परराष्ट्र मन्त्रालयको हिजोको वक्तव्यको बारेमा सुनें । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको ट्विटर पनि हेरेको थिएँ । मन्त्रालयको वेबसाइटमा त इण्डोनेसियाका राष्ट्रपतिलाई हाम्रो राष्ट्रपतिले सुनामीका कारण भएको क्षतिको बारेमा समवेदना पठाएको उल्लेख छ । फेरि मिडियालाई पठाएको वक्तव्यमा भने फरक पर्यो भन्ने सुनें । परराष्ट्र मन्त्रालयले क्षमायाचना गरेको कुरा पनि सुनियो । कसरी यस्तो भएको हो मैले बुझ्न पाएको छैन । तर, यसो गर्नु राम्रो होइन । यस्ता कुरामा परराष्ट्र मन्त्रालयले गंभीरता देखाउनु जरुरी हुन्छ । अहिलेका चर्चा सुन्दा कर्मचारीले गंभीरता देखाएको जस्तो लागेन ।
इण्डोनेसियामा नै बधाई दिएको वक्तव्य पठाएको हो भने त त्यो भन्दा अक्षम्य कुरा केही पनि हुँदैन । तर, उता नपठाएको र यता स्वदेशी तथा विदेशी मिडियालाई मात्रै गल्ति भएको वक्तव्य पठाएको पनि सुनें । मिडियालाई पनि गलत पठाउन भएन । किनकि मिडिया मार्फत नै सबैले जानकारी पाउने हो । कसरी यस्तो भयो अचम्म लागेको छ । जसरी भएपनि परराष्ट्र मन्त्रालयले यसबारेमा छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्छ । यस्ता कुरा आगामी दिनमा नदोहोर्याउनका लागि गंभीरतापूर्वक ध्यान दिनु पर्दछ । यस्तो वक्तव्यको मस्यौदा बनाएको त वरिष्ठ कर्मचारीले नै होला । तर किन यस्तो भयो ? यो गम्भीर कुरा हो । इण्डोनेसियालाई पठाएको मस्यौदा चाहिं ठीक छ र मिडियालाई पठाउनेले गलत पठाएको हो भने त्यो कसले पठाएको हो, परराष्ट्र मन्त्रालयलाई थाहा हुनुपर्छ । यो त जिस्क्याएको जस्तो भयो । इण्डोनेसियामा नै यस खालको वक्तव्य पठाएको हो भने त्यो भन्दा नराम्रो कुरा केही हुँदैन । यसरी वक्तव्य पठाउनु भनेको जानीजानी पठाएको जस्तो भयो । गलत भयो, आगामी दिनमा यस्ता कुरा दोहोरिनु हुँदैन ।
कहिलेकाही राष्ट्रपतिको सचिवालयले पनि यस खालको पत्र तयार पार्ने चलन हुन्छ । तर, अहिले राष्ट्रपतिको कार्यालयमा परराष्ट्र मामिला हेर्ने व्यक्ति भएजस्तो लागेन । त्यसैले परराष्ट्र मन्त्रालयका तर्फबाट पत्र बनाइएको होला । तर, अक्षम्य गल्ति भएछ । त्यसैले यस्ता गल्ति दोहोरिन नदिनका लागि आगामी दिनमा परराष्ट्र मन्त्रालय सचेत रहनु पर्दछ । सानो गल्तिले देश देशबीचको सम्बन्धमा नै असजिलो अवस्था आउन सक्छ । त्यसैले कसले यस्तो गर्यो, त्यो पत्ता लगाएर प्रशासनिक कारवाही गर्नु जरुरी हुन्छ । यो निकै नै गम्भीर कुरा भयो । यसलाई त्यत्तिकै गंभीर हिसाबले लिनुपर्छ । यसरी पत्र इण्डोनेशियामा पनि गएको भए त सुनामीमा परेको त्यो राष्ट्रलाई अर्को थप्पड हान्नु जस्तै हुने थियो । यसरी गल्ति गर्नु हुँदैनथ्यो । परराष्ट्र मन्त्रालय भनेको गम्भीर मन्त्रालय भएकोले कर्मचारीपनि त्यत्तिकै गम्भीर हुनु जरुरी हुन्छ । यो देश—देशको कुरा र व्यवहार हुने स्थान हो । त्यसैले यसमा ख्याल ठट्टा गर्नु हुँदैन । आन्तरिक रुपमा छानबिन गरी दोषीलाई कारवाही गरौं । यसो गरिएमा नै आगामी दिनमा यस्ता गल्ति दोहोरिदैनन् ।
(३८ वर्ष परराष्ट्र मन्त्रालयमा काम गरेर सहसचिवको रुपमा अवकाश पाएका पूर्व राजदूत राजभण्डारीसँगको कुराकानीमा आधारित)