site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आँधीपीडितलाई सरिता गिरीको ‘ग्लोबल वार्मिङ’को प्रवचन

आँधीपछिको सन्नाटा
बिहीबार फेटा पुग्दा अँध्यारो छिप्पिइसकेको थियो । फेटाबासीको अनुहारमा त्योभन्दा अगाडि नै रात परिसकेको रहेछ । आइतबार साँझैबाट उनीहरूको अनुहारका घाम अस्ताइसकेको हुँदो हो, सायद  ।

बाटामा नयाँ अनुहार देख्नेबित्तिकै फेटाबासीको अनुहारमा राहतको अतृत्प आशा सलबलाउँदो रहेछ । झरीले चुटेका बचेराहरूले माउ कुरेर बसेझैँ ।

गण्डक नहरबाट पूर्वतिर अघि बढ्नेबित्तिकै एकजना वयोवृद्ध भूमरी–पीडितसँग जम्काभेट भइहाल्यो । पोल ढलेर अँध्याराले निलेको बाटो टर्च लाइटको सहाराले पछ्याउँदै रहेछन् ।
“राहत लिएर आउनुभएको होला, आँधी गएको ठाउँ ऊ त्यहीँ हो !”

Prabhu Bank
Agni Group
NIC Asia

उनले हातैले इशारा गरे । फेटा–६ को गाछी टोल देखाइदिए ।

तर, मसँग राहत थिएन । हातमा खाली कापी र कलम थियो । केटाकेटी, बालबालिकालाई थोरै किन नहोस्, सहयोग गर्ने मन थियो । तर, अँध्यारो बाधक बनिदियो ।

Global Ime bank

विवश भएर भन्नै पर्‍यो, “म पत्रकार, काठमाडौंबाट समाचार संकलन गर्न आएको, राहत बाँड्न आएको होइन !”

“ए !,” उनले बडा नमीठोसँग आँखीभौँ खुम्च्याए । टर्च लाइटको धमिलो उज्यालोमा प्रष्टै देखियो उनको अमिलो अनुहार । 

मलाई निकै ननिको लाग्यो ।

नहरको पुलबाट दश गज पूर्वतिर अघि बढ्नेबित्तिकै आँधीको विध्वंशसँग साक्षात्कार भइहालियो ।

भीषण सामुद्रिक ज्वारभाटा, भयानक सुनामीपछिको शान्त टापुझैँ मुर्दा शान्ति छाएको रहेछ– फेटा–६ गाछी टोलमा । ढलेका आँपका बोट, ठिङ्ग उभिइरहेन सुपारीका बोट  र बाँसका झ्याङ्ग नै लडेर बस्तीलाई माटोमा मिलाएका थिए । टोलका बालक, वयोवृद्धाहरूको अनुहारमा आँधीको डरलाग्दो आतङ्क पोतिएको थियो । र, तुफानपछिको सन्नाटा छाएको थियो, बस्तीमा । र त, पूर्वतिरको कलैया र पश्चिमतिरको वीरगञ्ज मस्त निद्रामा परिसक्दा पनि अनिदै बसेको थियो, गाछी टोल ।

“ओत लाग्न पालसम्म पाएका छैनौँ, कहाँ सुत्नु ?,” मुस्लिम बहुल गाउँ रहेछ त्यो, स्थानीय मञ्जुर आलम मियाँले मलिन अनुहार बनाउँदै सुनाइ हाले ।

विपन्नमाथि नै महाविपत्तिको बज्र

मधेस वर्ण, नश्ल र रंगको कोपभाजनमा छ । ०६३ को मधेस आन्दोलनपछि तराईलाई हेर्ने दृष्टिकोणमा बदलाव आएको छ । र, यसले मधेसलाई कहीँ न कहीँ विकासको गतिमा एक्ल्याएको छ ।

तर, त्यो भन्दा अघिदेखि नै तराई–मधेस गरिबीको पुस्तैनी चक्रव्यूहमा परिसकेको थियो । चुरे झरेर जति दक्षिण ओह्रालो लाग्यो उती नै गरिबी र अभावसँग जम्काभेट हुन्छ । रीतिका रूपमा बाँचिरहेको कुरीति र थितिका रूपमा बाँचिरहेको बेथितिसँग मन नलागे पनि चिनापर्ची गर्नुपर्छ ।

तराईले विपत्तिको सामना गरेको यो वसन्तमा मात्र होइन । हरेक साल वर्षा काल बनेर आउँछ । सहकाल बन्नुपर्ने शीतयाम मधेसका लागि महाकाल बन्छ ।
यसपालीको चैते हुरी मधेसका लागि झनै डरलाग्दो बनेको छ ।

मधेसले स–साना हुरीका झोक्काको सामना नगरेको होइन । स–साना मोहोरीसँग मुकाबिला नगरेको पनि होइन ।

तर, सात समुद्रपारि अमेरिकामा आउने विनासकारी टोरनेडो आफ्नै थाप्लामाथि बज्रँदा बारा–पर्साका विपन्न उठ्नै नसक्ने गरी थला बसेका छन् ।

“६५ वर्षको उमेर भयो हजुर, अहिलेसम्म यस्तो विपत्तिको सामना गर्नुपरेको थिएन । भूमरीले बाजे–बराजुको सम्पत्तिसमेत उजाड्यो,” गणेश यादव तत्क्षण सम्झन्छन् ।

‘जहाँ कंगाल, त्यहाँ कर्म चण्डाल’– खै कसले बनायो यो लौकिक कहावत् ? तर पनि यो आहान मधेसमा पनि बारबार गला लाग्छ । आँधीले घरको श्रीसम्पत्ति उजाडे पनि मधेसको विकृति विसङ्गती सग्लै छाडेको छ । हुरीले धनी–गरिब, तल्लो–माथ्लो जातलाई सरोबरी बनाएर त्रिपालमुनि ल्याइदिए पनि पुस्तैनी साेंच भत्काउन सकेको देखिएन । त्रिपालमुनि नै देखिन्छ– जात–सम्प्रदायबीच आलो विभेद ।

एउटा समुदायले अर्को समुदायलाई राहत नबाँड्ने, सहायता नगर्ने मात्र होइन, एउटै वडाभित्र बसोबास गर्ने आफूभन्दा फरक सम्प्रदायलाई गर्ने तुच्छ व्यवहार ‘टोरनेडो’भन्दा शक्तिशाली र डरलाग्दो रहेछ ।

यस्तै दृष्य देखियो– भलुही चोकमा ।

आँधीले वितण्डा मच्चाएको भोलिपल्टैदेखि जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले मेस चलाएको थियो, बङ्ग्रीको किनार अर्थात् भलुही चोकमा । त्यहीँ मेसमा भात लिन आएका थिइन्– दलित महिला ।

“भाँडो निचे गिरा...!,” तुच्छ तवरले हप्काइन्, उनीसँगै उभिएकी माथ्लो जातकी महिलाले !

उनले प्रतिवाद गर्न सकिनन् । भाँडो तलै राखिन् र घर लगेर बालबालिकाको पेट उकासिन् ।

यो त नमूना परिदृष्यमात्रै रहेछ । बारा–पर्साका आँधीबाट थातथलो उखेलिएका दलितहरू कहीँकतै मेसमा सँगै बसेर भात खान सकेको देखिएन । भरबलियाका दलित महिलाहरू पनि आफ्नै आँगनमा घुम्टो ओढेर भात गाँस हालिरहेको दृष्य निकै टीठलाग्दो थियो ।

मधेस मू्लधारका राजनीतिले मात्रै पछाडि परेन । जातीय, क्षेत्रीय, वर्ण र नश्लको राजनीतिले पनि पछाडि पर्‍यो । अझ बढी मधेसी नेताकै कारणले पछाडि पर्‍यो ।
यसलाई पुष्टि गर्न एउटै दृष्य काफी हुन्छ ।

शुक्रबार दिउँसो पुनः हावाहुरी आउने भविष्यवाणी जल तथा मौसम विज्ञान विभागले गरेको थियो ।

आइतबारको भूमरीले होस–हवास गुमाएका भलुहीका पीडितहरू चोकमा टाँगेको पण्डालमुनि गुटमुटिएका थिए ।

बिहान साढे दश बजेको हुँदो हो । रातो रङ्गको गाडी अचानक मेसअघि देखा पर्‍यो । 

एकजना मधेसी नेतृ सरासर पन्डाल भएतिर आइन् र कुर्सी तानेर बसिन् ।

आफ्नै सजातीय नेतृ देखेपछि पीडितको आँखामा अलग्गै खुसी छाउनु स्वभाविकै थियो । र त, केही राहत पाउने आशमा छरिएका पीडितहरू पनि पन्डालतिरै एकोहोरिए ।
संघीय समाजवादी फोरम, नेपालकी सरिता गिरी रहिछन्, ती नेतृ ।

रित्तो हात आँधीले उजाडेको बस्ती घुम्न आएकी गिरीले पीडितको घाउमा मल्हमपट्टी गर्नु त कहाँ हो कहाँ, उल्टै धारा–प्रवाह प्रवचन दिन थालिन्– “यो विपत्ती कसरी आएको थाहा छ तपाईंहरूलाई ? ‘ग्लोबल वार्मिङ’ (विश्वव्यापी जलवायु परिवर्तनको असर हो यो ! जन्मिएर यत्रो भएँ, आँपका गाछी, बाँसको झ्याङ् उखेल्ने आँधी अहिलेसम्म देखेकी थिइनँ !”

शिक्षाबाट कोशौँ टाढा रहेका आँधीपीडितहरूलाई के थाहा ग्लोबल वार्मिङ ? न त्यसको निहितार्थ नै बुझुन् । तथापी आफ्नो प्रिय नेताको प्रवचन ध्यानमा निमग्न हुँदै सुनिरहेँ ।

प्रवचनको अन्तिममा केही न केही राहत पाउने आशा पीडितहरूको हुँदो हो । गिरीको गाडीलाई पछ्याउँदै आएका तीनवटा गाडी बाटामै रोकिइराखेका थिए । तर, ग्लोबल वार्मिङसम्बन्धि एकघन्टे प्रवचन सुनाएकी गिरी अन्नतः बस्तीलाई एक मुस्लो धूलो उपहार थमाउँदै बिदा भइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC