site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जसले ७१ जनाको मृत्यु देखे
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


जिन्दगीको खाका कोरिएको थिएन । के पढ्ने स्पष्ट लक्ष्य थिएन । आईए पढ्नका लागि ०३६ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) पुगेका थिए केशव (पौडेल) । पत्रकारिता नयाँ विषय थियो । नेपालमा पत्रकारिताको अध्यापन सुरु भएको एक वर्ष भएको थियो । त्यसैले उनले एउटा विषय लिए पत्रकारिता । पत्रकारिता पढेपछि पत्रकार बनिहाल्ने पनि होइन, गर्नैपर्छ भन्ने पनि थिएन । 

तत्कालीन पत्रकार संघको चुनाव हुन्थ्यो । संघका मान्छे आएर पत्रकारिताका विद्यार्थीलाई पत्रकारको फर्जी कार्ड बनाएर चुनावमा भोट हाल्न लैजान्थे । केशव पनि जान्थे । चुनावमा भोटहाल्न जाँदा सयौं पत्रकारसँग भेट हुन्थ्यो । त्यो भेटले नै पत्रकारिताको चस्का पस्यो केशवलाई । पत्रकारिता गर्नुपर्छ कि क्या हो भन्ने लाग्न थाल्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्नातक तह दोस्रो वर्षमा पढ्दा इन्टर्नसिप गर्नुपथ्र्यो । ०४० सालमा इन्टर्नसिप गर्न केशव ‘गोरखापत्र’ दैनिक पुगे । गोकुल पोखरेल सम्पादक थिए । स्पोर्टस् रिपोर्टङ गर्न थालेका थिए । सरकारी सञ्चारमाध्यम ‘गोरखापत्र’ दैनिक, ‘राष्ट्रिय समाचार समिति’ (रासस) र ‘राइजिङ नेपाल’ मात्रै थिए । लोकसेवा आयोगले पत्रकारिता गर्ने व्यक्तिले पत्रकारिता पढेकै हुनुपर्ने अनिवार्य नियम ल्यायो । 

पत्रकारिता पढेका व्यक्ति निकै कम थिए । ‘गोरखापत्र’ले तिमी यहीँ काम गर भन्यो । विज्ञापन जारी गर्‍यो । केशवले आवेदन दिए र पास भए । इन्टर्नसिप गर्न गएका केशवको जागिर ०४२मा स्थायी भयो । रामचन्द्र न्यौपाने सम्पादक थिए । 

Global Ime bank

त्यो समय अहिलेको जस्तो बाइलाइन सजिलै आउँदैन थियो । बाइलाइनका लागि महिनौं कुनुपथ्र्यो । त्यसैले केशवलाई आफ्नो पहिलो बाइलाइन स्टोरी अझै याद रहेछ । चिफ रिपोर्टर ध्रुवहरि अधिकारीले असाइन गरेका रहेछन् । काठमाडौंमा दैनिक कुखुराको मासु कति खपत हुन्छ भनेर केशवले मेहनत गरेर तयार पारेको उक्त समाचारमा पहिलोपटक बाइलाइन छापियो । ०४० सालमा काठमाडौंमा कुखुराको मासु कति खपत हुन्थ्यो, त्यो त केशवको सम्झनाबाट हराइसक्यो तर कुखुराको मासु बेच्ने पसल करिब सयवटा रहेको समाचारमा लेखेको बिर्सिएका छैनन् उनले । “बाइलाइन हाल्न त्यो बेला अहिलेको जस्तो सजिलो थिएन । तर ध्रुवहरि सरले नयाँलाई इन्करेज पनि हुन्छ भनेर बाइलाइन हाल्न लगाउनु भएको थियो,” केशव सम्झिन्छन्, “आरआरबाट ‘गोरखापत्र’मा तिमीहरुजस्तो युवाले विकास पत्रकारिता गर्नुपर्छ भनेर भारतदत्त कोइरालाले लैजानुभयो । तर ‘गोरखापत्र’ पुगेपछि पत्रकारिता गर्न हौसला दिने र यसैलाई पेशा बनाउन मद्दत गर्ने काम ध्रुवहरि अधिकारीले गर्नुभएको हो ।”

कुखुराको मासु खपतको समाचार लेखेको अर्को हप्ता पनि केशवले बाइलाइन स्टोरी लेखे । त्यो समाचार थियो– रातो रङ्ग लगाएकोखसीको मासु खाँदा क्यान्सर हुन्छ । त्यो समाचारले निकै चर्चा पाएको केशवले ३४ वर्षपछि सम्झिए । 

खेलकुदको समाचार उनले लामो समय लेखे । त्यो बेला विषयगत रिपोर्टिङको चलन थिएन । उनले रिर्पोटिङ गर्दागर्दै स्पोर्टस्को पनि छुट्टै रिपोर्टिङ हुनुपर्छ भनेर सुरु भएको केशव सुनाउँछन् । “सुशील शर्मा ‘राइजिङ नेपाल’का लागि र म ‘गोरखापत्र’का लागि रिपोर्टिङ गर्न जान्थ्यौं । खेलकुदका कार्यक्रममा धेरजसो त पत्रकार हामी दुईजना मात्रै हुन्थ्यौं,” केशव भन्छन् । 

आँखै अगाडि शव नै शव
०४४ साल फागुन २९ गते दशरथ रङ्गशालामा त्रिभुवन च्यालेन्ज कप अन्तर्गत नेपाल र बंगलादेशबीचखेल भइरहेको थियो । केशव र सुशील ग्यालरीमा बसेर खेल हेरिरहेका थिए । नेपालले बल बंगला देशको डि–एरियामा पुर्‍याएको थियो । अचानक हावाहुरी आयो । भागदौड मच्चियो । केशव र सुशील ग्यालरीबाट भित्र छिरेर तल झरेर भित्रै बसे । 

“हावाहुरी कम भएपछि हामी बाहिर निस्किँदा स्टेडियममा शव यत्रतत्र छरिएका थिए । त्यो विद्रूप दृश्य देखर मनै खिन्न भयो । खेल रमाइरहेको रङ्शाला छिनभरमै मसान घाटमा परिणत भयो,” केशव सम्झिन्छन्, “पानी परिरहेको थियो । सुशीलजी र म रुझ्दै पत्रिकाको अफिस पुग्यौं । अफिस पुग्दासम्म ५६ जनाको मृत्यु भएको खबर आइपुग्यो । अमेरिकन समाचार संस्था युपीआईमा काम गर्ने भोला राणाले हामीसँग लिएर त्यो समाचार ब्रेक गर्नुभयो ।” 

केशव र सुशीललाई सम्पादकले वीर हस्पिटल लेखेटे ।त्यहाँ झनै कारुणिक दृश्य । घाइतेहरुको आर्तनाद र आफन्तको विलापले अस्पताल मसान घाट जस्तो भएको थियो । हस्पिटलका शव र घाइतेलाई लाइन लगाएर राखिएको थियो । एम्बुलेन्सले घाइतेलाई ओसारेको ओसारै थियो । “आफ्नै अगाडि भुकुभुकु मान्छे मरेको देखेपछि मलाई मनोवैज्ञानिक त्रास जस्तो भयो । रङ्गशाला जाँदा त्यही दृश्य मात्रै आउन थाल्यो,” केशवले सम्झिन्छन्, “त्यसपछि मैले स्पोर्टस् रिपोर्टिङ गर्न नै छोड्दिएँ ।” 

रङ्गशालामा भएको उक्त भागदौडमा ७१ जनाले ज्यान गुमाए । तत्कालीन खेलकुद मन्त्री केशरबहादुर विष्टले नैतिकताका आधारमा राजीनामा दिए । 

सरकारले घटना घट्नुको कारण पत्ता लगाउन न्यायाधीशको अध्यक्षतामा छानबिन आयोग गठन गरेको थियो । उक्त छानबिन अयोेगमा प्रत्यक्षदर्शीको नाताले केशवले पनि बयानदिए । “रङ्गशालाको आपतकालीन द्वार बन्द थियो र खोल्न खोज्दा नखुलेपछि भागदौडमा च्यापिएर मृत्यु भएको मैले बयान दिएको थिएँ,” केशव सुनाउँछन् । 

विकासे पत्रकारिता 
७१ जनाको मृत्युले बिरक्तिएका केशवले खेलकुदको समाचार लेख्न छोडेपछि विकास पत्रकारितातर्फ लागे । पञ्चायतकाल थियो । समाचार त पत्रकारले लेख्थे तर त्यसको बागडोर दरबारमा हुन्थ्यो । तुलनात्मक रुपमा अन्य समाचारभन्दा राजनीतिक समाचारमा दरबारले सोझै हस्तक्षेप गथ्र्यो । त्यसैले केशवले लेख्न थाले विकास समाचार। भारतदत्त कोइराला हौसला दिन्थे । देश विकासमा भूमिका खेल्ने विकास पत्रकारिता नै हो भन्ने उनको मान्यता थियो । समाचारमा तुलनात्मक रुपमा स्वतन्त्रता पनि त्यसैले केशवले लेख्न थाले सिँचाइ, तरकारी र विद्युत्का समाचार । 

त्यसो त उनी राजा वीरेन्द्रका क्षेत्रीय भिजिटमा पनि जान्थे । राजा वीरेन्द्र धनगढी गएका बेला केशव पनि गएका थिए । राजाको समाचार पठाउनै पथ्र्यो । नपठाए स्पष्टीकरण दिनुपथ्र्यो । स्पष्टीकरण चित्त नबुझे जागिरै जान्थ्यो । समाचार पठाउन अहिलेको जस्तो इन्टरनेट थिएन । सीधा हवाई सुविधा थिएन । टेलिफोनबाट समाचार टिपाउनु पथ्र्यो । केशव प्रविधिको अभावमा हुने पत्रकारिताका कुरा गर्छन्, “धनगढीबाट सिधा काठमाडौं सम्पर्क हुँदैनथियो । एसटीडी सुविधा थिएन । धनगढीबाट महेन्द्रनगरको टेलिफोन अपरेटरलाई समाचार टिपाउनु पथ्र्याे । महेन्द्रनगरको टेलिफोन अपरेटरले नेपालगञ्जको टेलिफोन अपरेटरलाई र नेपालगञ्जको अपरेटरले काठमाडौंको गोरखापत्रको समाचारकक्षमा फोन गरेर समाचार टिपाउनु पथ्र्यो । एउटा शब्दमा गडबडी भए दरबारले सिधै जागिरबाट निकाल्दिन्थ्यो ।”

कर्मचारीतन्त्रमा त्रास त थियो तर जनउत्तरदायी भएर काम गर्ने इच्छाशक्ति थिएन । डेभलपमेन्ट प्रोजेक्टको प्रगतिविवरण राजालाई चाहिन्थ्यो । अंकमा प्रगति खोज्थे वीरेन्द्र । राजा आउने भनेपछि रातारात काम हुन्थ्यो । “मैले आफैँले देखेको धनगढीमा अघिल्लो दिनसम्म केही काम भएको हुँदैन थियो । राजा आउनेभनेपछि भोलिपल्ट बिहान जाँदा राति नै ढलान गरेर सुकाएर तयार पार्थे,” केशव सुनाउँछन्, “मैले आफैँले देखेको त हैन, अरुले भनेको सुनेको । जुम्लामा राजाखानेपानीको निरीक्षण गर्न जाँदा आयोजनाको काम सकिएकै थिएन । धारा थिए तर पानी थिएन । त्यसैले स्थानीय पञ्चायतले दरबारबाट बच्न घरको छतमा गाग्रीबाट पाइपमा पानी हालेका थिए रे । राजाले धारा खोल्दा पानी आयो । तर त्यो गाग्रीबाट पाइपमा हालिएको पानी थियो । यस्तो पनि हुन्छ भनेर हामीलाई पहिला रिपोर्टिङमा गइसकेकाहरु सचेत गराउँथे ।”

नेपालीबाट अंग्रेजीतर्फ
नेपाल वातावरण पत्रकार समूहमा पत्रकारिता सम्बन्धी ६ महिनाको फेलोसिप आएको थियो । केशव छनोट भए । ६ महिना अमेरिका गएर फर्किए । 

सुशील शर्मा नेपालीमा पत्रकारिता गरेर हुँदैन भनिरहन्थे । अंग्रेजीमा गर्नुपर्छ भन्ने उनको मान्यता थियो । ‘राइजिङ नेपाल’ छोडेर सुशील ‘काठमाण्डू पोष्ट’ आइसकेका थिए । केशवलाई पनि उनी सरकारी सञ्चारमाध्यममा बसेर स्वतन्त्र पत्रकारिता गर्न सकिँदैन भनेर आफूसँगै ‘काठमाण्डू पोष्ट’ ल्याउने तयारी गरिरहेका थिए । 

कारणबस सुशीलले ‘काठमाण्डू पोष्ट’ छोडेर ‘स्पटलाइट’ म्यागेजिन प्रकाशन सुरु गरे । केशव पनि ०५४ सालमा ‘गोरखापत्र’को जागिर राजीनामा दिएर ‘स्पटलाइट’ पुगे । 

‘गोरखापत्र’का किस्सा
केशवले०४३ सालमा फर्किएर एउटा प्रसंग सुनाए । त्यो बेला गणेशराज शर्मा नाम चलेका वकिल थिए । जानपहिचान व्यक्तिको अन्तर्वार्ता लिन पाउनु ठिकै त थियो भनेर गए केशव । तर गणेशराज शर्माले भने, “म तपाईंलाई अन्तर्वार्ता दिन्न । एउटा आर्टिकल दिन्छु त्यसलाई कुनै शब्द परिवर्तन नगरी जस्ताको तस्तै छाप्नसक्नुहुन्छ ?” 

दिनेश सत्याल (सौरभ) फिचर पेज प्रमुख थिए । उनले भने, “हुन्छ, लिएर आउनुस्, जस्ताको तस्तै एक अक्षर नबिराई छाप्ने जिम्मेवारी मेरो भयो ।” 

‘लहरको लागि राजनीति र राजनीतिका लागि लहर’ शीर्षकमा गणेशराज शर्माको लेख छापियो । त्यो लेखले गणेशराज शर्मासँग नजिक भएका केशवलाई उनी भन्थे स्वतन्त्र र निर्भिक नभई पत्रकारिता गर्न सकिँदैन, स्वतन्त्र पत्रकारिता गर्न नसके पत्रकारिता नगरेकै राम्रो । उनको त्यो विचारले पनि ‘गोरखापत्र’मा सरकारी नियन्त्रणमा बसेर पत्रकारिता गर्नुभन्दा निर्भीक भएर पत्रकारिता गर्छु भनेर केशव ‘स्पटलाइट पुगेका थिए । 

सौरभको अर्को प्रसंग पनि सम्झिए केशवले । ‘गोरखापत्र’मै बसेर पनि सौरभ स्वतन्त्र पत्रकारिता गर्न खोज्थे । उनले हेरेको पेज सम्पादकलाई पनि हम्मेसी हेर्दैनथे । सौरभले एक दिन ‘गोरखापत्र’मा सूचना निकाले, जबसम्म गुणस्तरीय कथा, कविता आउँदैनन् तबसम्म ‘गोरखापत्र’मा कथा कविता छापिँदैन । उनले देशमा राम्रो कथा तथा कविता लेख्ने कवि तथा कथाकार नरहेको सूचनामै लेखेका थिए । 

पर्‍यो आपत् !

बडामहारानी ऐश्वर्य स्वयम् कवि थिइन् । उनलाई सरकारले कवि मान्थ्यो । तर सरकारी पत्रिकाले नै भन्यो, देशमा राम्रा कवि तथा कथाकार नै छैनन्, जसका सिर्जना छाप्न योग्य हुन् ।

बाल मुकुन्ददेव पाण्डे सम्पादक थिए । खैलाबैला मच्चियो । “दरबारले गोरखापत्रका सम्पादकसँग स्पष्टीकरण माग्यो । एकेडेमीले आपत्ति जनाउँदै विज्ञप्ती जारी गर्‍यो । सौरभलाई पत्रिकाले शाखा परिवर्तन गरिदियो । स्वाभिमानी उनले जागिर नै छोडिदिए,” केशव भन्छन् । 

गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । संसदमा सबैभन्दा ठूलो पार्टीको संदीय दलको नेताका हैसियतले उनले संसद्विघटन गरे । दरबारले संसद्लाई ब्युँत्याउन सक्छ कि सक्दैन भन्ने छलफल सुरु भएकोथियो । सञ्चारमाध्यम र जनता पक्ष–विपक्षमा विभाजन भएका थिए । गणेशराज शर्मा वरिष्ठ अधिवक्ता, उनलाई कोट गरेर केशवले समाचार लेखे । 

धारा १२६ दरबारले प्रयोग गर्नसक्छ कि सक्दैन ?केशवले गणेशराजलाई सोधे । उनले भनेका थिए, “दरबारले संसद् पुनः स्थापित गराउन सक्तैन । संसद्ले नै त्यसलाई अनुमोदन गर्नुपर्ने भएकाले त्यसको सर्वाधिकार संसद् स्वयम्लाई मात्रै छ ।”

केशवले समाचार लेखे । गणेशराजले भनेको आशय उनले बुझेका थिए । कोट आफैँ टिपाइदिएका पनि थिए उनले । विडम्बना ! अर्थ अर्कै दिनेगरी समाचार प्रकाशन भयो । केशव भन्छन्, “त्यही कारणले उहाँ (गणेशराज शर्मा) मसँग केही समय बोल्नु भएन । अहिलेको अनलाइनमा जस्तो भएको भए सच्याउन सकिन्थ्यो । तर पत्रिका थियो । सच्याउन सकिँदैनथ्यो ।” 

० ० ०

कोही अंग्रेजी पत्रिकाको सर्कुलेशन र प्रभाव कम छ भनेर नेपालीमा आउँछन् तर केशव भने नेपाली छोडेर अंग्रेजीमा आए । ‘स्पटलाइट’को सम्पादकसम्म भए । 

किन ?

केशव तर्क गर्छन्,नेपाली पत्रिकाको सर्कुलेशन धेरै छ । धेरैले पढ्छन् पनि तर त्यसको प्रभाव कम छ । अंग्रेजी पत्रिका थोरैले पढ्छन् तर त्यसले सिधै नीति निर्माण तहमा प्रभाव पर्छ । आफ्नो अनुभवले थाहा पाएको भन्दै केशव जिकिर गर्छन् । 

‘राजदरबार परिपत्र’
करिब ३५ वर्ष लामो पत्रकारिताको करिअरमा थुप्रै तीतामिठा अनुभव छन् केशवसँग । कहिले खेलकुद कहिले आर्थिक । कुनै समय विद्युत् त कुनै समय राजनीति र अदालतसम्मको रिपोर्टिङ गरे । कहिले राजासँग सुदूर धनगढी पुगे त कहिले पत्रकारिताकै फेलोसिफका लागि अमेरिका । कहिले दिउँसो त कहिले रात्रिकालीन समयमा काम गरे । 

एक समय केशवको रात्रिकालीन ड्युटी थियो ‘गोरखापत्र’मा । पञ्चायतकाल थियो । दरबारको जगजगी । दरबारका सदस्यले जेसुकै गरे पनि समाचार ।
दरबारको संवाद सचिवालयले ‘राजदरबार परिपत्र’ भनेर पठाउँथ्यो । त्यस्तो परिपत्रमा दरबारका सदस्यहरु कहाँ के कार्यक्रममा सहभागी भए भन्ने हुन्थ्यो अक्सर । १२ बजेसम्म बस्नुपथ्र्यो ।

संवाद सचिवालयले राजा वीरेन्द्र कसैको विवाहमा सरिक भएको समाचार टिपायो । केशव आफैँले समाचार टिपेर बनाएका थिए । भोलिपल्ट बिहान १० बजे नै दरबारको फोन आयो । 

कारण ?

“राजा जसको विवाहमा सरिक भएका थिए, वास्तवमा त्यसको नाम नभएर अर्कै व्यक्तिको नाम छापिएछ । मलाई अहिले पनि याद छ, उसले जे नाम टिपाएको थियो, मैले त्यही नै टिपेर समाचार बनाएको थिएँ,” केशव सुनाउँछन्, “तर दोष मेरै टाउकोमा आयो । झण्डै–झण्डै मेरो जागिर गएको त्यो बेला । बालमुकुन्ददेव पाण्डे सम्पादक हुनुहुन्थ्यो । उहाँ सम्पादक र सञ्चार सचिव विष्णु प्रताप शाह भएैकै कारण मेराे मेरो जागिर बचेको, अरु भए जान्थ्यो ।” उनै सचिव शाहले ०४५ सालको भूकम्पको समाचार संकलन तथा प्रकाशन गरेवापत केशवलाई पदक पनि दिलाएका थिए । 

अर्को घटना 
‘गोरखापत्र’मा कृष्णभक्त श्रेष्ठ सम्पादक थिए । नाइट डेस्कमा उद्वव उपाध्याय र केशवको पालो थियो । राससको बुलेटिन चाँडै आयो । त्यसलाई पेजमा सेटअप गराए । ११ बजे नै उनीहरु घर गए । दिन थियो, २०४८ जेठ ७ गते ।

अमेरिकामा रहेका सम्पादक कृष्णभक्तका आफन्तले सीएनएनमा समाचार हेरेर राजीव गान्धीको मृत्यु भएछ भन्दै टेलिफोन गरे । कृष्णभक्तले अफिसमा फोन गरे तर सबै घर गइसकेका । 

केशव र उद्ववले भोलिपल्ट बिहान पत्रिका हेर्दा ब्यानर न्युज नै अर्कै छ । कृष्णभक्त आफैं गएर डमी परिवर्तन गरेर समाचार लेखेछन् । १२ बजेसम्म अफिसमा बस्नुपर्ने उनी किन चाँडै निस्किए ? भोलिपल्ट सम्पादकले स्पष्टीकरण मागे । 

अनुहार देखाउने लोभ
‘गोरखापत्र’मा भर्खर स्थायी भएका थिए केशव । ‘नेपाल टेलिभिजन’ खुल्यो । ‘गोरखापत्र’बाट दुर्गानाथ शर्मा ‘नेपाल टेलिभिजन’ गएका थिए । उनले भने, “तिमी आउँछौ भने सातौं तहमा राख्छु ।” छैटौं तहका केशव लोभिए । काजमा सातौं तहमा जागिर खान ‘नेपाल टेलिभिजन’ पुगे । 

‘नेपाल टेलिभिजन’मा पनि काम त समाचार नै लेख्ने थियो । तर माध्यम फरक । क्यामेरामेनसँगै बुम र ट्राइपोड बोकेर कुद्नुपर्ने । ६ महिना काम गरेपछि काबु भएछन्, ‘गोरखापत्र’ नै फर्किए । 

छोटै समय काम गरे पनि ‘नेपाल टेलिभिजन’मा केही अनुभव भने उनले संगाले । “टेलिभिजनको चार्म नै बेग्लै थियो । हामी नगएसम्म कोही पनि कार्यक्रम नै सुरु गर्दैनथे । टेलिभिजन आउँछ अनि सुरु गर्ने भनेर बस्थे,” केशवले रमेशनाथ पाण्डेलाई सम्झिए, “रमेशनाथ पाण्डे मन्त्री हुनुहुन्थ्यो । टेलिभिजनमा देखिने उहाँलाई खुब रहर लाग्थ्यो । हामी पुगेपछि सुरुभइसकेको कार्यक्रम फेरि सुरुबाटै सुरु गर्नुहुन्थ्यो उहाँ । यस्ता थुप्रै व्यक्ति थिए ।”

लेख्नसक्ने पत्रकारको खडेरी 
केशवले समाचार लेख्न सुरु गर्दा पत्रकारिता पेशा भइसकेको थिएन । प्रजातन्त्रको पुनर्बहालीसँगै सञ्चार उद्योग फस्टायो । पत्रकारितामा निजी क्षेत्रले लगानी गर्न थाल्यो । पत्रकारितामा आकर्षण देखियो । एफएम र टेलिभिजनको लहर सुरु भएपछि युवा पुस्ताको रोजाइ बन्यो पत्रकारिता । तर त्यो आकर्षण लामो समयसम्म टिक्न सकेन । 

पत्रकारिता लगाव र मेहनतले मात्रै सम्भव रहेको पेशा हो तर हाइटेक युवा पुस्तामा अध्ययन र मेहनतको अभाव देखिएपछि उनीहरु टिक्न सकेनन् । अन्ततः लेख्न सक्ने पत्रकारको खडेरी लागेको केशव बताउँछन् । “तपाईंको पुस्ताबाट तपाईं जत्तिकै लेख्न सक्ने ५ जना पत्रकार मेरा अगाडि उभ्याइदिनुस् । म ताली बजाएर स्वागत गर्छु र सम्मान गर्छु,” केशव भन्छन्, “हिजोमात्रै नारायण (वाग्ले) एउटा कार्यक्रममा भेट हुँदा मलाई भन्दै थिए, केशवजी, कोही लेख्नसक्ने पत्रकार छ ?” 

जागिर खोज्दै आएको व्यक्तिले लामो समय पत्रकारिता गर्छ र ? उनले प्रश्न गरे । 

अन्तिममा विट मार्दै उनले स्मरण गरे, “मदनमणि दीक्षित भन्नु हुन्थ्यो पत्रकार भएपछि दैनिक हात काटेर दिनुपर्छ । त्यसै पत्रकारिता हुन्छ ? त्यो बेला त के भन्नुभएको हो बुझिन अहिले बुझ्दै छु । त्यसै पत्रिका निस्किन्थ्यो ? त्यो पनि पञ्चायतकालमा ।”

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC