नेपाली हस्तलिखित सामग्रीमा वर्ण विन्यास

प्रा.डा. शर्वराज आचार्य 

पुराना हस्त लिखित सामग्रीको नक्कलमा मुद्रण भएको देखिने पुराना सामग्री बालकृष्ण पोखरेल (२०७०) को ‘पाँच सय वर्ष’ भन्ने कृतिमा भेटिन्छन् । यस कृतिभित्र रहेका विसंं १३९० तिर मानिने ‘भास्वती’ र विसंं १४५० पूर्वको मानिने ‘खण्डखाद्यक’ संस्कृत ज्योतिष ग्रन्थबाट नेपाली भाषामा अनूदित गरिएका हुन् । ‘खण्डखाद्यक’ भन्ने कृति राष्ट्रिय अभिलेखालयमा माइव्रmो फिल्ममा हेर्दा च्यातिएको, मट्केको, किरा र पानीले खाएको अवस्थामा थियो भन्ने देखिन्छ ।

पूर्णप्रकाश नेपालले सङ्कन गरेको र ललितपुरस्थित मदन पुरस्कार पुस्तकालयमा रहेको विसं १५५० को हस्त लिखित ‘राजा गगनिराजको यात्रा’ भन्ने कृतिको प्रतिच्छवि पनि भेटिन्छ । मुद्रणपूर्वका सामग्रीबाट मात्र वर्ण विन्यासका प्रवृत्ति हेर्न खोजिएकाले यहाँ मुद्रणको थालनीभन्दा धेरै अगाडिका उल्लिखित समाग्रीहरू अध्ययनमा परेका छैनन् । अध्ययनका लागि मोहनप्रसाद खनालको ‘नेपाली भाषाका हजार वर्ष’ बाट तनहुँका राजाले पोपलाई लेखेको पत्र, भक्ति थापाले लेखेको पत्र लिइएका छन् । यिनीहरु सोझै हस्ताक्षर नभएर उल्लिखित कृति तत्कालीन हिज्जे ढाँचाका मुद्रित छन् । यी बाहेक पृथ्वी नारायण शाहको ‘दिव्योपदेश’, भानुभक्त आचार्यले छोरा रमानाथलाई लेखेको चिठी र षडानन्दको लालमोहोरलाई अध्ययन सामग्री बनाइएको छ । यी ३ ओटा सामाग्री भने अमुद्रित र हस्त लेखनका प्रतिच्छवि हुन् । त्यसैले यहाँ सीमित हस्त लिखित सामग्रीको निरीक्षण गरी प्रत्येक सामग्रीबाट तत्कालीन वर्ण विन्यासका प्रवृत्तिलाई औसतमा उल्लेख गरी निष्कर्षषसमेत दिइएको छ ।  

पुराना हस्त लिखित समाग्रीहरु तत्कालीन लेखनमा ‘अक्षराणि वर्तुलानि घनानि च पृथक् पृथक्’ भन्ने श्लोक अर्थात् अक्षरहरु बाटुला, सघन र अलग अलग डिकामा लेख्नुपर्छ भन्ने मान्यताबाट निर्देशित छन् । वर्ण विन्यास र शुद्धाशुद्धितर्पm चासो हुन थालेपछि अक्षर अक्षर होइन, शब्द शब्दलाई अलग अलग डिकोमा लेख्न थालेको बुझिन्छ । 

मोहनप्रसाद खनाल (२०७०ः२१६) को तनहुँका राजा त्रिविक्रम सेनले विसंं १८१२ मा पोपलाई लेखेको सामग्रीमा वर्ण विन्यास हेर्न सकिन्छ । यसको हस्त लेखनको प्रति युरोपको इटलीस्थित भ्याटिकन सिटीको सङ्ग्रहमा रहेको उल्लेख छ । यस पत्रमा बुद्धि, सर्वत्र, मिथ्या, मिति, शुदि, शुभं आदि तत्सम शब्दमा तत्समानुसारी वर्ण विन्यास छ । हामि, पादरि, विंति, आफु, कहिं, खुसि, षुसि आदि शब्दको पदान्तमा ह्रस्व वर्ण विन्यास पाइन्छ । वर्तमानमा यस्ता शब्दहरुको पछाडि दीर्घ लेखिन्छ । हामिसित, बडासाहेव, वडागुरु आयाकाछौँ, आदि शब्दहरुमा नामयोगी विशेष्य विशेषणबिचका समस्त शब्द र संयुक्त व्रिmयामा पदयोग प्रवृत्ति भेटिन्छ । मालुम, हजुर आदि आगन्तुक शब्दको मध्यमा हस्व वर्ण विन्यास गरिएको छ । 
सूचना विभाग (२०४०) को ‘दिव्योपदेश’ लाई नेपाली साहित्यिक गद्यको उठान गर्ने सामग्री मानिन्छ । विसंं १९३१ तिरको हस्त लिखित मानिने यस सामग्रीमा तत्कालीन नेपाली लेखनमा वर्ण विन्यासको अवस्था देख्न सकिन्छ । त्यस समयमा हस्त लेखन गर्नेहरु संस्कृत शिक्षित वा राम्रा अक्षर लेख्न अभ्यस्त मानिस हुन्थे । त्यस्तै मानिसबाट दिव्योपदेश लेखिएको हुनुपर्छ । यो दिव्योदेशको प्रारम्भमै शिव, पृथ्वी नारायण र दर्शन जस्ता तत्सम शब्दलाई तद्भव बनाई सिव, प्रिथिनारायण साहाः र बीचमा दर्सन जस्ता वर्ण विन्यास लेखिएका छन्  । पृथ्वी नारायण शाह गोरखा निवासी भएकाले गण्डकी अञ्चलमा बोलिने भाषामा दिव्योपदेश लेखिएको हुनुपर्छ । यसमा गोरखातिरको उच्चारण प्रयोग भएको छ । जस्तै, हिँडुपति, वस्न्यात्, सायत, साझ, बिह्यान, तम्रा, मरै, सरै, विवाहा, मकुवान पुर, असर्जे, वर्दान, चेप्या, मग्र, लम्जुंग्या राजा जस्ता उच्चारण हुने शब्दहरु देखिन्छन् । यसमा तत्कालीन बोलीलाई जस्ताको तस्तै लेख्न खोजिएको छ । त्यसैले मगर र मग्र जस्ता एउटै शब्दका दुई रूप पनि भेटिन्छन् । यसले हस्त लेखनलाई एकरूपता दिने प्रयास गरेको देखाउँदैन । तर अतिकथ्यवादी र जनबोलीका पक्षधरहरुका दृष्टिमा यो तत्कालीन नेपाली भाषा मान्न सकिन्छ । यसलाई तत्कालीन उच्चारणमा लेखिएको नेपाली भाषा मान्नुपर्छ । 

वर्ण विन्यासका दृष्टिले उल्लिखित सामग्रीमा वर्ण विन्यासका निम्न प्रवृत्तिगत विशेषता रहेको देखिन्छ :—

क. तत्सम शब्दहरुको लेखन तत्समानुसारी नपाइने,  

ख. लेखनमा उच्चारणको अनुसरण, 

ग. ह्रस्वदीर्घ लेखनमा एकरूपताको अभाव,

घ. बुढा, तिन, आदि शब्दमा पदादिमा ह्रस्व, 

ङ. आवश्यकता अनुसार हलन्त लेखन,

च. क्रियासहित शब्दहरुमा दुवै पदयोग र पद वियोग देखिनाले छुट्याउन असजिलो ।
मोहनप्रसाद खनाल (२०७०ः२५६) को कृतिमा रहेको भक्ति थापाको पत्रमा वर्ण विन्यास सम्बन्धी विविधता देखिन्छ । विसं १८७० मा लेखिएको यस पत्रको सक्कल प्रति परराष्ट्र मन्त्रालयको पोका नं २० मा रहेको छ । यस पत्रमा लेखिएका शब्दको भिन्न भिन्न वर्ण विन्यास छ । जस्तै हामि/हामी, काजी/काजि, कम्पनी/कम्पनि, चौकी/चौकि आदि । विच, बुढा, जस्ता शब्दहरुमा पदादि ह्रस्व लेख्ने प्रवृत्ति भेटिन्छ । नामयोगी सित कतै पदयोग र कतै पद वियोग गरिएको छ । तत्सम शब्दहरुमा दर्सन, रनजित, आसिस गरी तद्भव वर्ण विन्यास गरिएको छ । यस पत्रमा वर्ण विन्यास सम्बन्धी अनेकता रहेको छ । वर्ण विन्यासको नियम नदेखिएका अवस्थामा यसरी हस्त लेखन हुनु अनौठो होइन । यसमा देखिने वर्ण विन्यासका निम्न प्रवृत्तिगत विशेषता भेटिन्छन् :

क. तत्सम शब्दमा तत्समानुसारी वर्ण विन्यासको अभाव,  

ख. तत्सम शब्दहरुको तद्भव अनुसार वर्ण विन्यास,

ग. पदादिमा ह्रस्व लेखन प्रवृत्ति,

घ. एउटै शब्दको ह्रस्वदीर्घ लेखनमा अनियमिता,  

ङ. नामयोगी र समस्त शब्दको पदयोगमा अनियमिता,  

च. पञ्चम वर्णमा शिरविन्दुको प्रयोग, 

छ. हलन्त प्रयोगको अभाव । 

दैवज्ञराज न्यौपाने र व्रतराज आचार्य (२०५९) को ‘भानु दर्शन’ मा भानुभक्त आचार्यले वि.संं. १९१५ तिर छोरा रमानाथ आचार्यलाई लेखेको पत्रबाट पनि वर्ण विन्यासका प्रवृत्ति हेर्न सकिन्छ । यसमा तत्सम शब्दहरु शर्मणः, स्वस्ति श्री, शुभाशीर्वाद,  अवश्य, शुभम्, मिति आदि लेखिएका छन् । पदान्त, पदादि र पदमध्यमा चिठि, हामि, तेरि, भनि, हेर्लि, बुझि, मारि, पह्रिनस्, विर्सिस्, ञाहिं, ताँहि जस्ता ह्रस्व वर्ण विन्यास पाइन्छन् । पदमध्यमा ह्रस्वदीर्घ हुने शब्दहरु प्रयोग भेटिँदैनन् । यसमा ज्यान्, लात्, सावुद, लात, मानिस्, जस्ता सुविधानुसारी हलन्त प्रयोग पनि भेटिन्छन् । व्रिmयापदमा भने उच्चारण अनुसार हलन्त र अजन्त लेखिएको छ । चिठीबाट भानुभक्तीय गद्य हेर्दा नेपाली वर्ण विन्यासका निम्न प्रवृत्तिगत विशेषता भेटिन्छन् : 

क. तत्सम शब्दमा तत्समानुसारी वर्ण विन्यासको प्रयोग,

ख. ह्रस्वदीर्घ लेखनमा ह्रस्व लेखन,

ग. सुविधा अनुसार हलन्त र अजन्त लेखन, 

घ. उच्चारणानुसारी क्रिया लेखन,

ङ. पदयोगको अभाव,

यसपछि वि.सं १९३५ तिर हस्त लिखित षडानन्दको लाल मोहरबाट हस्त लेखनमा पाइने वर्ण विन्यास हेर्न सकिन्छ । यसमा सुरेन्दविक्रमसाहबहादुरसम्सेरजङ्गदेव, प्रचण्डभुजदण्ड, सिमल्यषेत, नैमित्तिकपुजा, नन्दीकेसरपाध्यअधीकारी जस्ता तत्सम शब्द देखिन्छन् । ह्रस्वदीर्घमा मंदीर, वीचारि, ठुलो, पुजा, दीङ्ला, गुठि, आदमी, चुडामणि, वमोजीम् आदि लेखन एकरूपता देखिँदैन । हलन्तमा कीपट्, सिह्रान्, वस्न्यात्, मुल् जस्ता उच्चारण सुविधा अनुसार प्रयोग भेटिन्छ । व्रिmया प्रयोग भने उच्चारणानुसरी देखिन्छन् । यसभित्र नेपाली भाषाका भानुभक्तको हस्त लेखनका जस्तै प्रवृत्ति भेटिन्छन् । तर डिकालाई समस्त शब्दको पहिचान मान्ने हो भने सर्वत्र पदयोग देखिन्छ । 

विसं १८१२ देखि विसंं १९३५ का उल्लिखित सामग्र्रीहरु लगभग सबा सय वर्षका हुन् । यसपछि विसं १९२७ तिर मुद्रित मुलुकी ऐन देखा पर्छ । वर्ण विन्यासका प्रवृत्तिगत हिसाबले मुद्रणपूर्वका सामग्रीहरुमा नेपाली हिज्जेको एकरूपता देखिँदैन । तर प्रायः संस्कृत तत्सम शब्दलाई तत्समानुसारी वर्ण विन्यास लेख्ने प्रवृत्ति भने देखिन्छ । यस्ता शब्दको लेखनमा कथ्यको अनुसरण समेत रहेको छ । अन्य शब्दमा भने पदान्तमा ह्रस्व, आगन्तुक अरबी, फारसी शब्दको बीचमा ह्रस्व, सुविधानुसारी अजन्त र हलन्त, पदादिमा ह्रस्व, छोटा नामयोगी र समस्त शब्दको पदयोग वा पद वियोग, पञ्चम वर्णमा शिरबिन्दुको प्रयोगजस्ता वर्ण विन्यासगत प्रवृत्ति देखिन्छन् । यस समामयमा व्याकरणको व्यवस्थित नियम नदेखिएकाले वर्ण विन्यास लेखनमा अनियमितता देखिनुलाई अस्वभाविक मान्न सकिन्न  । 
 

प्रतिकृया दिनुहोस

संबन्धित समाचार

नेपाल प्रज्ञा प्रतिष्ठान, संयुक्त वर्ण र विद्यार्थीको सिकाइ

सर्वप्रथम वर्ण विन्यासले वि.सं.२०३४ हुँदै २०४० देखि सुधारको बाटो हिँड्न थालेको देखिन्छ । नेपाली बृहत् शब्दकोशले (२०४०ः१९—२१) यस्तो सुधारलाई मुख्य

नेपाल प्रज्ञा प्रतिष्ठान, संयुक्त वर्ण र विद्यार्थीको सिकाइ

सर्वप्रथम वर्ण विन्यासले वि.सं.२०३४ हुँदै २०४० देखि सुधारको बाटो हिँड्न थालेको देखिन्छ । नेपाली बृहत् शब्दकोशले (२०४०ः१९—२१) यस्तो सुधारलाई मुख्य

हिन्दी प्रभावित वर्ण विन्यास र झर्रोवादी उग्रता

अचेल परम्परागत र सुधारिएका दुईथरी वर्ण विन्यासको प्रचलन हुन थालेको छ । शिक्षण क्षेत्रमा चाँहि सुधारिएका वर्ण विन्यास नै शिक्षण

हिन्दी प्रभावित वर्ण विन्यास र झर्रोवादी उग्रता

अचेल परम्परागत र सुधारिएका दुईथरी वर्ण विन्यासको प्रचलन हुन थालेको छ । शिक्षण क्षेत्रमा चाँहि सुधारिएका वर्ण विन्यास नै शिक्षण