site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धमिराले खाएको काठ जस्तै मौलाउँदो समस्या

‘‘हामीबीच शारीरिक सम्बन्ध आक्कलझुक्कलमात्र हुन्थ्यो । उनी सधैँ अफिसको कामले थकित छु भन्थे । म दुई छोराछोरीको लालनपालन, सासुससुरा, नन्दआमाजु, चाडबाड मै व्यस्त । कमाउने एक जना । खाने छ जना । सजिलो पक्कै पनि थिएन । हुनत, बिहे अगाडि मेरो पनि कमाइ थियो । म पनि काम गर्थेँ । राम्रै कमाउथेँ । तर, छोरो जन्मे पछि छोडेँ । उन्ले’नि केही भनेनन् । पछि बिस्तारै घर व्यवहार नै प्यारो लाग्न थाल्यो । सबै ठीकै थियो, तर सधैँ अपुरोजस्तो लागिरहने । तैपनि खानलाउन पाएकै छ, घर परिवार छँदैछ । सबै सबैको भाग्यमा कहाँ हुन्छ र भनेर चित्त बुझाउथेँ ।’’

यो सबै भनिरहँदा शान्ति (नाम परिवर्तन) को अनुहारमा उदासी देखिन्थ्यो । कताकता हराएर आँफैलाई खोज्दै हो कि जस्तो लागिरहेथ्यो मलाई । लामो सास फेरेर उनले भनिन्  ‘‘मैले त नरोई रात बिताएकै छैन होला । हरेक रात खै के हुन्थ्यो, आँसु झर्थ्यो ।’’ उनले हाँस्दै थपिन्, ‘‘बिहान फेरि चिटिक्क पर्‍यो । सासुलाई रातो नलगाई नहुने । सिन्दुर, पोते र चुराले म सधैं सिँगारिन्थेँ, तर आफ्नो अनुहार ऐनामा हेर्न पनि मुस्किल हुने । कस्तो हिप्पोक्रिट लाग्ने आफैँ ।’’

हाम्रो आजको तेश्रो सेसन थियो । अघिल्ला दुई सेसन खासै कुरा भएनन् । पहिलो दिन त फेरि आउँछु भनेर जुरुक्कै उठेर गएकी थिइन् उनी । दोस्रोमा उनी आफ्ना छोराछोरी, घर परिवारकै कुरामा अल्मलिइन् । केही प्रश्न गरिहाल्दा पनि ठ्याक्कै उत्तर दिन हिच्किचाइन् । समस्या के हो भन्दा पनि भन्न गाह्रो मानिन् । त्यस्को तीन साता हराएर फेरि आइपुगेकी थिइन् उनी । तर अचम्म, त्यस दिन आफ्नो कुरा सुनाउने नै मनःस्थितिमा थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मैले पनि ‘टेक्निक’ र ‘अप्रोच’को पछि नलागी उनलाई नै बोलिरहन दिएँ बेला बेलाको आवश्यक प्रश्नबाहेक । लाग्यो उनको कुरा सुन्दिनु नै सायद उनका लागि ‘थेरापी’ हो । तर, पनि कुरा के हो भन्ने विषयमा खुल्दुली लागि नै रहेथ्यो । जहिले पनि ‘प्रीसेसन’ हुने तर यो केसमा त्यो पनि थिएन । दुइटा सेसन त्यतिकै गइसकेको थियो । यसपटक पनि खाँटी कुरा खुल्न सकेको थिएन । मेरो मस्तिष्कले उनलाई बोल्न नै दिनु राम्रो भनिरहेको थियो । त्यसैले कुरामात्रै सुन्दै थिएँ तर मेरो मनको हुटहुटी खपिनसक्नुको थियो । उनी आफ्नो बिगतमा बगिरहेकी थिइन् । 

‘‘एकदिन उन्को (शान्तिको पतिको) मोबाइल बजिरह्यो । उनी घरमा तलमाथि कतै थिए । एकनास बजेको भएर मोबाइल हेरेँ । मेसेजहरू टन्नै थिए । नहेरेको भए हुन्थ्यो, हेरेँ, थाहा भयो । उनी अरू कसैको प्रेममा रहेछन् । म रन्थनिएँ । केही बोल्न केही गर्न सकिन । कसैलाई केही भनिन् । खै के मनमा आयो सिधै पशुपती गएँ । दिनभरि त्यहीँ बसेँ । मनमा कति कुरा खेल्योखेल्यो ! साँझ पर्न लागेपछि छोराछोरी सम्झिएँ । घर फर्किएँ तर घरबाट निस्केको म र फर्केको ममा आकाशपातालको फरक थियो ।’’

Global Ime bank

मैले बिस्तारै सोधे, ‘‘मबाट के चाहनु हुन्छ ?’’ उनले भनिन्, ‘‘थाहा छैन के खोजेको हो मैले । बस्, मेरो कुरा सुन्दिने कोही छ भन्नेमात्रै पनि हो कि ?’ अनि कुरा थपिन्, ‘यो कुरा भएको आज १० वर्ष भइसक्यो । तर, म अझै त्यहीँ छु । अझै अत्यास लाग्छ, मलाई उसले अझै धोखा दिइरहेको छ कि भनेर । उसले जति छैन भने पनि, जति माफी मागे पनि मेरो मन अझै त्यहीँ डुल्छ । छोरो विदेश गइसक्यो । म ५० की भइसकेँ । छोरीको बिहे गर्ने बेला हुन लाग्यो तर मलाई भने अझै शान्ति छैन ।’’

मैले सोधेँ – ‘‘अहिले तपाईं दुईको सम्बन्ध कस्तो छ ?’’ फिस्स हाँसेर उनले जवाफ दिइन् – ‘‘कस्तो हुनु ? अझै मेरा आँखा ओभाएका छैनन् । अझै पनि म अतृप्त नै छु । अहिले पनि हामीबीच खासै सम्बन्ध हुँदैन । म कुरा गर्न खोज्छु, उनी टार्न खोज्छन् । मेरो शरीर नै यस्तै हो कि ?’’

मैले उनी सँगै लामो सास फेरे । केही बेर बोल्नै सकिन । उनका आँखा रसाएछन् । म पनि गम्भीर भएँ । उनले मलाई एकटक हेरिन् र फेरि बोल्न थालिन् – ‘‘तपाईं पनि छक्क पर्नु भो, हैन ? कस्तो मान्छे होला भनेर ! यति पीडा सहेर पनि कसरी बसेको होला भनेर ! तर के गर्नु ? कहाँ जाऊँ ? काम छोडेको नै ३० वर्ष भइसक्यो । मलाई केही आउँदैन भातभान्छा बाहेक । फेरि कस्कोमा जाउँ ? माइती पनि बलिया छैनन् । कस्लाई सुनाऊँ आफ्नो मनको बह ? सबै फोस्रा सहानुभूतिमात्र दिन्छन् । अहिले पनि लगभग आफूलाई एक्लै नै महसुस गर्छु । मेरो समस्या मेरा पतिले १० वर्षअघि धोखा दिएकोभन्दा पनि मैले आफुलाई कहिल्यै सम्पूर्ण महसुस गर्न सकिन, पुरुष प्रेम पाइन भन्ने नै हो जस्तो लाग्छ । यो अतृप्ततालाई कहाँ बिसाऊँ ? के गरूँ, के भनुँ ? कहिले कहीँ त लाग्छ म पनि घर बाहिरै जाऊँ । ऊजस्तै स्वतन्त्र विचरण गरूँ । तर, सक्दिन । म सधैँ उसैको आश गर्छुु । निर्लज्ज भएर उसैसँग निःशब्द याचना गर्छुँ । आफैँलाई धिक्कार्छु, मैले मेरो स्वाभिमानलाई कहाँ बेचे भनेर । तर, मेरो अर्को उपाय छैन । परिवार छ, छोराछोरी छन्, सबैको जिन्दगी र भविष्य धरापमा कसरी पार्नू ? तर म हरेक रात रुन्छु, कहिले बिगत सम्झेर कहिले आज देखेर ....!’’ 

यति भन्दाभन्दै डाको छुट्यो, उनको । म स्तब्ध भएँ । सुनिरहेँ । पहिलोपटक यस्तो फरक सेसन थियो मेरा लागि । मेरो दिमागले काम गर्न सकेको थिएन । मैले के भन्दा, के गर्दा उनलाई सजिलो हुन्छ, म आफैँ अन्योलमा थिएँ । बस्, पानीको गिलास उनको अगाडि सारिदिनु बाहेक केही गरिन । उनले गिलास समाइन् ।

शान्तिको कुरा सुन्दैजाँदा दुई तीनवटा विषय देखिएको थियो, वैवाहिक सम्बन्धमा देखापर्ने यौन असामञ्जस्य, विवाहबाहिर गाँसिएको सम्बन्धको असर, पतिपत्नीबिचको तनाव र समस्या, पतिपत्नीबीचमा यौन र यौनिकतासम्बन्धी बुझाइको स्तर, अनि शान्तिमा नजानिँदो पारामा गाँसिएको केही मानसिक समस्या । यी सारा बूँदालाई गहिरो गरी खोतल्नु जरुरी थियो । 

हुनत, शान्तिमा मात्रै खोतलेर यसको सही उपचार भेट्टाउन सकिन्नथ्यो । उनका पतिको साथ र सोको आवश्यकता शान्तिलाई बुझाउनु जरुरी थियो । यो काम अर्को सेसनमा गर्ने विचार गरँे । शान्ति र उनका पतिबीचको सम्बन्धका बारेमा धेरै कुरा जान्न बाँकी नै थियो । धेरै नखुलेका पत्र पल्टाउन आवश्यक थियो । समस्या कहाँबाट कसरी सुरु भयो ? वैवाहिक जीवनमा कस्ताकस्ता उतार चढाव आए, पतिपत्नीबीचका समानता, असमानता, सोच आदिको निक्र्योल गर्नु जरुरी पनि थियो । 
विडम्बना, यी सबै कार्य गर्नै सकिएन । यो केस अपूरो नै रह्यो । त्यस दिन उनको कुरा सुनिदिएकोमा उनले रुँदै धेरैधेरै धन्यवाद दिइन् । यसरी बिदा भएकी शान्ति फेरि अर्को सेसनका लागि कहिल्यै आइनन् । केही यस्तै अपूरा केसहरु रहन्छन् जसलाई टुङगोमा पुर्‍याउन पाए निष्कर्ष कस्तो निस्कन्थ्यो होला भन्ने कौतुहल रहिरहन्छ । जब उपचार खोज्ने मान्छे नै आउँदैनन् भने काउन्सलर (मनोविमर्शकर्ता) मात्र तयार भएर केही हुन्न । 

यो केस सम्झिँँदा नेपाली समाजमा कति यस्ता नारी होलान् जो यस्तै र अरू थुप्रै विवाहसँग जोडिएका समस्यालाई आफ्नो भाग्य सम्झिँदै सधैँ आँफैसँग लड्दै होलान् भन्ने लाग्छ । यस्ता विषयको कल्पनाले पनि अत्यास लगाउँछ । वैवाहिक सम्बन्धलाई जसरी  समाजले उत्कृष्ट सम्बन्धको रूपमा सम्मान दिएको छ त्यस्को तुलनामा सम्बन्धमा सिर्जित समस्यालाई सामान्य मानेर नकार्दै आएको पनि पाइन्छ । फेसबुकलगायतका सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोगले मानिसलाई धेरै व्यक्तिसँग त जोडेको छ तर सँगै अति व्यक्तिगत पनि बनाउँदै लगेको छ । 

केही वर्षअगाडि पाप र धर्ममा अडिएको समाज अहिले तिमी र म, मेरो र उसकोमा टाढिँदै गएको छ । यस्को असरबाट कुनै पनि पुरुष वा नारी अछुतो छैनन् । यस्ले मानिस मानिस बीचको दूरी त घटाएको छ नै साथै सम्बन्धमा चिसोपना पनि ल्याएको छ । छेउकै सम्बन्धबाट भागेर मानिसले बाहिर सजिलै सम्बन्ध बनाउन सक्ने भएको छ र सम्बन्धबाट आफूले न्याय पाएको छ कि छैन ? जाँच्न पनि सक्ने भएको छ । 

हुनत, सामाजिक परिपाटीमा आएको परिवर्तनभित्र यसलाई मात्र पनि दोष दिन मिल्दैन ।  शिक्षाले फैल्याएको चेतनाले आज के महिला के पुरुष, दुवैले आफ्नो आवश्यकताका विषयमा सोच्न थालेका छन् । यो एउटा ठूलो प्रगति पनि हो तर यससँगै समाज र यसले वर्षौंदेखि बोकेका जडतामा भने खासै परिवर्तन आएको छैन । फलस्वरूप, सम्बन्धमा मौलाएका अत्यधिक पीडाबाट शान्तिजस्ता कैयौं महिला छट्पटाइरहेका  होलान्, कतिपय पुरुष आफ्नो घर परिवार मिलाउन नसक्ता बेखुस होलान् र कति दम्पती चाहेर पनि समस्याको समाधान वा उपचारतर्फ नलागेका होलान् । अनि यहीँबाट सुरु भएको होला बिस्तारैबिस्तारै मानसिक  विक्षिप्तता ! 

समयमै समस्यालाई समस्याको रूपमा नहेरिनु, महिला र पुरुषको शारीरिक आवश्यकतालाई दुई बेग्लाबेग्लै दृष्टिकोणबाट हेरिनु, महिला आफँैमा आत्मनिर्भर  नहुनु र त्यसले गर्दा आवश्यक निर्णय लिन नसक्नु, महिला र पुरुष दुवैको हुर्काइ पालनपोषण बेग्लाबेग्लै तवरबाट गरिनुलगायतका अरु थुप्रै कारणहरु हुन सक्लान् ।

तर, यी सबै हुँदाहुँदै मानसिक समस्या के हो, यसको उपचार कसरी हुन्छ, यो समस्या कसरी सुरु हुन्छ जस्ता सामान्य कुरा जान्नबुझ्न र यसको समाधानतर्फ समाजले सरोकार राख्नेलाई प्रोत्साहन नगर्दासम्म यस्ता समस्याहरु निरन्तर बढि नै रहन्छन् । शान्ति जस्ता काउन्सिलिङ (मनोविमर्श) केन्द्र सम्म पुगेर पनि उपचार गराउने आँट गर्नसक्तैनन् । अनि, यो परिस्थितिमा धमिराले खाएको काठको अवस्थाजस्तै समाजका अङ्गहरू फुसुफुसु धुलो हुँदै गएको हेर्नुबाहेक अरू केही गर्न सकिने अवस्था पनि रहँदैन् !

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC