विद्यावारिधिका लागि करिब आठ वर्षको अमेरिका बसाइँपछि गत महिना नेपाल फर्कादा मनमा निकै उत्साह र कौतुहल थियो । पहिलो त विगत आठ वर्षमा पहिलोपटक बुवाआमा अनि भाइबहिनीलाई भेट्दै थिएँ । मन त्यसै त्यसै फुरुङ्ग थियो । पारिवारिक मिलनबाहेक आफ्नो मातृभूमि कस्तो भएको होला भन्ने कौतुहल पनि थियो । विसं २०६७ मा अमेरिका जाने बेलामा देशमा राजनीतिक तरलता र अस्थिरता थियो । देश संघीयतामा जाने कि नजाने निस्चित थिएन, संविधान जारी भएको थिएन । अर्थात्, देश अनिश्चितताको भूमरीमा रुमल्लिएको थियो । तर, म फर्कादा भने देशमा संसद्मा दुई तिहाइ बह्मत भएको ‘स्थिर’ सरकार बनेको थियो । देशमा संविधान सभाले पारित गरेको थियो नयाँ संविधानअनुरूप चुनाव भइसकेको थियो । संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्रको शासन पद्धति स्थापित गरेको थियो । देशमा आएको यस परिवर्तनपछि समग्र नागरिक हातेमालो गर्दै होस्टेमा हैंसे मिलाउँदै देश विकासको महान् कार्यमा जुटेका होलान् भन्ने मीठो कल्पनाले मन पुलकित हुनु स्वाभाविकै हो । र, यस्तो कल्पना गर्नु अनुचित पनि होइन । किनभने देशले राजनीतिको एउटा सर्वमान्य निकास प्राप्त गरिसकेपछिको बाटो अर्थिक र सामाजिक विकासको बाटामा हिँड््नु हो । हाम्रा अबका नीति, बोलीवचन, व्यवहार र क्रियाकलाप देशको चौतर्फी विकासलाई टेवा पुग्ने र प्रवर्धन गर्ने हुनुपर्छ ।
विमानस्थलमा ओर्लेर आठ वर्षपछि पहिलोपटक मातृभूमिमा पाइला राख्दा मन ढक्क फूल्यो, आनन्दित भयो । चारैतिर सारी, कुर्ता, लबेदासुरुवाल, टोपीलगाएका यति धेरै दाजुभाइ दिदीबहिनीलाई एकै ठाउँमा देख्दा आफ्नै थलोमा भएको मीठो अनुभूति हुँदोरहेछ ।
समाचारमा पढेको जस्तै टर्मिनल भवन सफा भएको रहेछ । अध्यागमन पार गरिसकेपछि (अध्यागमनको प्रक्रिया पनि सजिलो भएको रहेछ) कन्भेयर बेल्टमा सामान कुर्दै गर्दा विमानस्थलको परिचयपत्र लगाएका कर्मचारी मेरो छेउमा आए र कुरा गर्न थाले ।
‘‘सर कहाँबाट आउनु भएको ?’’ उनको प्रश्न ।
‘अमेरिकाबाट’’ मेरो जबाफ ।
‘‘ ए ! त्यसो भए पैसा त निकै कमाउनु भयो होला ’’ उनको जिज्ञासा ।
‘‘होइन म त पढ्न गएको, कहाँ पैसा कमाउनु !’’ मेरो स्पष्टोक्ति ।
‘‘आज आफ्नो त कमाइ नै भएन’’ उनको गुनासो ।
‘‘किन तपाईंको तलब आउँदैन र ?’’ म सोध्छु ।
‘‘आउँछ तर तलबले खानै कहाँ पुग्छ र ?’’
‘‘त्यसो भए अतिरिक्त कमाइ कसरी गर्नु हुन्छ त ?’’
‘‘यसो सरहरूको दया । सरको खल्तीमा दस, बीस डलर खुद्रा होला नि । ’’
ति कर्मचारीको मागले मलाई एकछिन अवाक बनायो । खल्तीमा ?।
खल्तीमा एक हजार रुपियाँको नोट रहेछ । उनको हातमा राखिदिएँ । यसबापत उनी मेरो सामान चाँडो ल्याइदिन सक्ने कुरा गर्दै थिए तर मैले पर्दैन भने । हातमा पैसा परिसकेपछि उनी राजनीतिका कुरा गर्न थाले । उनी भन्दै थिए – सर, यो देश बिगारेको नेताहरूले हो । सबै भ्रष्टाचारी ! आदिइत्यादि । उनका आदर्श अनि भ्रष्टाचार विरोधी कुरा चलिरहेकै मेरो सामान आइपुग्यो । म मेरो लिएर निस्किएँ ।
काठमाडौं ओर्लिएको दुईतीन दिनपछि छोरालाई विद्यालयमा भर्ना गर्नुपर्ने थियो । विभिन्न विद्यालय धाएँ तर कसैले पनि भर्ना गर्न मानिरहेका थिएनन् । सबै विद्यालयको तर्क एउटै थियो – अमेरिकामा पढेको विद्यार्थीको गणित कमजोर हुन्छ त्यसैले भर्ना लिन सकिँदैन ।
छोरा भर्ना हुननसकेको चिन्ता भए पनि कमसेकम कुनै एक क्षेत्रमा त नेपाल अमेरिकाभन्दा अगाडि रहेछ भन्ने गर्व भने लाग्यो । यद्यपि, नेपालमा गणितको यो स्तरीयता काठमाडांैका निजी विद्यालयमा मात्र हुन सक्छ । जे होस्, चिनापर्चीको आधारमा एउटा विद्यालयमा छोराको भर्ना भने भयो ।
भर्ना भएको अर्को दिन छोरालाई स्कूल पुर्याउन हिँडे । स्कूलको बस स्टपसम्म पुग्न करिब पाँच मिनट हिड्नुपर्छ र एउटा व्यस्त सडक पनि पार गर्नुपर्छ । सडक पार गर्दा जेब्राक्रसिङबाट गर्नुपर्छ भन्ने छोरालाई पनि थाहा छ । तर, पनि आमाबाबुको मन, नयाँ परिवेशमा के कसो हो भनेर आफैँ लिएर हिँडे । जब जेब्रा क्रसिङबाट बाबु छोरा सडक पार गर्दै थियौँ, एउटा मोटर साइकल हुइकिँदै आयो । मैले अब त्यो मोटर साइकलले हामीलाई ठक्कर दिन्छ भन्ने ठाने । दिमाग शून्य भयो । छोरालाई जोडले आफूतर्फ ताने र पेटीमा हुत्याएँ ।
मोटर साइकल चलाउने भाइ पनि अष्टवक्रजस्तै बाङ्गिदै मोटर साइकल लिएर गए । जाने बेलामा छाडा शब्दमा हामी बाबुछोरालाई गाली गर्दै पनि गए । ती भाइले हामीलाई ‘‘कस्ता पाखे सडकमा हिँड्न पनि नजान्ने’’सम्म भन्न भ्याए । छोराले मलाई ‘‘अंकलले के भनेको ?’’ भनेर सोध्दै थियो तर मसँग जबाफ थिएन ।
छोरालाई स्कूल बस चढाइ सकेपछि केही कामले अनामनगर जानुथियो । एउटा ट्याक्सी रोकेँ । ‘‘कहाँ जाने दाइ ?’’ ट्याक्सी चलाउने भाइले सोधे । ‘‘अनामनगर ’’ मैले भने । ‘‘बस्नुस्’’ । करिब दस मिनटमा अनामनगर पुगेपछि ‘‘भाडा कति भयो ?’’ भनेर सोध्दा ट्याक्सी चालक भाइले त ‘‘तीन सय दिनुस् न ’’ पो भन्छन् । करिब साँडे एक किलोमिटरको यो दूरीको भाडा ७० रुपियाँ जति लाग्नुपर्ने । बाटोमा जाम इत्यादिको कारणले १०० रुपियाँ नै पुग्यो भने पनि ३०० त अचाक्ली नै थियो । ‘‘मैले मिटरमा कति चढेको छ ?’’ भनेर सोधेँ । ती भाइले त मिटर चालु नै नगरी ट्याक्सी चलाएका रहेछन् । ‘‘मिटर किन नचलाएको ?’’ भनेर सोध्दा ‘‘बिहान बिहान कसले मिटर चलाउँछ, दिने भए खुरुक्क दिनुस् होइन भने ठीक हुन्न’’ भन्ने जबाफ आयो । यो मेरो लागि निकै अप्ठेरो अवस्था थियो । या त म उनीसँग झगडा गर्न तम्सनु पथ्र्यो र परेका खण्डमा शारीरिक प्रतिवादमा नै उत्रन सक्नुपथ्र्याे । यो मेरो स्वभावविपरीत थियो । दोस्रो उनले भनेको जति पैसा दिएर जानुपथ्र्यो । मैले बाध्य भएर दोस्रो उपाय रोजेँ । आफ््नै देशमा आफ्नै दाजुभाइबाट ठगिनु पर्दा मनमा पीडा भने भयो । औपचारिकताका लागि ट्याक्सी नंबर र घटनाको जानकारी टेक्स्ट मेसेजमार्फत प्रहरिलाई गराएँ । तर कारबाही हुनेमा भने विश्वास थिएन ।
माथिका तीन उदाहरण एयरपोर्ट, जेब्राक्रसिङ र ट्याक्सी मैले छोटो समयमा अनुभव गरेका थुप्रै बेथितिका प्रतिनिधि उदाहरण मात्र हुन् । एयरपोर्टमा देखिएजस्तो घुसखोरी र भ्रष्टाचार, मोटर साइकलवाला भाइले देखाएजस्तो नियम पालना नगर्ने अनि जो चोर उसैको ठूलो स्वरको प्रवृत्ति, अनि ट्याक्सीवाला भाइको जस्तो ठग्ने र लुट्ने प्रवृत्ति अहिले नेपाली समाजमा पाइलापाइलामा सामना गर्नुपर्छ । यी प्रवृत्तिमा माथिका तीन पात्रलाई व्यक्तिगत रूपमा दोषी ठह¥याउनु भन्दा यसलाई हाम्रो सामाजिक संस्कारका रूपमा बुझ्नु उपयुक्त हुन्छ ।
‘वसुधैव कुटुम्बकम्’लाई आफ्नो संस्कार मान्ने नेपाली समाज बिस्तारै असहिष्णु हुँदैगएको देखिन्छ । आफूले भनेको बाहेक अरू सबै बेठीक मान्ने, नियम उलंघन गर्दा गर्व गर्ने, फरक विचार सहनै नसक्ने, सकेसम्म अरूलाई लुट्ने, ढाँट्ने, ठग्ने, भ्रष्टाचार गर्न पाएकोमा गर्व गर्ने, काम नगर्ने, पारदर्शिता मन नपराउने, चाकडी र खोक्रो प्रशंसा मन पराउने, नातावाद र कृपावाद जस्ता गलत प्रवृत्ति हाम्रा संस्कारका रूपमा स्थापित हुँदैछन् । संस्कारका रूपमा स्थापित हुँदैछन् भन्नुको तात्पर्य यस्ता बेथितिलाई हामी आजभोली सहज रूपमा लिन्छौँ र यस्ता प्रवृत्तिको भ¥याङ चढेर गरेको अर्थोपार्जनलाई पनि प्रगति ठान्छौँ । यसभन्दा पनि महत्त्वपूर्ण प्रश्न – यस्तो संस्कार अपनाएमा हामी कहाँ पुग्छौँ ?
अहिले पत्रपत्रिकामा ‘समृद्ध नेपाल’को चर्चा व्यापक छ । विभिन्न विद्वान्ले समृद्ध नेपाल निर्माणका विभिन्न उपायको चर्चा गरेका छन् । यद्यपि, समृद्ध नेपालको परिभाषो स्पष्ट नभए पनि यसले आर्थिक विकासको पक्षलाई ओगटेको छ भन्ने सहज अनुमान गर्न सकिन्छ ।
अर्थिक विकासको लागि आर्थिक वृद्धि हुनु जरुरी छ । आर्थिक वृद्धिका लागि उत्पादन बढ्ुनुपर्छ । उत्पादन वृद्धिका लागि लगानी वृद्धि हुनुपर्छ । लगानीमा वृद्धि हुन आर्थिक स्रोत उपलब्ध हुनुपर्छ । यी अर्थशास्त्रका कक्षा ११ मा पढाइने विषयवस्तु हुन् । तर, के स्रोतको उपलब्धता र लगानीले मात्र अर्थिक वृद्धिको सुनिश्चितता दिन्छ त ? नवशास्त्रीय अर्थशास्त्रका अनुसार हेर्ने हो भने स्रोतको उपलब्धता र लगानीले मात्र अर्थिक वृद्धि हुन्छ । नवशास्त्रीय अर्थशास्त्रको उत्पादन क्रियाकलापमा (प्रोडक्सन फंक्सन) समाजका औपचारिक र अनौपचारिक संस्था, सामाजिक संस्कृति, आचरण, व्यवहारलाई समावेश गरिएको हुँदैन । यी कुरालाई नवशास्त्रीय अर्थशास्त्रीले उत्पादनका लागि योग्य (इफिसिएन्ट) छन् भन्ने मान्यता राख्छन् । तर आधुनिक अर्थशास्त्रीहरू यो कुरा स्वीकार्दैनन् । नेपालमै पनि आर्थिक वृद्धिका धेरैजसो बहसमा नवशास्त्रीय (नियो क्लासिकल) अर्थशास्त्रको प्रभाव देखिन्छ । नेपालका धेरैजसा अर्थशास्त्री नवशास्त्रीय अर्थशास्त्रको बोलवालाका बेला शिक्षित भएको भएर हो कि !
स्रोतको उपलब्धता र लगानीले मात्र आर्थिक वृद्धि र विकास हुँदैन । यसका लागि वृद्धिलाई प्रवर्धन गर्ने हाम्रा आचरण, व्यवहार, संस्कार, बानी बेहोरा अनि अनौपचारिक र औपचारिक संस्था पनि उत्तिकै जिम्मेवार हुन्छन् । विश्वका विभिन्न भागमा भएका सैद्धान्तिक र प्रयोगसिद्ध अध्ययनले यसलाई पुष्टि गरेका छन् । आर्थिक वृद्धिमा भ्रष्टाचारको नकारात्मक प्रभाव सबैलाई थाहा नै छ । संस्कार, आचरण, व्यवहारको आर्थिक वृद्धिमा पर्ने प्रभाव बारे एडम स्मिथले नै केही मात्रामा उल्लेख गरे पनि म्याक्स वेबरको प्रोटेस्टेन्ट धर्ममा आस्था राख्ने समाजमा पुँजीवादी व्यवस्थाको विकास हुन्छ भन्ने तर्कपछि यस क्षेत्रमा धेरै काम भएको छ । बारो र म्याकक्लियर्लीको चर्चमा धेरै उपस्थित हुने समाजको आर्थिक वृद्धि सुस्त हुन्छ भन्ने निष्कर्ष होस् वा व्यक्तिवादी प्रवृत्तिले आर्थिक विकासमा नकारात्मक प्रभाव पार्छ भन्ने निष्कर्ष होस् सबैले संस्कार, आचरण, व्यवहारको आर्थिक वृद्धिमा पर्ने प्रभावलाई पुष्टि गर्छन् ।
नेपालको संदर्भमा भन्ने हो भने शिलान्यास भएपछि वर्षाैंसम्म अलपत्र पर्ने सडक वा निर्माण गरी नसक्तै भत्कने पूलको समस्याको मूलकारण स्रोतको अभाव नभएर हाम्रो भ्रष्टाचारी आचरण हो । किनेको दुई महिनामै ग्राउन्डेड हुने जहाजको पछाडि हाम्रो खराब नियत रहेको छ र दण्डहीनताको उत्कर्ष रहेको छ । माथिका एयरपोर्ट, जेब्रा क्रसिङ, र ट्याक्सीका उदाहरणमा पनि हामीसँग सडक छ, ट्याक्सी, मोटरसाइकल, प्लेन छ, एयरपोर्ट छ तर हामीसँग विकासलाई प्रेरित गर्ने आचरण र व्यवहार छैन । यस्ता धेरै उदाहरण प्रस्तुत गर्न सकिन्छ । निचोडमा भन्ने हो भने नेपालको आर्थिक विकासको समस्या स्रोतको कमी होइन हाम्रा विकास अवरोधक आचरण र व्यवहार हुन् ।
हाम्रा यी आचरण र व्यवहारलाई कसरी सुधार गर्न सकिन्छ त ? यसको बारेमा एउटा छुट्टै लेख लेख्न सकिन्छ । तर, संक्षेपमा भन्नु पर्दा दुई तरिका हुन सक्छन् – पहिलो, सार्वजनिक व्यक्तित्वहरू जस्तै नेता, अभिनेता, उच्च ओहदाका कर्मचारी आदिले राम्रा संस्कार र आचरणको अभ्यास गर्ने जसको प्रभाव जनतामा परोस् । जसरी एउटा कथामा हाकिमले गरेको गाली पियनको कान्छो छोराले कुकुरलाई लात्तीले हिर्काउँदासम्म पुग्छ त्यस्तै गरी राम्रो आचरणको पनि विस्तार हुन्छ । भारतीय जनताको जीवनशैलीमा गांधी, नेहरू, लालबहादुर शास्त्रीजस्ता नेताको प्रभाव आज पर्यन्त देख्न पाइन्छ ।
जनसाधारणमा नेताहरूको जीवनशैलीको प्रभाव कति छिटो पर्छ भन्ने उदाहरण भर्खर अमेरिकामा भएको एउटा घटनाबाट लिन सकिन्छ । भयो के भने टेक्ससबाट अल्बुकर्की जान लागेको यात्रु जहाजमा पुरुष यात्रुले महिला यात्रुको संवेदनशील अंगमा समातेछन् । पहिलो पटक त ती महिलाले झुक्किएर त्यसो भएको होला भनि ध्यान दिइनन् रे । तर, जब ती पुरूषको हर्कत रोकिएन अनि महिलाले उजुर गरिन् । प्रहरीले तयस पुरुषलाई गिरफ्तार गरी त्यसो गर्नुको कारण सोध्यो । पुरूषको जवाफ थियो – राष्ट्रपति ट्रम्पले महिलाका संवेदनशील अंगमा समाउँदा केही हुँदैन भनेकोले समाएको हुँ । त्यस पुरुषले साँच्चिकै ट्रम्पको प्रभावले त्यसो गरेको थियो वा चर्चामा आउनमात्र भन्ने कुरा अनुसंधानको विषय होला । तर, ट्रम्पको महिलाप्रतिको धारणा हामी सबैलाई थाहा नै छ । वास्तवमा ट्रम्पले टीभी प्रस्तोता बिली बुससँग आफूले महिलाको सहमति नलिईकनै महिलालाई समाउने गरेको भनेको रेकर्ड उनको राष्ट्रपति चुनावताका सार्वजनिक भएको थियो ।
हाम्रा आचरणमा सुधार ल्याउने अर्काे उपाय हो हरेक क्षेत्रमा नियम बनाउने र ती नियमको पालना कडाइका साथ गर्ने गराउने । तर, हामी कहाँ नियम नभएका त होइनन् । समस्या त ती नियमको पालना नगर्नु पो हो । यस्तो अवस्थामा सूचना प्रविधिको व्यापक प्रयोग गरे धेरै हदसम्म समस्याको समाधान हुन सक्छ । यस बारेमा कुनै अर्काे लेखमा वर्णन गर्ने प्रयास गर्नेछु ।
Email: dadhinp@gmail.com