site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ज्ञानेन्द्रपछि दोस्रो सुरक्षा घेरामा प्रचण्ड ! तर किन सधैं असुरक्षित महसुस गर्छन् ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । ‘विप्लवले मलाई मार्ने पहिलो सूचीमा राखेका रहेछन् । यो सुन्दा मलाई दया लागेर आयो । प्रचण्डलाई मारेर गणतन्त्र बाँच्छ त ?’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २९ फागुनमा पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित सहिद परिवारको सम्मान कार्यक्रममा यस्तो खुलासा गरे । त्यसो त पटक–पटक प्रचण्डले आफूमाथि सुरक्षा खतरा रहेको बताउँदै आएका छन् । तर, यसपटक यसले निकै चर्चा पायो । कारण– उनलाई ज्यानको खतरा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट आएको हो, जो कुनैबेला प्रचण्डसँगै युद्ध लडेका व्यक्ति हुन् ।  

दुईपटक प्रधानमन्त्री बनिसकेका प्रचण्डले आफूमाथि सुरक्षा खतरा बढेको विषयलाई लिएर सार्वजनिक रुपमा दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् । ‘‘सुरक्षा चुनौतीमा रहेका सबैलाई हामीले उच्च सुरक्षा दिने गरेका छौं ।  सुरक्षा सतर्कता बढाएका छौं,’’ एसएसपी सुवेदीले भने । 

पूर्व डीआईजी हेमन्त मल्ल भने कुनै पनि विशिष्ट व्यक्तिहरुले आफूलाई सुरक्षा खतरा रहेको जानकारी बाहिर ल्याउनु राम्रो नभएको बताउँछन् । ‘‘कसलाई कुन तहसम्मको सुरक्षा खतरा हो, यस्ता विषयमा सुरक्षा संयन्त्रले नै आन्तरिक रुपमा काम गर्ने हो । नेपालको सुरक्षा संयन्त्र भरपर्दो छ,’’ पूर्वडीआईजी मल्लले भने । सत्तारुढ पार्टीकै अध्यक्ष भएको व्यक्तिले सुरक्षा खतराबारे बोल्दा जनस्तरमा त्रासको वातावरण उत्पन्न हुनसक्ने सुरक्षा अधिकारी बताउँछन् । अहिले पूर्वराष्ट्रपतिलाई नेपाली सेनाले सुरक्षा दिँदै आएको छ भने योबाहेकका पूर्व विशिष्ट व्यक्तिहरुको सुरक्षामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन हुँदै आएको छ । विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यविधिले कति सुरक्षाकर्मी दिने भने निर्दिष्ट गरेको छ । तर, कतिपय अवस्थामा केन्द्रीय सुरक्षा समितिले सुरक्षा खतराको मूल्यांकन गरेर बढाउन भने सक्छ । 

Agni Group

ज्ञानेन्द्रपछि दोस्रो सुरक्षा घेरामा प्रचण्ड !
नेपालमा पूर्वराजा ज्ञानेन्द्रपछि सबैभन्दा बढी सुरक्षा प्रचण्डलाई नै प्रदान गरिएको छ । प्रचण्डको सुरक्षामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिँदै आएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा डीएसपीको कमाण्डमा ११६ जना सशस्त्र प्रहरी रहेको सशस्त्र स्रोतले बतायो । पूर्वराजाको सम्पूर्ण सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिइएको छ । पूर्व माओवादी अध्यक्षसमेत रहेका (हाल नेकपा अध्यक्ष) प्रचण्डको सुरक्षामा सशस्त्र प्रहरी इन्स्पेक्टरको कमाण्डमा ४७ जना खटाइएका छन् ।

योबाहेक नेपाल प्रहरीले डीएसपीको कमाण्डमा ३० जनाभन्दा बढी सुरक्षाकर्मी खटाएको बताइन्छ । “पूर्वराजापछि उहाँ प्रचण्डलाई नै सबैभन्दा बढी सुरक्षा दिइएको छ । यो केन्द्रले खटाएको हो । जिल्लामा भने आ–आफ्नै हिसाबले व्यवस्था मिलाइएको हुन्छ, भ्रमण तथा कार्यक्रममा गएको बेला,’’ एक सुरक्षा अधिकारीले भने । प्रचण्डसँग नेपाल प्रहरीका डीएसपी र सशस्त्रका इन्स्पेक्टर भने सधै सँगै हुन्छन्, अंगरक्षकको रुपमा । विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधिले भने पूर्व प्रधानमन्त्रीलाई ७ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी गरी ९ जना सुरक्षाका लागि खटाइने मापदण्ड तयार गरेको छ ।

Global Ime bank

यो मापदण्ड अनुसारको सुरक्षा सुविधा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मात्रै लिएका छन् । सशस्त्र स्रोतका अनुसार बाबुरामको सुरक्षामा सईको कमाण्डमा ८ जना प्रहरी छन् । यसअघि उनले सुरक्षाकर्मी फिर्ता गरेका थिए । तर फेरि सुरक्षाकर्मी माग गरेपछि सशस्त्रले सुरक्षा उपलब्ध गराएको हो । 

‘सुरक्षा खतरा पूर्व माओवादीबाटै’
सुरक्षा स्रोतका अनुसार नेपालमा सबैभन्दा बढी सुरक्षा खतरा भएका नेता प्रचण्ड नै हुन् । स्रोतका अनुसार प्रचण्डलाई बाह्यभन्दा पनि आन्तरिक सुरक्षा चुनौती बढी छ । 

सुरक्षा अधिकारीको भनाइलाई आधार मान्ने हो भने प्रचण्ड आफ्नै पार्टीका कार्यकर्ता वा पूर्व माओवादीबाट बढी खतरामा छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको पछिल्लो रिपोर्टले प्रचण्डलाई सबैभन्दा बढी सुरक्षा खतरा प्रतिबन्धित विप्लव समूहबाट छ । त्योबाहेक विभाजित अवस्थामा रहेका अन्य माओवादी पार्टीहरु, आक्रोशित र निरास कार्यकर्ता तथा सरकारका काम कारवाहीबाट निरास बनेका जनताबाटै पनि प्रचण्डमाथि खतरा छ । 

प्रतिबन्धित विप्लव समूहका नेता नेत्रविक्रम चन्द तत्कालीन समयमा प्रचण्डकै विश्वासपात्र मानिन्थे । आखिर किन उनले विप्लवबाटै बढी सुरक्षा खतरा महसुस गरे त ? एक सुरक्षा अधिकारी भन्छन्, ‘‘युद्धबाट आएको शक्ति विभाजन भएको अवस्थामा आफ्नैबाट आफूलाई खतरा बढी महसुस हुन्छ । यस्तोमा आफ्नै नेतालाई दुश्मन देख्ने, वर्गविरोधी देख्ने सम्भावना रहन्छ । पूर्व सहकर्मीलाई आफ्ना नेताका सकारात्मक पाटा र कमजोरी दुवै राम्रोसँग जानकारी हुन्छ ।’’

प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नेकपा एमालेसँग एकत्रित भएर नयाँ पार्टी बनेको छ । प्रचण्ड र केपी ओली नयाँ पार्टीका अध्यक्ष छन् । नेकपाका सयौं नेता–कार्यकर्ता निराश भएर विदेश पलायन पनि भएका छन् । जनयुद्धका सयौं घाइतेको उपचार पूर्ण रुपले हुन सकेको छैन । सुरक्षा संयन्त्रकै रिपोर्टअनुसार झण्डै ३ हजार तालिमप्राप्त पूर्व लडाकु विप्लव नेतृत्वको नेकपामा आवद्ध छन् । 

प्रचण्ड आफैंले सार्वजनिक रुपमा सुरक्षा खतरा औंल्याएपछि प्रहरीले उनी सहभागी कार्यक्रममको सुरक्षा बढाएको छ । सुरक्षा स्रोतका अनुसार विप्लव समूहले प्रचण्डको ‘कोर टिम’मा रहेका पूर्व माओवादी नेताहरुमाथि समेत आक्रमणको रणनीति अपनाएको छ । त्यसैले पूर्व माओवादी (हाल नेकपा)का नेता सहभागी हुने कार्यक्रममा समेत सुरक्षा सतर्कता बढाइएको छ । पाँच वर्षअघि तत्कालीन एमाओवादीले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीकै कार्यकर्ता पदम कुँवरले प्रचण्डलाई थप्पड हानेका थिए । प्रचण्डमाथि आफ्नै कार्यकर्ताले गरेको यो पहिलो आक्रमण थियो । 

युद्धपछि शान्ति प्रक्रियामा आएका नेताहरुलाई सुरक्षा थ्रेट तुलनात्मक रुपमा अन्य नेताहरुको भन्दा बढी हुन्छ । ‘‘धेरै साथीहरुका गुनासा छन्, ती गुनासा व्यवस्थापन गर्न सकिएको छैन । कैयौं युद्धकालीन कार्यकर्ताको गाँस–बासकै टुङ्गो छैन । तत्कालीन नेतृत्वको हैसियतमा प्रचण्डले यी विषयहरुलाई सकारात्मक समाधान गर्नुभएन । त्यसैले पनि उहाँमाथि कार्यकर्ताबाटै खतरा बढेको हुनसक्छ,’’ नेकपाका एक नेताले भने । विप्लव समूहले प्रचण्ड, बाबुरामले क्रान्तिलाई धोका दिएको आरोप लगाउँदै त्यसको बदला लिने धम्की दिँदै आएको छ । विप्लव समूहले क्रान्ति पूरा नभएको भन्दै हालको संविधान र संसदीय व्यवस्थाकै खारेजीको माग गर्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC