
काठमाडौं । डडेलधुरामा बिहीबार बेलुका एउटा स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । डडेलधुराबाट डोटीतर्फ जाँदै गरेको से १ क नम्बरको बस दुर्घटनामा परेको थियो । के आई सिंह राजमार्ग अन्तर्गत डडेलधुराको रडुवा खोलामा बस दुर्घटनामा परेको हो । जिल्लाको उग्रतारा मन्दिरमा मेला भर्न गएर फर्किने क्रममा रुडुवा खोलाको भीरबाट ३ सय मिटर तल खस्दा १८ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेशका डीआईजी सुरज केसीले जानकारी दिए ।
मृत्यु हुनेमा ५ जना महिला र १३ जना पुरुष रहेका छन् । घाइते १३ जना रहेका छन् । ८ जनालाई नेपालगञ्ज पठाइएको छ भने बाँकीको उपचार धनगढीमा उपचार भइरहेको ट्राफिक निर्देशनालयका डीआईजी पूर्णचन्द्र जोशीले जानकारी दिए । मृतकको अहिलेसम्म पहिचान हुन नसकेको उनले जानकारी दिए । उनका अनुसार बस भीरबाट तल खसेको छ । राति अबेरसम्म पनि उद्धार कार्य जारी थियो ।
डोटीको एक स्थानीय पीस जोन बोर्डिङ स्कुलको बस भएको प्रहरीले जनाएको छ । बोर्डिङ स्कुलको बस भए पनि मेला भर्न पुगेका स्थानीय बसमा सवार थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।