झरना थापा नेपाली रजतपटमा २३ वर्षदेखि सक्रिय छिन्, सुरुमा अभिनेत्रीका रुपमा र पछिल्ला दिनमा निर्देशकका रुपमा । अभिनेत्री हुँदा अब्बल अभिनयमार्फत् चलचित्रलाई सफल बनाउने उनी अहिले निर्देशकका रुपमा सक्रिय छिन् । उनले गत वर्ष निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर–२’ सफल भएपछि झरना अहिले त्यही चलचित्रको अर्को सिरिज ‘ए मेरो हजुर–३’ लिएर दर्शकमाझ आएकी छन् । यो चलचित्रमा आइपुग्दा उनले आफ्नो चलचित्रमा छोरी सुहाना थापालाई नायिकाका रुपमा डेब्यू गराएकी छिन् । झरना थापासँग नेपाली चलचित्रको विगत र वर्तमानसँगै अभिनय तथा निर्देशन अनि प्रदर्शन भइरहेको चलचित्र ‘ए मेरो हजुर–३’मा केन्द्रित रहेर नरेश फुयाँलले गरेको कुराकानीः
चलचित्र ‘ए मेरो हजुर–३’ चलिरहेको छ, बक्स अफिस रिपोर्ट कत्तिको सहजै पाइरहनु भएको छ ?
बक्स अफिस लागु भएको छ तर सन्तोषजनक छैन । काठमाडौंका केही हलमा मात्रै लागु छ । जबसम्म सबै हलमा लागु हुँदैन, त्यो बेलासम्म सन्तोष गर्ने ठाउँ रहँदैन । आज ५ दिन भयो । सामान्य हिसाब वितरकहरुले दिइरहनु भएको छ । तर ठ्याक्कै कति व्यापार भयो त्यो भने आइपुगेको छैन ।
बक्स अफिसमा रिपोर्ट राम्रो छ, चलचित्र हेर्न दर्शक आइरहनु भएको छ, कन्टेन्टलाई लिएर दर्शकको प्रतिक्रिया कस्तो छ ?
राम्रो मान्नु भएको छ । दर्शक रमाइरहनु भएको छ हलमा । मैले म्यासेज दिने, देशप्रेमले भरिएको चलचित्र बनाएको हैन । पो पूर्ण मनोरञ्जनात्मक चलचित्र हो भनेर मैले पहिला नै भनिसकेको छु । ‘ए मेरो हजुर’, ‘ए मेरो हजुर–२’ जस्तै मनोरञ्जनतात्मक चलचित्र बनाएको हुँ यो पनि । दर्शकको फ्लो घटेको छैन आजको दिनसम्म ।
समीक्षक र दर्शकले चलचित्रलाई फरक नजरले हेर्छन् । समीक्षकहरू चलचित्रको फर्मुलामा केन्द्रित हुन्छन् । दर्शक दुई घण्टा रमाउन खोज्छन् । ‘ए मेरो हजुर–३’ दर्शकलाई बनाउनु भएको चलचित्र हो ? समीक्षकले त खासै राम्रो समीक्षा लेखेनन् नि !
मैले चलचित्र दर्शकको लागि बनाएको हुँ । दुईचार जना समीक्षक तथा पत्रकारका लागि चलचित्र बनाएको होइन । यति ठूलो मेहनत र पैसा लगाएर समीक्षकका लागि कसैले पनि चलचित्र बनाउँदैन । हाम्रो यो सातौं प्रोडक्सन हो । हामी सधैँ कमर्सियल चलचित्र बनाउँदै आएका छौं । जसले जे भने पनि हाम्रो पनि विजनेश हो । करोड–करोड रुपैयाँ लगानी कसैले यत्तिकै गर्दैन । समीक्षक भने पनि जे भने पनि हाम्रा लागि दर्शक नै भगवान हो । दर्शकलाई खुसी बनाउनु छ, दर्शकको रुचीको चलचित्र बनाउनु छ, विजनेस गर्नुछ ।
आफू हिरोइन भएको समयको कथालाई नै ओल्टाइपल्टाई गरेर चलचित्र बनाएको टिप्पणी आयो ‘ए मेरो हजुर–३’लाई । नयाँ कथा जसले चलचित्रमा सके नयाँ मानक स्थापित गरोस्, मानक स्थापित गर्न नसके केही योगदान मात्रै भए पनि छोडोस् । यसका लागि किन आँट गर्न सक्नु भएन ?
चलचित्रमा हामी सधैँ नयाँ कथावस्तु, नयाँ धार भन्छौं तर वास्तवमा नयाँ धार र नयाँ कथावस्तु भनेको के हो ? हाम्रो हजुरआमाको पालादेखि हामी त्यही रितिरिवाज, परम्परा, संस्कार आजसम्म चल्दै आएको छ । त्यसैलाई हामीले अपनाउँदै आएका छौं । यतिमात्रै हो समय फरक छ । बाँच्ने तरिका फरक छ । लभ स्टोरी त्यही हो । लभस्टोरी मुभीमा लभ पर्छ, कोही तगारो बन्न आउँछ सम्बन्ध छुट्छ, फेरि मिल्लान् । यही त हो । जिन्दगीमा जे घटना भएको हुन्छ त्यही देखाउने त हो । कसैले समाजिक कथा भनेका होलान्, कसैले परम्परागत त कसैले कुनै कथा भनेका होलान् ।
अहिलेको होस्टेलमा बस्ने बच्चाबच्ची कसरी खान्छन्, कसरी हिँड्छन् त्यसैलाई त भन्ने त हो । स्टार अनमोल केसीको वर्गमा क्रेज छ । अनमोललाई मैले सिंगरको रुपमा उसलाई लिएको छु । यही कुरालाई नै मैले मेरो चलचित्रमा ल्याएको हुँ । संसारको जुनसुकै कुनामा जानुस् दुईचारवटा बाहेक नयाँ कुरा भेटिँदैन । बलिउड पनि साउथ इन्डियन मुभीबाट प्रभावित भएको छ । हामी भर्खर उठ्न खोज्दैछौं । किन बासी, पुरानै कुरालाई ल्याएको आरोप लागाउँछौं ? त्यसमा पनि कति धेरै मेहनत छ । किन सबै चलचित्र चल्दैनन् । दर्शकले मन पराउनुहुन्न ?
तपाईं आफैंले पनि भनिसक्नु भयो मौलिक विषयप्रधान पनि चलचित्र हुन्छन् भनेर । यस्ता चलचित्रमा लगानी गर्नेबेला भएन ?
मौलिक कथावस्तु भएको चलचित्र बनाउन मैले कथा नै भेटेको छैन । मौलिक कथामा बनेका चलचित्रले कस्तो व्यापार व्यवसाय भइरहेको छ ? निर्माता खुसी छ कि छैन यसमा पनि हेर्नुपर्छ ।
सुरुदेखि नै भनिरहेको छु टिपिकल मुभी बनाएको हैन कमर्सियल चलचित्र बनाएको हुँ । भोलीका दिनमा त्यस्तो कथा मसम्म आयो भने गर्छु । ‘मुग्लान’ मौलिक चलचित्र हो । अहिले पनि त त्यही विषयमा कथा बनिरहेका छन् । त्यो विषय पनि पुरानो हो । प्रस्तुतीको शैली नयाँ हुनुपर्यो । ‘कहाँ छौ कहाँ’ चेलिबेटी बेचबिखानमा आधारित चलचित्र मैले उही बेला गरिसकेको थिएँ । अहिले पनि त्यही विषयमा चलचित्र बनिरहेका छन् ।
अहिलेका नेपाली फिल्म दुई भागमा बाँडिएका छन् एउटा फगत मनोरञ्जन अर्को समाजको गम्भीर कथा उठाउने चलचित्र । मनोरञ्जनमा मात्रै केन्द्रित चलचित्रले करोडौं कमाइरहेका छन्, कथाप्रधान मौलिक फिल्मले लगानी पनि उठाउन सकिरहेका छैनन् । तपाईंले पनि जोखिम उठाउन नचाहेको हो ?
सीधा जवाफ, आजसम्म मेरो हातमा मौलिक चलचित्रको कथा नै आइपुगेको छैन । यदि कोही त्यस्तो लेखक हुनुहुन्छ भने मलाई खबर गर्नुस् म त्यो कथा हेर्न तयार छु । चित्त बुझ्यो भने चलचित्र बनाउन तयार छु ।
एउटा ‘बादी’ समुदायको कथाको प्लट छ मसँग त्यसलाई चलचित्र बनाउन त्यो कथालाई पूर्णता दिनुपर्नेछ । म एक्लैले त्यो सबै गर्नै सक्तिन । यसलाई पूर्णता दिने लेखक र रिसर्चर मलाई चाहिएको छ । तर भेटेको छैन । एक जनाको दिमागले भन्दा पनि धेरैको दिमाग लगाएर गरेको काम राम्रो हुन्छ । ‘ए मेरो हजुर–३’मा हामी चार–पाँच जनाले काम गरेका छौं कथामा मात्रै ।
तपाईंले भनेजस्तो चलचित्र पाएँ भने पक्कै पनि गर्नेछु । तर अहिलेलाई मैले कमर्सियल चलचित्र नै सोचिरहेको छु । मैले कमर्सियल चलचित्र नै बनाएँ । २३ वर्षको करिअरमा त्यस्तै चलसिचत्रमा काम गरेँ । त्यस्तै चलचित्र नै सफल पनि भए । यसमै मेरो दिमाग जान्छ ।
तपाईं निर्देशक, श्रीमान् प्रोड्युसर, छोरी अभिनेत्री । परिवारका सदस्य सबै चलचित्रको मेजर स्थानमा । चलचित्र निर्माणमा आधा बजेट त कम हुन्छ होला नि !
(हा...हा...हा...) निर्देशक र हिरोइनले लिने पारिश्रमिक कम हो । तर पनि हिसाब चाहिँ हुन्छ । हाम्रो चलचित्रमा हरेक सिन हेर्दा निर्माताले खर्च गर्न लोभ गरेको देखिँदैन ।
चलचित्रको मुटु कथा तथा पटकथा लेखनमा नेपालमा लाख रुपैयाँ पनि बजेट छुट्याईंदैन । विदेशका नामी लोकेशन खिच्न भने निर्माताहरु हिचकिचाउँदैनन् । अनावश्यक ठाउँमा खर्चिने पैसा स्क्रिप्टमा लगानी गर्दा के हुन्छ ?
मैले आजसम्म त्यस्तो लेखक भेटेकै छैन । हुन त मैले नभेटेको पनि हुनसक्छ । लुकेर कतै बस्नु भएको पनि हुनसक्छ । मैले थाहा पाएको, चिनेको राइटरसम्म पुगेँ । तर किन किन मैले उहाँहरुको कथामा चित्त बुझाउनै सकिन । कोही त्यस्तो पोख्त राइटर हुनुहुन्छ भने प्लिज आउनुस् ।
म राम्रो कथाका लागि खर्च गर्न तयार छु । मैले कति राइटर भेटेर कथा मागेको छु । उहाँहरुको कथा मैले सोचेभन्दा पनि तल पाएकी छु । त्यस्तो कथामा दुईचार लाख हैन, दुईचार हजार दिन पनि लोभ लाग्छ । राम्रो राइटर कोही हुनुहुन्छ भने आइदिनुस्, हाम्रो चलचित्र उद्योगलाई राम्रो राइटरको खाँचो छ ।
क्वालिटीका हिसाबले फिल्म मेकिङमा नेपाल अझै विश्वभन्दा दशकौं पछाडि छ । विश्वले तयार गरिदिएको फर्मुलालाई पछ्याएर नेपाली सिनेमा उद्योग अहिले बामे सर्दैछ । प्रविधिको उच्चतम प्रयोग र विश्व बजारमा जाने प्रशस्त सम्भावना हुँदाहुँदै पनि नेपाली चलचित्र उद्योग किन अरुभन्दा दशकौं पछि पर्यो ?
मुख्य कुरा त विषयवस्तु नै हो । केही हदसम्म निर्देशक र स्टार कास्टको भ्यालू हुन्छ तर अन्तिममा गएर ठोक्किने भनेको कथामै हो । जुन कुरा दर्शकलाई मन पर्छ त्यो विस्तारै माउथ पब्लिसिटीले चल्दै जान्छ । निर्देशक र कलाकारको भ्यालूले त दुई दिन चल्छ बाँकी चल्ने भनेको त कन्टेन्टले नै हो ।
‘ए मेरो हजुर–३’ स्टारडमले चल्यो कि कन्टेन्टले ?
‘ए मेरो हजुर–३’ चल्नुमा धेरै कारण छन् । प्रोडक्सन हाउसको ब्रान्ड छ । ‘ए मेरो हजुर’को ब्रान्ड छ । यसका सबै सिरिज दर्शकले मन पराइदिनु भएको छ । अर्को कुरा झरना थापा पनि हो । जो दर्जनौं चलचित्रमा सफल अभिनेत्रीको भूमिका निर्वाह गर्दै आएको छ । आज सफल निर्देशन गरेँ ‘ए मेरो हजुर–२’बाट दर्शकको मन जितेको छु । झरना थापाले राम्रो चलचित्र बनाउन सक्छे भन्ने छाप परेको छ । अर्को पक्ष अनमोल पनि हो । उसको आफ्नै स्टारडम छ । र, अर्को सुहाना थापा पनि हो । झरना थापाको छोरी सुहाना थापाले कस्तो काम गरेको होला भनेर मलाई माया गर्ने दर्शकको वेटिङ लिस्टमा थिइन् उनी । यी नै मुख्य कारण हुन् ।
तपाईंले आफ्नो पहिलो चलचित्र ‘दाइजो’सँग सुहानाको यो डेब्यू अभिनयलाई तुलना गर्नुभएको छ ?
धेरै फरक छ । मैले ‘दाइजो’मा सुनिल थापा (भिलेन)को बहिनीको रोलमा काम गरेको थिएँ । त्यो चलचित्रमा मलाई केही पनि थाहा थिएन । पढ्दापढ्दै आएको थिएँ । मेकअप गर्न पनि आउँदैन थियो । तर अहिले सुहानाको डेब्यू मुभी हेर्दा आकाश पातालको फरक छ ।
यदि सुहाना झरना थापाको छोरी नभएको भए ?
झरना थापाको छोरी सुहाना नभएको भए थाहा छैन उनी अहिले यो चलचित्रमा आउँथिन् या आउँदैन थिइन तर, सुहानामा जुन ट्यालेन्ट छ–देखियो । त्यो ट्यालेन्ट झरनाको छोरी नहुँदा पनि थियो भने ढिलो चाँडो मात्रै हो, उसले चाहेको भए चलचित्रमा आउँथिन ।
२३ वर्षदेखि नेपाली चलचित्र उद्योगमा हुनुहुन्छ । तपाईं अभिनय देखि निर्देशनमा आइसक्नु भयो । छोरी फिल्म खेल्ने भइसकिन् । तर अझै पनि नेपाली चलचित्र नेपाली भूगोलभित्रै खुम्चिरहनु परेको छ । कारण राम्रो चलचित्र नबनेर नै हो ?
मुख्य कुरा मार्केट हो । यति सानो मार्केट छ यसमा पनि हामी जुध्न आइपुग्छौं । मार्केट नभएपछि लगानीकर्ताले कति लगानी गरेर कस्तो चलचित्र बनाउने ? प्रश्न यो पनि छ । भारतको कुरा गर्दा त्यहाँको चलचित्र त्यहाँ मात्रै लाग्दैन । एकैपटक संसारभर लाग्छ । उनीहरुको सिनेमा कल्चर छ ।
हाम्रोमा जम्मा तीन करोड जनसंख्या छ त्यसमा पनि ३ प्रतिशतले पनि चलचित्र हेर्दैनौं । हामी आफ्नो कल्चर, आफ्नो चलचित्रलाई माया गर्छौं ? भारतमा आर्टलाई पाठ्यक्रममा राखेर पढाइन्छ । त्यहाँका हरेक संघसंस्थामा कलाकारका बारेमा पढाइन्छ हाम्रोमा खोइ ? हाम्रोमा अहिले म एयरपोर्टमा गएँ भने पुलिसले पनि चिन्दैन ।
यो त सिनेमा कल्चर, स्कुलिङ र राज्यले कलालाई गर्ने सम्मान र हेर्ने नजरको कुरा भयो । तर यहाँ धेरै उठेको कुरा–हामी आफैं राम्रो चलचित्र बनाउन सक्दैनौं अनि गुनासो गर्दै हिँड्छौं, होइन ?
यो कुरामा म सहमत छैन । राम्रा चलचित्र बनेका छन् । मेरै पालाको कुरा गर्नुस्, ‘मुग्लान’ राम्रो चलचित्र हैन ? त्यसले शन्देस दिएको छैन र ?
त्यसो भए हामीले राम्रो चलचित्र बनायौं तर बेच्न जानेनौं ?
विदेशसम्म जाने कुरा नगरौं अहिलेलाई । नेपालमै हामीले हाम्रो चलचित्रको मार्केटिङ गर्न सकेका छैनौं । मेरो पालामा ‘ए नेपाली फिल्म हेर्ने र ?’ भनेर नाक खुम्च्याउँथे तर अहिले मेरो छोरीको पालामा आइपुग्दा ‘ए नेपाली चलचित्र पनि राम्रो हुन्छ, हेर्नुपर्छ’ भनेर आजको युथ जेनेरेशनले भन्न थालेको छ ।
यो ट्रेन्ड कसले ल्याएको हो ? हामीले हैन ? यदि मैले नगरेको भए, पैसाको लोभले विदेश गएर बसेको भए । राजेश हमाल, भुवन केसी किन नेपाली चलचित्र उद्योग भनेर बसिरहनु भयो ? हामीले गर्दा नै यो परिवर्तन आएको हो ।
सिनेमा कल्चर कसले विकास गरिदिने त !
हामीले आफैंले गर्ने हो । प्रत्येक गाउँ, समाज, घरले फराकिलो सोच राख्नुपर्छ । सरकारको मात्रै आश गरेर हुँदैन । हामी नेपालीले प्रत्येक कलाकार हाम्रै नागरिक हुन् र राष्ट्रका गहना हुन् भनेर सम्मान गर्नुपर्छ । आफ्नो चलचित्र र कलाकारलाई माया गर्नुपर्यो । हामीले राम्रा चलचित्र नबनाएका हैनौं । मेरै लिष्टमा ५१औं दिन र १०१ दिन मनाएका चलचित्र छन् ।
अहिले ५१औं दिन र १०१ दिन मनाउने सपना जस्तो भइसक्यो, किन ?
हो । अहिले एक साता चले पुग्छ । मेरो पालामा काठमाडौं भित्र र बाहिर फरक फरक समयमा चलचित्र प्रदर्शन गर्नुपथ्र्यो । अहिले होल नेपाल, कुरा मिले विदेशमा पनि एकै दिन एउटै समयमा चलचित्र रिलिज हुन थालेको छ । एक हप्ता चलचित्र हाउसफुल भयो भने निर्माताले लगानी सुरक्षित गर्छ । कलाकारको पारिश्रमिक पनि कम थियो ।
अहिले धेरै कुरा अपडेट र अपग्रेटेड भएको छ । केही सकारात्मक पक्ष पनि छन् । मेरो चलचित्र लाग्दा हलमा अंग्रेजी, हिन्दी र नेपाली चलचित्र गरी ९ वटा चलचित्र रहेछन् । यो हप्ता अर्को विदेशी चलचित्र पनि आउँदैछ । नियम अनुसार शुक्रबार आउनुपर्ने चलचित्र त्योभन्दा अगाडि नै आउने कुरा छ । सानो बजार छ । लगानी उठाउन सजिलो छैन । यस्तो अवस्थामा सबै पक्ष मिलेर अगाडि बढ्न सकेमात्रै हामी सबै रहन्छौं । सकारात्मक सोचले अगाडि बढ्नुपर्छ ।
अभिनयको लामो अनुभव र दोस्रो निर्देशनसम्म आइपुग्दा अभिनय कठिन रहेछ कि निर्देशन ? तपाईं अब निर्देशक कि अभिनेत्री ?
अभिनय धेरै सजिलो । आफ्नो काममा निखारता दिन सके पुग्छ अभिनेत्रीका लागि । तर निर्देशन धेरै कठिन हुन्छ । सबैको काम हेर्नु पर्ने र ड्राइभ गर्नुपर्ने । तनावले केश फुलाउनुपर्ने काम हो यो । सानोसानो कुरा देखि ठूलो कुरासम्मको जिम्मेवारी बहन गर्नुपर्ने सजिलो काम हैन रहेछ निर्देशन ।
तपाईं अब निर्देशक कि अभिनेत्री ?
अभिनेत्री भएर आएको हुँ । निर्देशकका रुपमा पनि चिन्न थाल्नु भएको छ । मलाई यही भनेर बोलाइदियोस् भन्ने त्यस्तो इच्छा केही छैन । अब अभिनेत्रीभन्दा पनि सफल चलचित्र निर्देशन गर्न सक्ने निर्देशक बन्ने रहर छ । यसमै केन्द्रित हुनेछु आउँदा दिनमा ।
अभिनेत्रीका रुपमा अब दर्शकले तपाईंलाई देख्न पाउँदैनन् ?
फूलबारीमा नाचेको त देख्न पाउनुहुन्न । राम्रो कथा र क्यारेक्टरले नै कथावस्तुलाई उठाएको छ भने सम्भावना पनि छ । तर पहिले जस्तो गाना बजानामा चाहिँ मलाई देखिँदैन ।