूलाई कांग्रेस केन्द्रीयहरू सदस्य एवं सांसद डा. डिला संग्रौला, अमृत अर्याल, हसन अन्सारी, मोरङ सभापति डिगबहादुर लिम्बूलगायतले अविर र खादा लगाएर सम्मानपत्र प्रदान गरे ।
नेपालको राजनीतिक र आर्थिक क्रान्तिमा उद्योगी व्यवसायीको महत्वपूर्ण योगदान भएकाले दुवै संस्थाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको मोरङ कांग्रेसका सचिव नागेश कोइरालाले बताए । उनले भने,‘‘उद्योगी व्यवसायीले उठाउँदै आएको मुद्दामा कांग्रेसको सधैं साथ रहनेछ ।’’ कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले सरकारले लगाएको अचाक्ली करका कारण उद्योगी व्यवसायीहरू हतोत्साहित भएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य डा. संग्रौलाले मुलुकमा निजी क्षेत्रको लगानीबिना वीपी कोइरालाको सपना अधुरो हुने बताइन् । उनले भनिन्,‘‘वीपी कोइरालाले समृद्धि नेपालको सपना अझै पूरा हुन सकेन ।’’उनले निजी क्षेत्रलाई उपेक्षा गरेर समृद्धि नेपाल सुखी नेपालीको सपना देख्ने कम्युनिष्ट सरकारबाट मुलुक अगाडि नबढ्ने दाबी गरिन ।
कार्यक्रममा अर्का केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेसले मात्रै लगानीको वातावरण बनाउने दाबी गर्दै भने,“अहिले लगानीको वातावरण छैन । उद्योगी व्यवसायीहरू पलायन भइरहेका छन् । यसरी नै करको भार थोपर्दै जाने हो भने संघीयता नै असफल हुन्छ ।”
कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य हसन अन्सारी, मोरङ सभापति डिकबहादुर लिम्बू, सचिव नागेश कोइराला, मोदराज घिमिरे, प्रदेश सांसद शिवनारायण गन्गाई, महासमिति सदस्य आशाकुमारी सरदारलगायतले उद्योगी व्यवसायीको समस्यामा कांग्रेसको सधैं साथ रहने आश्वासन दिए ।