काठमाडौं । काठमाडौको न्युरोडमा वैशाखबाट छुट्टाछुट्टै ५ स्थानमा स्मार्ट पार्किङ सेवा सुरु हुने भएको छ । काठमाडौं महानगरपालिकाले ह्वील्स ट्रुली योर्स प्रालिसँगको सहकार्यका स्मार्ट पार्किङ सुरु गर्ने भएको हो ।
काठमाडौंमा सवारी पार्किङ व्यवस्थापनका लागि ट्वीन, पजल, मिनी रोटरी र टावर पार्किङ निर्माण तथा सञ्चालनमा ल्याउन सकिने प्रस्तावहरु आएकामध्ये उक्त प्रालिले पार्किङको जिम्मा पाएको हो ।
“अहिले व्यस्त बजारमा सवारी लिएर जानुपर्यो भने उपभोक्ताहरुलाई पार्किङ गर्ने ठाउँ खोज्दा खोज्दै दिक्क हुन्छ,” महानगरकाका मेयर विद्यासुन्दर शाक्यले भने, “काठमाडौं सहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा मेरो प्राथमिकतामा छ ।”
वैशाखबाट न्युरोडस्थित रामेश्वरम् मिठाइ पछाडिको भाग, विशाल बजारअगाडि, इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आर बि कम्प्लेक्सअगाडिको स्थानमा स्मार्ट पार्किङ सुरु गरिने महानगरपालिकाले बताएको छ ।
यी स्थानहरुमा एकपटकमा करिब ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने कम्पनीका सूचना प्रविधि इञ्जिनियर हरिश अग्रवालले बताए । सेन्सरजडित यो प्रणालीमा भेइकल इन्ट्री र आउट गरेको रेकर्ड हुन्छ ।
रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान र समय, पार्किङ शुल्कजस्ता विवरण क्युआर कोडबाट पनि हेर्न सकिन्छ । यसको एप्लिकेसन एन्ड्रोइड र आइफोन दुवैमा डाउनलोड गर्न सकिने प्रालिले बताएको छ । सपिङलगायत विभिन्न कामले न्युरोड जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्छन् ।
ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्छन् । पार्किङ गर्दा दुई पाङ्ग्रे सवारीका लागि प्रति घण्टा २० र चार पाङ्ग्रेका लागि प्रति घण्टा ५० रुपैयाँ शुल्क तोकिने महानगरपालिकाले बताएको छ ।