काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको दलको बैठकले यथाशक्य छिटो छाया सरकार गठन गर्ने निर्णय गरेको हो ।
संसदीय दलको बैठकमा छाया सरकार गठन गर्ने निर्णय भएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् । ‘‘छाया सरकार गठन गर्ने भन्ने पहिलेबाटै तयारी भइरहेको थियो । आज चाँडोभन्दा चाँडो सरकार गठन गर्ने निर्णय भएको छ,’’ उनले भनिन् ।
सरकारका कामकारवाहीको निगरानी गर्नका लागि सरकारमा अनुभव लिइसकेका नेतालाई छाया सरकारको मन्त्रालयको जिम्मेवारी दिने बताइएको छ । बैठकले इच्छुक सांसदहरुलाई रुची भएका कुनै तीन मन्त्रालयको नाम उल्लेख गरेर सचिवालयमा आफ्नो नाम दिन भनेको सचेतक भुसालले बताइन् ।
उनले छाया सरकार गठनका लागि तयारी गर्नेबारेमा बैठकमा छलफल भए पनि गठनका लागि समयसीमा भने नतोकिएको जानकारी दिइन् । ‘‘इच्छुक सांसदहरुलाई आफ्नो रुचीका तीनवटा मन्त्रालयको नामसहित सचिवालयमा नाम दिन भनिएको छ,’’ भुसालले बाह्रखरीसँग भनिन्, ‘‘समय भने तोकिएको छैन । छिटो गर्ने भन्ने छ । नाम दर्ता गराउने बित्तिकै गठन हुन्छ ।’’
कांग्रेस संसदीय दलको बैठकले संसद्मा सांसदहरुले राखेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीबाट नआउँदासम्म संसद् चल्न नदिने निर्णय गरेको छ । संघीय संसद्को बैठक भोलि (बुधबार) १ बजेका लागि बोलाइएको छ ।
अस्ति आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले सार्वजनिक महत्वको विषयमा दिएको वक्तव्यमा प्रश्नोत्तर गर्न नपाएपछि कांग्रेस सांसदहरुको अवरोधका कारण संसद अवरुद्ध भएको थियो ।