काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोड रुपैयाँ भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीसँग १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ ८८ पैसा बिगो दाबी गर्दै मंगलबार मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा कुल बिगो १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ रुपैयाँ ८८ पैसा बराबरको श्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ । दायर गरिएको मुद्दामा जरिबाना र कैद सजाय दुवै माग गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौंबाट अवैध रुपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धान कारबाहीको सिलसिलामा २०७३ पुस २७ गतेदेखि निलम्बनमा रहेका श्रेष्ठले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । उनले ९ करोड ६३ लाख ८ हजार ८ सय २७ रुपैयाँमात्र वैधानिक रुपमा आय आर्जन गरेको पाइएको अख्तियारको भनाइ छ ।
वैधानिक कमाइ करिब साढे ९ करोड भएपनि अनुसन्धानको अवधिसम्म श्रेष्ठले १९ करोड ७४ लाख ५५ हजार ८ सय १६ रुपैयाँ खर्च तथा लगानी गरेको तथ्य भेटिएको थियो । स्रोत खुलेको आयमा खर्च तथा लगानी घटाउँदा १० करोड ११ लाख ४६ हजार ९ सय ८८ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।
श्रेष्ठले जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति साथ लुकाएर राखेकोले उक्त सम्पत्ति जफत गर्नसमेत अख्तियारले माग गरेको छ ।