भारतको ज्यानमारा हावा

शशि थरुर

भारतमा तीन वर्षभन्दा कम समय बिताएर स्वदेश फर्कन लागेका मेरा एक कूटनयिक मित्रलाई स्वास्थ्य परीक्षणका बेलामा ‘दिनको कति बट्टा चुरोट खान्छौ ?‘ भनेर सोधिएछ । उनले ‘आफूले कहिल्यै धुम्रपान गरेको छैन’ भनेपछि डाक्टरले भनेछन् – ‘यो एक्सरेले त बेग्लै बताउँछ नि ।’ तर, मेरा साथीले कहिल्यै चुरोट सल्काएका थिएनन् । उनले गरेको भनेको दिल्लीका तीन हिउँदको हावामा सास फेरेका थिए । 

यहाँको हावा साँच्चै नै त्यति खराब छ । नोभेम्बरको महिना लाग्नेबित्तिकै भारत र विशेषगरी राजधानी सहरमा धुवाँको बाक्लो पत्र फैलन्छ त्यसले फोक्सो अँठ्याउँछ, घाँटीमा फोहोर जम्मा हुन्छ र आँखै नदेखिने हुन्छ ।  

दिल्लीमा कार र ट्रकले मात्रै डिजेलको विषालु धुवाँ फाल्ने भने हैन । धुवाँको मुस्लो निकाल्ने औद्योगिक कारखाना छन्, बाटाका छेउमा आगो ताप्न कोइला बाल्ने गरिन्छ भने सडकमा चिया बेच्ने चायवालाहरूले पनि कोइलाकै चुलो बाल्छन् । यतिमात्र हैन छिमेकका पन्जाब र हरियाणका किसानहरूले बाल्ने खेतीको घुरले पनि दिल्लीमा धुँवाको मात्रा बढाउँछ । यी सबै वायु प्रदूषकहरूसँगै गाडीकोे प्रदूषण पनि राजधानी सहरमा थपिन्छ । यसै पनि दिल्लीमा प्रकृतिकै कारण धुलो मनग्गे हुन्छ । त्यसमा धुवाँ थपिन्छ । 

सन् २०१७ मा दिल्लीमा ‘स्वच्छ हावा’ जम्मा तीन दिनमात्र थियो । तर, हिउँदको हावाको स्तर सबैभन्दा खराब हुन्छ । त्यतिबेला प्रदूषित हावामा हुस्सु पनि थपिन्छ र दिल्लीमा तुवाँलो लाग्छ । फलस्वरूप, टाढा देखिँदैन, हवाइ उडानहरू ढिला हुन्छन् र सहरको ट्राफिक जाम हुन्छ र थप प्रदूषण फैलन्छ ।

यसको परिणाम भने चिन्ताजनक छ । प्रदूषित हावाका कारण अकाल मृत्युको संख्या बढिरहेको छ । सासको बिरामीका कारण काम गर्ने क्षमता घट्ने, अस्पताल भर्ना हुनुपर्ने भएकाले भारतको कुद गाहस्थ्र्य उत्पादनमा कम्तीमा १ प्रतिशत ह्रास भएको छ औसत आयु पनि ३ वर्षजति घटेको हुनसक्छ ।

‘हेल्थ इफेक्टस इन्स्टिच्युट’ बाट प्रकाशित विश्वको वायुको स्थितिसम्बन्धी प्रतिवेदन ‘स्टेट अफ ग्लोबल एअर’का अनुसार सन् १९९० देखि २०१५ का बीचमा भारतमा ओजोनसँग सम्बन्धित मृत्युमा १५० प्रतिशत वृद्धि भएको छ । बिग्रँदो वायु स्तरको आर्थिक असर पनि उत्तिकै कहालीलाग्दो छ । विश्व बैंकको सन् २०१३ को एउटा अध्ययनमा वायु प्रदूषणका कारण श्रमिकले गुमाउनु परेको ज्याला र उपचार खर्चसमेत गर्दा भारतको कुल गाहस्थ्र्य उत्पादनमा करिब ८.५ प्रतिशत कम भएको अनुमान गरिएको छ । वायु प्रदूषणबाट भएको प्रतिव्यक्ति प्रतिदिन श्रमको नोक्सान सन् २०१३ मा ५५ अर्ब डलर बराबर थियो भने अकाल मृत्युबाट ५०५ अर्ब अर्थात् कुल गार्हस्थ्य उत्पादनको मोटामोटी ७.६ प्रतिशत रहेको अनुमान छ ।

हालैको एउटा अध्ययनमा भारतको विषालु हावाले कार्यकारी अधिकारीहरूलाई दिल्लीमा काम गर्नबाट निरुत्साहित गरेको पनि देखिएको छ । मासिनहरूले आकर्षक जागिर पनि फोक्सो बचाउनका लागि छाड्न थालेका छन् ।

सन् २०१५ मा न्यु योर्क टाइम्सको पूर्व दक्षिण एसिया संवाददाता गार्डिनर ह्यारिसले दिल्लीको वायुले आफ्ना छोराछोरीको स्वाथ्य खराब गरेकाले अवधि नपुग्दै जागिर छाड्नुपरेको थियो । आफ्ना ८ वर्षीय छोराको दमको समस्याको चर्चा गर्दै उनले दिल्ली ‘‘बालबालिकाको श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याबाट आक्रान्त रहेको’’ उल्लेख गरेका थिए । उनले लेखेका थिए ‘‘ सहरका ४४ लाख बालबालिकामध्ये करिब आधा स्कुले केटाकेटीको फोक्सो विषालु हावाका कारण निको नहुने गरी बिग्रेको छ’’ । उनी र अरू विदेशीहरूले बालबालिकाको स्वास्थ्यप्रति हेलचेक्य्राइँ गरेर जागिर खाएका छन् भन्दै उनले अन्त गएर केटाकेटी हुर्काउन सक्ने छनोट हुनेहरू दिल्लीमा बस्नु ‘अनैतिक’ भएको निष्कर्ष निकालेका थिए । त्यसैले उनले आफ्ना बालबच्चा लिएर भारत छाडे । 

अधिकांश भारतीयले भने यसो गर्न सक्तैनन् । उनीहरु त सञ्चार माध्यमले भन्ने गरेको दिल्लीको ’ज्यानमारा धुवाँ’मा सास फेरेरै बाँच्न विवश छन् । यही धुवाँमा रहेका तत्त्वहरू फोक्सोमा पुगेपछि श्वासप्रश्वासमै असर गर्छ । कलकत्तास्थित चित्तरञ्जन नेसनल क्यान्सर इन्स्टिच्युटले ४ देखि १७ वर्षसम्मका दिल्लीका स्कुले विद्यार्थीहरूको परीक्षण गर्दा श्वासप्रश्वास र फोक्सोको अवस्था अन्यत्रको भन्दा दुईदेखि चार गुणा खराब पाइएको थियो । र, यो क्षति निको नहुने प्रकारको हो ।

भारतले वायुको गुणस्तर सुधार गर्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ । स्वच्छ हावाका लागि प्रदेश र राष्ट्रिय स्तरमा कार्ययोजना बनाउनुपर्छ, कोइलाबाट (थर्मल) विद्युत् उत्पादन गर्ने योजनाले उत्पन्न गर्ने, कारखानाको धुवाँ, गाडीहरूको धुवाँबाट हुने प्रदूषण नियन्त्रण गर्न कडा लक्ष्य निर्धारण गर्नुपर्छ र उपयुक्त वायु प्रदूषण निगरानी पद्धति स्थापना गर्नुपर्छ ।

साथै छिटो काम गर्नु पनि परेको छ । विश्व स्वासथ्य संगठनका अनुसार विश्वका २० वटा सबैभन्दा प्रदूषित सहरमध्ये १३ वटा भारतमा छन् । प्रदूषित हावाका कारण दस लाखभन्दा बढी भारतीयको प्रतिवर्ष मृत्यु हुने गरेका छन् । 

यस राष्ट्रिय विपत्तिका सन्दर्भमा सरकारी बेवास्ता दिक्कलाग्दो भए पनि आश्चर्यजनक भने छैन । भारतको वायुको गुणस्तरमा आएको ह्रास र यसको मानव स्वास्थ्यमा परेको असर तथा समस्याबारे जनचेतनाका सम्बन्धमा सार्वजनिक छलफल अत्यन्त सीमित छ । भारतका राजनीतिक नेतृत्वले सरकारमाथि समस्या समाधानका लागि दबाब पर्ने गरी कार्ययोजना तर्जुमा गर्नुपर्छ । भारतका जनता र मन्दिर निर्माणजस्तो पहिचानको राजनीति वा इतिहासको पुनर्लेखनजस्ता विषयमा सजिलै अलमलिन पुग्छन् । उनीहरूले पनि स्वच्छ हावामा सास फेर्न पाउनेजस्तो आधारभूत माग गर्न सक्नुपर्छ ।

प्रसिद्ध व्यंग्य गीतकार टम लेहररले आफ्ना स्रोताहरूलाई चर्चित चेतावनी दिएका थिए । उनले भनेका थिए — ’’जम्मा दुई कुराबाट जोगिनुपर्छ । पानी नखानु र सास नफेर्नु’’ । अस्तित्व नै जोखिममा परेको भारतका सन्दर्भमा यस गीतले सटीक वर्णन गर्छ । 
( भारतको संसद्को विदेशमामिला सम्बन्धी समितिका अध्यक्ष)

Copyright: Project Syndicate, 2018.

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad