आखिरी अन्तर्वार्ता 

नारायण पोखरेल

आखिरी अन्तर्वार्ता 

४–बसाइँ सर्नु मेरो रोजाइ थियो बाध्यता थिएन । तर, बसाइँ सराइको अनुष्ठान चाँहि मेरो पैतृक प्रवृत्ति हो । बसाइँ सर्नका लागि छटपटिएको मेरो बाबुको शरीर र उनले टेकेका पाइलाहरु मैले आफू बसाइँ सर्ने सोच बनाउनुभन्दा धेरै पहिले देखिसकेको थिएँ । भइरहेकै ठाँऊमा पुगिसरी आयो र सन्तुष्ट रहे कस्ले पो छोड्छ थात बास भन्ने कुरा मलाई अहिले शतप्रतिशत नै हो जस्तो लागिरहेको छ । मैले थाहा पाउन थालेदेखि नै मेरा बाबु बसाइँ सर्ने जुक्ति खोजिरहन्थे र आमा खोले पकाउने आगो सल्काउने अगुल्टाको जोहो गरिरहन्थिन् । ‘‘खार्पामै बस्ने हो कि बुईपा तिर जम्ने हो? वा तिर्पातिर पो बरालिने हो?  कि मधेसतिर हानिने हो ? जस्ता लैबरी योजनाहरुले मेरो बाबुको दिमागको ‘फ्रोन्टल लोब’ ‘ओभरलोडेड’ हुन्थो । म उनको पछिपछि हिँडिरहेको हुन्थेँ । पछाडिबाट देख्दा उनको टाउको कहिले दायाँतिर र कहिले बायाँतिर ढल्किन्थो । सायद, उनका दिमागी योजनाका पानाहरु पल्टिन्थे होलान् ती ढल्काइसँगै । 

( अन्तर्वार्ताका लागि कहिले बोलाउलान् भनेर उद्विग्न थियो मेरो बाहिरी मन । उता भित्री मनमा चाँहि माथिका कुरा खेलिरहेकै थिए । यो मे १६, २०१८ को बिहान ९ बजेकै कुरा हो ।)

अँततः बा ले अस्थायी बसाइँ सर्ने निर्णय गर्नु भयो र हामी बुइपा बस्न थाल्यौँ । म भने त्यो बसाइँ सरेको जग्गै (बुइपा) आफ्नू हो भनेर दंग भएँ । बुइपाको सेरोफेरो अब आफ्नै भयो भन्ने ठानेर पुक्क परे । स्कुलको तीन धुरे छानु देखेर मख्क परेँ । त्यसैको अगाडिको फूलबारी बनाउन श्रमदान गरे । सुन्दर फूलबारी बन्यो, सयपत्री र मखमली पनि फूले । फूलबारीमुन्तिर भलिबल ग्राउन्ड पनि बनाइयो । एकपल्ट बिदामा घर आएको मिल्ट्रिमेन छत्रेले ‘स्म्यास्’ हानेको भलिबल क्या खतरा थियो.....! कुइरोले छोपेका नाँगीबाट पारिपट्टिको दिक्तेल  नदेखिँदा कति खिन्न हुन्थो मन ! तर, यतिबेला म आफैँ कुहिरोभित्रको काग भएर हराएको छु । धेरै खोज्दै छु र अलिकति भेट्दै पनि छु । 

पहिले नै छालाको खोलमा आएको जापानी रेडियोलाई जतनसाथ भिर्न मिल्नेगरी सिपालु दमाईले सिलाएको कपडाको खोलमा हालेर  छड्के पारी काँधमा भिरेर हिँड्दै गरेका देवराज दाइको लिवास, रहर र संतुष्टि कर्याङकुरुङ देखिए ।

हैसियत पेट चिरेको रेडियो भिर्नेमा उक्लिएको र जागिर मास्टरको छडीमा पुग्दाको खुसी बयान गर्नै नसकिने ! दुई स्पिकरकाबीचमा स्टेसन देखाउने डिस्प्लेभित्रको रातो सुई, ३ ब्यान्डको नेसनल पानासोनिक रेडियो, कान बटार्दा त्यो सुई तलमाथि सर्ने र त्यससँगै टिप्ने अल इन्डिया रेडियोका स्टेसनहरु, रेडियो खर्साङ र नयाँ दिल्ली, धर्मराज थापा, पुष्प नेपाली र बच्चु कैलाशहरुका गीत खार्पादेखि मालासम्मको उनको आइतवारे यात्राको साथ । घरीघरी ‘कौन बनेगा करोडपति’ मा अमिताभले ‘देवी और सज्जनो, अब छोटासा ब्रेक’ भनेजस्तै गरी देवराजदाई पनि ब्रेक लिनुहुन्थो र भोज राजाको कथा र अकबर वीरबलका खिस्सा सुनाउनु हुन्थो र मजा लिनु हुन्थो । सबै त मेरो बुइपा घर गर्ने रिहर्सलहरु थिए । तर, हाम्रो त्यो बुइपा बसाइँ सराइले स्थायित्व पाएन । त्यस्को संझनामात्रै दिगो भएर म सँगसँगै विराटनगर, काठमाडौं, मस्को, बेइजिङ, फ्य्रांफर्ट, लन्डन र जुरिच हुँदै क्यानाडाको एडमन्टनमा पुगेर थन्किए । अझै केही ठेकान छैन । अन्तै कतै हिड्नु पो पर्ने हो कि !

प्रतीक्षा कक्षमा कुनै नारी स्वर पस्र्यो कि, पालो आए छ क्या हो भनेर मेरो स्वप्न भंग हुन्थो । संझनामा अल्झेर रमाइरहेको शृंखला पनि टुट्थ्यो । मैले फेरि विषय परिवर्तन गरेर अर्कै सम्झना तरंग ल्याऊनुपर्ने हुन्थो वा वर्तमानलाई पर्गेल्दै बनाइएका आगामी योजनाका खाकामा व्यस्त हुनुपर्दथ्यो । 

यताका मान्छेलाई ‘जब’को खासै समास्या छैन । छ भने ‘ड्रिम जब’को खोजी छ । तर, म त यताको मान्छे होइन, आप्रवासी हो । आप्रवासीसँग यहाँको समाजले पत्याउने शरीरबाहेक केही हुँदैन । आयातित वस्तुलाई सरकारले मान्यता दिन्छ समाजले दिँदैन । ठ्याक्कै नेपालको अहिलेको अवस्थाजस्तो । अर्थात संविधान धर्मनिरपेक्ष आयो तर शासन हिन्दु राजाको शैलीमा चलिरहेछ । समाजवाद ऊन्मुख राज्य निर्माण गर्ने भनिन्छ तर समाजका हरेक हिस्सामा व्रामणवादको प्रभुत्व छ । कुनै पनि कानुन वा नियम वा परंपरालाई पछ्याउँदै नागरिकले धर्म, जात, परिवार, नस्ल, भाषा, स्थान आदि विशेषमा जन्म लिएका आधारमा नै कुनै कामका लागि योग्य वा अयोग्य छ भनेर निक्र्योल गरिन्छ भने त्यो व्रह्मणवाद हो। नेपालमा अहिले बाहुनमात्र होइन राई, लिम्बु, नेवार, मधेसी, पहाडी सबैमा व्राह्मणवादको प्रभुत्व छ) । 

त्यसैले मलाई चाहिँ सधैँ ड्रिमजब होइन जबको मात्रै ध्याउन्ना रह्यो । मेरो अवस्थाका प्रायः सबैजसा आप्रवासीले यहाँ प्रवासी भएदेखि मरुन्जेलसम्म सधैँ जब पाए हुन्थोमात्रै मा भौँतारिनु पर्छ, र थाकेर अन्त्यमा अब म ‘‘रिटायर्डमेन्ट लिन्छु’’ मा पुग्नुपर्छ । फेरि म त पेन्सन अन्तै पकाएर एता ओर्लिएको मान्छे । करियर बनाउने सोचको त उठान नै भएन । थियो भने ‘‘कसरी टेबलमा ब्रेड ल्याउने’’ भन्नेमात्रै । अर्थात्, जीवन तदर्थरूपमै चलाऊनु पर्छ भनेर मन बुझेकै थियो। तर पनि आफ्नो क्षमता र सीपको काम गर्ने अपेक्षा सबैको हुन्छ । 

कथा जति लम्याए पनि सकिँदैन । त्यसैले मैले पनि अपेक्षानुसारको जबको तलास गर्दागर्दा थाकेर मनमनै निधो गरेको मेरो जीवनको अन्तिम अन्तर्वार्ताका लागि पर्खिरहेको त्यस घडीमा पनि दम र छातीको बिमारीको कारक कार्बन मोनोक्साइडको अमिलो धुँवा, पाञ्चायन पुज्दाका बखतका करू तेलको डुब्कीमा जलेको सलेदो र हन्हनी जरो आएको बखत बाल्चाने घर्तीले फुकेका अक्षेता भने एकै ठाँउमा मिसिएर मेरो मन मष्तिष्कलाई एकतमासले ‘इन्टोक्सिकेट’ गरिरहे । सँगैका कतिपय पितृ भइसके म भने अहिले तीनकोरी दुई पुगेपछि पनि जागिर खान अन्तर्वार्ता पर्खिरहेछु । यही त होला जिजीविषा भनेको ! 

सन् २०१५ को मे महिनाको ०८ तारिख शुक्रवार थियो । म सधैँको समयमा घर फर्किए पनि मेरो अनुहारमा अरु दिनजस्तो कान्ति थिएन क्यारे । कान्छुले पक्री हाली । म ठूली छोरीलाई नानु र सानीलाई कान्छु भनेर बोलाउँछु । मैले कामबाट घर पुग्न २० मिनेटजस्तो ड्राइभ गर्नुपर्थो । ‘‘आजदेखि कामबाट बिदा दियो’’ भनेर झट्टै कसैलाई पनि भनी नहाल्ने योजना बनाऊन यथेष्ट समय हुन्छ २० मिनेट । र त्यो २० मिनेटभर ‘‘छँदाखाँदाको नाम, मान र रोजगारी त्यागेर विदेशतिर नजाऊ है’’ भनेर सल्लाह दिने तीन जना शुभचिन्तक मेरै गाडीभित्र बसेर मैलाई ढाढस दिँदै घरसम्म छाडेको मैले नभनुन्जेल कसैले पनि देखेनन् । किनभने त्यो कुरा मेरो अनुहारमा ऊत्रिएन । 

नौ दस वर्ष काम गरिरहेको ठाँउमा कुनै गल्ती, कमजोरी, आरोपप्रत्यारोप, हानिनोक्सानी केही नगर्दा पनि रोजगारी जाने र त्यतिका समय त्यस कम्पनीमा आर्जन गरेको अनुभव, सीप र कौशल अरु कुनै पनि कम्पनीमा काम नलाग्ने भएपछि दुखी त अवश्यै भै हालिन्छ नि ! दुःख मात्रै होइन रिस पनि ऊठ्छ । तर, रिस चाहिँ आफू मूनिकामा तत्काल खनिदो रहेछ, खनिन पाएन भने हराउँदो पनि रहेछ । दुःख, खुसी तथा लज्जाजस्ता मनोभाव अनुहारमा भने उत्रिहाल्ने रहेछन, नलुक्ने रहेछन् । कुराले नभने पनि यी मनोभाव पढेकी कान्छुले मेरो मन हल्का पार्न होला तत्काल प्रस्ताव गरी  हिन्दी सिनेमा पिकु लागेको छ जाऊँ हेर्न, यु उड लाइक इट्’’ । म लुरुलुरु नै थिएँ । कान्छु पिकुजस्ती मलिन र रिसाइ छैन र मलाई पनि चिढिइरहने खालको बूढो मान्छे भनिहाल्ने अवस्था भएको थिएन । तर, पनि त्यो फिल्म हेर्दा मजा आयो, कहीँकहँ दिल छोयो पनि । घटनालाई आफैँभित्र हाल्यो भने रुने हाँस्ने सबै आउँछ र दुख्ने घाउ चस्कन छाड्छ ।
त्यो क्षण पनि मैले यो अन्तर्वार्तामा प्रतीक्षा गर्दा संझी रहेँ ।

पिकु हेरेर फर्किएपछिका केही दिन हल्का र ताजा महसुस गरे पनि दुईसाता बित्दा नबित्तै मेरो मन भने एकतमासको हुन थाल्यो । मनोदशा पो बिग्रिएछ कि क्या हो भनेर घरीघरी म आफैँलाई चिमोट्थे र दुखे नदुखेको पर्गेल्थे । यो चिमोटेर आफ्नो दिमागी हालतको जानकारी लिने तरिका मैले एकजना रूसी डाक्टरबाट सिकेको थिएँ ।  

सन् १९८५ मा सोभियत छात्रवृत्ति पाएर अध्ययनमा जाँदा पहिलो वर्ष म डागेस्थान विश्वविद्यालय खटिएँ र माखाच्काला भन्ने सहरमा बस्नु परेको थियो । क्यास्पियन सागरको पश्चिमी तटमा अवस्थित त्यस अतिथि प्रेमी समाज भएको तथा प्रकृति र प्रविधिले सजिएको सुन्दर सहरमा मैले मन नपराउनु पर्ने केही थिएन । तर, त्यहाँ मेरो मन रमाएन । बथानबाट बिछोडिएको जस्तो, झोक्राएको, देखेका जिम्मेवार अधिकारीले मलाई बिरामी भएछ भनेर अस्पताल भर्ना गराए । मेरो बिरामी ‘गृह वियोग’ बाहेक केही नहुनु पर्ने हो तर स्वास्थ्य विज्ञानले अह्राएका प्रारम्भिक जाँच पडतालका पक्रिया नसकिन्जेल डाक्टरहरुले हेर्दै नहेर्ने चलन मेरो लागि नौलो थियो । तैपनि यसरी अस्पताल बस्नु चाँहि दण्ड सरह नै भयो । भर्ती भएपछि अस्पतालकै पोसाक लगाउनु पर्ने, बाहिरफेर निस्किन नपाइने, तिनले दिएको खाना सुजीको खिचडीले वाक्क भइने र बोलीचाली पनि कसैसँग नमिल्नेजस्ता कारणले मेरो मन निसास्सिइसकेको थियो । म आफूलाई सिनेमाहरुमा देखिने कैदीजस्तै ठान्न थालिसकेको थिएँ । तर, राम्रो के भयो भने स्वतन्त्र भएर विचरण गर्न पाऊनुको महत्त्वबोध पनि यस्ले गरायो ।

त्यस प्रक्रियामा पट्यार लाग्दा साता दिनजति बितेपछि एक जना महिला डाक्टर देखा परिन् । किन हो कुन्नि मेरो आँखामा आशाको किरण परेजस्तो भयो । सपक्क मिलेको जिउडाल, सेतो ल्याबकोटको लिवासभित्र गलामा झुन्डिएको स्टेथोस्कोप र उनको अनुहारमा देखिएको मृदु मुस्कानले  झलक्क देख्दैमा आँखा नहटाऊँ जस्तो रूप ।

मलाई राम्राहरु सबै मन पर्छन् । राम्रोको पहिलो कसी चाहिँ रुप र मुखाकृति नै हुन् । उनले छेउमै आएर रुसी भाषामा के के कुरा सोधिन् । मैले केही बुझिन तर एकटक उनलाई हेरिरहेँ । मलाई कसो कसो सम्मोहन भयो कि क्या हो ? मलाई थाहा थियो एकअर्काको भाषा नजान्नेहरुबीच कुराको आदानप्रदान इसाारा, मूकाभिनय र रेखा चित्रबाट हुनसक्छ । उनले इसाराको बाटो लिइन् । डरैलाग्दो गरेर एउटा आँखा झिम्क्याइन् । म सकपकाए, संकुचित भएँ । किनभने मैले पाएको लालनपालनमा त्यसरी आँखा झिम्क्याउनुलाई सभ्य इसारा मानिदैन थियो ।

जबाफमा आँखै झिम्क्याई दिऊँ जस्तो भयो, तर सकिन। ऊनी अझै नजिक आईन् । मैले उन्को प्रश्नको जबाफ नदिएकाले उनले आफ्नो दाहिने हातको चोर र माइली औँला खुम्च्याएर बनाएको चिम्टाले जोडसँग मेरो तिघ्रामा चिमोटिन् । एक चोक्टो मासु नै लुछे जस्तो भयो ऐय्या ! भनेर कराएँ । उनले खुसीले खित्का छोडिन् र जे भनिन त्यसको अर्थ थियो ‘त्यसो भए तँ जिउँदैछस्’ । 
शरीर दुखे नदुखेको पर्गेल्ने यो तरिका अहिले पनि बेलाबेलामा अपनाउँछु । तर जतिपल्ट अपनाउँछु त्यतिपल्ट रुसी उखान ‘पोम्नी, या सिग्दा र्यादम’ (सम्झ, म सधैँ छेउमै हुन्छु) पनि मुखमा अल्झिन्छ र तेहि एकपल्ट देखेकी रुसी डाक्टरको हाँसो बल्झिन्छ । 
यो तीन वर्षभर परिवारका सबैले दिएको महत्त्व, हेरचाह, र सहानुभूतिले भान भयो कि मैले सहाराको जीवन सुरु गर्दैछु अब । पत्नीले भनीन् पनि ‘‘आराम गर्ने, नातिसँग खेल्ने, लेख्ने र बस्ने’’ नातिसँग खेल्ने र लेख्नेसम्म त ठीकै हो तर आराम गर्ने र बस्नेसँग मेरो सहमति हुन सकेन । म भित्रको ‘भाष्कर बनर्जी’ बाहिर आइहाल्यो । र, पहिले नेपाल फर्किने घुर्की अघि सर्यो । 
तर, घुर्की त आखिर घुकी न हो बाहिरको आफूले आफ्नाहरुलाई लागाउने तगारो । भित्रको आफूले बुझेको काम नै पूजा हो र वर्तमान जहाँ छ त्यो नै धाम हो । 

म फेरि कामको खोजीमा यायावर हुने भएँ । आज त्यही यायावरी अग्निहोत्रमा जुटेको बेला यतिका धेरै संझनाले समय कटाए । अन्तर्वार्ताको पालो पनि आयो र भित्र छिरेँ । जागिर पाए पनि नपाए पनि त्यो मेरो अन्तिम अन्तर्वार्ता नै हो । 
धन्यवाद छ सम्झनाहरुलाई ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

आखिरी अन्तर्वार्ता 

१. मे १६, २०१८ बिहान ९ बजे ।  मेरो पछिल्लो अन्तर्वार्ताका लागि तोकिएको मिति र समय । आजभन्दा १६ वर्षअघि एडमन्टन आई