site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
स्त्रैण चित्तदशाका सर्जक
Sarbottam CementSarbottam Cement

– राजेश खनाल


विजयसँग पहिलो भेट एफएम रेडियोमा भएको हो । उनी कवि र गीतकार पनि हुन्, थाहा थिएन । अंग्रेजी भाषामा एउटा रेडियो कार्यक्रम सञ्चालन गर्न आएका हुन्, बस् यत्ति थाहा थियो ।

भेटमा उनीसँग केही कुरा भए । सामान्य भलाकुसारी वा कुराकानी । यस्तै केही भयो । उनको आवाजमा खासै ध्यान दिइएन ।

Prabhu Bank
Agni Group
NIC Asia

जब उनले रेकर्ड गरेको ‘डमी’ कार्यक्रम सुनें, उनको आवाजले तान्यो । वाह ! गजबको आवाज ! मैले साथीहरूसित विजय शिवाकोटीको आवाजको प्रशंसा गरें ।

पछिमात्रै थाहा पाएँ, उनी गीत पनि लेख्छन् । कविता पनि कोर्छन् । यदाकदा निबन्ध पनि लेख्छन् । उनका धेरै गीत रेकर्ड भइसकेका छन् । धेरै मखमली स्वरका धनीहरूले उनको गीतमा आवाज भरेका छन् ।

Global Ime bank

यति थाहा भएपछि उनीसँग झनै नजिकिएँ । स्वरको जादू त छँदै थियो, गीत, गजल र कविताले पनि हामी दुईबीच यो निकटता ल्याएको थियो । पछि त्यो एफएमबाट म पनि बाहिरिएँ, उनी पनि बाहिरिए । अरू पनि धेरै साथी बाहिरिए । रेडियोबाट बाहिरिए पनि विजयसँगको सम्बन्ध उस्तै छ, उनको गीतजस्तै हृदयबाट सिर्जित सम्बन्ध ।

केही महिनाअघि उनको एउटा सांगीतिक एलबम बाहिरियो— ‘संग्रह’ नामबाट, जसमा गीत विजयको थियो, आवाज वरिष्ठ गायक दीप श्रेष्ठको ।

हालैको एकदिन विजयसँग भेट भयो पुतलीसडकमा । धेरै पछि भेट भएको थियो, उनको र मेरो । भेट्दा हामी दुबै रमाउँछौं । खै, किन हो किन ! त्यो भेटमा विजयले एफएममा बोल्न छोडेकोमा गुनासो गरें ।

उनी हाँसे । उनले आफूलाई एफएममा अंग्रेजी गीतको कार्यक्रम चलाउने रुचि भए पनि त्यसका लागि समय नभएको बताए । लाग्यो— विजयसँग समय भएको भए एउटा मीठो रेडियो आवाज लाखौं स्रोताले सुन्ने थिए ।

विजय जुन काम गर्छन्, त्यसैमा रमाउँछन् । आफूले गर्ने काममा ‘इन्जोय’ गर्छन् । आईईएलटीएस, टफेल, स्याटलगायत जुनसुकै विषयका क्लास लिऊन्, त्यसमै रमाउँछन् । यसरी क्लास लिँदा उनले खासै समय पाउँदैनन् । अझै सिजनमा त व्यस्त नै हुन्छन् । यसैले, रुचि हुँदाहुँदै पनि रेडियो कार्यक्रमका लागि आफूले समय व्यवस्थापन गर्न नसकेको उनी स्वीकार्छन् ।

समय पाउनासाथ उनी गीत, कविता, निबन्धमा भुल्छन् । हरेक दिन बेलुकीको समय किताबका लागि छुट्याएका छन् । भन्छन्, “जुनै किताब हुन्, बेलुकी म केही समय किताबलाई नै दिन्छु । ती कथाका किताब होलान्, उपन्यास वा निबन्धका होलान् । मेरो त्यो समय साहित्यका लागि हो ।”

साहित्य अध्ययनका लागि दैनिक समय निकाल्ने विजय क्लासिकल किताब पढ्न रुचाउँछन् । उनी आफैं पनि गीत÷कविता मस्तिष्कबाट नलेखेर हृदयबाट लेख्छन् । अनि पढ्ने बेलामा पनि हृदयबाट लेखिएका किताब नै उनको छनोटमा पर्छन् ।

कुराकानीकै क्रममा विजय भन्दै थिए, “क्लासिक साहित्यिक कृति पढ्दा म त्यसमै भिज्छु । आजको आधुनिक साहित्यमा कताकता कृत्रिमता भेट्छु म । त्यसमा कलात्मकता भेटिँदैन् ।”

विजयका अनुसार पुराना साहित्य, कला, संगीत सबैमा उनी हृदय नै सक्रिय भएको पाउँछन् । त्यसैले उनी हृदयबाट सिर्जित सामग्री खोज्दै हिँड्छन् । र, आफूले पनि जे लेख्छन्, हृदयबाटै लेख्छन् । मस्तिष्कबाट लेख्दैनन् ।

हृदयको कुरा गर्ने मानिस पुरातनपन्थी भएको चर्चा उठ्यो । तर, विजय हृदयका सिर्जना नै शाश्वत भएको मान्छन् । हृदयबाट सिर्जित सिर्जना युगयुगान्तर जीवित रहने उनको ठम्याइ छ । त्यसैले उनी देवकोटाका कविता रुचाउँछन् । विलियम्स वडर््सवर्थलाई मन पराउँछन् । नारायणगोपाल, फत्तेमान, दीप श्रेष्ठ, प्रेमध्वज, भक्तराजहरूलाई सुन्छन् ।

विजय अझै स्पष्ट पार्छन्, “पहिलेका गीतकारहरू आफूले लेखेका शब्दमा  अनुवादित हुन्थे । गायकहरू गीतमा अनुवादित भए । नारायण गोपालले जतिबेला गीत गाए, उनी आफैं त्यो गीतमा रुपान्तरित भए । त्यसैले त उनका जुनै गीत हुन्, उत्तिकै कालजयी र हृदय छुने छन् । नारायण गोपाल मात्रै होइन, रेम ब्रान्टका कलाकृतिमा पनि उनी अनुदित भएको पाउँछु । देवकोटाका कविताका हरेक हरफहरूमा उनी आफैं रुपान्तरित भएको पाउँछु । यस्तो काम हृदयले मात्रै गर्न सक्छ । अरूले गर्न सक्दैन । मस्तिष्कले सक्दैन ।”

विजयका अनुसार दिमाग वा मस्तिष्क प्रायोजन गर्न वा योजना बनाउन खप्पिस मानिन्छ । जबकि हृदयबाट जे आउँछ, त्यो स्वतःस्फूर्त सिर्जना हुन्छ । त्यो सिर्जना आफैं प्रस्फुटित हुन्छ ।

विजय जब हृदयले गर्ने सिर्जनाको कुरा गरिरहेका थिए, म उनको अनुहार हेर्दै थिएँ । लाग्यो, उनी हृदयबाटै बोल्दै छन्, मस्तिष्कबाट होइन । उनले फूलको उदाहरण दिए । झरनाको उदाहरण दिए, “फूल आफैं फुल्छ, दिमागले त कागजको फूलमात्रै बनाउन सक्छ, जुन कृत्रिम हुन्छ । झरना आफैं बग्छ, दिमागले त नहर बगाउँछ । त्यसैले म हृदयका सिर्जना मन पराउँछु ।”

अर्थात् कृत्रिमताबाट टाढा हुन खोज्छन् विजय । उनी यथार्थको निकट हुन चाहन्छन् । तथापि, अहिलेका पुस्ताले जे जति गरेका छन्, त्यसलाई नराम्रो मान्दैनन् उनी । तिनले पनि राम्रो काम गरेका छन् । तर, कम गरेको उनको भनाइ छ ।

लामो समयदेखि गीत लेख्न शुरु गरेका विजय शिवाकोटीका नयाँ पुराना सबैखाले गायकले गीत गाएका छन् । जतिबेला उनको पहिलो गीत त्यसबेलाका चर्चित पप गायक सुनील उप्रेतीले गाए, त्यसैताका उनको एउटा गीतमा संगीतकार दिव्य खालिङले संगीत भरे । जतिबेला नवीन के. भट्टराई र मोहन भुसालले गीत गाए, त्योसँगसँगै उनकोे गीत फत्तेमान राजभण्डारी र प्रेमध्वज प्रधानहरूले गाए । अर्थात् उनले समान रूपमा नयाँ–पुराना सबैसँग मिलेर काम गरेका छन् ।

विजय भन्छन्, “मैले जति पनि गीत लेखें, कहिले पनि गीत लेख्छु भनेर लेखिनँ । मैले जतिबेला गीत लेखें, एकैपटकमा पूरा गीत लेखें । गीतको मुखडा एकदिन र अन्तरा अर्को दिन लेखिनँ । यो हृदयबाट लेखिएकोले नै सम्भव भएको हो ।”

विजय एउटा गीत एकैपटकमा लेखिनु पर्ने तर्क गर्छन् । हावा एकैचोटि आउँछ । हावा आधा एकदिन र आधा अर्को दिन आउँदैन । त्यस्तै सिर्जना पनि एकैपटकमा पूरा लेखिनु पर्छ भन्ने उनको मान्यता छ । “आधा–आधा गरेर एकदिन मुखडा र अर्को दिन अन्तरा लेख्ने हो भने त्यो मस्तिष्कले लेखेको गीत हुन जान्छ, हृदयले लेखेको हुन्न,” उनी भन्छन् ।

आफ्ना गीत र काव्यात्मक सिर्जना उनलाई अति प्रिय लाग्छन् । त्यसैले उनी आफ्नो सिर्जनालाई कोहिनूर हीरा मान्छन् । त्यसैले पनि उनी आफ्ना कोहिनूर हीरारूपी गीत मखमली आवाजमा सजाउन चाहन्छन् । र, उनका लागि मखमली आवाज हो— प्रेमध्वज, दीपक खरेल, दीप श्रेष्ठहरूको ।

भन्छन्, “जसरी हीरा नरम मखमलमा राखिन्छ, त्यसरी नै मेरा गीत मखमली आवाजमा प्रस्तुत होऊन् भन्ने लाग्छ । मेरा लागि मेरा गीत हीराजत्तिकै महत्वपूर्ण छन् । अरूका लागि त्यो दुईकौडीको होला । हीरालाई टिनको डिब्बामा त राखिन्न, मखमलमै राखिन्छ ।”

यसरी हृदयबाटै अनेकन गीत सिर्जना गर्दै आएका विजय शिवाकोटीको नवीनतम गीति एलबम ‘संग्रह’ बाहिर आएको छ, जसमा मखमली आवाजका जादुगर दीप श्रेष्ठको स्वर छ ।

‘संग्रह’ निकाल्न करिब १५ वर्ष लाग्यो । संग्रहमा उनले हतार गरेनन् । कोहिनूर हीराको सिर्जनामा पूरा समय दिए । दीप श्रेष्ठले पनि उनलाई साथ दिए । दीपको मखमली आवाजमा लय भरिएको छ— राजु सिंह, दीपक जंगम, प्रकाश गुरुङ र नीरमान योञ्जनको ।

गीतको कुरा गर्दै गर्दा उनी केहीबेर रोकिए । गम्भीर देखिए । आफ्नो कविता, गीतलगायतका सिर्जनालाई आफ्नो बच्चाझैं प्यारो मान्ने उनी आफू आफ्ना सिर्जनाको आमा भएको बताउँदै थिए ।

विजय भन्छन्, “जब कुनै पनि सर्जकले सिर्जना गर्छ, त्यो अवधिभरि सर्जक स्त्रीण हुन्छ । सर्जकको चित्तदशा स्त्रीण नै हुन्छ । पुरुषले सिर्जना गर्न सक्दैन । यसैले सिर्जनाको अवधिभरि एउटा सर्जक स्त्री मनोदशामा रहन्छ ।”

संग्रहभन्दा अगाडि ‘आशय’, ‘मोडहरूमा’ जस्ता गीति संग्रह स्रोतालाई दिइसकेका विजयले यसपटक मिश्रित प्रतिक्रिया पाए । उनी भन्दै थिए, “संग्रहका गीत ज–जसले हृदयले सुने, तिनले यसको प्रशंशा गरे । कला कम र व्यावसायिकता बढी खोज्नेलाई भने यो एलबमले खासै सन्तुष्ट गर्न सकेन ।”

गीत–संगीतलाई व्यवसायीकरण गर्दा पनि कलाको सम्मान र त्यसको स्तरलाई व्यवस्थापन गरियो भनेमात्रै साहित्य, संगीतको पनि उत्थान हुने उनको बुझाइ छ ।

छुट्टिने बेला उनी भन्दै थिए, “मेरो सिर्जना चल्तीको भाषाभित्र पर्दैन । मेरो सिर्जना फेसन पनि होइन, केही समयमात्रै चल्ने । मेरा सिर्जना समयमा बाँधिएका छैनन् । हृदयका सिर्जना सधैं कालजयी हुन्छन् ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement