महेन्द्रनगर । झोलुङ्गे पुल नजिक महाकाली नदी किनार नर्सरीमा बन्ने पिकनिक स्पट र उद्यानको जमिन घेरबार गरिएको छ । भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षमा पिकनिक स्पट र उद्यानको गुरुयोजना बनाएको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुङ्गे पुल आउने पर्यटकहरुलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागिएको हो । चालु आर्थिक वर्षमा यसका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।
चार बिगाहा भन्दा बढी जमिन पिकनिक स्पट र उद्यानका लागि तारबार गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुङ्गे पुल आउने पर्यटकहरुलाई मध्यनजर गरी पिकनिक स्पट र उद्यान बनाउन लागिएको बताए ।
नगर प्रमुख विष्टले झोलुङ्गे पुल आउने पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा पुर्याएर हात्ती र नजिकको जमुनाभाडीमा चित्तल देखाउने तथा त्यसपछि राना थारु होमस्टेमा आदिवासी समुदायको संस्कृति अवलोकन गराउने लक्ष्यसहित पिकनिक स्पट र उद्यान निर्माणको योजना अघि सारिएको बताए ।
झोलुङ्गे नगर क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा देखिएकाले यसको संरक्षण तथा प्रवद्र्धनका लागि नगरपालिका सक्रिय रुपमा लाग्ने उनले बताए ।
‘यो पुल दुई नगरपालिकामा पर्छ, यसको संरक्षण संवद्र्धनका लागि माहाकाली नगरपालिकासित पनि समन्वय तथा सहकार्य गर्छौ’ उनले भने ।
चालु आर्थिक वर्षमा पिकनिक तथा बाल उद्यान क्षेत्रमा शौचालय, वसपार्क सहितका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । महाकाली नदीमा चार लेन पक्की पुल निर्माण भएपछि झोलुङ्गे पुलबाट सवारी आवागमन बन्द गरिने नगर प्रमुख विष्टले बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पार्क एण्ड पिपुल प्रोजेक्ट अन्र्तगत यस क्षेत्रमा स्थानीय राम बुढाले नर्सरी बनाएका थिए । निकुञ्जका हात्तीको आक्रमणबाट केही वर्ष अघि बुढाको ज्यान गएको थियो ।
भीमदत्त नगरपालिका वडा नं १३ का वडाध्यक्ष लाल बहादुर शाहीले महाकाली नदीले धार बदलेपछि खाली जमिनमा स्थानीय बुढाले नर्सरी निर्माण गरेको बताए । ‘अहिले नर्सरी सहितको तीन चार बिगाहामा पिकनिक स्पट, उद्यान निर्माण हुन लागेको छ’उनले भने ।
बगरमा पिकनिक स्पट र उद्यान निर्माण हुने भएपछि स्थानीयले गाउँमा रोजगारीका अवसर आउने आशा गरेका छन् । स्थानीय डम्मर देउपाले पर्यटन प्रवद्र्धन भएर स्थानीयलाई फाइदा हुने बताए ।