काठमाडौं । काठमाडौं उपत्यका बाहिर पनि बक्सअफिस प्रणाली उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिवार सर्लाहीको लालबन्दीस्थित वीणा चलचित्र मन्दिरमा उपत्यका बाहिरको बक्सअफिस प्रणालीको उद्घाटन गरेका हुन् ।
उनले असार मसान्तभित्र देशभरका हलमा ई–टिकेटिङ सिस्टम लागु हुने जानकारी दिए । मन्त्री बाँस्कोटाले बक्सअफिस लागु गर्न नमाने हल सञ्चालकलाई कारवाही गरिने चेतावनी दिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले असार मसान्तसम्ममा नेपालभरका हलमा ई–टिकेटिङ लागु हुने दाबी गरे । बोर्डले देशभरका ८० हललाई निःशुल्क कम्प्युटर, प्रिन्टर, राउटरलगायत आवश्यक उपकरण दिएको बताउँदै अध्यक्ष भट्टराईले साउन १ गतेसम्म पनि हल सञ्चालकले ई–टिकेटिङ लागु नगरे कारवाही गर्ने चेतावनी दिए ।
काठमाडौंका करिव दुई दर्जन हलमा भने यसअघि नै बक्सअफिस प्रणाली लागु गरिएको थियो ।