– नरेश फुयाँल
वि.सं. २०२७ सालको एकदिन कमल प्रधान रेडियो नेपाल सुनिरहेका थिए । कृष्णा ताम्राकार समाचार पढिरहेकी थिइन् । तर, त्यो समाचार बिहान कमलले ‘गोरखापत्र’मा पढिसकेका थिए । सोचे— ‘गोरखापत्र’मा लेखिएको समाचार पढ्दा हुने, रेडियोमा स्वर र नाम पनि आउने । जनताले पनि चिन्ने, पैसा पनि पाइने । ओहो ! कस्तो राम्रो जागिर ! त्यहाँ जागिर खान पाए त दामी हुन्थ्यो !
त्यही बेला रेडियो नेपालले आवेदन आह्वान गर्यो । तर, प्रोग्राम प्रोड्युसरका लागि ।
कमलले आवेदन दिए । लिखित परीक्षा दिए । पास भए । स्वर परीक्षा दिए । पास भएका रहेछन् तर नाम निस्किएन ।
किन ?
४८ वर्षपछि पनि कमलसँग यो प्रश्नको जवाफ छैन । तर, उनी अनुमान लगाउन भने सक्छन् । शायद भनसुन गर्ने मान्छे नभएर होला । उनीसँगै परीक्षा दिएका किरण खरेल, विश्व बल्लभ, दामोदर अधिकारीलगायत उत्तीर्ण भएका थिए ।
तर, उनको भाग्य बलियो रहेछ । समाचार वाचक माधव सिक्देलले रेडियो छोड्न लागेका रहेछन् । रेडियो नेपालका प्रमुख भोग्यप्रसाद शाहलाई कमलको स्वर मन परेको रहेछ । उनले बोलाए । अनि शुरु भयो कमलको रेडियो यात्रा । २१ वर्षको उमेर थियो । एकातिर रहर, अर्कोतिर जिम्मेवारी । काम शुरु भयो ।
रेडियो प्रवेशको दुई हप्ता भएको थियो । मधुकर बस्नेतले फेड अन र आउट गर्न सिकाए । सम्पादक प्रचण्डमानसिंह प्रधानले ‘अब समाचार पढ’ भने । कमल बिहान ९ बजेको जिल्ला समाचार बुलेटिन पढ्न २ नम्बर स्टुडियो छिरे ।
केही डर, केही उत्साह बोकेर फेड इन गरेका कमलले समाचार त पढे तर कतै स्पष्ट उच्चारण भएन । कतै दोहोर्याउनु पर्यो । स्टुडियो प्रवेश गर्दा जति डर थियो, त्योभन्दा बढी निस्किँदा । सम्पादकलाई भने, “धेरै बिग्रियो । म त सक्दिनँ कि क्या हो ?”
प्रचण्डमानले हौसला दिए, “शुरुशुरुमा यस्तै हो । चिन्ता नमान । एक–दुई हप्तामा सुधार भइहाल्छ नि !”
‘अल इन्डिया’, ‘बीबीसी’, ‘भ्वाइस अफ अमेरिका’को समाचार अनुवाद गरेर समाचार बनाउनु पथ्र्यो । पश्चिमा राष्ट्रको समाचार शैली र नेपाली शैली मिल्दैनथ्यो । उताका स्रोता र नेपाली स्रोताको बुझाइ र चेतनाको स्तर नमिल्ने भएका कारण पनि हुबहु अनुवाद गर्न मिल्दैनथ्यो । समाचार लेखेर सम्पादकलाई देखायो, सधैं करेक्सन भएर आउने । कमललाई लाग्थ्यो— सजिलो काम होइन रहेछ यो । प्रचण्डमानलाई भन्थे, “सर, म त गर्न सक्छु जस्तो छैन । यति धेरै करेक्सन भएर आउँछ समाचार ।”
प्रचण्डमान उसै गरी भन्थे, “धैर्य गर न । तीन–चार हप्तामा सुधार भइहाल्छ, नडराऊ ।”
अनुभवले उनी खारिँदै गए । स्वर राम्रो थियो । फ्यान फलोइङ बढ्दै गयो । अनुवाददेखि समाचार वाचन, अन्तर्वार्तादेखि कमेन्ट्रीसम्म गरे । दक्षिण एसियादेखि युरोप, अमेरिकासम्मका न्युजरुम हेर्ने अवसर पाए । त्योबेला थाहा पाए— समाचार अनुवाद गर्ने, सम्पादन गर्ने, हेडलाइन राख्ने व्यक्ति फरक–फरक हुँदा रहेछन् । वाचकको काम पढ्नेमात्रै । यद्यपि, त्यसैले कमललगायतलाई अनुभवी र दक्ष बनायो ।
करारमा जागिर थियो । पढाइ स्नातकोत्तर थियो तर तलब नायब सुब्बासरहको थियो— जम्मा २२५ रुपैयाँ । उनलाई चित्त बुझेको थिएन ।
पञ्चायतको समय थियो । दरबार र पञ्चको बोलावाल चल्थ्यो । व्यवहारतः कानुनभन्दा माथि थिए उनीहरू । जे गरे पनि हुने । उनीहरूले जसलाई मन लाग्यो, उसैलाई बढुवा गरिदिन्थे । बढुवा गर्नकै लागि नयाँ पद सिर्जना हुन्थ्यो । उसको बढुवा भएसँगै त्यो पद पनि खारेज हुन्थ्यो ।
हात्तीमा राजा
रेडियो नेपालको रिपोर्टिङ गर्ने चलन थिएन । राष्ट्रिय समाचार समिति (रासस)बाट जे समाचार आयो, त्यही नै प्रसारण गर्ने थिति बसेको थियो । दरबार वा पञ्चायतले ठुल्ठूला समारोह आयोजना गरे भने कार्यक्रम शाखाबाट पत्रकार जान्थे । समाचार शाखाबाट कमेन्ट्रीका लागि समाचारवाचक जान्थे । दरबारसँग जसको चिनजान राम्रो छ, जसप्रति दरबारको छाप राम्रो छ, उसैलाई दरबारले बोलाउँथ्यो । त्यसैले दरबारको रिपोर्टिङ गर्न पाउनु चानचुने मानिँदैनथ्यो ।
०३१ फागुन १२ गते राजा वीरेन्द्रको राज्याभिषेक थियो । समारोहको कमेन्ट्री वीरेन्द्र सवार विभिन्न ठाउँबाट रेडियोले गर्नुपर्ने थियो । कमल र कृष्णा ताम्राकारले मरु गणेशथानबाट कमेन्ट्री गर्नुपर्ने थियो । हनुमानढोकाबाट राजारानी हात्ती चढेर सवार हुने र ओर्लिएर गणेशथान आएर लड्डु चढाई फर्किने कार्यक्रम थियो ।
“बिहान १० बजेको कार्यक्रम थियो तर हामीलाई बिहानै ३ बजे उठाएर मरुटोल पुर्याइयो । सुरक्षामा आर्मी थियो । रनिङ कमेन्ट्री गर्नलाई राजारानीको सवारी हेर्नुपथ्र्यो तर आर्मीले हेर्न दिँदैनथ्यो । बल्लतल्ल झुक्याएर हेर्नुपथ्र्यो,” उनले सम्झिए, “रानी ऐश्वर्यले मुजा फर्किएको अनौठो साडी लगाएकी थिइन् । त्यसलाई के भन्ने । के हो त्यो साडीको नाम ? कृष्णाले ‘मलाई थाहा छैन कमल, तिमी भन’ भन्ने, मलाई थाहा भए पो ! अन्तिममा मैले रानी ऐश्वर्यले विशेष प्रकारको साडी पहिरिबक्सिएको छ भनें । के भन्नुपथ्र्यो, मलाई थाहा थिएन ।”
मरु गणेशथानको फुट नोट लिएर गएका थिए, त्यही पढ्थे । फागुन भर्खर लागेको बिहान अबेरसम्म कुहिरो लागेको हुन्थ्यो । २५–३० फिटसम्मका मान्छे चिनिँदैनथे । बाक्लो हुस्सुले कारकेडमा को कतिखेर आयो भन्ने चिनिँदैनथ्यो । त्यसैले दरबारको संवाद सचिवालयले कसको पछि कसको कारगेड आउँछ भनेर उपलब्ध गराएको सूचनाका आधारमा कमेन्ट्री गर्थे ।
मरु गणेशथानको कार्यक्रम सकेर नयाँ सडक हुँदै दरबार फर्किरहेका राजारानी हात्तीमा सवार थिए । बाटो, हात्तीको नामदेखि राजारानी बस्नका लागि हात्तीमाथि गरिएको डेकोरेसनसम्म वर्णन गर्नुपथ्र्यो । त्यसलाई फुटनोट बनाएर लगिएको हुन्थ्यो । प्रवीण गिरीले त्यही हेरेर यस्तो हात्ती, डेकोरेसनलगायत भनेर वर्णन गरिरहेका थिए ।
“हात्ती र हात्तीमाथि राजारानी बस्नका लागि गरिएको डेकोरेशनको वर्णन गर्दागर्दै हात्ती गइसक्यो तर त्यो हात्तीमा को बसेको थियो भन्ने नै प्रवीणले भन्न भ्याएनन्,” कमल सम्झिन्छन्, “पछि त्यो रनिङ कमेन्ट्रीको समीक्षा भयो । मान्छेहरू हाँसे पनि तर हामी सबै डुइङ् एन्ड लर्निङमा थियौं । काम गर्दै सिक्दै आएका हौं । हामीले नेपालीमा गर्यौं, अंग्रेजीमा हरिश चन्द (माइकल)ले त्यो ऐतिहासिक कार्यक्रमको रनिङ कमेन्ट्री गरेका थिए ।”
‘रासस’ प्रवेश
रेडियोको जागिर थियो, नयाँ अनुभव गरिरहेका थिए । जनताले स्वर चिन्थे तर जागिर स्थायी थिएन । त्यसैले उनी ०३५ सालमा ‘रासस’ प्रवेश गरे । न्युज रिपोर्टिङ पनि हुने, पैसा पनि हुने । सहायक सम्पादकका रूपमा उनले ‘रासस’मा काम थाले । दुईतिर जागिर भयो । रेडियो पत्रकारितासँगै रिपोर्टिङको पनि अनुभव गर्न पाए । चिफ रिपोर्टर हुँदै कमल ‘रासस’को महाप्रबन्धकसम्म भए ।
बल्लबल्ल दुवैतिर समय मिलाउँथे कमल तर रेडियो र ‘रासस’का हाकिमको झगडाले उनलाई साह्रो पथ्र्यो । “दुईतिरका हाकिमको टसल परेपछि मलाई अफ्ठ्यारो पार्थे । कहिले बेलुका आइज भन्थे, कहिले बिहान र दिउँसो आइज भन्थे,” उनी भन्छन् ।
फेक समाचारका लागि दबाब
पञ्चायतको एउटा घटना सम्झिरहन्छन् कमल । ०४५ माघमा पोखरामा राजा वीरेन्द्रको सवारी थियो । साँझ सवारी शिविरबाटै उनलाई फोन आयो । फोन समाचारका लागि सूचना लिएर आइपुगेको थियो— पञ्चायतप्रति बौद्धिक वर्गको आकर्षण बढ्यो । प्राध्यापक, उपप्राध्यापक, सहप्राध्याक गरी पोखरामा १३० जना पञ्चायतमा प्रवेश गरे ।
कमलले फोन गर्ने व्यक्तिलाई भन्दिए, “समाचार त म दिन्छु तर को–को प्रवेश गरेका हुन्, ती सबै १३० जनाको नाम र उनीहरूको हस्ताक्षर चाहिन्छ मलाई । यत्तिकै भनेकै भरमा दिन मिल्दैन । प्रमाण पनि चाहिन्छ ।”
आफ्नो प्रभाव छ भन्ने हौवा फैलाउन यत्तिकै समाचार दिन खोजिएको थियो । वास्तवमा त्यहाँ कोही प्रवेश नै गरेका थिएनन् । फोन गर्नेले प्रमाण दिन सकेनन् । कमलले समाचार बनाएनन् ।
राजाको सवारीबाट ‘आजका लागि आउने यो अन्तिम समाचार हो है’ भनेपछि ‘रासस’को डेस्क बन्द हुन्थ्यो । त्यो बिहान ३ बजेसम्म डेक्स क्लोज भएन । आफूले भनेअनुसार समाचार प्रकाशन नगरेकै कारण रिस फेरिएको बुझ्न उनलाई गाह्रो परेन ।
अघिल्लो दिन पनि झमेला आइपरेको थियो उनलाई । पोखराकी अनेरास्ववियु नेतृ लक्ष्मी कार्कीलाई राजनीतिक बन्दी बनाएर चरम यातना दिइरहेका खबर बाहिर आइरहेका थिए । ‘रासस’बाट आएको भनेपछि सवारी शिविरले कमललाई लक्ष्मीसँग भेट्न त दिने भयो तर गफगाफ गर्न नदिने । ‘परबाट हेरेर अनुहारको भाव पढेर समाचार लेख्नू’ भनियो ।
उनले पनि भनिदिए, “मलाई साइकोलोजी पढ्न आउँदैन । परबाट अनुहार हेरेको भरमा म समाचार लेख्न सक्दिनँ ।”
पोखरामा वीरेन्द्रको भन्दा धेरै रानी ऐश्वर्यको कार्यक्रम भयो । रेडियोबाट फोन गरेर भन्थे, “कमलजी, राजाको भन्दा रानीको धेरै समाचार आयो । यसो मिलाएर समाचार पठाउनुपर्यो ।”
कमल भन्थे, “राजाको भन्दा रानीका धेरै कार्यक्रम भइरहेका छन् । भएका कार्यक्रमको समाचार लेखेको हो ।”
रेडियो भन्थ्यो, “मिलाएर समाचार लेख्नुस् न ।”
कमल भन्थे, “हेर्दा देखिने कुरा हो । भएको समाचार लेख्नैपर्छ । रेडियोले राससको समाचार पढ्ने हो । जति मन लाग्छ, पढ्नुस् । लाग्दैन, नपढ्नुस् ।”
उनको झगडै पर्यो । लैंगिक विभेद दरबारको समाचारमा पनि थियो ।
त्यही भ्रमणका बेला वीरेन्द्रले मस्र्याङ्दी जलविद्युत् आयोजनाको उद्घाटन गरे । जर्मनी, जापानलगायत मुलुकको ऋण तथा अनुदानमा बनेको थियो आयोजना । कसको कति लगानीमा आयोजना सम्पन्न भयो भनेर जानकारी दिइएको थियो । त्यसको समाचार उनले बनाएर पठाए ।
दरबारको संवाद सचिवालयले भन्यो, “कमलजी, कसको कति लगानी र ऋण हो, त्यो दिँदा कि रुपैयाँ, डलर अथवा जापानी ऐनमा दिनुपर्यो ।”
अहिलेको जस्तो कुन देशको मुद्राको भाउ कति थियो भन्ने थाहा पाउन सजिलो थिएन । इमेल, इन्टरनेट थिएन । त्यसमाथि उनी पोखरामा थिए ।
उनले भन्दिए, “कुन देशको पैसाको भाउ कति छ भनेर मलाई यहाँ बसेर थाहा हुँदैन । कि पैसाको भाउ मलाई तपाईंहरूले भन्दिनुस्, म सबैलाई एउटैमा कन्भर्ट गरेर पठाउँछु । होइन भने तपाईंहरू शुरुमा जानकारी दिँदा आफैं दिनुस्, त्यही समाचार म लेख्छु ।”
संवाद सचिवालय चुप लाग्यो । त्यो बेला संवाद सचिवालयले जे भन्यो, त्यही मान्ने चलन थियो ।
दरबारका एकजना सचिवलाई अझै बिर्सिएका रहेनछन् उनले । ती सचिव चीनको चाकडी गरेर समाचार पठाउँथे । तिब्बतमा भएका स–साना गतिविधि समाचार समिति ‘सिन्ह्वा’बाट तानेर उनले रेडियोमा पठाइरहन्थे । ती समाचारले नेपाल र नेपाली जनताका लागि कुनै अर्थ राख्दैनथे । कमल सम्पादकलाई ‘यस्तो समाचारको के अर्थ, नदिऊँ’ भन्थे । सम्पादकले ‘दरबार रिसाउँछ, पढ्दिनुस्’ भन्थे ।
“पछि मैले सुनें— उहाँले चीनबाट राम्रै फाइदा लिनुभयो रे ! उहाँ अहिले पनि जीवितै हुनुहुन्छ, त्यसैले नाम नभनौं,” कमलले भने ।
दरबारप्रति समर्पित पत्रकारिता
राजा सवारी हुनुभन्दा एकदिनअगाडि संवाद सचिवालयले बोलाएर ब्रिफिङ गथ्र्यो । ब्रिफिङमा राजा कहाँ–कहाँ जानेदेखि के–के गर्नेसम्मका कुरा हुन्थे । सवारीमन्त्रीले त्यसको चाँजोपाँजो मिलाउँथे ।
दिपायलमा राजाको सवारी थियो । सवारी कार्यक्रमको सबै विवरण आयो तर सवारीमन्त्री पशुपति शमशेर राणाको कार्यक्रम विवरण उनका स्वकीय सचिवले दिएनन् । “राजाको सवारी विवरण पाइने तर मन्त्रीको नपाइने कारण के हो ?” उनले प्रश्न उठाए ।
प्रश्न उठाएपछि मन्त्रीले पीएलाई गाली गरे । भ्रमणको कार्यतालिका उपल्ब्ध गराए । पशुपति शमशेरले सवारीमा भाषण गरे । विकासको अवधारणाका कुरा गरे । विकासको एसियाली मापदण्डको कुरा गरे । उनका प्रेस सल्लाहकारले एसियाली मापदण्डको कोणबाट समाचार बनाउन आग्रह गरे । तर, कमलले दालभातको अभावमा पिल्सिरहेका जनतालाई एसियाली मापदण्डबारे न जानकारी छ न मतलब, त्यसैले यसको अर्थ छैन भनेर आम जनताले बुझ्ने र उनीहरूसँग सरोकार राख्ने विषयलाई उठान गरे ।
विकासका लागि राजाको भ्रमण भनिन्थ्यो । राजासँगै लामो लर्को लाग्थ्यो— सुरक्षादेखि सरोकारवालासम्मको । त्यसमा सरकारी सञ्चारका पत्रकार पनि हुन्थे । विकासको निरीक्षण गर्न गएका राजा वीरेन्द्र तथ्यांकमा विकासको प्रगति विवरण खोज्थे । कतिले राजासँग गएर गरिने त्यो पत्रकारितालाई विकास पत्रकारिता भन्छन् । दूरदराजका कतिपय लुकेका कुरा पनि आउँथे । जनताका चाहना र अवस्था पनि आउँथे । कति समस्याको पहिचान र समाधानका बाटाहरू पनि समाचारमा समेटिएका हुन्थे । तर, कमललाई लाग्छ— त्यो पत्रकारिता विकासमा भन्दा पनि राजाप्रति समर्पित हुन्थ्यो । यद्यपि त्यो सरकारी सञ्चारमाध्यम र त्यसमा कार्यरत पत्रकारका लागि बाध्यात्मक अवस्था थियो ।
पञ्चायतमा पत्रकारिता
कांग्रेस, कम्युनिस्ट प्रतिबन्धित थिए । सरकारी सञ्चारमाध्यममा सत्तासीनका समाचारमात्र आउँथे ।
बीपीको समाचार लेख्दा ‘श्री’ लेखेकै कारण भैरव अर्यालले कारबाही भोगेको सम्झिँदै कमल भन्छन्, “हामीलाई बीपीको स्वर्गारोहण हुँदा उनको अन्तिम श्रद्धाञ्जलीमा नजानू भनेर निर्देशन नै त दिइएको थिएन तर अल्झाएर नगइदिए हुन्थ्यो भन्ने वातावरण बनाइएको थियो । ‘रासस’मा काम सकिएपछि म अनुमति लिएर गएको थिएँ ।”
राजारानीको कर्णाली सवारी भएको थियो । सवारीको समाचार कति रिपोर्टरले टिपाउँथे, कति संवाद सचिवालयले नै टिपाउँथ्यो । शनिबारको दिन थियो । दिउँसो साढे २ बजेको बुलेटिन थियो । समाचार टिप्दाटिप्दै साढे २ भयो तर समाचार टिपेर सकिएन । कमलले भने, “समाचार पढ्ने समय भयो । अब म बाँकी न्युज टिप्न भ्याउँदिनँ । सवारीको थप विवरण आउन बाँकी छ भन्दिन्छु ।”
संवाद सचिवालयले भन्यो, “यो सबै पढ्नुपर्छ, तैंले भनेर हुन्छ ?”
कमलले भने, “तपाईंले भनेर रेडियोको समयको समाचार समय परिवर्तन हुन्छ ? समयले तपाईंलाई भनेर पर्खिन्छ ?”
यति भन्दै फोन राखेर कमल समाचार पढ्न स्टुडियो छिरे ।
उनले फोन काटेर समाचार पढ्न स्टुडियो पसेपछि महाप्रबन्धक रामराज पौडेललाई फोन गरेर हप्काएछन्, “राजाको सवारीका बेला पनि एक न्युजमा एक जना मान्छे राखेर हुन्छ ? त्यो पनि बोल्ने सोमत छैन । कस्तो ठाडो बोल्ने मान्छे राखेको ?”
रामराजलाई नै समाचार टिपाएछन् । समाचार ल्याएर कमलाई पढ्न दिए । बुझ्नै गाह्रो पर्ने अक्षर बल्लबल्ल पढे । एउटा वाक्य थियो, “...राजालाई फूल बिच्छ्याएर स्थानीयले भव्य स्वागत गरेका छन् ।”
जे छ, त्यही पढे कमलले । तर, वास्तवमा फूल बिच्छ्याएर होइन, तुल बिच्छ्याएर रहेछ ।
अर्को दिन आउँदा ‘तुलको ठाउँमा फूल पढ्यो’ भनेर रेडियोले उनलाई स्पष्टीकरण लेख्न तयारी गरिरहेको थियो । कमलले भने, “जे लेखेको थियो, मैले त्यही पढेको हुँ । तुल होइन, फूल नै लेखेको थियो । होइन भने समाचार लेखेको त्यो पेपर हेर्न चाहन्छु । पेपर नहेरी स्पष्टीकरण दिन्नँ । समाचार लेखेको कागज हेर्दा मैले गल्ती पढेको रहेछु भने म स्पष्टीकरण दिन्छु, होइन भने गल्ती लेख्नेले स्पष्टीकरण दिनुपर्छ ।”
पेपर गायब भइसकेको थियो । भन्छन्, “त्यसपछि स्पष्टिकरणको कुरै उठेन ।”
एउटा शब्दले दिएको तनाव
कमल ०३५ सालतिर फर्किन्छन् र एउटा तीतो अनुभव सुनाउँछन् ।
“सबै समाचार तयार थियो । मौसमको भविष्यवाणीबारे जानकारी दिन मौसम विभागमा फोन गर्नुपथ्र्यो । गरेको बेलामा सधैं फोन उठ्दैनथ्यो । मैले सबै समाचार तयार पारेर फोन गरें, उठेन । बेलुकी ७ बजेको समाचार थियो । यसो बाहिर हेरेको, मौसम त्यति राम्रो थिएन । अहिलेको जस्तो मौसमको भविष्यवाणी खासै मिल्दैनथ्यो । कसैले विश्वास नै गर्दैनथे तर पनि पढ्नै पर्ने । त्यसैले म पाँच विकास क्षेत्रको तापक्रम यत्तिकै भन्दिन्छु भनेर स्टुडियो छिरें । मौसम बदली भन्नुपर्नेमा जिब्रोमा अचानक गडबडी भन्ने शब्द आयो । त्यही शब्द फुत्कियो । मैले नभन्ने शब्द भनें लागिरहेको थियो । नभन्दै त्यही शब्द कोट गरेर भोलिपल्टै मसँग स्पष्टीकरण सोधियो । समाचार लेख्ने कागजमा किन नलेखेको ? गडबडी भन्ने शब्द किन भनेको ? नियत के थियो ? २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने भयो । दुई पाना लामो स्पष्टीकरण लेखें ।”
‘गडबडी’ भन्ने शब्दलाई प्रशासनले राजनीतिसँग जोडेर अर्थ लगाएछ । दलहरूले पञ्चायतको विरोध गरिरहेका थिए । त्यहीबेला राजारानी क्षेत्रीय भ्रमणका लागि पोखरा पुगेका थिए । कमलले राजनीतिक उद्देश्य र नियतले गडबडी शब्द प्रयोग नगरिएको भनेर स्पष्टीकरण लेखेको सुनाए ।
बहुदलमा पनि उस्तै
बहुदल आइसकेको थियो । सञ्चारमाध्यम स्वतन्त्र भए भनिएको थियो । निजीस्तरबाट सञ्चारमाध्यम खुल्न पनि थालेका थिए । त्यसले राजनीतिक स्वतन्त्रताको आभास पनि गराउँथ्यो ।
तर, सरकारी सञ्चारमाध्यमले व्यवहारमा त्यो उपभोग गर्न पाइरहेका थिएनन् । टनकपुरको विषयमा विवाद भयो । मुद्दा सर्वोच्च अदालतमा पुग्यो । फैसला पनि आयो । फैसलामा भनिएको थियो, “संविधानको धारा १२६, उपधारा २ आकर्षित हुन्छ ।”
कमल भन्छन्, “त्यो समाचारको नियत नै जनताले नबुझून् भन्ने थियो । साँझ ७ बजेको समाचार बुलेटिन ‘रासस’बाट पढ्ने भनेर पर्खी बसियो । समाचारको पीआईडी बजेको पनि निकै समयपछि समाचार आयो । ‘रासस’ले तीनपटक पढ्दा पनि नबुझिने गरी लेखेको थियो । त्यही समाचार रेडियो नेपालले पढ्यो । सरकारले हार्यो कि जित्यो, सुन्ने कसैले पनि बुझेनन् । गिरिजाप्रसाद कोइरालाको सरकारविरुद्ध जाने आँट कसैले पनि गरेन । बहुदलमा पनि यस्तो हुँदोरहेछ भनेर नयाँ अनुभव भयो त्यो हाम्रा लागि ।”
० ० ०
तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा कमल ‘रासस’का महाप्रबन्धक भए । गिरिजाप्रसाद कोइरालानेतृत्वको सरकारले ज्ञानेन्द्रको मन्त्रिपरिषद्ले गरेका सम्पूर्ण निर्णय बदर गर्ने निर्णय ग¥यो । महाप्रबन्धक कमलको पद पनि स्वतः गयो । १२औं तहबाट उनी स्वतः ११औं तहको नायब महाप्रबन्धकमा फर्किए ।
दरबारले शासनसत्ता हातमा लिएको थियो । कमल थापा सञ्चारमन्त्री थिए ।
“म समाचारबाट गएको मान्छे, न्युज किल गर्नु हुँदैन भन्नेमा म अडिग थिएँ । त्यसैले ज्ञानेन्द्रको विरोधमा हुने गतिविधिको समाचार हामी दिनहुँ दिन्थ्यौं । अहिले पनि ‘रासस’को फाइल पल्टाएर हेर्यो भने देखिन्छ,” कमल भन्छन्, “म आफैंले भोगेको समस्या अरूलाई भोग्न दिइनँ । जो शक्तिको नजिक छ, उसलाई मात्रै अवसर दिने, घुम्न पठाउने चलन थियो । तर, चार वर्षको मेरो कार्यकालमा मैले १४ पत्रकारलाई पालैपालो रिपोर्टिङ र तालिमका लागि विदेश पठाएँ ।”
कमलले रेडियो नेपालमा ०२७ देखि ०५८ सम्म काम गरे । ‘रासस’का विभिन्न तहमा ०३५ देखि ०६५ सम्म बिताए । ‘रासस’बाट अवकास लिएपछि उनले ‘नेपाल समाचारपत्र’ र ‘आर्थिक अभियान’मा एक–एक वर्ष विचारपृष्ठ हेरे ।
तस्बिरः सौरभ रानाभाट